मंसिर २०७८ | 17/11/2021

मर्माहत मनाङ

Share:
  
- मुकेश पोखरेल
मनसुन र मनसुनपछि देखिएका जलवायुजन्य घटनाका कारण भएका क्षतिले नेपालका निम्ति आगामी दिन थप सङ्कटपूर्ण हुने सङ्केत देखिए पनि सम्भावित नोक्सानी न्यूनीकरण गर्न सरकारी ध्यान पुगेकै छैन।

बाढीले बगाएको घरको भग्नावशेष हेर्दै मनाङ, नासो गाउँपालिका-१, तालगाउँकी डिलकुमारी गुरुङ।
तस्वीरहरूः कृष्ण पौड्याल

मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ उपल्लो पिसाङका डोली गुरुङ (१०२)ले गाउँमा यति ठूलो वर्षा अनि बाढीपहिरो कहिल्यै देखेका थिएनन्। यो वर्ष उनले थप नयाँ कुरा देखे, डढेलो। हिउँदमा मनाङका अग्ला डाँडापाखा हिउँले सेताम्मे हुन्थे। यस पटक भने ती डाँडा हिउँ होइन, आगोको ज्वाला र धुवाँले ढाकिए। हिउँद याममा बाक्लो हिमपात हुने गरेको मनाङमा गत वर्षको हिउँदमा हिउँ नै परेन।

अहिलेको जस्तो अवस्था आफ्ना बाबु र हजुरबुबाको पालामा समेत नभएको गुरुङ सुनाउँछन्। “मनसुनको समयमा सिमसिम पानी पर्थ्यो, त्यसैका भरमा खेतीबाली लगाइन्थ्यो। कहिले पानी नपरेर बाली लगाउन नपाएपछि पानी माग्दै पूजा गर्थ्यौं,” डोली भन्छन्, “अहिले त पानी नपरोस् भनेर भगवान् पुकार्नुपर्ने अवस्था भयो। डाँडाकाँडामा डढेलो लागेको त झन् थाहै थिएन।”

माथिल्लो पिसाङका याङडु गुरुङका अनुसार, मनाङबासीले बाली लगाउने समय वैशाख-जेठबाट शुरू हुन्छ। हिउँदमा परेको हिउँ पग्लिएपछि यी महीनामा बाली लगाउन तयार हुने हो। असार-साउनमा फाट्टफुट्ट हुने वर्षाले बालीनाली सप्रिन्छ। तर, मनसुनको वेला पनि सितिमिति पानी नपर्दा स्थानीयहरू धार्मिक परम्परा अनुसार पूजा गर्थे।

नासो गाउँपालिका-१ स्थित सिरानताल गाउँ । बाढीअघि र बाढीपछि (तल) ।

उपल्लो मनाङको तलेखुमाथि रहेको गुफामा लामा लगेर पूजा गर्ने चलन थियो। “पूजामा खेती गर्ने घरको एक जना अनिवार्य जानुपथ्र्यो, नगए जरिवाना लाग्ने नियम थियो,” गुरुङ भन्छन्, “यस वर्ष त हिउँदमा पानी नपरेर बर्खामा बेस्सरी पर्‍यो। पानी नपरोस् भनेर पो देउता पुकार्‍यौं।”

अस्वाभाविक वर्षा

हिमाली जिल्ला मनाङका बासिन्दा यस वर्षको मनसुनमा पानी परेको देखेर डराए। लगातार चार–पाँच दिनसम्म मुसलधारे वर्षा भएर जताततै भलबाढी र पहिरो बग्न थालेपछि अत्यास लागेको नासो गाउँपालिका-१, धारापानीकी लमु लामा बताउँछिन्। “जताततै बाढी र पहिरो देखिँदा बाँचिन्छ जस्तो लागेकै थिएन,” उनी भन्छिन्, “मस्र्याङ्दी नदीको गडगडाहटले घरहरू थरर्र हल्लिन्थे, भूकम्पले पनि त्यसरी हल्लाएको थिएन।” त्यस्तो दर्के झरी र भलबाढीमा उनी सहितका ६० जना गाउँले ज्यान जोगाउन दुई दिनसम्म ओढारमा बसेका थिए। हुन पनि, यस वर्षको जेठ र असारमा मनाङमा एक वर्षभरि पर्ने पानी ४५ दिनमै वर्षियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनाङको हुम्देस्थित वर्षा मापन केन्द्रले १ असारमा ८२.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ। यो नै अहिलेसम्म त्यहाँ रेकर्ड भएको सबैभन्दा धेरै वर्षा हो। हुम्देमा सन् २०१५ देखि २०२० सम्मको वर्षाको स्थितिका आधारमा जूनमा त्यहाँको सरदर वर्षा ४२ मिलिमिटर हो। तर, यस वर्षको १६ जूनसम्म १९७ मिलिमिटर वर्षा भयो। यो सरदर वर्षाको ४६९ प्रतिशत हुन आउँछ।

