मंसिर २०७८ | 17/11/2021

कहिले खेल्ने 'मनोवैज्ञानीक' खेल ?

Share:
  
- सजना बराल
आधुनिक खेलकूदमा मैदानभित्र भन्दा बाहिरको मनोवैज्ञानिक खेलले धेरै हदसम्म जित-हार निर्धारण हुने गर्छ। तर, नेपालमा भने भर्खर मात्र यसको आवश्यकता महसूस हुन थालेको छ।

गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा खेलपूर्व अभ्यास गर्दै नेपाली राष्ट्रिय फूटबल टोली।
तस्वीर: एन्फा

सन् २०१६ को १२औं दक्षिणएशियाली खेलकूद (साग) अन्तर्गत फूटबल फाइनलमा नेपालले भारतलाई २-१ ले हरायो। सन् १९९३ को छैटौं संस्करणपछि नेपालले साग फूटबलमा जितेको यो पहिलो स्वर्ण थियो। गुवाहटीस्थित घरेलु मैदानमा भारतले १-० को अग्रता लिइरहँदा दोस्रो हाफमा नेपालका प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठको गोलले पुनरागमन जित निकाल्यो।

“त्यो वेला भारतले नेपालमा नाकाबन्दी गरेको इगो हामीभित्र थियो, जितेरै छाड्छौं भन्ने सोचले खेलेका थियौं,” बुढाथोकी सम्झन्छन्, “हामीसँग नेपालबाट दुई जना खेल मनोविद् गुवाहटी जानुभएको थियो। उहाँहरूले फाइनल म्याच अगाडि नाकाबन्दी लगायत धेरै कुरा सम्झएर देशका लागि खेल्न हामीलाई प्रोत्साहित गर्नुभयो। त्यसले मेरो आत्मविश्वास उच्च बनाइदियो।”

नेपाली टोलीलाई यस्तो मनोवैज्ञानिक प्रशिक्षण दिने मनोविद् दम्पती थिए- इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङ। काठमाडौंमा भएको सन् २०१९ को सागअघि पनि गुरुङ दम्पतीले नै खेलाडीलाई तीन दिन प्रशिक्षण दिएका थिए। उनीहरूका अनुसार, त्यतिवेला ताइवान, कोरिया, जापान र मलेसियाबाट समेत मनोविद् झिकाइएका थिए।

“शारीरिक रूपमा जस्तै मानसिक रूपमा
तन्दुरुस्त छैन भने खेलाडीले राम्रो प्रदर्शन
गर्न सक्दैन। खेल मनोविज्ञानले खेलाडीको
शारीरिक र मानसिक स्वास्थ्यलाई
सन्तुलित गरेर उच्चतम नतीजा निकाल्न
मद्दत गर्छ।”

नेपाल समग्रमा ५१ स्वर्ण सहित २०४ पदक जितेर तालिकाको दोस्रो स्थानमा आएको थियो। गुरुङ यी सफलतालाई संयोगले प्राप्त भएको ठान्दैनन्, मनोवैज्ञानिक प्रशिक्षणले दिलाएको उपलब्धि मान्छन्। “ती जितपछि खेलजगत्‌का साथीहरूले खेल मनोविज्ञानको महत्त्व बुझ्नुभयो र नेपाल ओलम्पिक कमिटीमा स्पोर्टस् साइकोलोजी कमिशन स्थापना गरियो। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा स्पोर्टस् साइन्सको अध्ययन शुरू भयो,” कमिशनका अध्यक्ष समेत रहेका गुरुङ भन्छन्।

उनका अनुसार, अहिले गण्डकी विश्वविद्यालयमा स्‍नातक तहमा स्पोर्टस् साइन्सको अध्यापन शुरू हुँदै छ, स्नातकोत्तरमा पढाइ जारी छ। केही निजी कलेजले पनि ऐच्छिक विषयमा स्पोर्टस् साइन्स विषय समावेश गर्न थालेका छन्।

खेल मनोविज्ञान

मनोवैज्ञानिक कारणहरूले खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेलकूद निकायका पदाधिकारी आदिलाई कसरी प्रेरित गर्छन् भन्ने अध्ययन गर्ने विषय नै खेलकूद मनोविज्ञान भएको पुराना खेल मनोविद् रमेश खनाल बताउँछन्। “खेलकूद मनोविज्ञानले खेलाडीको मानसिक व्यक्तित्वको विकास गर्छ,” उनी भन्छन्, “शारीरिक रूपमा जस्तै मानसिक रूपमा तन्दुरुस्त छैन भने खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन। खेल मनोविज्ञानले खेलाडीको शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित गरेर उच्चतम नतीजा निकाल्न मद्दत गर्छ।”

