बैशाख २०७९ | 14/04/2022

‘भर्चुअल’ सुरक्षा

Share:
  
- समीर ताम्राकार, रजनी चुल्याद्यो प्रधान
सामाजिक सञ्जालले आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमले प्रयोगकर्ताका स्वभाव पहिचान गर्दै उनीहरूका रुचिका सामग्री मात्र पस्कँदैनन्, सम्भावित जोखिम पहिल्याएर सुरक्षा समेत दिइरहेका हुन्छन्।

स्केच: डिजिटल फ्रेमवर्क नेपाल, २०१९

फेसबूकमा हामीलाई साथी बनाउन आउने सुझावको सूचीमा प्रायः चिनेजानेकै वा केही न केही सम्बन्ध जोडिएकै मान्छे हुन्छन्। यति धेरै प्रयोगकर्ताको भीडमा फेसबूकले हाम्रो नजिकका मान्छे कसरी चिन्छ? फेरि ‘फिड’ मा हामीले रुचाएका र चासो देखाएका साथीहरूका मात्र सामग्री छानिएर आउँछन्। त्यहाँ आउने विज्ञापन पनि हाम्रो सान्दर्भिकता अनुसारकै हुन्छन् प्रायः। कसरी त?

यस्ता काम गर्न सामाजिक सञ्जालहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको सहायता लिएका हुन्छन्। एआई भनेको मानवीय बुद्धिमत्ताबाट मात्र सम्भव ठानिएका काम गर्न यन्त्र वा कम्प्युटरलाई समर्थ बनाउने प्रणाली हो। यसले कम्प्युटरलाई पुराना अनुभवबाट सिकेर नयाँ वातावरणमा काम गर्न सिकाउँछ। तस्वीरहरूमा मान्छे/वस्तु चिन्न सक्नु, प्रयोगकर्ताले सुन्ने सङ्गीतबाट उसको साङ्गीतिक रुचि थाहा पाउनु, हस्तलिपि चिन्नु, प्रयोगकर्ताका गतिविधिबाट उसको स्वभाव आकलन गर्नु यसका उदाहरण हुन्। कम्प्युटरमा यस्तो क्षमता विकासका लागि थुप्रै विवरण (डेटा) का साथै अल्गोरिदमको आवश्यकता पर्छ।

सञ्जालमा व्यक्तिगत तथा पारिवारिक विवरण राख्ने, साथी बनाउने, तस्वीर पोस्ट, विचार विमर्श गर्ने, समाचार शेयर गर्ने जस्ता प्रयोगकर्ताका गतिविधिबाट थुप्रै विवरण जुटिरहेका हुन्छन्। यिनै विवरणलाई एआईमा आधारित प्रविधि मार्फत पर्गेलेर सामाजिक सञ्जालले प्रयोगकर्ताको सामाजिक झुकाव, व्यवहार, राजनीतिक आस्था, रुचि र व्यक्तित्वको मूल्याङ्कन गरी उसको भर्चुअल चरित्र चित्रण गरेको हुन्छ। प्रयोगकर्ताका ठेगाना, फोन नम्बर, बसाइ, पारिवारिक विवरण, कार्यालय, स्कूल-कलेज, उसले भ्रमण गरेका स्थान आदि विवरणका आधारमा यसले तीसँग सरोकार रहेका अरू प्रयोगकर्तालाई नजिक ल्याइदिन्छ।

प्रयोगकर्ताले राजनीतिक, सामाजिक, आर्थिक, व्यक्तिगत वा पारिवारिक पोस्टमा व्यक्त गरेका विचारबाट सामाजिक सञ्जालले उसको सर्वपक्षीय झुकाव आकलन गरेको हुन्छ। त्यही आकलनका आधारमा सामग्रीहरू छानेर उसलाई उपभोग गर्न सुझाउँछ। प्रयोगकर्ताले त्यस्ता सामग्रीमा जति चाख देखाउँछ, सञ्जालमा उसको भर्चुअल चरित्रको जानकारी थप अद्यावधिक हुँदै जान्छ।

अहिले विश्वमा सामाजिक सञ्जालका झण्डै चार अर्ब प्रयोगकर्ता छन्। यसले देश-विदेशमा रहेका साथीभाइ, परिवार, इष्टमित्रलाई जोड्ने मात्र होइन, एक ‘क्लिक’ का भरमा लाखौं सामु आफ्नो विचार राख्ने मञ्च दिन्छ। यस मार्फत एउटै सर्वसाधारणले समेत प्रशासन र अधिकारीलाई झकझकाउन सक्ने वातावरण तयार हुन्छ। अर्थात्, प्रयोगकर्ताले एउटा पत्रकारको जत्तिकै ल्याकत राख्छ।

सामाजिक सञ्जाल प्रतिभा प्रस्फुटनका साथै आय आर्जनको थलो समेत बनेको छ। यसबाट आफ्ना सिर्जना छिटो अनि धेरै दर्शक-श्रोतासम्म पुग्ने भएकाले प्रचारको प्रभावकारी मञ्च समेत आफ्नै हातमा अटाएको छ। परिणाम- सामाजिक सञ्जालबाट धेरै राम्रा कलाकार उदाएका उदाहरण नेपाली समाजमै यथेष्ट छन्।

