पुस २०७८ | 16/12/2021

एक अन्त्येष्टि अन्याय

Share:
  
- अनिता भेटवाल
देश धर्मनिरपेक्ष घोषणा भएको ६ वर्ष भइसके पनि अल्पसङ्ख्यक ख्रीष्टियन समुदायले शव दफन गर्न ठूलो सास्ती भोग्नुपरिरहेको छ।

मृतक छोरा रिसलको तस्वीरसँगै सुधीर र रीता महर्जन।
तस्वीरः अमित मचामसी

हरिसिद्धिका सुधीर महर्जन जे नहोस् भन्ने चाहन्थे, आखिर त्यही भयो। कलकलाउँदो उमेरका छोरा अस्पतालको शय्याबाट फर्किएनन्। शोकले आहत सुधीरले त्यसपछि जुन सकस भोगे, त्यो आज पनि तिखो सुइरो बनेर उनलाई घोचिरहन्छ। भन्छन्, “यस्तो पीडा अरू बाबुआमाले भोग्न नपरोस्।”

२ भदौ २०६८ को दिन थियो त्यो। सुधीर र रीता दम्पतीका एक मात्र सन्तान रिसल सदाका लागि बिदा भए। सात वर्षका उनी कडाखाले जन्डिसले ग्रस्त थिए। पाटन र कान्ति बाल अस्पतालमा १४ महीना राखिएका उनको रोग लाखौंमा एकादुईलाई देखिने र जटिल खालको भएकाले बचाउन मुश्किल पर्ने डाक्टरले सुझाइसकेका थिए।

इसाई धर्मावलम्बी सुधीरलाई शोकमाथि सन्ताप थपियो। पुत्रवियोगले विक्षिप्त पत्नीलाई त्यत्तिकै छाडेर अन्त्येष्टि गर्ने ठाउँ खोज्दै भौंतारिन पर्‍यो। “रिसल दिउँसो २ बजे बित्यो। मैले आफूलाई सम्हाल्नु कि परिवारलाई?

त्यसमाथि शव कहाँ राख्ने भनेर चिन्ता लिनुपर्‍यो,” सुधीरले सम्झिए।

उनलाई कसैले पशुपति, मृगस्थलीमा लुकीछिपी शव गाड्न सल्लाह दिए। तर, उनको मन मानेन। छरछिमेकबाट उपाय नलागेपछि उनी इसाई साथीहरू नै रहेको ‘धापाखेल बप्तिस मण्डली’ को शरणमा परे। मण्डलीले उपत्यकामा इसाईहरूका लागि शव व्यवस्थापन स्थल नरहेकाले चितवन लैजान सुझायो।

काठमाडौंबाट चितवनको रामघाट जङ्गलसम्म शव पुर्‍याउनु सजिलो थिएन। अर्कातिर श्रीमतीले पनि छोराको शवलाई टाढा नलैजान हत्ते गरिरहेकी थिइन्। सुधीर केही पलका लागि अवाक् भए। तर, बाँकी विकल्प केही देखेनन्।

शव चितवन पुर्‍याउन ४० हजार लाग्ने भयो। घर निर्माणको काममा सघाउने उनका लागि यो रकम सानो थिएन। त्यो जुटाउन अर्को हन्डर खानुपर्‍यो।

चितवनको शव व्यवस्थापन स्थल ख्रीष्टियन संस्थाले नै बनाएको हो। तर, स्थानीयले अन्त्येष्टि गर्न नदिने भन्दै अवरोध गरिरहेका थिए। त्यसैले सुधीर रातको ११ बजेतिर त्यहाँ पुगे। उनीसँग चालक, धर्मगुरु र चर्चका १२ जना सदस्य थिए। यसअघि शववाहन पटक पटक बिग्रिएर काठमाडौंबाट त्यहाँ पुग्नै १७ घण्टा लागेको थियो। डरैडरमा उनीहरूले जसोतसो खाल्डो खनेर शव पुरपार पारे। इसाई अन्त्येष्टि विधि अनुसार विश्रामस्थल सजाउनतिर लागेनन्। किनकि, गाउँलेले त्यसअघि थुप्रै शव त्यत्तिकै फर्काइदिएका थिए।

भोलिपल्ट झण्डै त्यस्तै भयो। ‘कहाँ कहाँ मरेको मान्छे गाड्न ल्याएर गाउँ दूषित बनाएको’ भन्दै एकादुई गाउँले उफ्रिहाले। सुधीरले पहिलो पटक आफ्नै देशमा अनागरिक भएको महसूस गरे। मनमनै प्रार्थना गरे, “यस्तो विपत् भोग्ने आफू अन्तिम अभिभावक भइयोस्।”

सुधीरले छोराको शव गाडिएको ठाउँमा कुनै चिनो समेत बनाउन भ्याएनन्। त्यसैले अहिले उनी स्वयं त्यो ठाउँ चिन्दैनन्। त्यतै जङ्गलमा कतै छ भनेर सन्तोष मान्छन्।

रीतालाई छोराको अन्त्येष्टिमा जान नपाएकोमा अहिले पनि चित्त दुख्छ। छोराको अनुहार अन्तिम पटक अस्पतालमै देखेकी हुन्। जसै निधनको खबर आयो, उनी मूर्च्छा परिहालिन्। त्यो हालतमा चितवन लैजान सम्भव थिएन। भन्छिन्, “छोरालाई यतै दफन गर्न पाएको भए फूल चढाउँथें, उसका लागि प्रार्थना गर्थें। दिनदिनै समय निकालेर सरसफाइ गर्न जान्थें।”

