१७ कात्तिक २०७० | 3 November 2013

मलेशियामा बिचल्ली

Share:
  
रोजगारदाता कम्पनीले तलब र काम नदिएपछि मलेशियामा आठ नेपाली युवा बिचल्लीमा परेका छन्।

काठमाडौंको गल्फ म्यानपावरबाट मासिक १०८८ मलेशियन रिङ्गिट तलब पाउने गरी गत माघमा मलेशिया पुगेका ८ जना नेपाली युवा रोजगारदाता कम्पनीले काम र तलब दुवै नदिएपछि अलपत्र परेका छन्। खान र बस्न नै समस्या भएपछि उनीहरू अहिले आफूलाई पठाउने म्यानपावर र नेपाल सरकारसँग समन्वय गरेर नेपाल फर्किने प्रयास गरिरहेका छन्।

सर्लाहीका रत्नवीर हेम्जन, उमाराज ब्लोन, जितबहादुर गोले, मानबहादुर हेम्जन, धनराज बम्जन, मानबहादुर गोले, पञ्चलाल थिङ र रौतहटका सोमबहादुर राई रु.८० हजारदेखि रु.१ लाख ४० हजारसम्म तिरेर मलेशिया पुगेका थिए। तेल परियोजनाहरूमा कन्ट्याक्टमा काम गर्ने लिनसुङ इन्जिनियरिङ एसडीएन बीएचडीमा काम गर्न गएका उनीहरूलाई कम्पनीले शुरूमा मलेशियाको राजधानी क्वालालम्पुरबाट अढाइ घण्टा हवाई दूरीमा रहेको सवाहमा लगेको थियो भने पछिल्लो समय त्यहाँबाट डेढ घण्टा हवाई दूरीमा रहेको सारावाकमा राखेको थियो।

धनराज बम्जन,रत्नवीर हेम्जन,उमाराज ब्लोन।

तमिलसँग झगडा

रक्सीको नशामा आएका तमिल मूलका मलेशियालीहरूले आफूहरूलाई सवाहमा कुटपिट गरेपछि उनीहरूले असुरक्षित भएको भन्दै रोजगारदाता कम्पनीलाई उजुर गरेका थिए। त्यसपछि आफूहरूलाई सारावाक पुर्‍याइएको र केही दिनपछि सवाह नै फर्काउन खोज्दा विरोध गरेको हिमाल सँग टेलिफोनमा हेम्जनले बताए। स्थानीय कामदारले १५ दिनमा नसक्ने काम आफूहरूलाई पाँच दिनमा सक्नु भनेर दिइँदा मानेकोमा एक महीना अघि स्थानीय कामदारले १५ दिनमा नसकेको काम 'डिउटी समय' पछिको ७ घण्टामा सक्नुभन्दा नसक्ने बताएकाले काम गर्न रोकेको हेम्जन बताउँछन्। कम्पनीले तलब दिन पनि रोकेपछि खान र नेपालमा सम्पर्क गर्न खर्चले समस्या परेको बताउँदै हेम्जन भन्छन्, “बाहिरका व्यक्तिहरूबाट कुटिंदा कम्पनीको म्यानेजरले हामीलाई नै दोषी देखाएर साहुलाई रिपोर्टिङ गरे, क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासको फोन उठ्दैन, यहाँ पठाउने म्यानपावर कम्पनीले पनि वास्ता गर्दैन।” बिरामी हुँदा कम्पनीले उपचार समेत नगरेको उनको गुनासो छ।

मानबहादुर हेम्जन, मानबहादुर गोले।

बेखर्ची भएर नेपाल फर्किन गाह्रो पर्ने देखिएपछि आफू जस्तै दुःख पाएका पाँच जना साथीलाई दुर्व्यवहार सहेर भए पनि कम्पनीमै काम गर्न लगाएको र उनीहरूको पारिश्रमिकबाट गुजारा चलेको हेम्जनको भनाइ छ। त्यो कम्पनीमा करीब ६० जना नेपाली कार्यरत छन्।

कम्पनीले भने उनीहरूलाई पठाउने नेपालको म्यानपावर कम्पनीलाई नेपालीले रक्सी खाएर उपद्रो गरेको र अह्राएको काम नगरेको आरोप लगाएको छ। कम्पनीले उनीहरूको चालचलन ठीक नभएको बताएको जानकारी दिंदै गल्फ म्यानपावरका सञ्चालक उत्तरमान लामाले भने “तर, सरकारी निकायहरूसँग समन्वय गरेर हामीले उनीहरूलाई नेपाल फर्काउन प्रयत्न गरिरहेका छौं।”

