पुस २०७८ | 16/12/2021

'असल हिन्दूस्तान'

Share:
  
- शेखर खरेल
हिन्दू धर्मावलम्बीहरूका निम्ति भारतभन्दा नेपाल पवित्र भूमि हुन सक्छ भन्ने सोचको उपज हो, दिव्योपदेशमा नेपाललाई ‘असिल हिन्दूस्थाना’ (असल हिन्दूस्तान) को उपमा दिइनु।

राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र उसको राजनीतिक अङ्ग भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना आदर्श हिन्दू राष्ट्रवादी भाष्यकार विनायक दामोदर सावरकरको पदचाप पछ्याइरहेका छन्। अङ्ग्रेज शासकले अन्डमान द्वीपको रत्नागिरीस्थित बन्दीगृहमा राख्दा सावरकरले सन् १९२२ मा ‘इसेन्सियल्स अफ हिन्दूत्व’ शीर्षकमा हिन्दू राष्ट्रवादको घोषणापत्र तयार पारेका थिए। सावरकरका लागि हिन्दूत्व आम रूपमा अङ्ग्रेजीमा भनिने ‘हिन्दूइज्म’ भन्दा भिन्न थियो। उनी ‘हिन्दूइज्म’ लाई ‘हिन्दूत्व’ को व्युत्पत्ति मान्थे। अर्थात्, ‘हिन्दूत्व’ मूल वृक्ष र ‘हिन्दूइज्म’ तिनका हाँगाबिँगा। त्यसैले ‘हिन्दूत्व’ के हो भन्ने स्पष्ट नपारेसम्म ‘हिन्दूइज्म’ झनै अस्पष्ट हुने उनको तर्क थियो।

सावरकरले ‘हिन्दूत्व’ लाई विशुद्ध धर्मभन्दा पर देख्नुको मूल कारण उनमा निहित नश्लीय चेत थियो। जसलाई परिभाषित गर्दै उनले लेखेका छन्- ‘हामी सबै हिन्दू एक र एकै राष्ट्रका हौं, किनकि हामी सबैमा बग्ने उही भारतीय सन्ततिको साझा रगत हो।’ हिन्दू को हुन् र को होइनन् भन्ने विषयलाई प्रस्ट्याउँदै उनले लेखेका छन्- ‘हिन्दूको अर्थ भारत देशको बासिन्दा भन्ने मात्र होइन, किनकि हामीलाई एउटै रगतले बाँधेको हुँदा हामी राष्ट्र मात्र नभएर एउटा जाति हौं।’

सावरकरको ‘हिन्दूत्व’ घोषणाको एक शताब्दीयता आरएसएस र भाजपा ‘हिन्दूत्व’ को मार्गमा र छिमेकी देश नेपालका अधिकांश हिन्दू धर्मावलम्बी (अपवादमा केही अन्य आस्थाका व्यक्ति समेत) पुनः हिन्दू राष्ट्रको आकाङ्क्षामा छन्। खास गरी, भारतमा हिन्दू राष्ट्रवादी चिन्तन हावी भइरहँदा त्यसको बाछिटा नेपालसम्म पनि पर्ने अपेक्षा र आकलन बहुसङ्ख्यक हिन्दू राष्ट्र पक्षधर गर्छन् भने धर्मको नाममा राजनीति गर्नेहरू चाहिं सावरकरको ‘हिन्दूत्व’ को अर्थ नखुट्याई यता पनि हिन्दूत्वको पैरवी गरिरहेका देखिन्छन्। यी पैरवीकर्ताले हिन्दूत्वको अर्थ बुझ्न सकेका छैनन् नै, नेपालको समन्वयकारी सनातन परम्पराको बदला आरएसएस र भाजपाले अवलम्बन गरेको असहिष्णु र नश्लीय चिन्तनसँग प्रेमालिङ्गन गरिरहेका छन्।