जूनमा मात्र होइन, मेमा पनि उक्त स्थानमा सरदर वर्षाको ६९३ प्रतिशत वर्षा भएको छ। मेको सरदर वर्षा २४ मिलिमिटर रहेकोमा यस वर्ष १६६ मिलिमिटर वर्षा भयो। हुम्देको वार्षिक सरदर वर्षा ३७५ मिलिमिटर रहेकोमा मेदेखि १६ जूनसम्म ३६३ मिलिमिटर वर्षा भइसकेको छ। अर्थात्, एक वर्षमा हुनुपर्ने वर्षा लगभग ४६ दिनमै भएको छ। त्यस्तै, हुम्देमा मनसुनपूर्व (मार्च-मे)को सरदर वर्षा १३५ मिलिमिटर रहेकोमा यस वर्ष २३२ मिलिमिटर वर्षा भएको छ। मनसुनको प्रभाव नपर्ने मनाङमा यो वर्ष बाढीपहिरो र डुबान हुनुमा छोटो समयमा भएको अत्यधिक वर्षा नै प्रमुख कारण देखिन्छ।

हुम्देको वर्षा मापन केन्द्रले मनाङका सबै स्थानको प्रतिनिधित्व गर्दैन। हुम्दे समुद्र सतहदेखि तीन हजार ३५० मिटरको उचाइमा छ भने ताल बजार एक हजार ७००, धारापानी एक हजार ८६० र चामे दुई हजार ६ मिटर उचाइमा अवस्थित छन्। वर्षाका कारण गएको पहिरो, ठाडा खोलाहरूको वितण्डा हुम्देभन्दा तल चामेतर्फ धेरै छ। यसले हुम्देभन्दा दक्षिणतर्फ अझ् ठूलो वर्षा भएको अनुमान गर्न सकिन्छ।

डोलमाया गुरुङ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगर्भशास्त्र विभागका सह-प्राध्यापक सुबोध ढकालका अनुसार, उच्च हिमाली भागमा हिमपात हुने र हावा चल्ने भएकाले त्यहाँको माटो खँदिलो हुँदैन। जसलाई सामान्य वर्षाले पनि सजिलै गलाउन र बगाउन सक्छ। हुन पनि, समथर भूभाग र अनुमान नै गर्न नसकिने स्थानमा पनि पहिरो गएर क्षति पुर्‍याएको छ।

मर्स्याङ्दी नदीको मुहानसम्म नै व्यापक वर्षा भएको नदी किनार र सडकमा गएका पहिरोबाट देखिन्छ। मस्र्याङ्दीमा मिसिन आउने ठाडा खोलामा आएको बाढी पनि अस्वाभाविक छ। मनाङबासीको सम्झनामा अहिलेसम्म त्यस्तो भएकै थिएन।

जलवायु विज्ञ ङमिन्द्र दाहाल पृथ्वीको तापक्रम बढेका कारण मनसुनी वायु उचालिएर हिमाल पार गर्दै मनाङ, मुस्ताङ जस्ता अग्ला स्थानमा पुगेको र त्यसले वर्षा गराएको बताउँछन्। “यो जलवायु परिवर्तनसँग सम्बन्धित विषय हो,” दाहाल भन्छन्, “हिजो पानी नपर्ने ठाउँमा पनि अहिले छोटो समयमा धेरै वर्षा हुन थाल्यो। यस्ता घटनाले क्षति झ्न् बढ्ने देखाउँछन्।”

कृषि उत्पादनमा असर

मनाङमा जलवायु परिवर्तनको घटनाले कृषि उत्पादनमा असर गरेर रैथाने बाली हराउने चिन्ता स्थानीयमा देखिन्छ। रैथाने उत्पादन मासिए यहाँको पर्यटनमा पनि नकारात्मक असर पर्ने जोखिम छ।