पीडित युवाहरू भने रक्सी खाएको र अह्राएको काम नगरेको स्वीकार्दैनन्। धनराजका पिता मनिराम पनि आफ्नो छोराले कहिल्यै रक्सी नपिएको र झ्गडा गर्ने स्वभाव पनि नभएको बताउँछन्।

प्रभात भट्टराई


सुर्योदयका लागि सिराईचुली

चितवनको पहाडी गाविस काउले–३ मा पर्ने १,९४६ मीटर उँचाइमा रहेको सिराईचुली सूर्योदय हेर्ने गन्तव्य बन्दैछ। त्यहाँबाट मनमोहक हिमश्रृंखला, गुराँसको वन, चेपाङ बस्ती र चितवनका शक्तिखोर, रत्ननगर लगायत समथर फाँट देखिन्छन्।

सविता श्रेष्ठ

सिराईचुली पुग्न मुग्लिन―मलेखु सडक खण्डको हुग्दी हुँदै हात्तीवाङ पुग्ने मोटरबाटोबाट जान सकिन्छ। काउले–३ मा पर्ने हात्तीवाङबाट डेढ घण्टा पैदल हिंडेपछि सिराईचुली पुगिन्छ। स्थानीय, संघ–संस्था र नेपाली सेनाले बनाएको खुट्किले बाटोका कारण अहिले हात्तीवाङदेखि सिराईचुलीसम्मको पैदलयात्रा पहिले जस्तो असहज छैन। उकालो बाटो बिहानै हिंड्ने हो भने बेलुकीसम्म हात्तीवाङ पुग्न सकिन्छ। हात्तीवाङमा होमस्टेहरू रहेकाले बासको समस्या छैन। होमस्टेमा कोदोको ढिंडो, लोकल कुखुराको मासु र गाउँमा नै उत्पादन भएका मौसम अनुसारका तरकारीका परिकार पाइन्छ।

सविता श्रेष्ठ, चितवन


भूटानी जेलबाट नेपालमा

गोपाल गड्तौला
स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै १४ अप्रिल २००० मा भारत―भूटान सीमा फुन्च्छोलिङ पुग्दा पक्राउ परेका भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सचिव नन्दलाल कटुवाल (६५) साढे १३ वर्ष लामो जेल जीवनबाट मुक्त हुँदै झ्ापाको बेलडाँगी शिविर आइपुगेका छन्। उनीसँगै गएका अरूलाई भारतीय प्रहरीले जबर्जस्ती ट्रकमा राखेर मेची पुलमा ल्याई छाडेको थियो भने उनलाई भूटान प्रहरीले थिम्पू पुर्‍याएको थियो। थिम्पूको उच्च अदालतले साढे १३ वर्षको जेल सजाय सुनाएपछि उनलाई भूटानी नेता टेकनाथ रिजालले १० वर्ष जेलजीवन बिताएको थिम्पू नजिकको चेम्गाङ केन्द्रीय कारागारमा थुनिएको थियो।

५ कात्तिक बिहान बेलडाँगी–२ शरणार्थी शिविरमा रहेको आफ्नो छाप्रोमा पुगेका कटुवालले भूटानको निरंकुशतालाई नजिकबाट चिन्न पाएको बताए। उनका अनुसार, जेलमा नेपाली भाषामा कुरा गर्न र नेपाली टोपी लगाउन प्रतिबन्ध लगाइएको थियो।

जेलबाट मुक्त भएपछि दक्षिण भूटानमा रहेको आफ्नो पुर्ख्यौली घरमा बस्ने सोच बनाएको भए पनि भूटान प्रहरीले थप एक दिन हिरासतमा राख्दै एउटा निजी ट्रकमा जबर्जस्ती राखेर भारतको जयगाउँ ल्याएर छाडेको कटुवालले बताए। कारागारबाट निस्किँदा परिचय पत्र, लुगाफाटो र जेलको अनुभव लेखेका डायरी रहेको झोला प्रहरीले खोसेको पनि उनले जानकारी दिए।

कटुवालका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसको पहुँच भएको भूटानको एक मात्र चेम्गाङ केन्द्रीय कारागारमा अहिले ६० जना राजनीतिक बन्दी छन्। उनीहरूमध्ये केहीलाई आजीवन र केहीलाई ४० वर्षसम्मको कारागार सजाय तोकिएको छ।

