फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) र सरकारको आयोजनामा ८–१० कात्तिकमा राजधानीमा गोदावरी फूल प्रदर्शनी हुँदैछ। फ्यान अध्यक्ष लोकनाथ गैरे यस्ता मेलाले पुष्प व्यवसाय प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको बताउँछन्।
फूलैफूलको चाड तिहारको अवसरमा नेपाली सांस्कृतिक महत्वका फूलहरु सयपत्री, मखमली र गोदावरीमध्ये धेरै प्रजाति भएको गोदावरीको यो सातौं वार्षिक मेला हो। मेलाको ३४ स्टलमा गोदावरीसँगै ३०० भन्दा बढी प्रजातिका अरु फूल पनि छन्। गोदावरी उत्पादकबीच भने प्रतियोगिता समेत भयो।
यस्तो मेलाले पुष्प व्यवसायमा के फरक पारेको छ?
हामी वर्षेनि चैतमा फ्लोरा एक्स्पो गर्छौं। आगामी १३–१६ चैतमा अन्तर्राष्ट्रियस्तरको १७औं फ्लोरा एक्स्पो गर्दैछौं। चैतमा नफुल्ने गोदावरी र लालुपातेको मेला कात्तिक र पुसमा हुन्छ। नेपाली पुष्प व्यवसायबारे उपभोक्तालाई जानकारी दिने, व्यवसायीबीचको प्रतिस्पर्धी क्षमता विकास गर्ने र सरकारलाई हाम्रो क्षमताको जानकारी दिने अवसर यस्तै मेला हुने गरेका छन्।
फूलको वार्षिक कारोबारमा स्वदेशी उत्पादनको हिस्सा कति छ?
नेपाल क्रमशः आत्मनिर्भर हुँदैछ। गत आर्थिक वर्षको रु.१ अर्ब ५ करोडको कारोबारमा आन्तरिक उत्पादनको हिस्सा ८० प्रतिशत छ। आलंकारिक बिरुवाको माउ बोट करीब ५० प्रतिशत र २० प्रतिशत कटफ्लावर आयात हुने गरेको छ।
कस्ता फूलका लागि नेपाल धेरै अनुकूल छ?
पहाडदेखि तराईसम्म विविधतायुक्त हावापानी भएकाले नेपालमा अति उष्ण हावापानीमा हुने बाहेक सबै फूल हुन्छ। बहुवर्षे आलंकारिक र कटफ्लावरको आन्तरिक बजार पनि वर्षेनि १० देखि १५ प्रतिशतले बढिरहेको छ। त्यसैले यस्ता फूलको व्यावसायिक संभावना बढी छ।
नेपालबाट फूल निर्यात गर्ने संभावना छ भनिन्छ, तर गुलाव निर्यात गरिरहेको एउटा फार्म बन्द भयो। संभावनाको कुरै मात्र हो?
अहिले पनि कतिपय कटफ्लावर र गाना निर्यात भइरहेका छन्, तर बलियो पूर्वाधार र संरचना तयार भएको छैन। माग अनुसारको उत्पादन प्रणाली विकास गर्ने हो भने फूल निर्यातको ठूलो सम्भावना छ। गुलाव, कार्नेसन, अर्किड, ग्लाडुलस जस्ता कटफ्लावर बढी निर्यात गर्न सकिन्छ।