व्यवसाय तथा संस्थाको विज्ञापन गर्न, लक्षित वर्गसम्म सेवा पुर्‍याउन, सामाजिक क्रियाकलापको आह्वान गर्न पनि सामाजिक सञ्जाल द्रुत विकल्प बनेको छ। यस बाहेक हामीकहाँ भूकम्प र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा प्रभावित क्षेत्रका बासिन्दाको स्थिति, सम्भावित जोखिम क्षेत्र, पीडितको उद्धार जस्ता पक्षमा जानकारी प्रवाह गर्न पनि भर्चुअल माध्यम प्रभावकारी देखिएका छन्।

सामाजिक सञ्जाल वैचारिक स्वतन्त्रताका अभ्यासस्थल समेत हुन्। आफूलाई राम्रो/नराम्रो लागेका, आपत्तिजनक, मानहानि हुने, व्यक्तिगत आक्षेप लगाउने सामग्रीको सार्वजनिक रूपमै खण्डन गर्न सकिन्छ। आवश्यक परे ती सामग्री विरुद्ध कानूनी प्रक्रिया समेत अघि बढाउन सकिन्छ। तर, यसरी आउने जस्तासुकै सामग्रीको तथ्य जाँच नहुने र प्रयोगकर्ताले तिनैलाई पत्याउने जोखिम रहेकाले घातक परिणाम पनि दिन सक्छन्।

विवादित विषयका सामग्री त झन् छिनमै दशौं हजारसम्म शेयर हुन्छन्। यसरी धेरैले शेयर गर्दा मानिसहरूले त्यसैलाई सत्य ठानिदिने मनोविज्ञान विकास हुन पुग्छ। यही मनोविज्ञानमा टेकेर गरिएका ‘मिडिया ट्रायल’ ले न्यायपालिकाको कार्य सम्पादनमा समेत प्रभाव पारेका घटना विश्वमा छन्। दोषीलाई सजाय मिनाहा गराउन वा निर्दोषलाई सजाय दिनबाट रोक्नसम्म यसको प्रभाव देखिएको छ।

नेपाली समाजमै पनि ‘मिडिया ट्रायल’ ले राष्ट्रिय महत्त्वका विषयलाई विवादित बनाउँदा सत्य पहिल्याउन बौद्धिक वर्गलाई हम्मे परेको छ। यस्तो प्रवृत्तिले धेरै देशमा सामाजिक द्वन्द्व, धार्मिक हिंसा, राजनीतिक क्लेशलाई बढाएका उदाहरण पनि छन् जसको न्यूनीकरणमा प्रयोगकर्ताको सतर्कता र सचेतनाले भूमिका खेल्छ।

यस बाहेक राजनीतिक वा अरू स्वार्थका लागि लक्षित समूहको विचारधारा नै प्रभावित पार्ने उद्देश्यले अभियान समेत चल्ने गरेका छन्। हरेक सामग्रीको तथ्य जाँच गरी तिनलाई समाजमा नकारात्मक असर पार्ने तहसम्म पुग्न नदिने हो भने सामाजिक सञ्जाल धेरै फाइदाजनक हुन सक्छ।

कम्तीमा एक वर्षदेखि सामाजिक सञ्जाल चलाउँदै आएका ११ देखि १३ वर्षसम्मका बालबालिकामा गरिएको एउटा सर्वेक्षणले उनीहरूको भावनात्मक सन्तुलनमा ह्रास आएको देखाएको छ। विद्युतीय स्क्रिनयुक्त उपकरणको निकटताले भौतिक भेटघाट मार्फत हुने मानवीय भावनाको विकासमा कमी आएको पाइयो। त्यसैले बालबालिकालाई यस्ता उपकरणको पहुँच के-कति दिने भन्नेमा अभिभावक चनाखो हुनुपर्छ। सामाजिक सञ्जालले वयस्कहरूको मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको धेरै अध्ययनको निष्कर्ष छ।

सामाजिक सञ्जालका यस्ता नराम्रा पक्ष कम गर्न पनि एआईको प्रयोग भएको छ। मानवीय संवेदना बिथोल्ने हत्या-हिंसा, हातहतियार एवं यौनजन्य सामग्री ‘सेन्सर’ गर्ने तथा प्रयोगकर्ताले आफ्नै जोखिममा उपभोग गर्न चाहे चेतावनीपूर्वक त्यस्ता सामग्रीको पहुँच दिने गरिन्छ। अति संवेदनशील महत्त्वका सामग्रीलाई पूरै निषेध गर्ने स्वचालित प्रविधि पनि यसमा हुन्छ। खास गरी सामाजिक, धार्मिक, राजनीतिक हिसाबले विवादित, समाजमा खलल पुर्‍याउन सक्ने सामग्रीको सत्य जाँच गर्ने कर्मचारीको व्यवस्था र संयन्त्र विकास गर्न सामाजिक सञ्जालले पहल गरेका हुन्छन्।

