पुस २०७८ | 16/12/2021

अतिरञ्जित

Share:
  
- नयनराज पन्डे
झोला, समय र रातारात

म चकित थिएँ। मलाई झन् चकित पार्दै हिजोसम्म ऊर्जावान् युवा अहिले काँपेको स्वरमा भनिरहेका थिए, “राजतन्त्र र धर्मनिरपेक्षताको विषयमा अब जनमत सङ्ग्रह गर्नैपर्छ।”

झोला

पार्टीको महाधिवेशनमा उनी उत्साहसाथ सहभागी हुँदै थिए। झोलामा ‘कम्युनिष्ट घोषणापत्र’ राखेका थिए। झोला ठूलै थियो। मार्क्सको दास क्यापिटल पनि अटाएको थियो। अझ् भएन भनेर ‘साम्यवादी सपना’ देखाउने अरू किताबहरू पनि कोचेका थिए।

उनी आफ्नै खर्चमा अधिवेशनमा सहभागी हुन चाहन्थे। तर, उनीसँगै अधिवेशनमा जान लागेका साथीले भने, “अरूलाई जिताउन जानु छ, आफ्नो खर्चमा किन जाने?”

उनी आफ्नै खर्चमा होटलमा बस्न चाहन्थे। तिनै साथीले भने, “हामीले किन खर्च गर्ने? हाम्रा कमरेडले गर्छन्।”

उनी पनि साथीकै लहैलहैमा लागे। कमरेडकै खर्चमा बास बसे। कमरेडकै खर्चमा मासुभात खाए। कमरेडकै खर्चमा जङ्गल सफारी गरे। साँझ कमरेडकै खर्चमा टन्न विदेशी रक्सी पनि खाए।

दारु अत्यधिक पिएछन्। कोठामा बेहोश भएर ढलेछन्। होशमा आउँदा त अधिवेशन सकिइसकेको रहेछ। साथीले भने, “लु, हाम्रो भोटले नै कमरेडले चुनाव जिते। अब घर जाम्।”

घर जाँदा उनको झोला हलुङ्गो थियो। दास क्यापिटल हराएछ। कम्युनिष्ट घोषणापत्र पनि गायब भएछ। साम्यवादी सपना देखाउने किताबहरू च्यातचुत भएका रहेछन्।

बस चढेपछि आफ्नो हात हेर्दा उनी झस्किए। साथीलाई सोधे, “बूढी औंलामा कालो कसरी लाग्यो?”

साथीले झोलाबाट रक्सीको बोतल निकालेर ठाडो घाँटी लगाउँदै जवाफ दिए, “डियर कमरेड, हामी सबैले बेहोशीमै नेताहरूलाई ल्याप्चे लगाएका थियौं नि त!”

उनी जिल्ला फर्कंदा अर्को पार्टीको साथी अधिवेशनमा जाँदै थिए। बीपीका किताबहरूले भरिएर होला, उनको झोला पनि गह्रुँगै थियो।

समय

कुरो फेरि महाधिवेशनकै। महाधिवेशनमा आउने प्रतिनिधिहरूका लागि सयौं खसी ढाल्ने योजना बन्यो। खसी छान्ने, किन्ने र महाधिवेशनको भान्सासम्म पुर्‍याउने जिम्मा केही बाहुबलीलाई दिइयो। ती बाहुबलीलाई निर्वाचनपछि पार्टीका मुखियाले केन्द्रीय सदस्यमा ठाडै नियुक्ति दिने तय भएको थियो।

खसीहरू पनि चलाख भइसकेका थिए। उनीहरूले आफूलाई भोजन बनाउने योजना थाहा पाए। आफूहरूलाई लिन आएका बाहुबलीहरू देखेर खसीहरूले आपसमा बात मारे, ‘के ठानेको हामीलाई? हामी अब निर्धा छैनौं।’

खसीहरूलाई ट्रकमा लोड गरियो। त्यति वेला पनि उनीहरू ढुक्कसाथ भन्दै थिए, ‘हेरौं कसरी काट्दा रैछन् हाम्लाई?’

