छोरी जस्तै छोरी

Share:
  
- सन्त गाहा मगर
छोरा पाउन मरिहत्ते गर्नेहरूको कमी नभएको नेपाली समाजमा एक्ली छोरीका साथ शानको जिन्दगी जिउने बाबुआमा पनि मनग्य छन्।
p35b
थममाया थापा र छोरी विजया।

चर्चित ब्याङ्कर अनिलकेशरी शाहकी ११ वर्षकी एक मात्र छोरी छिन्― आर्यलक्ष्मी। पारिवारिक जमघट, पार्टी वा समारोहहरूमा कतिले “छोरी त छोरा जस्तै रै'छिन् नि” भन्दा उनको जवाफ हुने गर्छ, “मेरी छोरी, छोरी जस्तै छिन्, छोरा जस्तो होइन।” अर्थात्, उनका लागि सन्तानमा छोरा र छोरी समान हुन्छन्; र छोरा, छोरा जस्तै हुन्छ अनि छोरी, छोरी जस्तै।

काठमाडौं, कान्तिपथका रैथाने शाह मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन्। सम्पन्न पारिवारिक पृष्ठभूमिका शाहको विचारमा छोरा होस् या छोरी, सन्तान सुखका लागि एउटै काफी हुन्छ। यसबाहेक, एउटै सन्तान हुँदा अभिभावकको सामर्थ्यले जुटाएको स्रोत ढुक्कले एक जनामाथि लगानी हुन पाउँछ। मानिसहरू घरमा छोरीहरू हुँदाहुँदै पनि छोराको चाहना व्यक्त गरिरहेका हुन्छन्, तर शाह भने छोरी चाहन्थे। नभन्दै भयो पनि त्यस्तै! “बाजे–बज्यै पुस्ताबाट छोरा पाउन दबाब आएकै हो”, शाह भन्छन्, “तर, श्रीमान्–श्रीमती दुवैले दोस्रो सन्तान नजन्माउने निश्चय गर्‍यौं।”

छोराप्रतिको अतिशय चाहनाबाट विकास हुने छोरीप्रतिको अविश्वास बाबुआमाले उमेर छँदै बुढेसकालमा छोराछोरीमाथि निर्भर हुनु नपर्ने अवस्था सिर्जना गर्दै जाने हो भने हराउने शाहको बुझाइ छ। उनको विचारमा, कदाचित सन्तानमा निर्भर हुनुपर्ने वृद्धावस्था आइलागेछ भने पनि छोराले हेर्छ र छोरीले हेर्दिन भन्ने हुँदैन। नेपाली समाजमा बूढा बाबुआमालाई छोराले फालेका र छोरीले पालेका कैयन् उदाहरण भेटिन्छन् पनि। “जहाँसम्म छोरा नपाउँदा स्वर्गको बाटो बन्द हुने भनाइ छ”, शाह भन्छन्, “आफूले राम्रो गर्न सके यही पृथ्वी स्वर्ग हो, अज्ञात स्वर्गको के कुरा गर्नु!”

p35a
रामेश्वर खनाल, श्रीमती सुचिता र छोरी श्वेता।

सिईओ शाहले छोरीहरू जन्मिसकेपछि पनि एउटा छोरा त पाउनैपर्छ भन्ने लालसा राख्नेहरूलाई एक पटक सन्तान नहुनेहरूको पीडा बुझन पनि सल्लाह दिए।

छोरी भए लाख
एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल पनि ब्याङ्कर शाह जस्तै छोरीलाई लाख ठान्ने बाबुहरूको पंक्तिमा छन्। एक्काइसौं शताब्दीमा पनि छोराकै चाहनामा पिरोलिंदै लुखुर–लुखुर हिंड्नुलाई पुरातन सोचको पराकाष्ठा मान्छन्, नेता नेपाल। एमबीबीएस सकेर एमडीको तयारी गरिरहेकी एक्लो सन्तान समीक्षाका बाबु नेपाल साढेदुई दशक लामो वैवाहिक जीवनमा आफूलाई कहिल्यै छोराको अभाव महसूस नभएको बताउँछन्।

कठिन राजनीतिक संघर्षका बेला झुमा देवानसँग अन्तरजातीय विवाह गरेका नेता नेपालसँग एउटा छोरा जन्माउन साथीभाइले दिएका घुमाउरा सल्लाहहरूको भने थुप्रै सम्झ्ना छ। नेपाल भन्छन्, “खास गरेर साहित्यिक क्षेत्रका सङ्गातीहरूले दुईटा सन्तान त हुनैपर्छ भनेर जोड गर्थे।”