नेपाली टोलीको खेल सधैं अस्थिर हुनुमा मनोविज्ञानबारे ज्ञान नहुनु मुख्य कारण रहेको गुरुङ ठान्छन्। “कहिले निकै बलियो टीमलाई हराइदिन्छौं, कहिले चाहिं खेल हेर्दा पनि हाम्रै टीम हो र जस्तो लाग्छ,” उनी भन्छन्, “मनोविज्ञान सन्तुलनमा नभएरै यस्तो भएको हो।” तर, पछिल्लो समय खेलकूद मनोविज्ञानबारे बहस र प्रशिक्षण हुन थालेकाले नेपाली खेलाडीको प्रदर्शन सुधारिंदै गएको खेल मनोविद् खनालको अनुभव छ।

“कतिलाई आफू किन र केका लागि खेल्दै
छु भन्ने नै थाहा हुँदैन। मोटिभेसनल
क्लासमा यी विषयमा छलफल गरिन्छ।
खेल, भावना र विज्ञान जोडेर खेलाडीलाई
तयार पार्नु हाम्रो काम हो।”

दुई दशकदेखि खेलाडीलाई ‘मोटिभेसनल ट्रेनिङ’ दिँदै आएका जीवनशैली विज्ञ बीके रमण भट्टराई हौसला र परामर्शकै कमीले अधिकांश नेपाली खेलाडीको मनोबल कमजोर रहने गरेको बताउँछन्। “धेरैले गुजारा चलाउन खेल्नुहुन्छ,” उनी भन्छन्, “कतिलाई आफू किन र केका लागि खेल्दै छु भन्ने नै थाहा हुँदैन। मोटिभेसनल क्लासमा यी विषयमा छलफल गरिन्छ। खेल, भावना र विज्ञान जोडेर खेलाडीलाई तयार पार्नु हाम्रो काम हो।”

सन् २०१३ मा थ्री स्टार क्लबमा छँदा भट्टराईसँगै पहिलो पटक मनोवैज्ञानिक प्रशिक्षण लिएका फूटबल खेलाडी प्रकाश त्यसयता निरन्तर यस्ता प्रशिक्षण लिने गरेको बताउँछन्। “खेलअघि यस्ता कक्षा लिँदा सकारात्मक सोच आउँछ,” उनी भन्छन्, “शारीरिकसँगै मानसिक तयारी उत्तिकै महत्त्वपूर्ण हुने भएकाले हिजोआज क्लबहरूले स्पोर्टस् साइकोलोजीका प्रोग्राम राख्न थालेका छन्।”

न्यून जनशक्ति

नेपालमा यो विषयको अध्ययन तथा प्रशिक्षणको श्रृङ्खला लामो नरहेकाले पर्याप्त जनशक्ति तयार भइसकेको छैन। अहिले नाम चलेका जति पनि खेल मनोविद् छन्, उनीहरू विदेशमा पढेका वा तालीम लिएर आएकाहरू हुन्। “सन् १९८७ मा जर्मनी गएर त्यहाँको स्पोर्टस् युनिभर्सिटीमा तीन वर्ष स्पोर्टस् साइकोलोजी पढेको थिएँ,” खनाल भन्छन्, “त्यहाँबाट आएपछि एक-एक खेलाडीलाई तालीम दिन सम्भव नभएकाले प्रशिक्षकहरूलाई तालीम दिन थालें। प्रशिक्षकले खेलाडीलाई तालीम दिए।”

नेपाल ओलम्पिक कमिटीका ‘ब्रेन एन्ड साइकोलोजी कोच’ गुरुङले पनि बेलायतमा पढेका हुन्। पछि, अन्य देशमा पनि तालीम लिएर आफूलाई परिष्कृत गरेको उनी बताउँछन्।

विदेशका विश्वविद्यालयमा खेलकूद मनोविज्ञानलाई केन्द्रित गरेर ‘पर्फरमेन्स साइकोलोजी’, ‘स्पोर्ट एन्ड एक्सरसाइज साइकोलोजी’ जस्ता विषय पढाइने गरेको छ। “हामीकहाँ शारीरिक तालीम धेरै हुन्छ, मनोवैज्ञानिक पनि चाहियो नि भनेर मैले खोजी गर्न थालें,” जीवनशैली विज्ञ भट्टराई भन्छन्, “नेदरल्यान्ड्स, श्रीलङ्का, बाङ्लादेश, भारतमा तालीम लिएँ।”

“खेलाडीले खेलेर मात्र हुँदैन,” स्ट्राइकर
सावित्रा भण्डारी भन्छिन्, “मैदानभित्र र
बाहिर के सोचिन्छ भन्ने कुराले पनि
खेलकूदमा महत्त्व राख्छ। तसर्थ, खेलाडीले
व्यक्तिगत रूपमा र सम्बद्ध निकाय दुवैले
खेलाडीको मनोवैज्ञानिक स्वास्थ्यप्रति
सचेत हुन जरुरी छ।”

