मंसिर २०७८ | 17/11/2021

अतिरञ्जित

Share:
  
- नयनराज पन्डे

किक बक्सिङ

गरीब थिए लखिराम । पढ्न पाएनन् । तर, ‘बलभन्दा बुद्धि ठूलो’ भन्ने कुरा उनले किशोरवयमै बुझ्सिकेका थिए । कुनै वादविवाद प्रतियोगितामा भाग लिन पाएका भए ‘तरबारभन्दा कलम नै बलियो’ कै पक्षमा तर्क राख्ने थिए ।

त्यस्तो गौप्राणी लखिरामलाई पनि मुद्दा लाग्यो, जग्गा कब्जा गरेर छाप्रो बनाएको । खासमा सोझ लखिरामले घडेरी बापत जिम्दारलाई पैसा बुझएकै थिए । जिम्दारले पैसा त लिए, जग्गा पास गरिदिएनन् । लखिराम जिम्दारको विश्वासमा परे । एक न एक दिन अवश्य पास गरिदिन्छन् भनेर घडेरीमा छाप्रो बनाए । छाप्रोमा बसेको दिनदेखि दशा त्यस घरमा छिर्‍यो ।

लखिरामले जिल्ला अदालतमा मुद्दा हारे । पुनरावेदनमा पनि हारे । त्यसपछि शुरू भयो, सर्वोच्च अदालतको तारिख । उनी न्यायालयको दुश्चक्रमा यसरी फसे कि घडेरीको मूल्यभन्दा बढ्ता रकम वकीलहरूको फिस र काठमाडौं धाउनमा खर्च भयो । धाइधपेडीमा पैसो त खर्च भयो भयो, खुट्टा पातलिएर बाँस जस्ता भए । केटाकेटीमा जिम्दारले नै लखिरामको खुट्टा देखेर भनेका थिए, ‘तँ बलियो छस् । तेरा खुट्टा दह्रा छन्, तैंले त किक बक्सिङ सिक्नुपर्ने ।’

तर, लखिरामलाई किक बक्सिङ के हो र त्यसले के काम गर्छ भन्ने नै थाहा थिएन ।

केही साताअघिकै कुरा त हो । सर्वोच्चमा आफ्नो मुद्दाको नयाँ तारिख लिएर जसै लखिराम बाहिरिए, छेउको बार एसोसिएशन परिसर तिरबाट आएको होहल्ला सुने । जिज्ञासावश बार भवनतिर गए । देखे, दुई वकील एकअर्कालाई उफ्रीउफ्री घुस्सा र लात हान्दै छन् । छेउमै उभिएको मानिसले भनिहाल्यो, ‘वाह, क्या किक बक्सिङ !’

‘यस्तो किक बक्सिङले के गर्छ हजुर ?’ लखिरामले सोधे ।

‘यसले बल्झ्रिहेका समस्याको तु का तु छिनोफानो गर्छ ।’

किक बक्सिङको महत्व तत्काल बुझ्हिाले, लखिरामले । दौडँदै र आफ्नो मुद्दाको पेशी तोकिएको इजलासमा पुगे ।

इजलास सहायकले सोधे, ‘किन आइस् फेरि ?’

‘मैले श्रीमान्लाई किक बक्सिङ दिएँ भने मेरो मुद्दाको छिनोफानो हुन्छ कि हुन्न ?’

(यसपछि के के भयो, म भन्दिनँ । थप कहानी इजलासमा किक बक्सिङ हानेर न्यायमूर्तिहरूलाई चकित पारेको आरोपमा थुनिएका लखिरामसितै बुझनुस् । लखिराम भेटिएनन् भने कालो कोटमा किक बक्सिङ गरेर लोकलाई चकित बनाएका तर फुक्काफाल रहेका वकीलहरूसित बुझनुस् । जवाफ कसो फेला नपर्ला !)