त्यस्तो संयन्त्रले प्रायः जुनसुकै प्रचलित भाषामा लेखिएका घृणा फैलाउने सामग्री र गलत समाचार ठम्याउन सक्ने अल्गोरिदम प्रयोग गरी जतिसुकै प्रभावशाली व्यक्तिले प्रचार गरेका सामग्रीलाई पनि रोक लगाइदिन सक्छ। यसले समाजमा निम्तिन सक्ने अव्यवस्था र दुर्घटना रोक्न ठूलो भूमिका खेलेको छ। फेसबूकले प्रयोगकर्ताका पोस्ट, साथीका कमेन्ट आदिको विश्लेषण गरी सम्बद्ध व्यक्तिको मानसिक अवस्था अध्ययन गर्ने गरेको छ। यसबाट सम्भावित आत्महत्याका सङ्केत पहिचान गर्दै आवश्यक परे सम्बद्ध व्यक्तिलाई सूचित पनि गर्न सक्छ।

सामाजिक सञ्जालले प्रयोगकर्ता स्वयंले अनुपयुक्त सामग्रीबारे रिपोर्ट गर्न मिल्ने संयन्त्र बनाएको हुन्छ। धेरै गुनासो आए सत्यतथ्य पहिल्याई त्यस्ता सामग्री अस्थायी/स्थायी रूपमा हटाइनुका साथै पोस्ट गर्नेको खाता समेत बन्द गरिन्छ। प्रयोगकर्ताले अपरिचितहरूलाई आफ्ना व्यक्तिगत जानकारी कतिसम्म दिने, उनीहरूले सम्पर्क गर्न खोजे पहुँचमा जाने/नजाने, आफ्ना सामग्री कसलाई देखाउने/नदेखाउने, आफूले मात्र हेर्न मिल्ने गरी भविष्यका लागि कसरी सुरक्षित राख्ने जस्ता सुविधा ‘सेटिङ’ मा गई मिलाउन सक्छन्। पहिले प्रयोग गरिंदै आएको भूगोलभन्दा धेरै टाढा र फरक डिभाइसबाट कसैको खाता खोल्ने प्रयास भए दुरुपयोगको जोखिम टार्न अल्गोरिदम मार्फत छड्के जाँच गर्ने प्रविधि छ।

भनिन्छ, कुनै वस्तु सित्तैमा पाउँदै हुनुहुन्छ भने तपाईं स्वयं उपभोग्य वस्तु हो। सामाजिक सञ्जालको हकमा पनि यही नियम लागू हुन्छ। प्रयोगकर्ताका गतिविधिबाट जुट्ने विवरण सामाजिक सञ्जालले मुद्रा आर्जन गर्ने प्रमुख माध्यम हुन्। एआई मार्फत तयार पारिएका प्रयोगकर्ताका सूक्ष्म विवरण र उनीहरूले प्रतिक्रिया जनाएका अन्य सामग्रीका आधारमा भावना विश्लेषण गरी सामाजिक सञ्जालले प्रयोगकर्ताको वर्ग निर्धारण गरेका हुन्छन्।

यस्ता वर्ग रुचि, उमेर समूह, काम, राजनीतिक, सामाजिक आस्था आदिका आधारमा छुट्याइन्छन्। एउटै खाले विचार, रुचि भएका वर्गलाई लक्ष्य गरी बनाइएका विज्ञापन तिनलाई उपभोगका लागि सुझाएर सामाजिक सञ्जालले विज्ञापनदाताबाट सेवाशुल्क प्राप्त गरेका हुन्छन्। यसलाई सूक्ष्म विज्ञापन शैली भनिन्छ। यस्तो विज्ञापन धेरै प्रयोगकर्ताभन्दा पनि सानो तर प्रभावकारी वर्गमा लक्षित हुन्छ। दाताका लागि पनि लक्षित वर्गमा आफ्ना सामग्री लैजानु मिश्रित रुचि र चाहना भएका धेरै प्रयोगकर्तामाझ् विज्ञापन पस्कने परम्परागत शैलीभन्दा प्रभावकारी हुन सक्छ।

हरेक वस्तुका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् नै। त्यसबाट आफूले के ग्रहण गर्ने भन्ने सम्बद्ध उपभोक्ताको विवेकमा भर पर्छ। सामाजिक सञ्जालको भविष्य पनि प्रयोगकर्ताको गोपनीयता, सुरक्षा तथा सूचनाहरूको प्रयोगमा निम्तिन सक्ने नयाँ जोखिम पार लगाउन र सामाजिक दायित्व वहन गर्न एआई प्रविधिको थप विकास कसरी गरिन्छ भन्नेमा अडिएको छ।

(लेखकद्वय काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागमा उपप्राध्यापक छन्।)

comments powered by Disqus

रमझम