कटुवालको परिवारका १४ जना सदस्यमध्ये छोराबुहारी र नातिनातिना समेत चार जना अमेरिका पुनर्वास गएका छन्भने बाँकी शिविरमा छन्। भूटानमा राजनीतिक परिवर्तनको लागि नयाँ ढंगले आन्दोलन अघि बढाउन प्रयास गर्ने कटुवालले बताए।

गोपाल गड्तौला, झापा


पोखरेलीको लज चितवनमा

पोखराका पर्यटन व्यवसायी विप्लव पौडेलले रु.२५ करोड लगानीमा चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको 'बाराही जंगल लज' शुरू गरेका छन्। पोखरा लेकसाइडमा उनको होटल बाराही पहिलेदेखि सञ्चालित छ।

गत महीनादेखि संचालन भएको लजका कार्यकारी निर्देशक समेत रहेका पौडेलले पर्यटकको १० समूहलाई स्वागत गरिसकेको र आउँदो दुई महीनाका लागि ७० प्रतिशत कोठा बुकिङ भएको बताए। सुविधासम्पन्न दुई सुईट् र ३५ वटा भीला रहेको लजमा विदेशी पर्यटकले एउटा सामान्य कोठाका लागि न्यूनतम ३०० अमेरिकी डलर र नेपालीले रु.१५ हजार तिर्नुपर्छ भने सुईट्का लागि ९०० अमेरिकी डलर लाग्छ।

माधव बराल

चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु हेर्न रुचाउने पर्यटकलाई लक्षित गरेर बनाइएको यो लज १८ बिघा जमीनको बीचमा छ। जसमध्ये अधिकांश भागमा पाँच सय प्रजातिका ४ हजार ५०० बिरुवा रोपिएको छ। निकुञ्जभित्र रहेका सात वटा ठूला होटल बन्द भएपछि लक्जरी होटलको अभाव पूरा गर्न लज खोलिएको पौडेलले बताए।

लजले जंगलमा जीप, हात्ती सफारी, जंगल वाक सेवासँगै राप्ती र नारायणी नदीमा जलविहार गराउन डुंगाको व्यवस्था गरेको छ। करीब १०० जनाले रोजगारी पाएको यो लजमा नजिकका गाउँका थारू कलाकारले सांस्कृतिक कार्यक्रम देखाउन पाएका छन्।

प्रयोग भइसकेका काठलाई पुनः प्रयोग गरेर वातावरणमैत्री बनाउन खोजिएको लजमा प्लाष्टिक प्रयोग गरिएको छैन भने खाना पकाउन बायोग्याँस र कोठाहरूमा बत्ती बाल्न सौर्य ऊर्जा प्रयोग गरिएको छ।

माधव बराल, पोखराबाट


दशैंको ऋण तिर्न त्रिशूली–यात्रा

उमेरले ७० छोएका तनहुँको व्यास नगरपालिकास्थित कुमालटारीका मीनबहादुर बोटेले बालुवा चालेर सुन खोज्दै दशैं खर्च टार्न थालेको ६ दशक पुग्यो। सानो छँदा बुबासँग बगरमा सुन चाल्न गएको सम्झ्ने उनी अहिलेसम्म पनि हरेक वर्ष दशैं सिद्धिनासाथ नदी किनारतिर हानिन्छन्। “बाबुबाजेको पालादेखि चलेको परम्परा आफू सक्ने हुँदादेखि धानिरहेको छु” मीनबहादुर भन्छन्, “सुन खोज्न त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी हुँदै सुनकोशीसम्म पुगेको छु।” प्रति तोला रु.५ सम्ममा सुन बेचेको सम्झ्ने उनी बालुवा चाल्दै नदी किनारमा महीनौंसम्म सुन खोजेर बस्छन्।

साहुसँग ऋण खोजेर दशैं मानेका मीनबहादुरका छिमेकी सन्तबहादुर पनि ऋण तिरेर तिहारका लागि समेत खर्च जुटाउन त्रिशूलीतिर लागेका छन्। हरेक वर्ष दशैंको पूर्णिमा मानेर नदीतिर हान्निने गरेका उनले आवश्यक सामानको जोरजाम गरेर बाटो तताइसके। हिंड्नुअघि भेटिएका उनले भने, “दशैंको ऋण तिरेर तिहार खर्च पनि जुट्छ कि भन्ने आशा छ।”