प्राकृतिक रूपमा सुन्दर मनाङ जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। विश्व प्रख्यात अन्नपूर्ण पदमार्ग, विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालका कारण विभिन्न देशका पर्यटक मनाङ पुग्थे। ती पर्यटकलाई मनाङबासीले आफ्नो खेतबारीमा फलेका आलु, गहुँ, जौ, फापर र उवाबाट बनाइएका परिकार खुवाउँथे। हिमाली हावापानीमा उत्पादित अन्नबाट बनेका परिकारका लागि पर्यटकले मनलाग्दी खर्च गर्थे।

तर, ती सबै कुरा इतिहास बन्ने अवस्था देखिएको पिसाङ गाउँपालिकास्थित नायोलकी डोल्मा घले बताउँछिन्। हुन पनि, अत्यधिक वर्षाको प्रभाव यस वर्षको अन्नबाली उत्पादनमा देखियो। पानी धेरै परेपछि पोहोर परार जस्तो आलु, फापर र गहुँ नफलेको घ्यारु गाउँकी अरमाया गुरुङ बताउँछिन्। उनी ३०० किलो आलुको बीउ रोप्दा ८०० किलो भित्र्याउँथिन्। यस वर्ष भने मुश्किलले बीउ मात्र जोगिएको छ।

डोली गुरुङ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले फूल खेल्ने वेला धेरै पानी परेपछि यस वर्ष बालीनाली नसप्रिएको बताउँछन्। उनका अनुसार, किसानले लगाएको बीउ फर्किन पनि मुश्किल छ। “आउने बर्खामा पनि यस्तै पानी पर्‍यो भने त बाली नलगाए पनि हुन्छ,” उनी भन्छन्।

कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङ असार र साउनमा परेको झरीको प्रभाव बालीनालीमा परेकाले त्यसको असर उत्पादनमा स्वाभाविक रूपमा पर्ने बताउँछन्। “सबै ठाउँको तथ्याङ्क प्राप्त नभएका कारण उत्पादन कति घट्छ भन्न सक्ने अवस्था छैन, तर घट्ने चाहिं निश्चित छ,” उनी भन्छन्।

अत्यधिक वर्षाका कारण बालीनालीमा असर पर्ने सम्भावना त छँदै छ, बाढीले खेतीयोग्य जमीन कटान गर्दा उत्पादन अझ् घट्ने देखिन्छ। नासो गाउँपालिका-१, तालगाउँका साथै धारापानी, कोत्रो लगायत स्थानमा पनि उब्जनी हुने जमीन कटान भएको छ। जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक तथा सरकारका पूर्व सचिव ऋषिराम शर्मा हिमाली क्षेत्रमा भएको भीषण वर्षा गम्भीर विषय भएको बताउँछन्। “यो जलवायु परिवर्तनकै असर हो। यस्तो अवस्था जारी रहे हिमाली जिल्ला मानवबस्ती रहित हुनसक्छ।”

‘जलवायु शरणार्थी’

मानवीय क्रियाकलापका कारण हरितगृह ग्यास उत्सर्जन हुँदा भएको तापक्रम वृद्धिका कारण जलवायु परिवर्तन भएको हो। जसका कारण जलवायुजन्य प्रकोपका घटनाहरू बढेका हुन्। तापमान वृद्धिका कारण जलवायुमा आएको परिवर्तनको असर संसारका सबैजसो स्थानमा देखिएका छन्। यस्तो असर नेपाल जस्ता हिमश्रृङ्खला भएका देशहरूमा बढी परेको छ। अझ् कम पानी पर्ने हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, सिन्धुपाल्चोकमा ठूला असरहरू देखिन थालेका छन्।

डेजिन घले।

जलवायु परिवर्तनको प्रतिकूल असरकै कारण निम्तिएका घटनाबाट मानिसहरू विस्थापित हुने क्रम बढेको छ। गत १ असार रातिको बाढीबाट मनाङको नासो गाउँपालिकामा मात्र ४५ परिवार विस्थापित भए। तीमध्ये केही परिवार गाउँमै आफन्तको जग्गामा पाल टाँगेर बसेका छन् भने अन्यले काठमाडौंमा आफन्तकहाँ शरण लिएका छन्। तिनैमध्येका एक हुन्, नासो गाउँपालिका-३, धारापानीका मीनबहादुर गुरुङ। वडाध्यक्ष समेत रहेका उनले घरमा होटल चलाएका थिए। १ असारमा मस्र्याङ्दीमा उर्लेको बाढीले घर बगाउँदा उनको भएभरको सम्पत्ति गुम्यो। “भएको सबथोक बाढीले लग्यो। अहिले हामी शरणार्थी भएर बसेका छौं,” उनी भन्छन्।