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला पनि छोरीमा विश्वास गर्ने व्यक्तिमै पर्छन्। बुढेसकालमा सहाराका लागि छोरा नै चाहिन्छ छोरी बुढेसकालको सहारा हुँदैन भनेर छोरीको अस्तित्वप्रति हेयभाव राख्नुलाई उनी मान्छेको पुरातन सोच, निरीह अज्ञानता र पटमूर्खता ठान्छन्। “त्यसमाथि सन्तान पाउने कुरालाई आमाबाबुको भविष्यको सुखसुविधासँग जोड्नु नितान्त स्वार्थी सोच हो”, डा. कोइराला भन्छन्, “छोरा जन्मिंदा जति राम्रो हुन्छ, छोरी जन्मँदा त्यो भन्दा कम हुँदैन।”

चिकित्सा पेशाबाट राजनीतिमा आएका कोइरालासँग अमेरिकामा डेन्टिस्ट्री पढिरहेकी छोरी सुप्रियाले छोरा या छोरी भन्दा पनि सन्तानको भूमिका निर्वाह गरेको अनुभव छ। छोरा हुन् या छोरी, राम्रो शिक्षा र संस्कार दिनसके उनीहरू बाबुआमाको मात्र हैन समाज र देशकै भरोसा र भविष्य हुने उनी बताउँछन्। नेपाली राजनीतिमा 'कोइराला परिवार' नामबाट विख्यात घरानाको सदस्य उनले दोस्रो सन्तान वा छोरै पाउनुपर्छ भनेर कहिल्यै, कुनै दबाब खेप्नुपरेन। कोइराला दम्पतीले पहिलो सन्तानको रूपमा सुप्रिया जन्मेपछि नै थप सन्तान नजन्माउने सल्लाह गरिहाले।

p34d
प्रदीप नेपाल, श्रीमती झुमा देवान र छोरी समीक्षा।

छोरी वा छोरा जे भए पनि सन्तान हुनुलाई महत्वपूर्ण मान्ने डा. कोइराला आफ्नो स्वार्थका लागि धेरै सन्तान जन्माएर उनीहरूलाई समेत दुःख दिने अधिकार कुनै बाबुआमालाई नभएको बताउँछन्। छोरीको महत्व नबुझदा मानिसहरू छोरामोहमा पर्ने गरेको उनको बुझाइ छ। छोरा नपाउनेहरू मरेपछि स्वर्ग जान वैतरणी नदी पार गर्न सक्दैनन् भन्ने विश्वासलाई लक्ष्य गर्दै उनी भन्छन्, “बीपी जस्ता मान्छे त कहाँ जानुभयो कसैलाई थाहा छैन भने हामीले यसको चिन्ता लिएर धेरै सन्तान किन जन्माउने?” डा. कोइरालाको विचारमा, राजनीतिलगायत सार्वजनिक जीवन बिताउनेहरूले त झ्न् वैतरणीको चिन्ता लिनै हुँदैन।

एमालेको वैकल्पिक पोलिटब्युरो सदस्य थममाया थापा पनि राजनीतिकर्मीले कम सन्तान जन्माउनु बुद्धिमानी हुने र लिंगभेद त गर्नै नहुने बताउँछिन्। पार्टी राजनीतिमा सक्रिय छँदा जनवादी विवाह गरेका थममाया थापा र रेशमान राईले २३ वर्षीया छोरी विजयालाई अन्माइसकेका छन्। यो जोडीलाई बुढेसकालको लागि एउटा छोरा त पाउनैपर्ने परिवार र साथीभाइको दबाब भने नपरेको हैन, तर उनीहरूले कहिल्यै छोराको अभाव महसूस गरेनन्। बुढेसकालको सहारा भन्ने कुरा सन्तानको विवेकमा भरपर्ने विषय भएको बताउँदै थापा भन्छिन्, “त्यस्ता कुरालाई सुनेको नसुन्यै पो गरियो।”

