मंसिर २०७८ | 17/11/2021

इमानदार बाईबाई ! 'डन'लाई हाईहाई !

Share:
  
- पुरञ्जन आचार्य
त्याग र सङ्घर्षको बाटो छाडी विलासी जीवनशैली र भ्रष्ट चरित्रमा मग्न नेताहरूका कारण राजनीति मैलिरहँदा अहिलेका दलहरूमा ठूलै हस्तक्षेप नभएसम्म परिवर्तन हुँदैन ।

नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको उच्चतम अभ्यास छैन । पछिल्ला दुई–तीन दशकको कुरा गर्दा कांगे्रसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवा सभापति बने । एमालेमा मदन भण्डारी, माधवकुमार नेपाल, झ्लनाथ खनाल, केपी शर्मा ओली नेतृत्वमा आए । जिल्लाहरूमा नेतृत्व परिवर्तनको अवस्था केन्द्रमा भन्दा राम्रो छ । दुई दशकअघि पार्टी नेतृत्वमा भएकाहरू अहिले विस्थापित भइसकेका छन् । जनमुखी रूपान्तरणको हिसाबले हेर्दा हाम्रा राजनीतिक दलहरू अलिकति पनि प्रगतिशील छैनन् । नेताहरू भ्रष्ट भए भन्ने भाष्य मेची–महाकालीसम्मै स्थापित छ । मुलुक जति जति दलीयकरण हुँदै छ, मुलुकवासी त्यति त्यति दलविहीन बन्दै छन् । नागरिकले आफूलाई कसैले संरक्षण नदिएको, आफ्नो हितमा नसोचेको जस्तो ठानेका छन् । देश रूपान्तरण गर्नुपर्ने पार्टीका नेताहरू आफ्नै समृद्धिको यात्रामा दौडिइरहेका छन् ।

नेपाल यस्तो देश हो जहाँ कम्युनिष्टको सङ्ख्या धेरै छ, तर कोही पनि कम्युनिष्ट छैन । त्यत्रो सशस्त्र द्वन्द्वबाट आएका पुष्पकमल दाहालसँग कम्युनिष्टको दर्शन बाँकी छैन । कम्युनिष्ट नेताका नाममा निजी विद्यालय र अस्पताल खुल्न थाले । बाहिरतिर यस्तो कुरा कल्पनै गरिंदैन ।

नेताहरूले लामो समय राजतन्त्रको विरोधमा सङ्घर्ष गरे । त्यो अवधिमा जेलनेल नभोगेको, प्रवासनमा जान नपरेको, दुःख नपाएको राजनीतिक परिवार भेट्नै मुश्किल पर्छ । नेताहरूले त्यो दिनमा फर्कनु नपरोस् भनेर ‘जनताको मुक्ति’ लाई आफ्नो आर्थिक स्वार्थसँग जोडे । जसले गर्दा पार्टीहरूमा व्यापक भ्रष्टाचार बढ्यो । नेताहरू त्याग र सङ्घर्ष मात्रै लिएर राजनीति अगाडि बढाउन डराए । आफू र आफ्नो परिवारका लागि आर्थिक जोहो गर्नतिर लागे । आज कुनै पार्टीमा लाग्नु भनेको आफ्नै रूपान्तरणका लागि हो ।

२०४८ सालसम्म २०५ क्षेत्रबाट निर्वाचन लड्ने उम्मेदवार र उनीहरूलाई मत दिनेहरूबीच आर्थिक रूपमा ठूलो खाडल थिएन । जब चुनाव जितेर गए, नेताहरूको वर्ग फेरियो । कम्युनिष्ट नेताहरूको आर्थिक हैसियत त झ्न् अकल्पनीय ढङ्गले माथि उठ्यो । त्यसको स्रोत भ्रष्टाचार नै हो ।

२०५१ को चुनावसम्म पनि मतदाताले आफ्नो नेतालाई आफू जस्तै देख्थे, कार्यकर्ता पनि सित्तैमा खट्थे । तर, नेताको वर्गीय हैसियत फेरिएपछि कार्यकर्ता मात्रै किन सित्तैमा खट्थे र ? कार्यकर्ताले पैसा मागेपछि नेताले डन, तस्कर, भ्रष्टाचारी र बिचौलियासँग मागेर दिन थाले । पैसा लिए बापत तिनीहरूलाई सुहाउँदो नीति बनाउने, सांसद पद दिने गर्न थालियो ।

नेताहरूमा नैतिकताको बलियो हड्डी नै छैन । उनीहरू गँड्यौला भए । अहिले न्यायालयमा देखिएको सङ्कटमा नेताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्ष वा विपक्षमा बोल्न नसक्नुको कारण पनि त्यही हो । सर्वोच्च मात्रै होइन, सबै संवैधानिक निकायसँग राजनीतिक दलहरू डराउँछन् । भइरहेको तमाम विकृति विरुद्ध नेताहरू बोल्नै सक्दैनन् ।

नेपालमा कामै नगरी विलासी जीवन बिताउने जति पनि नेता छन्, उनीहरू भ्रष्टाचारबाटै त्यो हैसियतमा पुगेका हुन् । अधिकांश प्रभावशाली नेताका सन्तान राजनीतिक सम्बन्धलाई भजाएर डनगिरी गर्छन् । केन्द्रीय नेताका छोराहरू मात्रै होइनन्, डन अब तलबाट पनि जन्मिंदै छन् । झपा, मोरङ र सुनसरी जिल्ला घुम्दा मैले मध्यम वर्गीय परिवारमा छोराहरूलाई कुण्डले, गुण्डा बनाउँछु, डन बनाउँछु भन्ने बाबुआमा भेटें । किन भन्दा, त्यति नभए त राजनीतिमा कब्जा जमाउनै नसक्ने रहेछ, पैसा कमाउनै नसक्ने रहेछ भन्ने जवाफ आयो । हाम्रो सामाजिक धरातल कसरी यहाँ पुग्यो ? यो सबै नेताहरूका कारण भएको हो । असल र त्यागी मान्छेलाई समाजले पनि दुत्कार्न थालेको छ । डनको पछि लाग्न थालेको छ ।

अहिलेका दलहरूमा ठूलो हस्तक्षेप नभएसम्म परिवर्तन हुँदैन । नेताहरूसँग मुलुक परिवर्तन गर्ने सोच नै छैन । कुनै पनि मन्त्री वा नेताले जनताले उपचार गर्ने अस्पताल र जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालय सुधार्छु भनेको सुनिंदैन । अरू त अरू, हाम्रा मन्त्रीहरू आफैं पढेर आएको विद्यालय समेत सुधार गर्न चाहंदैनन् । जुन दिन नेता, कर्मचारी र न्यायाधीशका सन्तान रत्नराज्य स्कूल र पद्मकन्या क्याम्पस पढ्न जान्छन्, उपचार गर्न वीर अस्पताल पुग्छन्, सम्झ्नुस् त्यही दिन नेपाल बन्यो । त्यसका लागि पनि सबैभन्दा पहिला राजनीतिक दलहरूमा भित्रैबाट सुधार आवश्यक छ ।

आचार्य राजनीतिक विश्लेषक हुन् ।

comments powered by Disqus

रमझम