रु.४ करोड बराबरको घर सहितको सम्पत्ति बगाएपछि डिमानसिंह गुरुङको परिवार पनि धारापानीबाट विस्थापित भएर काठमाडौंमा छ। कन्यामाया गुरुङ बाबुले दिएको दुई रोपनी जग्गामा तरकारी, स्याउ, आलु फलाउँथिन् भने त्यहीं किराना पसल चलाइरहेकी थिइन्। तर, मर्स्याङ्दीको बाढीले उनको पनि सर्वस्व उजाड्यो। “लगाएको एकसरो कपडा बाहेक बाढीमा सबथोक बगेर गयो,” उनी बह पोख्छिन्।

बाढीअघि उनीहरूमध्ये अधिकांश हुनेखानेमै गनिन्थे। प्रायः सबैको होटल व्यवसाय थियो। बिरामी हुँदा हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौंसम्म आउने हैसियत राख्थे। तर, ती दिन अब उनीहरूका लागि सपना जस्तै बनेका छन्। “अहिले त साँझ्बिहान छाक टार्न नै समस्या हुन थाल्यो,” बाढीअघि धारापानीमा होटल चलाउने कमरकली गुरुङ भन्छिन्, “कति दिन अरूको घरमा बसेर सहयोगमा पठाएको खाएर छाक टार्ने हो खै ! मर्नु न बाँच्नुको दोसाँधमा पुगियो।” होटल बगाएपछि उनको ६ सदस्यीय परिवार आफन्तको घरमा बसिरहेको छ।

आधा उमेर होटल व्यवसाय गरेर बिताएका केशरे गुरुङ (६१)ले मस्र्याङ्दीको बाढीले कुनै दिन दुःख देला भनेर कल्पना नै गरेका थिएनन्। त्यसै कारण भए जति आम्दानी होटलको स्तरोन्नतिमा खर्च गर्दै गए, अन्यत्र जग्गा र सम्पत्ति जोड्नेतिर ध्यान दिएनन्। तर, रु.४ करोडभन्दा बढी लगानी गरेको होटल मर्स्याङ्दी बाढीले निलेसँगै उनी रित्तो भएका छन्।

मर्स्याङ्दी नदीले धारापानीमा गरेको विनाशः ढु‌गा भएको स्थानमा बाढीअघि चार वटा घर थिए ।

अहिले उनी पालमुनि बसेका छन्, विभिन्न सङ्घसंस्थाले दिएको चामल र नुन-तेलले गुजारा चलाएका छन्। “यस्तो नियति आउला भन्ने लागेको भए त कमाइ जति होटलमा नखन्याई अन्य ठाउँमा जग्गा किन्थें होला, यहाँ बगाए पनि अन्य ठाउँमा बस्ने बास त हुन्थ्यो। तर, बास नै नरहेपछि अब के गर्ने?” केशरेका अनुसार, उनको होटलमा अट्याच बाथरुम सहितका २१ वटा कोठा थिए। सबै खर्च कटाउँदा पनि वार्षिक रु.१६ लाख कमाइ हुन्थ्यो।

केशरे गुरुङको जस्तै नियति भोग्ने अर्की पीडित हुन्, गोलमाया गुरुङ। उनको सिरान तालमा रहेको १० रोपनी जग्गामा १० कोठाको होटल र घर थियो। बाढीको बबण्डरपछि अहिले उनको घर र जग्गा कहाँ थियो भनेर खुट्याउनै गाह्रो पर्छ। उनको जग्गामा मस्र्याङ्दी नदी बगिरहेको छ।

