वर्तमान डिजिटल युगमा सामाजिक सञ्जाललाई उत्पादक, वितरक, विक्रेता र उपभोक्ता सबैले सकेसम्म धेरै प्रयोग गर्न चाहेको देखिन्छ । डिजिटल साक्षरता तथा ‘ग्याजेट्स’ हरूमा निजी पहुँच रहेका विकसित र धनी राष्ट्रमा यी उद्देश्यका लागि सामाजिक सञ्जालको प्रयोग अधिकतर हुने गरेको छ । डिजिटल विभेद खेपिरहेका समाज र समुदायमा भने व्यावसायिक प्रयोजन र उपभोगमूलक जानकारीका लागि सामाजिक सञ्जालमा भर पर्नेहरू कम छन् ।
सामाजिक सञ्जालले उपभोक्ताहरूमा पार्ने प्रभाव कस्तो हुन्छ त ? विक्रेताले आफ्ना उत्पादन र ब्रान्डको प्रवद्र्धनका लागि फेसबूक, इन्स्ट्राग्राम, गुगल, ट्वीटर, युट्युब आदिमा राख्ने विज्ञापनले उपभोक्ताको खरीद मनोविज्ञानमा एकखाले प्रभाव पारिदिन्छ । तर, उपभोक्ताले ती उत्पादनको उपभोगपछि यिनै मञ्चमा सार्वजनिक गर्ने अवधारणाले अन्य उपभोक्ताको व्यवहार र मनोविज्ञानमा पार्ने प्रभाव त्यसभन्दा बिल्कुलै फरक हुन्छ । यस्ता अनुभवजन्य पोस्टहरूले सञ्चार गर्ने सन्देश ब्रान्ड प्रवद्र्धनका लागि उत्पादक–विक्रेताहरूले गर्ने विज्ञापनभन्दा बढी प्रभावकारी भएको अध्ययनले देखाएका छन् ।
विश्वप्रसिद्ध फोब्र्स पत्रिकाको एक अध्ययन अनुसार, उपभोक्ताका ८१ प्रतिशत खरीद निर्णय तिनका साथीले सामाजिक सञ्जालमा पोस्ट गर्ने सन्देशबाट प्रभावित हुने गरेका छन् । बिजनेस इन्साइडरको अनुसन्धानले यस्तो खरीद सिफारिशमा ५० प्रतिशत हिस्सा फेसबूक मार्फत हुने देखाउँछ । त्यसै गरी कम्पनीहरूले सामाजिक सञ्जालमा गर्ने पोस्टले ७८ प्रतिशत उपभोक्ताको खरीद निर्णयमा प्रभाव पार्ने फोब्र्सकै अर्को अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जाल मार्फत उपभोक्तामा पर्ने प्रभावलाई सामान्यतः चार प्रकारले अध्ययन गर्न सकिन्छ:
१. उत्पादनको जानकारी, मूल्य, गुणस्तर आदि बारेमा सचेतना
२. उत्पादन र उपभोग अनुभवबारे छलफल गर्न सामाजिक सञ्जालको प्रयोग
३. संगठित प्रतिक्रिया अथवा सिफारिशका माध्यमबाट प्रत्यक्ष–परोक्ष रूपमा उपभोक्ता अधिकारको संरक्षणमा योगदान
४. उत्पादक, वितरकहरूलाई उत्पादनको गुणस्तर, पहुँच र मूल्य प्रणाली सुधार गर्न पृष्ठपोषण
सामान्यतः वस्तु र सेवा दुवैखाले उत्पादनबारे औपचारिक विज्ञापनसँगै प्रयोगकर्ताबाटै सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन व्यापक छ । विश्वव्यापी रूपमा उदाएका सामाजिक सञ्जालहरूको मुख्य आयस्रोत अहिले यिनै विज्ञापन (भिडिओ, टेक्स्ट, तस्वीर) हुने गरेका छन् जसले उपभोक्तालाई वस्तु र सेवाबारे प्रारम्भिक जानकारी दिइरहेछन् । सामाजिक सञ्जालको प्रयोगसँगै परम्परागत छापा र श्रव्यदृश्य ‘प्लेटफर्म’ क्रमशः विस्थापित हुँदै छन् । अर्कातर्फ प्रत्येकका हातमा रहेका डिभाइससम्म यी विज्ञापन सीधै पुग्ने भएकाले सामाजिक सञ्जाल मार्फत गरिने विज्ञापनको प्रभाव बढेको छ । सामाजिक अगुवाहरूले कुनै उत्पादनबारे सञ्जालहरूमा गरेका सकारात्मक पोस्ट देखेर उक्त सामान प्रयोग गर्ने चलन पनि छ । सेलेब्रिटीबाट जानेर वा नजानेर भइरहेका यस्ता प्रवद्र्धनको लाभ उत्पादक र उपभोक्ता दुवैले पाइरहेका छन् ।
