मंसिर २०७८ | 17/11/2021

महामारिमा मनसिक स्वास्थ्य

Share:
  
- डा. मधुर बस्नेत
अध्ययनले देखाएको छ– सामान्य इन्फ्लुएन्जा भएका व्यक्तिको तुलनामा कोभिड–१९ सङ्क्रमितमा मानसिक समस्याको जोखिम झण्डै ५० प्रतिशतले बढ्छ ।

काभिड–१९ ले आक्रान्त विश्व अहिले केही तङ्ग्रिने तरखरमा छ । कात्तिक तेस्रो सातासम्म विश्वमा २५ करोडभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने ५० लाख जतिको ज्यान गइसकेको छ । नेपालमा पनि यो अवधिमा आठ लाख १५ हजार जनाभन्दा बढीलाई सङ्क्रमण भइसकेको छ भने करीब साढे ११ हजारले ज्यान गुमाएका छन् ।

यसैबीच, महामारीले पुर्‍याएको जनधनको क्षतिबारे केही छलफल भए पनि मानसिक क्षतिबारे कमै चर्चा भएको पाइन्छ । कोभिड–१९ सङ्क्रमितलाई पछि हुन सक्ने मानसिक समस्याको चर्चा त झ्नै छैन । जबकि, पछिल्ला अध्ययन–अनुसन्धानले यो समस्या निकै भयावह हुन सक्ने औंल्याएका छन् ।

कोभिड–१९ सङ्क्रमणपछि डर, तनाव, अनिद्रा, उदासीनताका कारण लागूपदार्थ दुव्र्यसन र आत्महत्या जस्ता घटना बढेको अध्ययनले देखाएका छन् । कोभिडको गम्भीर सङ्क्रमणका क्रममा हुने ‘साइटोकिन स्टोम’ का कारण पक्षाघातको सम्भावना पनि रहन्छ । यस बाहेक टाउको दुख्ने, रिंगटा लाग्ने, बेसुर हुने तथा छारे रोग जस्ता कारणले पनि मानसिक समस्या निम्त्याइदिन सक्छ ।

विश्वप्रख्यात जर्नल लान्सेट साइकियाट्रीमा गत अप्रिलमा प्रकाशित कोभिड–१९ सङ्क्रमण भएका दुई लाख ३६ हजार ३७९ व्यक्तिमाथिको अध्ययन अनुसार सङ्क्रमणपछिको ६ महीनामा एक तिहाइलाई मानसिक वा स्नायुसँग सम्बन्धित रोग पाइएको थियो ।

ती एक तिहाइमध्ये झ्ण्डै १३ प्रतिशतमा त्यस्तो समस्या पहिलो पटक देखिएको थियो । सघन कक्षमा उपचार गर्नुपरेकाहरूमा त स्नायु तथा मानसिक समस्याको दर अझै बढी (४६%) पाइयो । अध्ययनले सबैभन्दा बढी १७ प्रतिशतलाई एन्जाइटी, १४ प्रतिशतलाई डिपे्रसन, सात प्रतिशतमा लागूपदार्थको दुव्र्यसन तथा पाँच प्रतिशतमा अनिद्राजन्य मानसिक रोग देखिएको थियो ।

यी सबै समस्या अस्पताल भर्ना हुनुपरेका, सघन उपचार कक्षको आवश्यकता परेका वा कोभिड–१९ ले दिमागमा असर परेकाहरूमा अधिक पाइएको थियो । यसको अर्थ, यो समूह अझै बढी जोखिममा छ भन्ने हो । यसतर्फ वेलैमा हाम्रो तयारी र सचेतना हुन जरुरी देखिन्छ । उक्त अध्ययन अनुसार, सामान्य इन्फ्लुएन्जा भएका व्यक्तिको तुलनामा कोभिड–१९ सङ्क्रमितमा मानसिक समस्याको जोखिम झ्ण्डै ५० प्रतिशतले बढेको छ ।

गत मेमा जर्नल अफ साइकोसोमाटिक मेडिसिनमा प्रकाशित विश्वभरिका विभिन्न ३४ अनुसन्धानको विश्लेषणले कोभिडका कारण एन्जाइटीको समस्या ७–६३ प्रतिशतसम्म, थकान २८–८७ प्रतिशतसम्म, शारीरिक दुखाइ ५–३६ प्रतिशतसम्म, जोर्नीहरूको दुखाइ ६–२७ प्रतिशतसम्म र दैनिक कामकाज तथा शारीरिक क्षमतामा ह्रास आउने समस्या १५–५४ प्रतिशतसम्म आएको औंल्याएको थियो । थकानको समस्या कोभिड– १९ सङ्क्रमणको गम्भीरतासँग प्रत्यक्ष सम्बद्ध रहेको पाइएको थियो । अर्थात्, सङ्क्रमण जति गम्भीर छ थकान उति बढी ।