शीर्षस्थल नेपाल

गोरखाका बाह्र हजार घरधुरीबाट रु.१२ हजार सङ्कलन गरेर पृथ्वीनारायण शाह हतियार खरीद गर्न जब अङ्ग्रेज उपनिवेश भारतको काशी पुगे, त्यहाँ उनले हिन्दू धर्म र परम्परा सोचेभन्दा फरक पाए। भारतमाथि करीब २५० वर्षको मुगलराज र त्यसयता बेलायतको दुई शताब्दी लामो उपनिवेशका कारण उनले भारत ‘बिटुलिएको’ महसूस गरे। बरु, मुगल र अङ्ग्रेजका घातहरू बेहोर्दै आए पनि तिनले कब्जा जमाउन नसकेको नेपालको सनातन धर्म र परम्परा अक्षुण्ण थिए। हिन्दू धर्मावलम्बीहरूका निम्ति भारतभन्दा नेपाल पवित्र भूमि हुन सक्छ भन्ने सोचको उपज हो, दिव्योपदेशमा नेपाललाई ‘असिल हिन्दूस्थाना’ (असल हिन्दूस्तान) को उपमा दिइनु।

मुगल र अङ्ग्रेज शासन अन्तर्गत नआउनु मात्रै नेपाल असल हिन्दूस्तान हुनुको एक
मात्र कारण होइन। वेद र पुराणमा वर्णित हिमवत् खण्डको महत्ता र शक्ति केन्द्र
(पीठ)को बाहुल्यले नेपाललाई असल हिन्दूस्तान बनाएको हो।
मुगल शासकहरूले हिन्दू र बौद्ध जस्ता ‘विधर्मी’ का मन्दिर र विहार आदि भत्काए; सन्त र भिक्षुहरूलाई लखेटे, उनीहरूका पवित्र धर्मग्रन्थहरू जलाए। धर्मान्ध मुगलहरूको प्रताडना खप्न नसकेर कतिपय शासक अनि सन्तले नेपालको आप्रवासन रोजे। उनीहरूले आफैंसँग कैयन् धर्मग्रन्थ ल्याए भने श्रुतिपरम्परा मार्फत मन्त्र एवं श्लोकहरू पुस्तान्तरण गरे। हिन्दू र बौद्ध धर्मका अमूल्य निधि नेपाल राज्यकै कारण नाशिनबाट जोगिए।

मुगल र अङ्ग्रेज शासन अन्तर्गत नआउनु मात्रै नेपाल असल हिन्दूस्तान हुनुको एक मात्र कारण होइन। वेद र पुराणमा वर्णित हिमवत् खण्डको महत्ता र शक्ति केन्द्र (पीठ)को बाहुल्यले नेपाललाई असल हिन्दूस्तान बनाएको हो। मुगल र अङ्ग्रेजको बारम्बारको आक्रमण-प्रत्याक्रमण, राज्यको एकीकरण र विखण्डनका कारण भारतीयमै पनि आफूहरू असल हिन्दू हौं कि होइनौं भन्ने द्विविधा रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनको बुझाइ छ। डा. टण्डनका अनुसार, हिमाललाई भगवान् शिवको वासस्थान र ऋषिमुनिहरूको तपोभूमि मानिनुले नेपाल सनातन धर्मका अनुयायीका लागि शीर्ष स्थान रहँदै आएको हो। टण्डन अनुभव सुनाउँछन्, “भारत जाँदा त्यहाँका साधु, सन्त र महात्मा नेपाललाई शीर्ष तीर्थस्थल भन्छन्, त्यस्तो शीर्षस्थलबाट तिमीहरू यहाँ किन आयौ भनेर सोध्छन्।”

भारतमा एउटा ठूलो जमातले आफूलाई हिन्दूभन्दा पनि भारतीय संस्कृतिको अनुयायी भन्न रुचाउने गरेको संस्कृतिविद् टण्डन सुनाउँछन्। उनी तर्क गर्छन्, “पृथ्वीनारायण शाहको असिल हिन्दूस्थाना जंगबहादुरको पालासम्म पनि कायम भएको देखिन्छ, त्यही हैसियतमा राणा प्रधानमन्त्रीहरूले विदेश (बेलायत) भ्रमणमा सम्मान पाएका थिए।” नेपालका राजाहरूलाई भारतीय मन्दिरका विशेष पूजाका लागि निम्त्याइनु र गर्भगृहसम्म प्रवेश दिइनु यसै कारण सम्भव भएको हो।