जेठको अन्तिम साता शुरू भएको वर्षाले १ असारमा मर्स्याङ्दी नदीमा ठूलो बाढी आएको थियो। उक्त दिन नदीमा बाढी बढ्न थालेपछि गोलमाया गुरुङ सहित सिरान तालका सात परिवारले भागेर ज्यान जोगाएका थिए। दुई दिन ओढारमा बसेपछि हेलिकप्टरले उद्धार गरेर तालफेदीमा ल्याएको उनी बताउँछिन्। त्यसयता उनी आफ्नो घर रहेको ठाउँमा फर्केर जान सकेकी छैनन्। “अहिले जान सक्ने अवस्था पनि छैन। टाढैबाट हेर्दा घर भएको ठाउँमा नदी बगेको देखिन्छ, रूखका बोटले घर त्यहाँ थियो भन्ने अनुमान मात्र लगाउन सक्छु,” उनी सुनाउँछिन्।

बाढीले मनाङका धारापानी र तालगाउँका साथै चामे, बगरछाप लगायत स्थानहरूमा पनि क्षति पुर्‍याएको थियो। ती स्थानमा धारापानी र तालगाउँमा जस्तै मर्स्याङ्दी र मस्र्याङ्दीमा मिसिन आउने ठाडा खोलाले घरहरू बगाएका छन्। भुतराम गुरुङले चामेमा १५ वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए। घट्टखोला छेउमा उनको घर र होटल थियो।

बर्खामा घट्टखोलामा पानी बढे पनि बाढी आएको चामेबासीलाई अहिलेसम्म थाहा छैन। तर, १ असारमा अनुमान नै नगरेको बाढी उर्लियो र भुतराम सहित विजय गुरुङ, धर्म महर्जनका घर बगायो। “घट्टखोला बहुलाउँदा हेर्दाहेर्दै सबै घरहरू बगायो,” उनी भन्छन्। घट्टखोलाले विस्थापित गरेका भुतराम सहितका तीन परिवार जिल्ला कारागार मनाङको भवनमा बसिरहेका छन्।

मनाङमा १ असारको बाढीले कति क्षति पुर्‍यायो, विस्तृत र आधिकारिक तथ्याङ्क सरकारी निकायमा समेत छैन। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बाढीले रु.१ अर्ब १० करोड बराबरको क्षति गरेको बताउँछन्। नासो, चामे र मनाङ ङिस्याङ गाउँपालिकाले सङ्कलन गरेको क्षतिको विवरणबाट रु.३ अर्बभन्दा बढी क्षति भएको तथ्याङ्क छ। चामे गाउँपालिकामा मात्रै बाढी र पहिरोबाट निजी घर, विद्यालय, सडक, विद्युत्गृह गरी रु.१ अर्बभन्दा बढी क्षति पुगेको छ।

नासो गाउँपालिका-१, तालगाउँ।

त्यसैगरी, नासो गाउँपालिकामा रु.२ अर्बभन्दा बढीको क्षति भएको छ। यी बाहेक विभिन्न स्थानमा मस्र्याङ्दी नदीले बगाएको सडक, झेलुङ्गे पुल लगायत अन्य भौतिक सम्पत्ति गरी रु.१ अर्बभन्दा बढी क्षति भएको मनाङका सांसद पाल्देन छोपाङ गुरुङ बताउँछन्। “सबैतिरको क्षतिको हिसाब गर्दा रु.४ अर्बभन्दा बढीको क्षति भएको छ,” सांसद गुरुङ भन्छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालको तराई र पहाडमा भन्दा हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर उच्च छ। हिमालमा प्रतिवर्ष ०.०८६ डिग्री सेल्सियस, उच्च पहाडमा ०.०६८ डिग्री, मध्यपहाडमा ०.०५२, शिवालिक क्षेत्रमा ०.०३० र तराईमा ०.०२१ डिग्री सेल्सियसका दरले तापक्रम बढेको छ। अझ् मनाङको तापक्रम वृद्धिदर त अन्य जिल्लाहरूको भन्दा उच्च छ। विभागका अनुसार, मनाङमा प्रतिवर्ष तापक्रम वृद्धिको प्रवृत्ति ०.०९२ डिग्री सेल्सियस छ।

गफमै जेलिएको जलवायु

जलवायुजन्य सङ्कट दिन प्रतिदिन गहिरिंदै जाँदा यसबाट हुने जनधनको क्षति पनि बढेको छ। जलवायुजन्य घटनाबाट अनुमान नै नगरेका क्षतिहरू कसरी हुन्छन् भन्ने जान्न धेरै टाढा जानु पर्दैन। गत कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी झ्रीपछि आएको बाढी र पहिरोका कारण १०७ जनाको मृत्यु भयो। किसानले काट्न ठिक्क पारेको र काटिसकेर भित्र्याउन लागेको धान खेतमै सोत्तर भयो।