नेपालमा शुक्रराज सरुवा रोग अस्पतालमा भएको अध्ययनले सङ्क्रमितहरूमा मूलतः शारीरिक समस्या बढेको औंल्याएको थियो । सबैभन्दा बढीमा दम फुल्ने समस्या ४१ प्रतिशतमा देखिएको थियो भने त्यसपछि थकान (३३%), छातीमा भारीपन (२८%), खोकी (२७%), छाती दुख्ने (१९%), निद्रा नलाग्ने (१६%) समस्या पाइएको थियो ।

हेल्थ फाउन्डेशन नेपाल तथा नेशनल इन्स्टिच्यूट अफ मेन्टल हेल्थ नेपालले कोभिड निको भएका ६०२ जनालाई टेलिफोन मार्फत दिएको मानसिक परामर्शका क्रममा पनि २१८ जनामा त्यस्तो समस्या देखिएको थियो । तीमध्ये पनि ६५ जनाको मानसिक समस्या अझ् गहिरो थियो । उनीहरूमा देखिएका मुख्य समस्यामा डिपे्रसन, बेचैनी, लागूपदार्थ दुव्र्यसन र आत्महत्याको सोचाइ आदि थिए । आत्महत्याको सोचाइ आएको बताएका अधिकांश व्यक्तिले सङ्क्रमणका वेला घरपरिवार र छरछिमेकीबाट भोगेको सामाजिक लाञ्छनालाई कारण औंल्याएका थिए ।

नेपाल प्रहरीको तथ्याङ्कले पनि आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/७८ मा आत्महत्याका घटना २५ प्रतिशतले बढेको देखाउँछ । यसको प्रमुख कारण कोभिड–१९ महामारी नै हुन सक्ने आकलन गरिएको छ । यसको अलग अनुसन्धान हुन भने बाँकी छ ।

महामारी रोक्न अपनाइने बन्दाबन्दी, औषधिको अनुपलब्धता तथा उपचार र सरसहयोगको अपर्याप्तताले पहिले नियन्त्रणमा रहेका मानसिक समस्यालाई समेत बल्झइदिन सक्ने पाइएको छ । कोभिड–१९ का कारण केही निश्चित समूह मानसिक रोगको जोखिममा बढी हुने देखिन्छ । जस्तै– बालबालिका तथा किशोरकिशोरी, बेरोजगार तथा घरबारविहीन, स्वास्थ्यकर्मी, पहिले नै कुनै मानसिक समस्या भएकाहरू, गर्भवती, दीर्घरोग तथा शारीरिक दुर्बलता भएकाहरू, आप्रवासी तथा शरणार्थी आदि । भाइरसले मस्तिष्कका कोषिकाहरूमा समेत सङ्क्रमण गर्दा त्यसबाट शरीरमा उत्पन्न हुने विभिन्न रोग प्रतिरोधी जीवरस पनि यसरी मानसिक समस्या बढाउने कारण हुन सक्ने आकलन गरिएको छ ।

कसरी थाहा पाउने?

कोभिड–१९ सङ्क्रमणका वेला वा निको भएपछि पनि केही डर–तनाव हुनु सामान्य नै हो । तर, त्यो तनाव मानसिक रोगसम्म पुग्ने जोखिम रहेकाले सचेत हुन जरुरी छ । सामान्यतया व्यक्तिको मनोभाव, बानी– व्यवहारमा अस्वाभाविक परिवर्तन आयो, त्यो साताभन्दा लामो समयसम्म रह्यो र कामकाजमै असर पुर्‍याउन थाल्यो भने उसलाई मानसिक रोग भएको आशङ्का गर्न सकिन्छ । त्यसको निक्र्योल गर्न स्वास्थ्यकर्मीको परामर्श जरुरी हुन्छ ।

जस्तै, कुनै व्यक्तिलाई डिपे्रसन सम्बन्धी मनोरोग भए ऊ प्रायः उदास रहन्छ । उसमा निराशाजनक र नकारात्मक सोचहरू आउन थाल्छन् । अल्छीपना, काममा अरुचि, सुस्तता जस्ता लक्षण देखिन्छन् । यस्तो वेला निद्रा तथा खानाको रुचिमा गडबडी हुन सक्छ । सामान्यतया यस्ता लक्षण दुई साताभन्दा बढी देखिए तथा उसका कामकाजमा पनि असर पर्न थाले डिपे्रसनको आशङ्का गर्न सकिन्छ । मानसिक समस्या भएकालाई कोभिड–१९ बाट पूर्ण निको हुन पनि समय लाग्छ ।

मानसिक रोगहरू प्रायः जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षहरूबीचको जटिल अन्तरक्रियाका कारण हुन्छन् । यसबाट बच्ने कुनै अचुक सूत्र छैन, तथापि केही परहेजले जोखिम कम गर्न निकै सहयोग पुर्‍याउँछन् । जस्तै, समयमा सुत्ने र समयमा उठ्ने, पौष्टिक आहार लिने, नियमित शारीरिक व्यायाम गर्ने, कामकाजमार्‍/रचनात्मक क्रियाकलापमा व्यस्त रहने, सकारात्मक सोच राख्ने तथा नशाजन्य पदार्थ सेवन नगर्ने ।

बस्नेत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक विभागका सहप्राध्यापक हुन् ।

comments powered by Disqus

रमझम