नेपालको अर्को मौलिक परम्परा तन्त्रको हो। संस्कृतिविद् टण्डनका अनुसार, दशौं-एघारौं शताब्दीतिर बंगालमा सेन र पाल वंशीहरूमाथि आक्रमण हुन थालेपछि उनीहरू पनि सुरक्षित ठाउँ खोज्दै नेपाल आए। उनीहरू पुरोहित, ग्रन्थ र संस्कृतिसँगै नेपाल भित्रिए। सेन र गोपाल वंशीको आगमनसँगै नेपालमा तन्त्र प्रबल हुन पुग्यो, जुन अन्ततः नेपालको मौलिक संस्कृतिमा रूपान्तरण भयो। भारतीय र नेपाली संस्कृतिमा एकै देव-देवीको पूजा-अनुष्ठान फरक हुनु मूलतः तन्त्रकै प्रभाव हो। जस्तै- भारतको महाराष्ट्रमा गणेशको भव्य पूजा हुन्छ। तर, त्यहाँ गणपतिलाई बलि चढाइन्न। नेपालमा भने काठमाडौं उपत्यका छिरेपछि गणेशलाई भोग चल्छ। कोलकातामा नवरात्रिमा भव्य दुर्गा (काली) पूजा हुन्छ, तर बलि चढाइँदैन। यता, नेपालका शक्तिपीठमा बलि चढाइनु अनिवार्य झैं देखिन्छ।

भारत र नेपालको हिन्दू परम्परा एकै हो भन्ने जस्तो सोच केही अबोध नेपालीमा भए जस्तै केही चतुर भारतीय पनि दुवै देश एकै धर्म-संस्कृतिका कारण अभिन्न रहेका भन्ने जस्ता दलिल पेश गरिरहेका भेटिन्छन्। अरू त अरू, नेपालमा राजदूत रहिसकेका भारतीय पूर्व कूटनीतिज्ञ श्यामशरणले हाउ इन्डिया सिज द वर्ल्ड: कौटिल्य टु द ट्वेन्टी-फर्स्ट सेन्चुरी (२०१७) पुस्तकमा लेखेका छन्, ‘भारत नेपालको संस्कृति र पहिचान भारतीय संस्कृति र पहिचानभन्दा भिन्न देख्दैन, तर प्रभावशाली बाहुन-छेत्री समुदाय यस्तो विचार निर्माण गर्छन् जसबाट नेपालको अलग्गै पहाडी संस्कृति र पहिचान प्रदर्शित होस्।’

के श्यामशरणले तर्क गरे जस्तै भारतीय र नेपाली संस्कृति तथा पहिचान एकै हो? भारतमा मनाइने दशहरा र नेपाली दशैं सांस्कृतिक रूपमा एकै हो? दशैं र दशहरा नाम मात्र नभएर यी दुई चाड आधारभूत रूपमै फरक छन्। रामले रावणलाई जितेको अर्थमा भारतका अधिकांश भेगमा दशहरा र देवी दुर्गाले महिषासुरलाई वध गरेको अर्थमा नेपालमा दशैं मनाइन्छ। उताको दशहरामा रावण दहन हुन्छ भने यता शक्तिपीठहरूमा पूजा गरिन्छ र मान्यजनबाट टीका-जमरा थापिन्छ। त्यस्तै, यताको दीपावली अर्थात् तिहार र उताको दिवाली उस्तै-उस्तै सुनिए पनि यी दुई आधारभूत रूपमै भिन्न पर्व हुन्। उता एक दिन मनाइने दिवाली दीप प्रज्वलनको पर्व हो भने यताको तिहार एक समष्टिगत चाड हो। दशैं र तिहार मात्र नभएर नेपालका सबै पर्व मौलिक र विशिष्ट छन्।

भारतमाथि कति भरोसा?