कुमालटारीका करीब २० घरधुरीका बोटेहरू हरेक वर्ष दशैं मान्न सुनारसँग ऋण लिन्छन्। दशैं सकिएपछि नदी किनारमा बालुवा चालेर सुन जुटाएपछि ऋण तिर्छन्। हरेक वर्ष उनीहरूको दशैं खर्च यसैगरी जोहो हुन्छ। आफ्नै पुग्दो जग्गा जमीन र अन्य पेशा व्यवसाय पनि नभएकाले घरखर्च जोहो गर्ने अरू उपाय केही नहुँदा उनीहरूले वर्षभरि गुजारा गर्ने उपाय पनि बगरमा बालुवा चालेर सुन खोज्ने यही काम नै हो।

६ महीनासम्म मर्स्याङ्दी, त्रिशूली हुँदै कालीगण्डकी लगायतका नदी चहार्ने बोटे समुदायका व्यक्तिहरू बालुवा चालेर निकालेको सुनलाई गालेर प्रयोग गर्न योग्य बनाउँछन्। दैनिक ४ लालसम्म सुन संकलन गर्न सकिने कुमालटारीकी सुकमाया बताउँछिन्।

दशैं मान्न र अन्य गुजाराका लागि साहुसँग लिएको ऋण तिर्न बालुवा चाल्न नदी किनारमै महीनौं बिताउने कुमालटारी तथा आसपासका बोटे समुदायको नियमित काम नै हो। तनहुँको पाथ्राघाट, पाटन, लमजुङ र कास्कीको सिसाघाट, पाथ्रा लगायतका स्थानका बोटे समुदायले पनि यसैगरी दशैं खर्च टार्ने गरेका छन्।

माछा मारेर गुजारा गर्ने परम्परागत पेशा अँगाले पनि पछिल्लो समय नदीमा माछा पाइन छाडेका र राम्रो कमाइ पनि नहुने भएपछि उनीहरूले सुन चालेर गर्जो टार्ने उपाय खोजेका हुन्। मीनबहादुर भन्छन्, “नदीमा माछा पाइन छाड्यो, अलिअलि भएको खेतबारीले वर्षभरि खान पुग्दैन।” कतिपयको जग्गा समेत नभएकाले सुन चाल्नुको विकल्प नभएको उनी बताउँछन्। गरिखाने काम नहुँदा धेरैजसो युवा चाहिं वैदेशिक रोजगारमा गएका छन्।

पवन पौडेल, तनहुँ


अमिकले हतियार बुझाएनन्

संविधानसभा निर्वाचनमा एमाओवादीबाट चितवन क्षेत्र नं. ५ मा उम्मेदवार बनेका अमिक शेरचनले आफूसँग भएको हतियार बुझाउन बिर्सेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनमा उनको नाममा १२ बोर बन्दूक दर्ता छ।

पुरानो हतियार भएकोले सम्झ्ना नआएको र प्रशासनले हतियार बुझाउन जानकारी नदिएकाले नबुझाएको शेरचनले बताए। तर, जिल्ला प्रशासन कार्यालयले हतियार बुझ्ाउन १४ असोजसम्मका लागि पहिलो म्याद र त्यसको एक हप्तासम्म दोश्रो म्याद रहेको सार्वजनिक सूचना जारी गरेको थियो। कार्यालयका अनुसार शेरचनले २०६३ यता चितवनमा हतियार दर्ता नवीकरण पनि गरेका छैनन्। तर, उनले हतियार नवीकरण काठमाडौंमै गरेको दाबी गरे। उक्त बन्दूक काठमाडौंमा राखेको जानकारी दिंदै उनले निर्वाचन प्रचारमा लागेकाले काठमाडौं गएर ल्याउने समय नरहेको बताए।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जिल्लामा १६४ जनाले हतियार राख्ने अनुमति लिएकोमा असार मसान्तसम्म ९६ जनाले हतियारको नवीकरण गरेका छन् भने नवीकरण गरिएकामध्ये पनि १४ जनाले मात्रै हतियार बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्की हतियार नबुझाउनेको घरमै गएर जफत गरिने बताउँछन्।

सविता श्रेष्ठ, चितवन


साहित्यको सरगर्मी

तीन वर्ष पहिले थालिएको एनसेल नेपाल लिटरेचर फेस्टिबलले निकै ठूलो स्तरको तरङ्ग ल्याउन थालेको छ। राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा ८ कात्तिकदेखि जारी चारदिने महोत्सवका निर्देशक अजित बराल तेस्रो संस्करणसम्म आइपुग्दा महोत्सव निकै उद्देश्यमूलक र मह140वाकांक्षी बनेको अनुभव सुनाउँछन्। “महोत्सव थाल्दा साहित्य प्रवर्द्धनमा यति योगदान पुग्ला भन्ने लागेको थिएन”, बराल भन्छन्।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले एनसेलको प्रायोजनमा बुकवर्म फाउन्डेसनले शुरू गरेको महोत्सवमा यस पटक भारत, बंगलादेश र बेलायतका आठ तथा नेपालका एक सय भन्दा बढी लेखक/साहित्यकार, कलाकार, राजनीतिकर्मी, मानवशास्त्री, बुद्धिजीवी, अर्थशास्त्री र पत्रकारहरूले ३५ विषयमा बहस गर्ने कार्यक्रम छ। मूलतः साहित्य महोत्सव भनिए पनि यसको क्षेत्र क्रमशः फराकिलो बन्दै गएको बराल बताउँछन्।