चिमखोला–१ म्याग्दीकी थापाको विचारमा, मानिसहरूले बुढेसकालको तयारी आफैं गर्नुपर्छ। बुढेसकालमा श्रीमतीका लागि श्रीमान् र श्रीमान्का लागि श्रीमती नै पहिलो सहारा हुन्। सन्तान छैनन् वा भएर पनि अविवेकी छन् भने वृद्धवृद्धाको अन्तिम सहारा समाज र राज्य हुन्छ, यदि त्यो पनि विवेकहीन छैन भने। मृत्युले जोडीलाई विजोडी बनाएपछि बेसहारा हुने वृद्धवृद्धाका लागि छोरी पनि सहारा हुन्छन्, छोरै चाहिन्छ भन्ने छैन। बूढा बाबुआमाको हेरचाह छोराले भन्दा छोरीहरूले राम्रो गर्छन्, गरेका पनि छन्। उनी भन्छिन्, “तर, हामीकहाँ पढेलेखेकाहरूले समेत आफ्नै सन्तानप्रति 'छोरा' र 'छोरी' भनेर भेदभावपूर्ण दृष्टिकोण बनाइरहेको दुःखद् अवस्था छ र अझ् कतिपय अवस्थामा त आमाले नै छोरीमाथि गर्व नगर्ने बिडम्वना समेत छ।”

p34c
अनिल शाह र छोरी आर्यलक्ष्मी।

राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाल र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उषा दाहालले पनि पहिलो छोरी भएपछि अरू सन्तान जन्माएनन्। उनीहरूलाई 'हैन, एउटा छोरा त हुनैपर्छ' भन्ने कहिल्यै लागेन। अहिले ए लेभलमा अध्ययनरत छोरी युत्साप्रति दाहाल दम्पतीको अपार भरोसा र गर्व छ। वरिष्ठ पत्रकार दाहाल धर्मशास्त्रहरूले कतै छोरा नै जन्माउनुपर्छ नभनेको, तर मानिसहरूले बुढेसकालमा नरलोक र मृत्युपछि परलोक सुधार्ने भ्रममा छोरावाद स्थापित गरेको बताउँछन्।

दाहालको बुझाइमा, यसमा धर्म, संस्कार वा परलोक भन्दा पनि आफूले खाईपाई आएको सम्पत्तिमा निरन्तरताको चाहनाले काम गरेको छ। पितृसत्तात्मक र पछौटे समाजले छोरालाई बढी महत्व दिन्छ। बढी शारीरिक श्रम गर्नुपर्ने कृषिमा आधारित जीविकाका कारण बलियो मानिने छोराप्रतिको आसक्तिलाई धार्मिक–परम्परागत मान्यता र वंश निरन्तरताको चाहनाले ऊर्जा दिने हुनाले पितृसत्तात्मक समाजमा पढेलेखेका र दुनियाँ बुझेकाहरूले समेत छोरीको अस्तित्वलाई हेपिरहेका हुन्छन्।

संस्कारमै मरिहत्ते गरेर जन्माएका छोराले पनि आमाबाबुलाई सुख नै दिन्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन र हेयभाव राखिएका छोरीहरू बूढा बाबुआमाको सहारा हुँदैनन् भन्ने पनि हुँदैन। “पुरातन सोच छाडिनसकेको हाम्रो जस्तो समाजमा दम्पतीहरूले छोरालाई आफ्नै सुरक्षित भविष्यको बीमाको रूपमा लिएका हुन्छन्”, वरिष्ठ पत्रकार दाहाल भन्छन्, “त्यही कारण हो, छोरालाई सकोस् नसकोस् बढी कमाउन र राम्रो गर्न दबाब परेको।”

p34b
गणेश न्यौपाने, श्रीमती कल्पना र छोरी सुजाता।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थ–सचिव रामेश्वर खनाल र शेयर ब्रोकर सुचिता खनाल पनि एउटै छोरीलाई लाख ठान्ने दम्पती हुन्। पारिवारिक जमघट वा अन्य समारोहहरूमा छोरी श्वेताको प्रसङ्ग चल्दा आफूहरू गौरवान्वित हुने गरेको खनाल सुनाउँछन्। मरेपछि पुगिने वा नपुगिने स्वर्गमा आफ्नो विश्वास नभएको बताउँदै उनी भन्छन्, “त्यो छ भने होस्, तर पृथ्वीमा रहुञ्जेल चाहिं हामीलाई एउटै छोरी पुगिसरी भएको छ।”