भारतमा भाजपा र नरेन्द्र मोदीको उदयसँगै एकथरी नेपाली नेपाल पनि छिटै हिन्दू राष्ट्र घोषित हुने विश्वासमा छन्। नेपाल हिन्दू राष्ट्र हुने वा नहुने विशुद्ध नेपाली चाहनामा भर पर्ने विषय हो। अझ् त्योभन्दा पनि महत्त्वपूर्ण त, नेपाल त्यस्तो हिन्दू राष्ट्र हुन सक्नुपर्‍यो, जहाँ अन्य धर्मावलम्बीले पनि आफ्नो आस्था र परम्परा निर्धक्क निर्वाह गर्न सकून्। किनकि, असल हिन्दूस्तानको मर्म र चरित्र पनि यही हो। चाहे मल्लकाल होस् वा नेपाल एकीकरणयताका वर्ष, नेपालमा धर्म वरणमा कुनै बन्देज थिएन। बन्देज थियो त, करणमा अर्थात् करबल र धनबलद्वारा धर्म परिवर्तनमा। होइन भने, मल्ल राजाको सिंहासन सन्निकट हिन्दूभन्दा मुसलमानले आफ्नो धर्म-संस्कृति मनाउँदै आएका थिए। नारायणहिटीको पटाङ्गिनीबाट हेर्दा मन्दिरको गजुरभन्दा पहिले मस्जिदको मिनार (जामे मस्जिद) देखिन्थ्यो। राज्यले नै खर्च बेहोरेर इस्लाम धर्मावलम्बीलाई हज गर्न मक्का पठाउँथ्यो। सहिष्णुताको अनुपम उदाहरण रहँदै आएको राष्ट्रमा कुन उद्देश्यले धार्मिक कलहको बीउ रोप्न खोजियो, त्यो दिनप्रतिदिन नेपालीले बुझ्दै आएका छन्।

भारतीय संस्थापनले नेपाल उपर धर्मको नभएर राष्ट्रिय सुरक्षाको चश्माले हेर्छ। त्यसैले
एक-दुई नेताले आफ्नो भोट ब्याङ्क बढाउने उद्देश्यले ‘हिन्दूत्व’ को पैरवी गरे पनि
भारतीय इच्छा र कृपाका भरमा नेपाल हिन्दू राष्ट्र हुन सक्दैन।
भारतमा उर्लिंदो हिन्दू राष्ट्रवादका कारण नै नेपाल पुनः हिन्दू राष्ट्र बन्नेछ भन्ने अपेक्षा आफैंमा कति युक्तिसङ्गत होला? राजनीतिक रूपमा अहिले भारतमा हिन्दू राष्ट्रवादीको दबदबा रहे पनि सामाजिक र सांस्कृतिक रूपले भारत स्वयंमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको दृष्टिले मिश्रित अर्थात् विविधतायुक्त राष्ट्र हो। भारतीय राष्ट्रपति वा प्रधानमन्त्री धार्मिक दृष्टिले हिन्दू, ख्रीष्टियन वा इस्लाम जो कोही हुन सक्छन्। त्यस्तै, भारतीय सेना, गुप्तचर संयन्त्र र नोकरशाही शुद्ध हिन्दू निर्मित हुनै सक्दैन।

भारतीय संस्थापनले नेपाल उपर धर्मको नभएर राष्ट्रिय सुरक्षाको चश्माले हेर्छ। त्यसैले एक-दुई नेताले आफ्नो भोट ब्याङ्क बढाउने उद्देश्यले ‘हिन्दूत्व’ को पैरवी गरे पनि भारतीय इच्छा र कृपाका भरमा नेपाल हिन्दू राष्ट्र हुन सक्दैन। त्यसमाथि पनि धर्मान्ध जमातद्वारा प्रायोजित हिन्दू राष्ट्रको के औचित्य, जो आफैंमा सहिष्णुता र मौलिकताको एक अनुपम उदाहरण थियो, विश्वको एक मात्र हिन्दू राष्ट्रका रूपमा।

हिन्दू धर्म अन्तर्गतको भारतीय र नेपाली संस्कृति त्यति नै पृथक् छ जति देवनागरी लिपिका हिन्दी र नेपाली भाषा छन्। सावरकरको हिन्दूत्वको भाष्य र नेपालको समन्वयकारी सनातन परम्पराबीच कुनै तालमेल छैन। नेपाल र भारतबीच समान संस्कृति देख्ने भारतीय र नेपालमा ‘हिन्दूत्व’ आयात गर्न चाहने नेपालीले यो बुझ्न जरुरी छ।

comments powered by Disqus

रमझम