महर्जन दम्पती छोराको अन्त्येष्टियता एक पटक पनि रामघाट पुगेका छैनन्। इसाई संस्कार अनुसार, हरेक वार्षिकीमा परिवार सदस्यले मृतकको चिहानमा पुगेर प्रार्थना गर्नुपर्छ। तर, धर्मगुरु सहितको टोली चितवन पुर्‍याउन सजिलो छैन। यही कारण आफन्त र छिमेकीमाझ हेयको पात्र बनेको छ, महर्जन परिवार।

चितवनको रामघाटस्थित ख्रीष्टियन समुदायको शव व्यवस्थापन स्थल।

मजाक मृत्यु!

रीता बप्तिस मण्डलीमा रहेको आमासमूह कमिटीकी कोषाध्यक्ष हुन्। त्यहाँ उनकै जस्तो गुनासो लिएर पुग्ने अरू पनि हुन्छन्। उपत्यकामै शव दफन गर्ने ठाउँ हुनुपर्ने उनीहरूको माग छ। “अब त आफ्नै मृत्यु भएछ भने पनि शव कहाँ राख्ने हुन्? छोराका लागि जति पनि सङ्घर्ष कसले गरिदेला र?” सुधीर भन्छन्।

नेपाल ख्रीष्टियन समाजका अनुसार, देशभर इसाई धर्मावलम्बीको सङ्ख्या १२ लाख जति पुगिसकेको छ। उपत्यकामा मात्र पाँच सय चर्चमा गरी लगभग ५० हजार सदस्य छन्। उपचारका लागि बाहिरबाट उपत्यकामै ल्याइने भएकाले ख्रीष्टियनहरूको मृत्यु सङ्ख्या पनि अन्यत्रभन्दा यहीं बढी हुने गरेको समाजका महासचिव डिल्लीराम पौडेल बताउँछन्। “उपत्यकामा मात्र दैनिक ५–६ जनाको शव व्यवस्थापनका लागि फोन आउँछ। तर, हामीसँग चितवन पुर्‍याउनुको विकल्प छैन,” उनी भन्छन्, “आर्थिक सङ्कटमा परेका परिवारले ढाँटेर आर्यघाटमै शव जलाउन थालेका छन्। कसैले चोरीछिपी मृगस्थलीमा छोपेर हिंड्ने गरेको सुनिन्छ।”

समाजले २०६४ सालयता सरकारलाई दुइटा प्रस्ताव राख्दै आएको छ। एक, सरकारले नै उपत्यकामा शव व्यवस्थापनका लागि उपयुक्त स्थान दिने। दुई, त्यसो गर्न नसकिए ख्रीष्टियन समाजले खरीद गरेको जमीनमै स्वीकृति दिने। तर, अहिलेसम्म सरकारले जवाफ दिएको छैन।

यही कारण शव व्यवस्थापनका क्रममा इसाई धर्मावलम्बी र अन्य समुदायबीच द्वन्द्व समेत हुने गरेको इसाईहरूको शव व्यवस्थापनमा सहजताका लागि गठन गरिएको संस्था नेपाल विश्रामस्थलका सहसचिव नवल शिवाकोटी बताउँछन्। “अल्पसङ्ख्यक धार्मिक समुदायमध्ये पनि ख्रीष्टियनलाई राज्यले गरेको विभेद यहींबाट प्रस्ट छ,” उनी भन्छन्, “हाम्रो मृत्यु मजाक भएको छ। मृतकका आफन्तहरू यातना खेपिरहेछन्।”

उक्त संस्थाले उपत्यकामा निधन हुने इसाईधर्मीको अन्त्येष्टिका लागि ललितपुरको लेलेमा जग्गा व्यवस्था गरेको थियो। तर, त्यहाँ पनि स्थानीयले रोक लगाएपछि शव चितवन नै पुर्‍याउनुपर्ने बाध्यता टरेन। शिवाकोटीका अनुसार, उपत्यकाबाट दैनिक तीन वटा जति शव चितवन पठाइने गरेको छ। तर, केही महीनायता त्यहाँका स्थानीयले पनि बाहिरी जिल्लाबाट शव ल्याउन नदिने भन्दै फेरि अवरोध गर्न थालेका छन्। “हामीसँग हरेक दिन गुनासो आउँछ, धर्म अनुसारको कर्म गर्न पाइएन भनेर,” उनले भने, “जन्म स्वीकार्य छ भने मृत्युपछिको पार्थिव शरीर व्यवस्थापन पनि यति कठिन हुन नपर्ने हो। तर सरकारले हाम्रो दुःख बुझेन।”

उपत्यका बाहिरको हकमा भने केही पूर्वी जिल्ला सहित रुपन्देही, पोखरा, चित्लाङ, धादिङ, काभ्रे लगायत स्थानमा पनि इसाई धर्मावलम्बीका लागि शव व्यवस्थापन स्थल छुट्याइएको छ। “मृत्यु त जुनै धर्ममा पनि हुन्छ। तर, कसैलाई मृत्युपछि पनि अन्याय हुँदो रहेछ,” रीता भन्छिन्।

comments powered by Disqus

रमझम