१७ कात्तिक २०७० | 3 November 2013

रहेनन् गरीबका डाक्टर

Share:
  

सेतोपाटीडटकम
छोराका साथ।
७ कात्तिक बिहान ११.३० मा विदेशस्थित नेपाली साहित्य अनुरागीहरूको संस्था अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को क्यानाडाको ओटावा कार्यालयबाट एउटा मेल आयो। जसमा भनिएको थियो, “एपेन्डिसको क्यान्सरबाट पीडित डा. चित्रप्रसाद शर्मा वाग्लेको उपचारका लागि रु.३० हजार आर्थिक सहयोग गरिएको छ।”

अनेसासको विज्ञप्ति समाचार नबन्दै फेसबूक, ट्वीटर लगायतका सामाजिक सञ्जालहरू डा. वाग्लेप्रतिको संवेदनाका पोस्टिङहरूबाट भरिए, दिउँसो १२.०५ बजे उनको निधन भएको सूचनासहित।

हेल्थ असिस्टेन्ट हुँदै छात्रवृत्ति पाएर उज्वेकिस्तानबाट एमबीबीएस गरेका वाग्लेले डाक्टरी करिअर सुरुआत गरेका थिए, अर्घाखाँचीबाट– पोखरा अस्पतालको पोस्टिङमा जान नमानेर। अभावमा हुर्किएका उनी चाहन्थे, आफ्नो पेशाको लाभ गरीबहरूले पाउन्। र, त्यो लाभ दिई नै रहे, एक दशकसम्म। विश्व स्वास्थ्य संगठनको फेलोसीपमा डेढ वर्षअघि थाइल्याण्डमा एमडीको अध्ययन गर्न जाँदा थाहा भयो, एक लाख मानिसमा एक जनालाई हुने एपेन्डिक्सको क्यान्सरले उनलाई छोइसकेको रहेछ। फर्केर उनी दिल्ली पुगे। र, करीब दुई महीना अघि त्यहाँको राजीव गान्धी अस्पतालबाट १३ महीने लामो उपचारपछि 'अमेरिका र क्यानाडामा मात्र उपचार सम्भव' भन्ने रिफर लिएर स्वदेश फर्के। झ्ण्डै डेढलाख अमेरिकी डलर खर्च लाग्ने उपचारका लागि अनेसास जस्तै थुप्रै संस्था र व्यक्तिहरूको सहृदयताको थैली फुक्दै गर्दा क्यान्सरले उनलाई नछाड्ने गरी अँचेटिसकेको थियो। ३ कात्तिकका दिन नियमित चेकजाँचका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जाँदा अवस्था बिग्रिएको थाहा भएपछि त्यहीं आईसीयूमा उपचार गर्न राखिएको थियो। दिवंगत ४६ वर्षीय डा. वाग्लेका ६ र ८ वर्षीया दुई छोरी, अपाङ्गता भएका ११ वर्षीय छोरा र श्रीमती छन्। समवेदना!

comments powered by Disqus

रमझम