अर्कातर्फ सामाजिक सञ्जालले परम्परागत मानवीय अन्तरक्रियाको ठाउँ लिइरहेका छन् । कुनै पनि विषयवस्तुमा सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिने नयाँ सामाजिक अन्तरक्रियाको माध्यम ती सञ्जाल बनिरहेछन् । त्यसैले खास प्रकारका वस्तु र सेवाको गुणस्तर, प्रतिबद्धता अनुरूपको मूल्यको लाभ उपभोक्ताले पाए÷नपाएकोबारे यस्ता मञ्चमा हुने वादविवादले कतिपय कम्पनीलाई जीवन–मरणको सँघारमा पुर्याएको छ भने उपभोक्तालाई ती उत्पादनबारे निर्णय लिनुअघि थप खोज गर्न प्रेरित गरेको छ ।
सामाजिक सञ्जालमा हुने छलफलकै कारण संसारभर लाखौं उपभोक्ताले कमसल उत्पादनका लागि क्षतिपूर्ति समेत पाएका छन् । ठूलो सङ्ख्याका उपभोक्ता थप ठगिनबाट जोगिएका छन् । ठूला कम्पनी समेत आफ्नो बेइमानी स्विकार्दै उपभोक्तालाई क्षतिपूर्ति दिन र आफ्ना उत्पादन बजारबाट फिर्ता ल्याउन बाध्य भएका छन् । भक्सवागनले घोषणा अनुसार प्रदूषण मापदण्ड पालना नगरिएका गाडी र टोयोटाले त्रुटि देखिएका कार बजारबाट फिर्ता लैजानु सामाजिक सञ्जालले उपभोक्ताको संरक्षणमा पुर्याएको योगदानका दृष्टान्त हुन् ।
उत्पादक, बजार विश्लेषक र उपभोक्ता मनोविज्ञान अध्येताहरूका लागि सम्भवतः अहिलेसम्मकै प्रभावकारी र प्रतिक्रियामूलक संयन्त्र सावित भएको छ, सामाजिक सञ्जाल । यस मार्फत प्रवाह हुने तथ्यहरूको विश्लेषणले उत्पादन विकास, बजार विस्तार, मूल्य निर्धारण र वितरणमा कम लागत र बढी लाभ प्राप्त हुने गरी निर्णय लिन सघाएको छ । अहिले उपभोक्ता सचेतना र ब्रान्ड प्रवद्र्धनका दृष्टिले सामाजिक सञ्जाल पहिलो स्थानमा पर्न थालेको छ । अखबार, रेडियो, टेलिभिजन, होर्डिङ बोर्ड आदिमा विज्ञापनदाताहरूको प्राथमिकता कम हुँदै गएको छ । उपभोक्ता पनि सामाजिक सञ्जाल मार्फत पाइने जानकारीमा बढी भर पर्न थालेका छन् । सामाजिक सञ्जालमा हुने दोहोरो संवाद सुविधाले पनि यसको प्रयोग दु्रत गतिमा बढिरहेको छ ।
हाम्रो सन्दर्भ
नेपालमै उत्पादित वस्तु तथा सेवाबारे उपभोक्ताबीच हुने अन्तरक्रिया पनि कम प्रभावकारी भने छैनन् । आफूलाई ठगिएको, सेवाप्रदायकले प्रतिबद्धता वा मूल्य अनुसार लाभ नपाएको, त्रुटियुक्त सामान बेचेको वा साटफेर नगरिदिएको बारे सामाजिक सञ्जालमा गुनासो गर्ने, त्यसमाथि ‘फलोअर्स’ हरूले प्रतिक्रिया दिने र अन्ततः सेवाप्रदायक सच्चिन बाध्य भएका उदाहरण नेपालमा पनि हजारौं पुगिसकेका छन् ।
नेपालमा माथि उल्लिखित चारै आयाममा सामाजिक सञ्जालको प्रयोग भइरहे पनि यसलाई नियमन गर्न प्रभावकारी संयन्त्र स्थापित भइसकेको छैन । पहिले त सामाजिक सञ्जाल मार्फत गरिने विज्ञापनका लागि छुट्टै कानूनको व्यवस्था हुनुपर्छ । उपभोक्ता अधिकारका दृष्टिले सामाजिक सञ्जालमा पोस्ट हुने गुनासालाई सार्वजनिक अपराध अनुसन्धानमा प्रमाणका रूपमा लिने व्यवस्था गरिनुपर्छ । सामान्यतः सापेक्षित शिक्षित, ‘स्मार्ट डिभाइस’ मा पहुँच भएकाहरू सामाजिक सञ्जालका सूचनामा भर पर्ने र त्यहाँका अन्तरक्रियामा समेत बढी सरिक हुने गरेको देखिन्छ । यसमा केही जोखिम पनि छन् । पहिलो त यी सामाजिक सञ्जालमा पोस्ट हुने सबै जानकारीको आधिकारिकता पुष्टि गर्ने संयन्त्र छैन । कतिपय पोस्टकै आधारमा लाखौं मानिस अनेकौं ठगीको शिकार भएका समाचार आइरहन्छन् । किशोर–किशोरी र हुर्कंदा बालबालिका समेत सामाजिक सञ्जालकै प्रभावमा परेर अनावश्यक खरीदमा प्रवृत्त हुने र त्यसका लागि अभिभावकलाई दबाब दिने विकृति पनि बढेर गएको छ । यस्ता विकृतिको न्यूनीकरणका लागि बालबालिकालाई ‘डिजिटल उपभोक्ता शिक्षा’ दिँदै आम उपभोक्तालाई सामाजिक सञ्जालमा आउने सूचनाहरूको पुनः परीक्षणमा अभ्यस्त गराइनुपर्छ ।