१७ कात्तिक २०७० | 3 November 2013

गाह्रो पर्खाइ

Share:
  

हिमाल (३ कात्तिक) मा प्रकाशित 'बेयुल भू―स्वर्गः पर्खाइ र प्राप्ति' आलेख पढेपछि केही लेख्न मन लाग्यो। लेखमा भनिए जस्तै मताधिकार प्रयोग गरेर बेठीकलाई ठेगान लगाउने, ठीकलाई विजयी गराउँदै समाजलाई नयाँ दिशा दिन सकियो भने नयाँ नेपाल बन्ने निश्चित छ, तर अहिलेको अवस्थामा को ठीक र बेठीक भनेर छुट्याउनै जनतालाई समस्या परेको छ। गाउँ―गाउँमा प्रचारप्रसारको लागि जाने राजनीतिक दलहरूका कुरा सुन्दा सोझासीधालाई कसलाई चुन्ने भनेर निर्णय लिन समस्या भएको देखिन्छ। यस्तो अवस्थामा कसरी सही मानिस सत्तामा जालान् त? त्यसैले, अझ्ै खराब मानिसले राज गर्ने अवस्था छ।

विमल पोखरेल, इमेलबाट

हिमाल (३ कात्तिक) मा प्रकाशित 'बेयुल भू―स्वर्गः पर्खाइ र प्राप्ति' सामग्री पढेर खुशी लाग्यो। सबै जनताले को खराब छ भनेर छुट्याउन सके भने विस्तारै हामी पनि सुन्दर, शान्त र समृद्ध देशमा रमाइरहेका हुनेछौं। तर, छलकपटको राजनीति फष्टाइरहेको हाम्रो समाजमा कसरी भू―स्वर्गको पर्खाइ गर्नु?

सुनिता माली, इमेलबाट

त्रासपूर्ण यात्रा

हिमाल (३ कात्तिक) मा प्रकाशित 'कहालीलाग्दो यात्रा' फोटो–एसेले नेपालीहरूले गर्नु परिरहेको कष्टपूर्ण यात्रा देखाएको छ। साँघुरा र बिग्रिएका सडकमा उस्तै अवस्थाका सवारी साधनमा यात्रा गर्ने जो कोही यात्रा अवधिभर त्रासमा रहन्छन्। कहिलेकाहीं गुडिरहेका गाडीबाट खसेर मृत्यु भएका समाचार पनि आउने गर्दछन् भने बढ्दो सडक दुर्घटना नेपालको नियमित प्रक्रिया जस्तो भएको छ। यस्ता धेरै समस्या समाधानतर्फ लागेनौं भने हामी सधैं कहालीलाग्दो यात्रामै जीवन बिताउन बाध्य हुनेछौं।

गोपाल पौडेल, इमेलबाट

चोरी नियन्त्रणका लागि

हिमाल (३ कात्तिक) को 'बढ्यो चोरी' रिपोर्ट अहिलेको वास्तविकता हो। पेशेवर चोरमाथि बेलाबखत सक्रिय हुने चोरहरू थपिंदा कसैले ढुक्कसँग निदाउन सक्ने अवस्था छैन। साँझ्–बिहानको छाक जुटाउन चोरीको सहारा लिने हुन् वा रातारात धनी बन्ने प्रयासमा चोर्ने, दुवैले समाजलाई असुरक्षित बनाइरहेको छ। अव्यवस्थित शहरीकरणले चोरहरूलाई बढावा दिइरहेको छ। यो समस्या प्रहरीले मात्र समाधान गर्न सक्दैन। समाधानका लागि सरकार र समाज दुवै लाग्नुपर्छ, त्यो पनि ढिलो नगरी।

मिलन बम, इमेलबाट

निर्विकल्प निर्वाचन

हिमाल (३ कात्तिक) मा प्रकाशित 'खिइँदै बहिष्कार आन्दोलन' रिपोर्ट निकै सान्दर्भिक लाग्यो। अहिलेको अवस्थामा देशमा संविधानसभाको निर्वाचन आवश्यक छ भन्ने थाहा हुँदा हुँदै नेकपा―माओवादीले देखाएको हठले उसलाई जनताबाट टाढा बनाएको छ। जनविश्वास गुम्दै जाँदा माओवादीको आन्दोलन सेलाउँदै जानेछ। बुझौं, अहिलेको आवश्यकता भनेको तोकिएको समयमा निर्वाचन र त्यसबाट गठन हुने संविधानसभाबाट समयमै नयाँ संविधान हो। यस बाहेकको अलमल र विरोधले देशलाई रसातलमा पुर्‍याउने छ।

बलदेव खड्का, इमेलबाट

समयमै उपचार गरौं

हिमाल (३ कात्तिक) मा छापिएको 'आक्रान्त मातृत्व' रिपोर्टले झ्सङ्ग बनायो। आफूले भोगिरहेको समस्या के हो भन्ने थाहा नपाएर धेरै आमाले पार गरेको अवस्था साँच्चिकै पीडादायी छ। सुन्दा सामान्य लाग्ने यस्ता समस्याले सुत्केरी आमा मात्र होइन नवजात शिशुलाई पनि उत्तिकै असर पुर्‍याइरहेको हुन्छ। यस्ता समस्या हुँदा समयमै उपचार गर्नु पर्छ भन्ने चेतना सबैमा हुन आवश्यक छ।

सुलोचना चौधरी, इमेलबाट

उद्यमशीलता चाहियो

हिमाल (३ कात्तिक) मा प्रकाशित जीवनप्रसाद राईको लेख 'महबाट मालामाल' पढ्दा नवलपरासीकी दुर्गा पौडेलले मौरी पालेरै वार्षिक रु.१० लाख आम्दानी गरिरहेको थाहा पाइयो। २०५८ सालमा तालीम लिएर मौरी कृषक बनेकी दुर्गा उद्यमशीलता भएका सबैका लागि प्रेरणाको स्रोत भएको हुनुपर्छ। ३० लाख भन्दा बढी नेपाली युवा विदेशमा श्रमिक बनेको आजको अवस्थामा सरकारले जाँगरिला जनतासँग सहकार्य हुने व्यावहारिक नीति लागू गरेदेखि नेपाली उद्यमशीलता फैलिएर कुनै नेपालीले श्रम बेच्न विदेशिनु नपर्ने दिन आउनेथियो।

यज्ञबहादुर कार्की, मन्थली, रामेछाप

परम्पराको खोल नओढौं

हिमाल (२० असोज) मा प्रकाशित मध्य र सुदूरपश्चिम क्षेत्रमा व्याप्त छाउपडी प्रथाबारेको समाचार सामग्री पढेपछि २१औं शताब्दीमा पनि हाम्रो सोचाइ भने कतिसम्म पुरानो रहेछ भन्ने प्रष्ट हुन्छ। हुन त छाउपडीको नाम उच्चारण हुनासाथ सुदूर र मध्यपश्चिमलाई देखाउने गरिन्छ तर शहरबजारमा पनि यो चलन लुकेर बसेको कुरा समाचारबाट थाहा लाग्छ। परम्पराका नाममा हुने यस किसिमका महिला हिंसाका घटना रोक्नेतर्फ हरेकले परिवारबाट पहल गर्नुपर्छ।

रमा शाही, इमेलबाट

comments powered by Disqus

रमझम