खसीहरूले ट्रकभित्रबाटै सडक छेउको साइनबोर्ड देखेर बुटवल पुगिसकेको थाहा पाए। आपसमा बोले, ‘हाम्ले पनि जान्या छ।’

नारायणघाट पुग्दा पनि खसीहरूले त्यही भने, ‘हामी अब कमजोर छैनौं।’

थानकोट नाघेपछि पनि त्यही भने। खसीबजार आइपुगेपछि उनीहरूलाई ओरालियो। उनीहरूमा ठूलो आत्मविश्वास थियो, ‘समय आओस् न। हाम्ले पनि जान्या छ।’

तिनलाई महाधिवेशन स्थलमा रहेको भान्सानिर रहेको वधशालामा लगियो।

भविष्यमा केन्द्रीय सदस्य बन्ने बाहुबलीहरूले खुकुरीहरूमा धार लगाइरहेको देखेर खसीहरूले मुस्कुराउँदै भने, ‘हामीलाई काटेर खाम्ला भन्ने ठान्या होला। अब यस्तो हुनेछैन।’

मार हान्ने ठाउँमा खसीहरूलाई लहरै राखियो। बाहुबलीहरूले खुकुरी उज्याइसकेका थिए। खसीहरू अझै भनिरहेका थिए, ‘समय आओस् न। हाम्ले पनि जान्या छ।’

राति अबेरसम्म चिया खाँदै उनका कुरा
सुनिरहें र आफूलाई पनि ऊर्जावान् अनुभूति
गरिरहें। छुट्टिंदासम्म उनी जवान थिए। तर,
बिहान जब म उनलाई भेट्न उनको घर पुगें,
उनी वृद्ध भइसकेका थिए। उनी थकित र
गलित देखिन्थे।

के के न विद्रोह गर्लान् जस्ता लाग्ने खसीहरू ‘हामीले नि जान्या छ’ भन्दाभन्दै भकाभक ढले र महाधिवेशनको भान्सामा परिकार बने।

रूखबाट हेरिरहेको कागले भन्दै थियो, ‘के के न गर्छौं भन्ने नेपालीहरू सधैं यसरी नै खसी बनेर ढलिरहने त हो नि!’

रातारात

अघिल्लो रात सद्दे मान्छेकै रूपमा सुतेको पात्र बिहान उठ्दा कीरामा परिणत भएको त फ्रान्ज काफ्काको एउटा विख्यात कथामा पढेको थिएँ। तर, त्यो कथा पो थियो त। यथार्थमा त्यस्तो कहाँ सम्भव थियो र! मान्छेबाट कीरा हुनु त परै जाओस्, एक रातमै कोही युवाबाट वृद्ध हुन सक्छ भन्ने कुरामा पनि मलाई पत्यारै थिएन। तर, अब म आफैं त्यो घटनाको जीवन्त साक्षी भएको थिएँ।

अघिल्लो साँझसम्म उनी युवा थिए। देश विकासका लागि आफ्ना नयाँ नयाँ विचार र योजनाहरू उत्साहसाथ मलाई सुनाइरहेका थिए। त्यति वेलासम्म उनको अनुहारमा गजबको चमक थियो। नवीन सोच र ऊर्जाले व्यक्तित्व धपक्क बलेको थियो।

राति अबेरसम्म चिया खाँदै उनका कुरा सुनिरहें र आफूलाई पनि ऊर्जावान् अनुभूति गरिरहें। छुट्टिंदासम्म उनी जवान थिए। तर, बिहान जब म उनलाई भेट्न उनको घर पुगें, उनी वृद्ध भइसकेका थिए। उनी थकित र गलित देखिन्थे।

यो कसरी हुन सक्छ? मैले सोध्नै परेन। उनकी जहानले नै रुन्चे स्वरमा भनिन्, “खै बाबु, के सनक चढेछ कुन्नि, आधा रातमा ‘राजतन्त्र जिन्दावाद’ भन्दै कराउन थाल्नुभो। अनि त मैले हेर्दाहेर्दै बूढो हुनुभो।”

म चकित थिएँ। मलाई झन् चकित पार्दै हिजोसम्म ऊर्जावान् युवा अहिले काँपेको स्वरमा भनिरहेका थिए, “राजतन्त्र र धर्मनिरपेक्षताको विषयमा अब जनमत सङ्ग्रह गर्नैपर्छ।”

फर्कंदा कसैले मेरो कानैमा भन्दै थियो, “मान्छे विचारले पो जवान हुने हो।”

comments powered by Disqus

रमझम