यस्तै, बझङ, डोटी, डडेल्धुरा, बैतडी, इलाम, पाँचथर लगायत स्थानमा मानिसहरू विस्थापित भए। गृह मन्त्रालयका अनुसार, ५ कात्तिकसम्म करीब दुई हजार ३०० घरमा क्षति पुग्यो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार, वर्षाले कृषि क्षेत्रमा मात्र रु.८ अर्ब २७ करोड बराबरको क्षति गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, १ वैशाख २०७८ देखि ७ कात्तिकसम्म देशभरि बाढी र पहिरोका ४७७ घटनामा परेर २१५ जनाको ज्यान गयो। ७९ जना हराइरहेका छन्। १ हजार १५८ परिवार प्रभावित भएका छन्।


सङ्कटमा माटाका घर

मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लामा माटोका घर बनाउने पुरानो चलन हो। मनाङको पिसाङ गाउँपालिकास्थित नायोलकी देजिन घले (९२)का भनाइमा, अत्यधिक हिमपात हुने भएकाले न्यानोका लागि माटोका घर बनाउने परम्परा थियो।

तर, हिमाली भेगमा पनि मध्य पहाडमा जस्तै पानी पर्ने गरेपछि माटोका घर बनाउने चलन हट्दै गएको छ। पानीले माटोका घर भत्किने गरेपछि स्थानीयले पछिल्लो समय काठका घर बनाउन थालेका छन्। यसको प्रभाव मनाङको वनजङ्गलमा परेको छ। घर बनाउन अहिले जताततै काठ कटान भएको देखिन्छ।


बाढी र पहिरोको प्रकोप देखिएपछि सरकारले यी दुवैलाई सङ्कटग्रस्त जिल्ला त घोषणा गर्‍यो, तर घरबार गुमाएका पीडित परिवारलाई घोषणा गरेको राहत पनि अहिलेसम्म उपलब्ध गराएको छैन। मनाङमा बाढीपहिरो आएपछि असार पहिलो साता हेलिकप्टरमा अवलोकन गर्न गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बाढीबाट प्रभावित परिवारलाई रु.२ लाखका दरले राहत दिने घोषणा गरेका थिए। तर, पीडितले अहिलेसम्म पनि प्रदेश र स्थानीय सरकारबाट राहत नपाएको गुनासो गरेका छन्।

मुख्यमन्त्रीपछि सेनाको हेलिकोप्टर चढेर गृहमन्त्री बालकृष्ण खाँण र ऊर्जामन्त्री पम्फा भुसाल मनाङ पुगे। उनीहरूले पनि आश्वासन बाहेक केही नदिएको स्थानीय बताउँछन्। धारापानी आधारभूत विद्यालयका शिक्षक रोहित गुरुङ भन्छन्, “दिने हो भने दिइहाल्नुपर्‍यो, नदिने हो भने दिन्नौं भनिदिनुपर्‍यो,” उनी भन्छन् “पीडितसँग वाचा गरेर अलमलमा राख्न भएन।”

नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घले पनि सरकारका तर्फबाट मनाङका बाढीपीडितको घाउमा मल्हम लगाउने काम नभएको बताउँछन्। “अहिलेसम्म सरकारका तर्फबाट हामीले केही पनि पाएका छैनौं,” उनी भन्छन्, “विभिन्न देशमा बसोबास गर्ने मनाङबासीले पठाएको सहयोगबाट राहत वितरण गरेका छौं। विदेशबाट उठाएर पठाएको पैसाले कति दिनसम्म धान्छ?”

नेपालमा जलवायु परिवर्तनका नाममा
अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त
नभएको होइन। तर, त्यस्तो सहयोग
आधारभूत रूपमा लक्षित वर्गसम्म
पुगेको छैन।
जलवायुको विषय काठमाडौंमा गफमै सीमित बनेको कतिपय जानकारहरू बताउँछन्। जलवायु विज्ञ राजु पण्डित क्षेत्री जलवायु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र गोष्ठीको विषय मात्र हुँदा गर्नैपर्ने काममा ध्यान नगएको बताउँछन्। “अन्तर्राष्ट्रिय रूपमा जेजति हुनुपर्ने हो, त्यो भइसक्यो र अन्तर्राष्ट्रिय मुद्दा भएकाले सवाल बनिसक्यो। अब हामीले राष्ट्रिय स्वार्थलाई हेरेर काम गर्नुपर्छ। राष्ट्रिय स्तरमा भएको बहसलाई प्रदेश र स्थानीय तहसम्म लैजानुपर्छ, जुन भएको छैन।”