खेलाडीका अनुभव

सशस्त्र प्रहरी (एपीएफ)की स्ट्राइकर सावित्रा भण्डारी महिला राष्ट्रिय लिगमा पुलिस विरुद्ध खेल्ने क्रममा घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा छिन्। गत असोजमा एएफसी महिला एशिया कप २०२२ को छनोट प्रतियोगिता भयो, जसमा नेपाल छनोट हुन सकेन।

दोहाको एस्पेटर अस्पतालमा उपचाररत भण्डारी यति ठूलो प्रतियोगिता खेल्न नपाएकोमा दुःखी छिन्। “टीमले मलाई जति मिस गर्‍यो, त्योभन्दा बढी मैले टीमलाई मिस गरें,” हिमालखबरसँगको अनलाइन सम्पर्कमा भण्डारीले भनिन्, “खेल्न नपाउँदा आफू पछाडि परेको, छुटेको महसूस हुँदो रहेछ।”

उनी फूटबलसँग लामो समय टाढिंदा निराशा बढ्ला भनेर परिवार, साथीभाइ अनि घाइते भई उपचार गराएका अन्य खेलाडीसँग गफ गरिरहन्छिन्। एस्पेटर अस्पतालमै उपचार गराएका राष्ट्रिय फूटबल टीमका विमल घर्ती मगर, बास्केटबल खेलाडी सविता खड्काहरूसँग कुरा गर्ने गरेको उनले सुनाइन्।

“खेलाडीले खेलेर मात्र हुँदैन,” भण्डारी भन्छिन्, “मैदानभित्र र बाहिर के सोचिन्छ भन्ने कुराले पनि खेलकूदमा महत्त्व राख्छ। तसर्थ, खेलाडीले व्यक्तिगत रूपमा र सम्बद्ध निकाय दुवैले खेलाडीको मनोवैज्ञानिक स्वास्थ्यप्रति सचेत हुन जरुरी छ।”

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का विदेशतिर खेलाडी र खेल सम्बद्ध अन्य व्यक्तिका लागि मनोविद् र मनोचिकित्सकको विशेष टोली नै खटाइने गरेको बताउँछन्। पारस आफैंले पनि आठ-दश वर्षअघि त्यस्ता एक-दुइटा कक्षा लिएका थिए। “मैदानभित्र र बाहिरको अप्ठ्यारो परिस्थिति सम्हाल्न निर्णय लिने प्रक्रिया र टीम बिल्डिङमा त्यस्ता प्रशिक्षणले धेरै सहयोग गर्छन्,” उनी भन्छन्, “खेलाडीको व्यक्तिगत जिन्दगीमा कत्तिको स्थिरता छ भन्ने कुराले उसको खेललाई प्रभावित गर्ने भएकाले मनोवैज्ञानिक परामर्श अति आवश्यक छ।”

नेपाल ओलम्पियन्स सङ्घका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक दीपक विष्ट विद्यार्थीको मनोबल बढाउन जानेसम्मको ‘मोटिभेसनल क्लास’ दिने गरेको बताउँछन्। “हाम्रो पालामा यसबारे जानकारी नै थिएन,” उनी भन्छन्, “ठूलो प्रतियोगिताका वेला यो नभई नहुने रहेछ।”

“फेरि भाँच्चिने हो कि भनेर डराई-डराई
खेल्थें,” तेक्वान्दो प्रशिक्षक दीपक विष्ट
सम्झ्न्छन्, “केही समय निकै ठूलो त्रासमा
बाँचेको थिएँ। त्यसवेला मलाई खेल
मनोविद्को आवश्यकता रहेछ भन्ने अहिले
बुझ्दै छु।”
सक्रिय खेल जीवनमै खुट्टा भाँच्चिएपछिको त्रास आफूले कहिल्यै नभुल्ने दीपक बताउँछन्। “फेरि भाँच्चिने हो कि भनेर डराई-डराई खेल्थें,” उनी सम्झ्न्छन्, “केही समय निकै ठूलो त्रासमा बाँचेको थिएँ। त्यसवेला मलाई खेल मनोविद्को आवश्यकता रहेछ भन्ने अहिले बुझ्दै छु।”

नाओमी, फेल्प्स र सिमन

विदेशमा खेलाडीहरूले आफ्नो मानसिक स्वास्थ्यप्रति सजगता देखाएका थुप्रै उदाहरण पाइन्छन्। केही अघि मात्रै टोक्यो ओलम्पिक्समा अमेरिकी जिम्नास्ट सिमन बायल्स ‘आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपरेको’ भन्दै व्यक्तिगत प्रतियोगिताहरू नखेली स्वदेश फर्किइन्। उनको निर्णयलाई थुप्रै सुपरस्टार खेलाडीले सराहना गरे।

