मंसिर २०७८ | 17/11/2021

कसरी घटाउने विद्युत् सङ्कट ?

Share:
  
- रामहरि पौड्याल
विश्व चरम ऊर्जा सङ्कटबाट गुज्रिरहँदा नेपालले नवीकरणीय ऊर्जाको नमूना केन्द्रका रूपमा ठूलो भूमिका खेल्न सक्छ ।

एक दशकसम्म ऊर्जा सङ्कटबाट गुज्रिएको नेपालले चार वर्षअघि त्यसबाट पार पायो । सर्वसाधारणले दैनिक १८ घण्टासम्म लोडसेडिङ भोग्नुपरेको थियो । त्यो ऊर्जा सङ्कटले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासलाई गहिरो असर पुर्‍यायो । विश्व ब्याङ्कको तथ्याङ्क अनुसार, ऊर्जा सङ्कटकै कारण नेपालले वार्षिक ११ बिलियन डलर घाटा व्यहोरेको थियो ।

हिजो दुनियाँमा ऊर्जा सङ्कट धेरै टाढाको विषय ठानिएको थियो । पछिल्लो समय भने देशहरूबीच जेजति विवाद, होडबाजी र प्रतिस्पर्धा देखिने गरेको छ, ती प्रायःजसो ऊर्जाका संसाधनलाई आफ्नो पकडमा राख्न वा आफू अनुकूल बनाउन गरिएकै खेलो हुन् । तेल र ग्यासका भण्डार, विद्युत्का स्रोतहरूमा कसरी आफ्नो आधिपत्य स्थापित गर्ने भन्ने विषय २१औं शताब्दीको पेचिलो मुद्दा हो ।

विगतमा देशको ऊर्जा सङ्कटको समाधानका लागि केही गर्ने अभिप्रायले मैले आफ्नो विद्यावारिधिको अध्ययनको विषय यसैलाई बनाएँ । उक्त अध्ययनले वर्तमान ऊर्जा उत्पादन र खपतको विस्तृत समीक्षा गर्दै ऊर्जाको माग र आपूर्तिबीचको अन्तर फराकिलो बनाउन योगदान गर्ने मुख्य कारकहरूको सूक्ष्म पहिचान गरिएको छ । यी कारकमा ढिलो र बढी लागतमा सम्पन्न हुने जलविद्युत् आयोजनाहरू, परम्परागत र अपर्याप्त ऊर्जा पूर्वाधार, प्रसारण र वितरण घाटा, विद्युत् चोरी, फितलो ऊर्जा व्यवस्थापन, कमजोर उपकरण, ऊर्जाको दिगो मूल्य निर्धारण रणनीति र ऊर्जा बजारका अनमेल नियम हुन् ।

यति मात्र होइन, ऊर्जा सङ्कट निम्त्याउने अन्य कारणमा भौगोलिक र भूराजनीतिक समस्या, ऊर्जा आयातमा परनिर्भरता र नवीकरणीय ऊर्जा स्रोतहरूको सदुपयोग नहुनु लगायत हुन् । ऊर्जा मिश्रणको यथोचित प्रयोग नगरी जलविद्युत्मा मात्र अत्यधिक निर्भरता नेपालको ऊर्जा क्षेत्रको ठूलो चुनौती हो ।

अध्ययनमा नेपाल सरकारले हरित र दिगो ऊर्जालाई टेवा पुर्‍याउन लागू गरिएका सबै नीति तथा लगानी पहलबारे समीक्षात्मक विश्लेषण गरिएको छ । यस बाहेक, देशमा रहेको प्रचुर नवीकरणीय ऊर्जा स्रोतको उपयोग कसरी गर्ने भनेर देखाउन सफ्टवेयर मार्फत सन् २०५० सम्मको ऊर्जा मोडलिङ गरिएको छ ।

हाम्रा खोजले नवीकरणीय स्रोतहरू वर्तमान ऊर्जा सङ्कट न्यूनीकरणका लागि मात्र नभई ऊर्जाका भरपर्दो र सुरक्षित स्रोतहरू स्थापना गरी देशलाई ऊर्जा स्वतन्त्रता प्रदान गर्न पनि महत्वपूर्ण रहेको देखाउँछन् । त्यति मात्र होइन, नेपाल दक्षिणएशियाकै हरित ऊर्जाको नमूना ‘पावर हाउस’ बन्न सक्छ । भोलिका दिनमा विशाल छिमेकी देशहरूको बढ्दो ऊर्जा मागको स्थायी समाधानको स्रोत बन्न सक्छ ।