जाडोमा सम्मान

लेख्न थालेको दुई दशकपछि एकाएक लेखक महोदयलाई सम्मान गर्ने प्रस्ताव आयो । लेखक महोदय भुइँ न भाँडोमा भइहाल्नुभयो ।

योजना बनाइहाल्नुभयो– ‘सम्मानमा पाएको दोसल्ला बालाई दिन्छु । ताम्रपत्र आगन्तुकहरूले देख्ने गरी बैठकको भित्तामा झुन्ड्याउँछु । अनि नगद श्रीमतीको हातमा राखिदिनेछु । ताकि उनले पनि बुझून्, लेखन सधैं अनुत्पादक कर्म होइन ।’

खुशीले लेखक महोदयको रात अनिदो बित्यो । बिहानै आयोजकलाई फोन गरेर भन्नुभयो, ‘टिकट बुद्ध एअरकै पठाउनुस् है । यती र श्रीले निकै हल्लाउँछन् ।’

उताबाट आयोजक– ‘सर, हामीले सम्मान दिने हो । टिकटको व्यवस्था त छैन ।’

यताबाट लेखक– ‘उसो भए, मलाई दिने नगदराशिबाटै टिकट रकम कट्टी गर्नुस् न त ।’

आयोजक– ‘हामी आत्मीयता दिन्छौं सर । नगदको व्यवस्था त छैन ।’

लेखक महोदय मौन हुनुभयो । त्यही मौन अवधिमा आयोजकले सोधे, ‘सरले लेख्ने विधा के हो ? गजल हो ? आख्यान हो ? समालोचना हो ? सरको बारेमा गुगलमा खासै केही भेटिएन । त्यसैले सरलाई प्रदान गरिने ताम्रपत्रको व्यहोरा पनि सरले नै लेखेर इमेल गरिदिनुस् न है ? अनि सर, यता जाडो शुरू भइसक्यो, आउँदा अलि बाक्लो ज्याकेट ल्याउनुहोला । हामीले दिने दोसल्ला पातलो छ ।’

पर्खाइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आगमन’ लेखिएको ढोका बाहिर उभिएका तमाम बाआमाबीच रमाशङ्कर र जगतबहादुर पनि थिए । एकैछिनको प्रतीक्षापछि जगतबहादुरले रमाशङ्करसित सोधे, ‘तपाईं कसलाई पर्खिरहनुभएको ?’

आँखाभरि आँसु सहित रमाशङ्कर बोले, ‘बाह्र वर्ष भयो, छोरो मलेशिया गएको । यसपालि छठ मनाउन आउँछु भन्थ्यो । आउन त आउने भो, तर काठको बक्सामा, लाश बनेर ।’

अनि गम्छाले आँसु पुछ्दै जगतबहादुरसित सोधे, ‘तपाईंको को आउँदै छ ?’

जगतबहादुरले भने, ‘मैले पनि छोरालाई नभेटेको बाह्र वर्ष भयो । छोराले हरेक दशैंमा आउँछु भन्छ, आउँदैन । तर, उसले पठाएको भिटामिनको बट्टा हरेक वर्ष आउँछ । मेरो छोरो सधैं भिटामिन बनेर आउँछ ।’

दुवै बाको अनुहार उज्यालो थिएन । छेउमा अरू केही बाआमा चहकिलो अनुहार सहित छोराछोरीलाई माला लगाएर विदेश पठाउँदै थिए ।

कोही भन्दै थिए, ‘बेटा, जल्दी फर्किनू ।’

कोही भन्दै थिए, ‘छोरी, माछाको तेल पठाइदिनू ।’

कतै कुनै सम्मेलनको वातानुकूलित कक्षमा बसेर तथ्याङ्कशास्त्रीहरू हिसाब निकाल्दै छन्– आगामी वर्ष कति वटा काठको बक्सा आउँछन् र कति वटा भिटामिन र माछाको तेलका बट्टाहरू आउँछन् ।

comments powered by Disqus

रमझम