जलवायु विज्ञ ङमिन्द्र दाहाल पनि जलवायुको विषय सीमित व्यक्तिमाझ् बुद्धि विलासको विषय मात्र भएको टिप्पणी गर्छन्। “गफको विषय हुनु नराम्रो होइन, तर त्यसबाट के नतीजा प्राप्त भयो भन्ने महत्त्वपूर्ण कुरा हो,” दाहाल भन्छन्, “अहिलेसम्म देखिने गरीको नतीजा छैन। जलवायुजन्य घटनाबाट पीडित भएकाहरूको पीडा उस्तै छ।

नेपालमा जलवायु परिवर्तनका नाममा अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त नभएको होइन। तर, त्यस्तो सहयोग आधारभूत रूपमा लक्षित वर्गसम्म पुगेको छैन। प्रकृति रिसोर्स सेन्टरले एक वर्षअघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सन् २०१३-२०१७ सम्म जलवायुका नाममा विभिन्न दातृ निकायबाट नेपालमा झ्ण्डै रु.२ खर्ब २७ अर्ब आएको छ। उक्त रिपोर्ट अनुसार, सबैभन्दा बढी विश्व ब्याङ्कबाट रु.७७ अर्ब १४ करोड प्राप्त भएको छ। तर, यति ठूलो रकमबाट भएको उपलब्धि हेर्दा सन्तोष गर्ने ठाउँ पटक्कै भेटिंदैन।

“पीडितहरूले राहत नपाएबाट सहजै भन्न सकिन्छ, जलवायुका नाममा आएको रकम अन्यत्रै खर्च भइरहेको छ,” प्रकृति रिसोर्स सेन्टरका कार्यकारी प्रमुख एवं जलवायु विज्ञ राजु पण्डित क्षेत्री भन्छन्।

गङ्गापूर्ण ताल ७० वर्षअघि र दुई वर्षअघि।
तस्वीर स्रोतः कान्छा गुरुङ

गङ्गापूर्ण तालको वर्तमान

अन्नपूर्ण पदयात्रा र मनाङ भ्रमणमा जाने पर्यटकको आकर्षक गन्तव्य थियो, गङ्गापूर्ण ताल। अब भने यो तालमा पहिले जस्तो आकर्षण छैन। ताल गेग्रानले भरिएर स्वरूपमै परिवर्तन आएको छ। गेग्रान थुप्रिंदै गएर स्वरूप बदलिंदै गएको ताल यस वर्षको वर्षा र बाढीले पुरिएको मनाङको मनाङ ङिस्याङ गाउँपालिका-५ का स्थानीय कान्छा गुरुङ बताउँछन्।

गङ्गापूर्ण तालको इतिहास लामो भने छैन। ७० वर्षअघि हिमनदीको रूपमा थियो, यो ताल। तापक्रमका कारण हिमनदी पग्लिंदै गएपछि उक्त स्थानमा ताल बन्यो र विस्तार हुँदै गयो। “अहिले ताल भएको ठाउँमा त मान्छे हिंड्ने बाटो थियो। त्यही बाटो भएर मानिसहरू बस्तुभाउ लेकतिर लैजान्थे,” गुरुङ भन्छन्

अहिले गङ्गापूर्ण ताल।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने उक्त ताल संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन्। सांसद पोल्देन छोपाङ गुरुङ पनि तालका लागि रु.१ करोड खर्च गर्ने योजना रहेको बताउँछन्। तर, त्यहाँको प्राकृतिक र भौगोलिक अवस्था र बदलिएको जलवायुले अब उक्त ताल पुरानै स्वरूपमा फर्किने सम्भावना निकै कम देखिन्छ।

गाउँपालिका अध्यक्ष घलेका अनुसार, १६ वर्षअघि एक तालबाट एक बिहान हिंड्दा हिमनदी भेट्न सकिन्थ्यो। तर, अहिले एक दिन हिंड्दा पनि हिमनदी भेट्न सकिन्न। “हिमनदी हराइसके,” उनी भन्छन्।

comments powered by Disqus

रमझम