एमाओवादी नेता तथा पूर्व मन्त्री लोकेन्द्र विष्ट मगर नारीलाई कमजोर र परिवारको लज्जाको रूपमा लिने सामन्तवादी धारणाले छोरीलाई सन्तानको दर्जा नदिएको बताउँछन्। उनको बुझाइमा, यस्तो सामन्ती सोचले पढैया–धनीमानीदेखि निरक्षर–गरीबसम्मलाई समान रूपमा गाँजेको छ। मगरले पहिलो सन्तानका रूपमा छोरी सामना पाएपछि अर्को सन्तान नथप्ने निर्णय गर्नुमा नारीप्रतिको सामन्ती धारणासँग चर्को विमति नै प्रमुख कारण थियो। “सबै खालका विभेद अन्त्यका लागि २०५२ सालमा बन्दूक उठाएर हिंडेको मान्छे, छोरीलाई लैंगिक रूपमा अपूर्ण सन्तान मान्ने कुरै भएन”, मगर भन्छन्। 'जनयुद्ध' मा काँधमा काँध मिलाएर हिंडेकी श्रीमती गंगा बुढा मगरले पतिको विचारमा साथ नदिने कुरै आएन। मगर दम्पतीलाई सन्तान सुखका लागि एक छोरी नै काफी भयो।

p34a
लोकेन्द्र विष्ट मगर, श्रीमती गंगा र छोरी सामना।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का सचिव रहिसकेका पर्यटन व्यवसायी गणेश न्यौपानेले पनि एक्ली छोरी सुजातालाई नै सहस्र माया दिने निर्णय गरे। कहिलेकाहीं साथीभाइले 'सम्पत्ति खाने छोरो चाहिन्छ' भन्ने आशयको कुरा गर्दा उनलाई हाँसो उठ्छ। त्यस्तो बेला 'ल, छोरीको मुखले हाम्रो सम्पत्ति खान मिलेनछ भने भाइका छोराहरू छन्' भन्ने जवाफ दिएर कुरा टुङ्ग्याइदिन्छन्, उनी। “यो सब पुरातन सामन्तवादी सोचको उपज हो”, न्यौपाने भन्छन्, “राजाको जेठो छोराले किरिया नबस्दा केही नहुने अनि 'रैती' को किरिया गर्न चाहिं छोरा नै चाहिन्छ भन्ने हावादारी तर्क चल्ने जमाना गइसक्यो।”

अरू र हामी
पश्चिमा मुलुकमा छोरा हुन् या छोरी, १८ वर्ष पुगेपछि उनीहरूलाई आफ्नै खुट्टामा उभिने गरी हुर्काइन्छ। विकासले हामीभन्दा सुखी मानिएका पश्चिमाहरू बुढेसकालमा पैंचो फर्काउने अपेक्षा राखेर छोराछोरीको लालनपालन गर्दैनन्। यसको अर्थ त्यहाँ बुढेसकालमा छोराछोरीको स्याहार पाउने बाबुआमा हुँदैनन् भन्ने होइन। जहाँका पनि विवेकी छोराछोरीले आफ्नो गच्छे अनुसार आमाबाबुको हेरचाह, औषधोपचार र रीतिअनुसार किरियाकर्म गर्छन् नै। सन्तान अविवेकी भए भने नेपालका हुन् कि विदेशका, जति नै कर्तव्य र संस्कार सम्झाए पनि हुँदैन। यसका लागि उचित शिक्षा र संस्कार चाहिने पूर्व अर्थसचिव खनाल बताउँछन्।

नेपाली समाजमा बुढेसकालको सहारा र मरेपछि वैतरणी तार्ने भनेर हुर्काइएका अनेकौं छोरा छन्, जसले बाबुआमालाई जीवनभर दुर्व्यवहार सिवाय केही गरेका छैनन्। बाबुआमाको किरिया बस्न पैसा दिएर खेताला खोज्नेहरूको पनि कमी छैन। नेपाली समाजमा 'बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि' भन्ने उखान त्यसै चलेको हैन। अविवेकी छोराहरूले धेरै बाबुआमालाई पाटीको बास बनाएको पनि देखिएकै छ। भनाइ नै छ, 'एउटा बाबुले १० छोरा पाल्न सक्छ तर दश छोराले एउटा बाबु पाल्न सक्दैन।' वृद्धाश्रमहरूमा अपवादका रूपमा मात्र निःसन्तान र अविवाहित वृद्धवृद्धा फेला पर्छन्, धेरैजसो छोराले सम्पत्ति कब्जा गरेर सडकमा पुर्‍याएका बाबुआमा नै छन्। र पनि, हामीकहाँ छोराकै हाई–हाई छ। सडकमा फालिएका अरूका बाबुआमा समेत उठाएर स्याहार गरिरहेका छोरीहरूको भने खासै मूल्यांकन भएको छैन।

भरसक परिवार नटुक्र्याउने मान्यता भएको नेपालमा प्राकृतिक रूपमै बढी संवेदनशील छोरीलाई विभेदको चस्माले नहेरी हुर्काउने हो भने बाबुआमाको भविष्य बढी सुरक्षित हुन्छ।

comments powered by Disqus

रमझम