मजदूर नेपाली?
यसै सन्दर्भमा, एउटा महत्वपूर्ण घटना अहिले चर्चा लायक छ। त्यो हो, खाडी मुलुकमा नेपाली कामदारको दुर्दशाबारे नेपाली पत्रपत्रिकाले पहिलेदेखि लेखे पनि बेलायती पत्रिका 'द गार्डियन' ले समाचार बनाएपछि विश्वको ध्यान तान्यो। तर, दुःखको कुरा लाखौं नेपालीहरूले शोषण भोग्नुको मुख्य कारण उनीहरूको अशिक्षा, म्यानपावर कम्पनीहरूको लालच र देशको दयनीय परिस्थिति हुन्।
बाहिर गएपछि 'रूखमा फलेको' जसरी धन टिप्न पाइन्छ भन्ने युवाहरूको सोच पनि शोषण भोग्नुमा दोषी छ। विदेशबाट दिनहुँ लाशहरू विमानस्थलमा उत्रिंदा पनि बाहिर जानेहरूको लाम घटेको छैन। सीप नसिकी विदेश जान खोज्ने युवाले बुझन जरूरी छ, विदेशमा जत्तिकै परिश्रम गर्ने हो भने यहीं पनि प्रगति गर्न सकिन्छ। कृषि, व्यापार र अन्य क्षेत्रमा कैयौंले गरेको प्रगतिले त्यो पुष्टि पनि हुन्छ।
हामीले उत्पादन गर्ने जनशक्तिको स्तरबारे पनि मनन् गर्नु आवश्यक छ। 'ब्लु कलर' भनिने शारीरिक बलका कामहरूमा नेपाली श्रमिकको पहुँच पुगे पनि 'ह्वाइट कलर' भनिने बुद्धि र सिर्जनात्मक कामहरूमा हाम्रो पहुँच कम छ। विदेशमा शिक्षा प्राप्त गरेका केही नेपालीहरू ठूला संघ–संस्था र कम्पनीहरूमा राम्रै पदमा पुगे पनि उनीहरू हाम्रा उत्पादन होइनन्। तर, यो वर्ष नेपालको एउटा बिजनेस कन्सल्टेन्सी कम्पनीले विश्वका कम्पनीहरूसँग प्रतिस्पर्धा जितेर अफ्रिकी मुलुक रुवान्डा सरकारले खोलेका टेन्डर हात पारेको छ। जुन कालो बादलमा चाँदीको घेरा देखिनु जस्तो हो। 'बीड कन्सल्टेन्सी' नामको त्यो कम्पनीले पाएको उपलब्धिमा हामीले गर्व गर्दै प्रेरणा लिनुपर्छ।
बजार र उत्पादनको भूमण्डलीकरण आजको विश्वका वास्तविकता हुन्, र यो तथ्यलाई मध्यनजर नराख्ने उग्रवादहरू विगतमा रुमल्लिने अन्धताहरू हुन्। अहिले लाखौंको संख्यामा नेपालीहरू विदेशिनुमा मुख्य तीन कारण छन्। सर्वप्रथम, 'लाहुरे' संस्कृतिद्वारा नेपाली समाजमा पैसा कमाउनको लागि विदेशिने प्रवृत्तिलाई मान्य बनाइएको हो। दोस्रो, भूमण्डलीकरणको अवस्थाले विश्वभरि नै श्रमबजारको सिर्जना गर्यो र एशियाका अविकसित मुलुकहरूबाट सस्ता श्रमिकहरू झिकाउनु किफायती हुन पुग्यो। तेस्रो, नेपालमा प्रजातन्त्रपछिको खुलापन, द्वन्द्वको अन्योल र नीतिगत अराजकताले गर्दा पनि बाहिरिन आतुर जनशक्ति उपलब्ध भयो।
छोरा–नातिका पाला
अहिलेका घटनाहरूले देखाए अनुसार भूमण्डलीकरण र विश्वबजारले हामीलाई फाइदा भन्दा नोक्सान बढी भइरहेको छ। लाखौंको संख्यामा विदेशिएका युवाहरूले धानेको अर्थतन्त्रलाई हामीले देशको परिस्थिति सुधार्न प्रयोग गर्नुपर्नेमा सकेनौं। अहिले जनसंख्याको उल्लेख्य भाग विदेशिनाले हजारौं वर्षदेखि प्रयोग हुँदै आएका खेतबारी बाँझै रहन थालेका छन्, सामाजिक र सांस्कृतिक निरन्तरतामा अवरोध आउन थालेको छ। यो प्रक्रियालाई संस्थागत रूपमा निरुत्साहित नगर्ने हो भने दयनीय परिस्थितिमा काम गरेका आजको युवा पुस्ताका सन्तानले पनि विश्वमा मजदूर भएरै चिनिनुपर्नेछ।
राजनीतिक अन्योललाई बहाना बनाएर वा पहिचानलाई मुद्दा बनाएर सत्ताको खेल खेलिरहेका दलहरूले विश्वको वास्तविकता बुझ्ेर आउँदो शताब्दीलाई सुहाउँदा नीति ल्याउन सक्नुपर्छ। त्यसो भयो भने मात्र देशको सुनौलो भविष्यको कल्पना गर्न सकिन्छ। जसका लागि बीड कन्सल्टेन्सीको उपलब्धि प्रेरणा हुन सक्छ। वास्तवमा 'वीर', 'बहादुर' र 'श्रमिक' भनेर चिनिनु हाम्रो रहर नभएर बाध्यता हो। उचित वातावरण र रचनात्मक शिक्षा प्रणालीबाट यहाँको जनशक्तिलाई दीक्षित बनाउने हो भने हामी पनि 'बुद्धि र सिर्जनात्मकता' का कामहरू गर्न सक्छौं। विदेशमा ज्यानको जोखिम मोलेर श्रम गरिरहेको आजको पुस्ता आफ्नै जीवनकालमा त्यो परिवर्तन हेर्न आतुर छ।