कुनै पनि देशको विकासमा ऊर्जा आपूर्तिको दीर्घकालीन अवस्था र त्यसले अर्थ व्यवस्थामा पार्ने प्रभाव गम्भीर हुन्छ । भर्खरै नेपाल विद्युत् प्राधिकरणले श्रृङ्खलाबद्ध नीति र प्राविधिक उपाय अपनाएर निराशाजनक ऊर्जा अवस्थालाई सुधार गर्न थालेको छ । विगतमा प्राधिकरणको कमजोर प्रदर्शनले निजी ऊर्जा उत्पादक (आईपीपी)हरूको सङ्ख्या वृद्धि गर्न ठाउँ थियो, जसले देशको ऊर्जा बजारलाई परिवर्तन गर्‍यो । आईपीपीहरूले आपूर्ति गर्ने बिजुली भारतबाट वार्षिक रूपमा आयात हुने बिजुलीको ८० प्रतिशत स्तरमा पुग्यो ।

नेपालमा नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रयोगमा लगानी गर्ने धेरै अवसर छन् । तर, साना तथा ठूला नवीकरणीय ऊर्जा आयोजनाहरूमा गरिने लगानीले नेपालको ऊर्जामा निर्भर अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ र उद्योग तथा समाजको आवश्यकता पूरा गर्न विभिन्न नवीकरणीय ऊर्जा स्रोतहरूको सही मिश्रण कसरी स्थापना गर्ने भन्ने बुझ्न जरुरी छ । स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन र दुर्गम क्षेत्रका समुदायहरूको जीवनशैली प्रवद्र्धन गर्न ससाना नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग गर्न सकिन्छ । साथै, दीर्घकालीन रूपमा औद्योगिक र कृषि उत्पादन जोगाउन ठूला जलविद्युत् आयोजनाहरू चाहिन्छन् ।

ऊर्जा उत्पादन गर्नुभन्दा भएको बिजुलीलाई ऊर्जा दक्षता अपनाई बचाउनेतिर ध्यान दिनुपर्छ । सिमेन्ट, स्टील जस्ता बढी बिजुली खपत गर्ने उद्योगहरूमा ऊर्जा दक्षता अपनाएर धेरै बिजुली बचाउन सकिन्छ । त्यसबाट हुने कार्बन उत्सर्जन घटाउन सकिन्छ । काठमाडौंका एक लाख घरमा तीन किलोवाटको सोलार पावर राख्दा ३०० मेगावाट बिजुली निकाल्न सकिने र त्यसबाट १० लाख टन कार्बन उत्सर्जन कटौती हुने देखिएको छ । उक्त प्रणालीको लागत ०.०६ डलर किलोवाट / घण्टा रहेको र पे ब्याक पिरियड (लगानी फिर्ता हुने अवधि) करीब नौ वर्ष हुने देखिन्छ । स्मार्ट ग्रिड, माइक्रो ग्रिड, स्मार्ट मिटर जस्ता नयाँ प्रविधि अपनाएर बढ्दो विद्युत् चुहावट कम गर्न सकिन्छ ।

ब्रिटिश पेट्रोलियमको भनाइ छ– ‘टु मेक एन इनर्जी फिक्स, वी निड एन इनर्जी मिक्स’, अर्थात् ऊर्जाको सुनिश्चितताका लागि ऊर्जा मिश्रणमा जानु अत्यावश्यक हुन्छ । यो कथन आसन्न ऊर्जा सङ्कट समाधान गर्न नेपालको ऊर्जा प्रणालीको मूल मन्त्र बन्नुपर्छ । ऊर्जा सुरक्षा, कार्बन उत्सर्जन न्यूनीकरण, बढ्दो जलवायु परिवर्तनले निम्त्याएका मौसमी घटनाहरूका बीच विश्व चरम ऊर्जा सङ्कटबाट गुज्रिरहँदा नेपालले नवीकरणीय ऊर्जाको नमूना केन्द्रका रूपमा ठूलो भूमिका खेल्न सक्छ ।

पौड्यालले बेलायतको स्वान्जी युनिभर्सिटीबाट ऊर्जा सङ्कटको विषयमा विद्यावारिधि गरेका छन् ।

comments powered by Disqus

रमझम