सर्वाधिक सफल ओलम्पियन पौडीबाज माइकल फेल्प्सले सन् २०१२ को ओलम्पिकपछि आफूले आत्महत्या गर्ने सोचेको बताउँदा खेलजगत्मा तरङ्ग आएको थियो। पछिल्लो समय उनले खेलाडीको मानसिक स्वास्थ्यको ख्याल राख्न र त्यसका लागि सहयोग गर्न सरोकारवालालाई आह्वान गर्दै आएका छन्।

टेनिस स्टार नाओमी ओसाकाले पनि आफू ‘डिप्रेसन’ सँग जुधिरहेको बताउँदै यस पटकको फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्। त्यसअघि उनले खेलपछि हुने पत्रकार सम्मेलनमा पनि भाग लिन अस्वीकार गरिन्। सम्मेलनमा सोधिने कतिपय प्रश्नले खेलाडीको आत्मविश्वासमा नकारात्मक असर पर्ने भएकाले त्यसबाट जोगिन चाहेको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा नगएकाले उनलाई १५ हजार डलर जरिवाना समेत तिराइयो।

संयुक्त राज्य अमेरिकाको ओलम्पिक र पाराओलम्पिक समिति (यूएसओपीसी)ले हालै गरेको एक अध्ययनमा ‘स्पोर्ट मेन्टल हेल्थ एसेस्मेन्ट टूल’ (खेलाडीको मानसिक स्वास्थ्य मूल्याङ्कन उपकरण)ले ५८ प्रतिशत स्टार खेलाडीमा मानसिक स्वास्थ्य समस्या देखाएको थियो।

“म्याराथन खेलाडी बीचमै दिक्क भएर
फर्किन सक्छन्, उनीहरूलाई उत्प्रेरित गर्ने
तालीम दिनुपर्छ। फूटबल खेलाडीलाई
उत्प्रेरणासँगै एकाग्रता र अवधारणागत
तालीम दिनुपर्छ। तालीम दिइरहँदा
कतिपयमा कैफियत आउँछ। त्यसवेला
उनीहरूको मानसिक समस्याको पहिचान
गर्नुपर्छ”
“कोरोना महामारीले खेलाडी, कोच, खेल निकायका पदाधिकारी सबैको मानसिक स्वास्थ्यमा उथलपुथल ल्याइदिएको छ,” खेल मनोविद् गुरुङ भन्छन्, “उग्र हुने, जुनसुकै वेला जे पनि बोल्ने, मनमुटाव हुने भइरहेको छ। यो मनोविज्ञानसँग जोडिएको कुरा हो।”

के गर्न सकिन्छ?

अहिलेको अवस्थामा हरेक खेलाडी वा समूहले मनोविद्को खर्च धान्न सक्ने अवस्था छैन। गुरुङका अनुसार, उनीहरूले स्पोर्टस् साइकोलोजी कमिशनको सहयोग लिन सक्छन्। “हामीले भ्याएसम्म सहयोग गर्छौं, तालीम आयोजना गरिदिन्छौं,” उनी भन्छन्।

सम्पूर्ण खेल मूलतः दिमागले खेलिने भएकाले खेलाडीलाई त्यही रूपमा तयार पार्नुपर्ने अर्का मनोविद् खनाल बताउँछन्। “हामी जित्छौं भन्ने भावना खेलाडीको दिमागमा जगाइदिन्छौं,” उनी भन्छन्, “खेलको प्रकृति अनुसार मनोवैज्ञानिक तालीम दिनुपर्छ।”

उनका अनुसार, शुटिङ खेलाडीलाई लङ-टर्मको हाई कन्सन्ट्रेसन ट्रेनिङ चाहिन्छ। “म्याराथन खेलाडी बीचमै दिक्क भएर फर्किन सक्छन्, उनीहरूलाई उत्प्रेरित गर्ने तालीम दिनुपर्छ। फूटबल खेलाडीलाई उत्प्रेरणासँगै एकाग्रता र अवधारणागत तालीम दिनुपर्छ। तालीम दिइरहँदा कतिपयमा कैफियत आउँछ। त्यसवेला उनीहरूको मानसिक समस्याको पहिचान गर्नुपर्छ,” खनाल भन्छन्। मानसिक समस्यासँग जुधिरहेको खेलाडीलाई खेलअघि र पछि पनि परामर्श दिन आवश्यक रहेको उनले बताए।

खेलाडीहरू मैदान छिर्नुअघि नै हार्ने-जित्ने निर्क्योल भइसक्छ भन्ने भनाइ मनोविज्ञानसँग जोडिएको खेल मनोविद् गुरुङ बताउँछन्। “यसबारे चेतना फैलाउन सकियो भने हामी हार/जितको मनोविज्ञान ड्रेसिङ रुममै परिवर्तन गर्न सक्छौं,” उनी भन्छन्।

comments powered by Disqus

रमझम