'विन्दास' जीवनशैली मनपराउने साहित्यकारत्रय उपेन्द्र सुब्बा, कुमार नगरकोटी र सञ्जीव उप्रेतीले महोत्सवको पहिलो दिन 'तीन यायावर' शीर्षकमा सहभागीहरूसँग रमाइलो गफ गरे। 'लेखकको दृष्टिकोणमा लेखक' मा अभि सुवेदी र खगेन्द्र संग्रौलाले छलफल गरे भने 'साहित्य ग्ल्यामरः कति फाइदा, कति हानि'मा सुविन भट्टराई, शारदा शर्मा र नारायण वाग्लेले आफ्ना धारणा राखे। चर्चित पुस्तक प्रयोगशाला का लेखक सुधीर शर्मा, युवराज घिमिरे र मुमाराम खनाल 'अन प्रयोगशाला' विषयक संवादमा सहभागी भए। 'सेल्फ हेल्प' लेखनमा कहलिएका भारतका प्रकाश आइयर र ब्याङ्कर अनिल शाहले 'द विनीङ ह्याविट' मा बहस गरे।

महोत्सवको दोस्रो दिनको पहिलो सेसनमा भारतीय लेखक शोभा डे र पत्रकार कुन्द दीक्षितबीच 'सेकेन्ड थट अन स्टारडस्ट, सोसाइटी एण्ड सेलेबे्रटी' शीर्षकमा छलफल भयो। यसैगरी, सरिता तिवारी, अब्दुल लतिफ शौक र मदन पुरस्कार विजेता उपन्यास दमिनीभीर का लेखक राजन मुकारुङले 'सीमान्त आवाज' तथा चैतन्य मिश्र, विमल कोइराला र सौरभ ज्योतिले 'शहर र समृद्धि' विषयमा आफ्ना धारणा प्रस्तुत गरे।

महोत्सवको तेस्रो दिनको सेसनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग पत्रकार विजय कुमारले जीवन्त जोडीको विषयमा प्रश्न गर्नेछन्। राष्ट्रियताको पुनर्परिभाषा विषयक सेसनमा विश्लेषक सीके लाल, इतिहास अध्येता प्रत्यूष वन्त र मानवशास्त्री डम्बर चेम्जोङ वक्ता छन् भने त्यही दिन 'वर्तमान कविताको अनुहार' मा विक्रम सुब्बा, सरस्वती प्रतीक्षा र तुलसी दिवसको मन्तव्य आउनेछ। यसैगरी, अब्दुल लतिफ शौक र अब्दुल बहिदले मुसायरामाथि छलफल गर्नेछन्। १० कात्तिककै सेसनमा सोफिया तमोट र शोभा डेले 'राइटिङ–अ स्ट्रान्ज अवसेसन' शीर्षकमा मन्थन गर्नेछन्।

महोत्सवको अन्तिम दिन ११ कात्तिकमा छापा पत्रकारिताको भविष्यमाथि पत्रकारहरू राजेन्द्र दाहाल, अमित ढकाल र अखिलेश उपाध्यायले आफ्ना धारणा राख्नेछन् भने नेपाली भाषामाथि बसन्त थापा, आख्यान र गैरआख्यानको विषयमा अमर न्यौपाने, मोहन मैनाली र नयनराज पाण्डेले मन्तव्य दिनेछन्। त्यस्तै, 'सेलीब्रिटीङ राजेश हमाल' विषयमा अनुप बरालले कलाकार हमालसँग कुराकानी गर्नेछन्।

शैलेन्द्र साकार, डा.बेञ्जु शर्मा, बुद्धिसागर, आन्विका गिरी, श्यामल र प्रवीण अधिकारीबीच पुस्तान्तरबारे छलफल भएको महोत्सवको अन्तिम दिन वासुदेव अधिकारीको गायव सभामुख पुस्तक विमोचन पछि डेढ दर्जन चर्चित कविहरूले कविता वाचन गर्नेछन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम