बैशाख २०७९ | 14/04/2022

‘अनलाइन भय’ ले खुम्चिँदो समाज

Share:
  
- कनकमणि दीक्षित
नेपालमा सामाजिक सञ्जालको संस्थागत दुष्प्रयोगले प्रकोपको रूप लिइसकेको छैन, तर सतर्कता नअपनाए फर्जी सूचना र खबरले व्यक्तिगत र समाजव्यापी हिंसा फैलन बेर लाग्दैन ।

अमेरिकी सहयोग परीयोजना एमसीसीको विरोधमा काठमाडौंमा भएको प्रदर्शन
अमित मचामसी

सामाजिक सञ्जालले संसारभरका व्यक्तिबीचको सञ्चारलाई अद्भुत रूपमा क्रियाशील बनाइदिएको छ । यसको महत्त्व, उपयोगिता र यसले समाज परिवर्तनमा पुर्‍याएको योगदान चर्चा गरेर सकिँदैन । तर, सकारात्मक कुराका अलावा सामाजिक सञ्जाल खतरनाक हुन सक्छ, भएको पनि छ । यसले विध्वंस ल्याउन सक्छ, ल्याएको पनि छ ।

विषयमा गहिरिनुअघि ‘लिन्चिङ’ शब्दको चर्चा सान्दर्भिक हुन्छ । आक्रोशित जमातले बेसहारा कसैलाई एक्ल्याई कुटेर, भाटा वा लाठीले हानेर वा झुन्ड्याएर मार्नुलाई अङ्ग्रेजीमा ‘लिन्चिङ’ भनिन्छ । यस्तो हत्यालाई ठ्याक्कै जनाउने शब्द न नेपालीमा छ न त दक्षिणएशियाका अन्य भाषामा । क्रूर हत्या, यातना सहितको हत्या, गम्भीर अपराध भन्नु त व्याख्यात्मक हुन जान्छ । तसर्थ, घटनाको चित्रण सही होस् भनेर यहाँ ‘लिन्चिङ’ शब्द नै प्रयोग गर्ने गरिएको छ, अन्यत्र जस्तै नेपालमा पनि ।

भारत, ब्राजिल र इन्डोनेशियामा ह्वाट्सएपको दुरुपयोग गर्दै ‘लिन्चिङ’ का अनेकन् त्रासदी रचिएका छन् । उदाहरण, ग्रामीण भेगमा बालकको अपहरण हुँदै गरेको भनी पत्यारिलो देखिने भिडिओ र सूचना प्रेषित हुन्छ, त्यो एक्कासि ‘भाइरल’ हुन्छ । अनि आमजनको मनमस्तिष्कमा रहेको भय, कुण्ठा र हिंस्रक चरित्र एकाएक विस्फोट हुन्छ; कानून र न्याय प्रणालीको परवाह नगरी कोही निर्दोषमाथि हुलका हुल जाइलाग्छन्; बन्चरो, तरबार, ढुङ्गा, डन्डा र मुढाले ठोकी–ठोकी मार्छन् ।

दक्षिणएशियाली समाजमा ऐतिहासिक कालदेखि नै ‘लिन्चिङ’ का घटना नभएका होइनन् । र, अफवाह सल्काउने र फैलाउने कृत्य पहिल्यैदेखि छन् । तर, सामाजिक सञ्जालका उपकरण र डबली (प्लेटफर्म) हरूले गलत र भ्रामक सूचना विस्तारको तीव्रतालाई अहिले दसौं वा सयौं होइन, हजारौं गुणा बढाइदिएका छन् ।

जातीय सफायाको कुरा गर्दा रेडियो (विशेष गरी एफएम रेडियो) को खतराबारे हामीलाई सिकाइन्छ । सन् १९९४ तिर रुवान्डामा हुतु जातिले तुत्सी अल्पसङ्ख्यकमाथि गरेको जातीय नरसंहारअघि अफवाह फैलाउने र हत्यामा उक्साउने काम एफएम रेडियो स्टेशनहरुले गरेका थिए । नेपालमा पनि, भदौ २०६४ मा कपिलवस्तुको चन्द्रौटामा एक मुस्लिम अगुवाको हत्या भएपछि साम्प्रदायिक दङ्गा भड्कियो र सूचना एफएम रेडियोले फैलाउँदा त्यसको बाछिटा बुटवलसम्म पुगेर थोरै समय नबित्दै त्यहाँ मस्जिद जलाइयो ।

तर, आज उत्तेजक खबर, सोच वा हाँक फैलाउन रेडियो चाहिँदैन । स्मार्टफोन बोक्ने हरेक नागरिकले सामाजिक सञ्जालबाट त्यस्ता खतरनाक फर्जी वा प्रायोजित सूचना पाउँछ र आक्रोशित बन्न सक्छ । भारतमा सन् २०१८ यता जातीय हत्याका दर्जनौं घटना ह्वाट्सएपका कारण भएका खबर सुनिएका छन् । खबर नबनेका घटना झ्न् कति छन् कति ।

नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग व्यापक छ, विशेष गरी फेसबूक र यूट्युब डबली मार्फत । यहाँ आजसम्म सामाजिक सञ्जालको दुष्प्रयोग सामाजिक प्रकोप बनिसकेको छैन । यसो हुनुमा एक त आम जनतामै सुझ्बुझ् रहेको मान्नुपर्छ, अर्को कारण मूलधारका मिडिया (पत्रपत्रिका तथा अनलाइन पोर्टल) को सम्पादित, व्यावसायिक समाचार सम्प्रेषण । तर, सतर्क नभए नेपालमा पनि फर्जी सूचना र खबरका आधारमा व्यक्तिगत र समाजव्यापी हिंसा फैलन बेर लाग्दैन ।

जुकरबर्ग र हामी

अहिले सामाजिक सञ्जाल र अन्य विद्युतीय माध्यमबाट सूचना, खबर लिने काम संसारभर एकसाथ भइरहेछ । यसअघि प्रायः जुनसुकै नयाँ प्रविधि (छापाखानादेखि टेलिफोन र कम्प्युटरसम्म) पश्चिमा मुलुकमा उत्पादन हुन्थ्यो र त्यसको प्रयोग र सामना गर्ने ‘प्रोटोकल’ दक्षिणएशिया नछिर्दै तयार भइसकेको हुन्थ्यो । अहिले भने विद्युतीय सञ्चारका फाइदा–बेफाइदा एकैचोटि बुझने र तौरतरीका खोज्ने अवस्थामा विश्वभरका समुदाय छन् ।

आज नयाँ विद्युतीय दुनियाँ र सञ्चार माध्यमको बुझइ आवश्यक भइसकेको छ ताकि सामाजिक खबरदारी होस् । शुरुमै बुझनुपर्ने कुरा त सामाजिक सञ्जालको पेलानमा सञ्चार कम्पनीहरूको संस्थागत कमजोरी बढ्दा पुराना सञ्चार माध्यमको आफ्नै अर्थतन्त्रभित्रको विज्ञापनद्वारा आम्दानी गर्ने ‘मोडल’ उलटपुलट भएको छ । ठूला कम्पनीले विज्ञापन गरेर धान्ने त्यो ‘मोडल’ आफैंमा समस्यामुक्त त थिएन, तापनि सम्पादकीय र प्रकाशकीय सोचले सञ्चार माध्यमलाई एक हदसम्म स्वतन्त्र नै राखेको थियो ।

आजभोलि अनलाइन पत्रकारिताको जमानामा समुद्रपारका कम्पनी (यूट्युबको मालिक गुगल, फेसबूकको मेटा) विज्ञापनदाता वा आम्दानीको माध्यमका रूपमा उभिएका छन् । पोस्ट, भिडिओहरू यिनमा जति धेरै हेरिए वा ‘क्लिक्’ भए, खुत्रुकेमा उति पैसा झ्र्ने भयो । यसै पनि उत्तेजना या सनसनी फैलाउने खबर/सूचनाले नै बढी क्लिक् पाउने र आम्दानी गर्ने प्रमाणित जस्तै छ । क्लिक् बढाउने बाध्यताले पनि सञ्चार जगत्लाई अलि अस्थिर बनाइदिएको छ र उसले पुरानो गाम्भीर्य गुमाएको छ । जति उत्तेजना फैलियो गुगलका ल्यारी पेज र फेसबूकका मार्क जुकरबर्गले कमाउँछन्, र अलिकति पैसा (नेपाल र अन्यत्रका) मिडिया कम्पनीलाई बाँड्छन् ।

यसरी हाम्रो आपसी आक्रोश र खिसीले समुद्रपारका साहु धनी बन्छन् भने हाम्रो सामाजिक सन्तुलन खलबलिन्छ । यसै भइरहेछ विश्वभर । अनुसन्धानले देखाउँछ, सामाजिक सञ्जालमा जति नकारात्मक, रिसरागयुक्त खबर/सूचना ‘पोस्ट’ हुन्छ, त्यो त्यति नै शेयर हुन्छ । यसले प्रयोगकर्ता मार्फत डिजिटल डबलीको मुनाफा पनि बढाइदिन्छ । उत्तेजक आरोप–प्रत्यारोपको जुहारी खेल्दै नेपालीले पनि फेसबूकका मालिक जुकरबर्गलाई धनी बन्न सघाइरहेछन् ।नकारात्मकता बढी हेर्न, सुन्न चाहने मानवीय प्रवृत्तिको फाइदा लिइरहेछन् आजका धेरै ‘इन्फ्लुएन्सर’ हरू, साथसाथै देशीय अनलाइन सञ्चार माध्यम तथा पश्चिमा बहुराष्ट्रिय कम्पनीहरू । नोभेम्बर २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचन जित्नु, जून २०१६ मा बेलायती जनताले यूरोपियन युनियन छाड्ने (ब्रेक्जिट) निर्णय लिनु, दुवै अनलाइन सूचना–खबरको नकारात्मक प्रयोग र परिणामका उदाहरण हुन् । अमेरिकादेखि चीन, रूस र भारतसम्म पनि अनलाइन प्रविधि प्रायोजित हिसाबले राज्य या अधिनायकको पृष्ठपोषण गर्न प्रयोग भएका छन् ।

नेपालमा भने अहिलेसम्म त्यस्तो भइसकेको छैन, तर यस सन्दर्भमा हाम्रो समाज डिलमा उभिएको छ । विशेष गरी निर्वाचनका वेला विभिन्न दल या अन्य शक्ति फर्जी सूचनाको प्रेषण गर्न उद्यत हुन्छन् । स्थानीय, प्रान्तीय र संघीय निर्वाचनको सँघारमा उभिएको नेपालमा शुरूकै बिन्दुमा सतर्कता चाहिएको छ । फर्जी सूचनालाई तत्कालै झूटो सावित गरिदिने प्रसारण–संयन्त्र पनि चाहिएको छ, जो विश्वसनीय होस् जनताका आँखामा, पूर्वाग्रहबाट मुक्त होस् ।

रुवान्डामा भएको जातीय नरसंहारमा मारिएकाहरुको चिहानअघि उभिएका बालक।
जिल सेरपरयु एफएआई

चोरको खुट्टा काट्

फर्जी खबर या त्यसको सम्भावनाले आज नेपालका ओहोदा वा प्रभावको पदमा रहेका एक–एकलाई त्रस्त पारेको छ । किनकि, जोकसैले जोकसैका बारेमा सामाजिक सञ्जालमा वा मिडिया कम्पनीद्वारा नभएको कुरा लेखेर प्रहार गर्न या दाग लगाउन सक्छ । यो नयाँ संसारमा ‘लिगेसी मिडिया’ मा जस्तो सम्पादक वा संवाददातालाई पूर्वाग्रही र गलत सूचना सम्प्रेषण गरेकोमा जवाफदेह बनाइने जस्तो प्रक्रिया नै हुँदैन ।

भलै आफ्नो कसूर केही नहोस्, दाग लागेपछि मेटाउन गाह्रो पर्छ । फेरि नेपाली समाजमा कसैले आफूमाथिको नाजायज आरोप खण्डन गर्न खोजे उसैलाई दोषी ठहर्‍याइन्छ, यस्तै छ यहाँको चलन । प्रतिक्रिया आउँछ– ‘चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्ने तँ !’ गलत समाचार वा भ्रामक विश्लेषणका कारण पूरै सरकारी र गैरसरकारी वृत्त गलेको/हच्किएको छ, ‘ट्रोलिङ’ को डरले । यो ‘अनलाइन भय’ ले नेता, कर्मचारी, नागरिक अभियन्ता, विज्ञ, विचार निर्माता सबैको सामाजिक दायरा खुम्चिएको छ । कसैले सानै गल्ती गरे पनि त्यो पहाड बन्दछ, प्रतिरक्षा गरे पीडक झ्न् आइलाग्लान् भनेर दुलोभित्र पस्ने चलन छ । यसरी अनलाइन मिडिया र सामाजिक सञ्जालले सामाजिक सङ्कथन खुम्च्याइदिएका छन् । प्रस्ट विचार व्यक्त गर्नेहरू पनि ‘दहीचिउरे’ कुरा गर्न थालेका छन् र नेपालका गम्भीर सोच राख्ने समाजशास्त्री र चिन्तकहरु बोल्न छाडेका छन् । तत्वहीन लेख, भाषण र पोस्ट गर्नेको भने आवाज यथावत् छ, किनकि तिनीहरुले कसैलाई चुनौती दिंदैनन् ।

सामाजिक सञ्जालमा धेरै पौडने यस पङ्क्तिकार फेरि पनि हालै फर्जी सूचनाको शिकार बन्यो र माथि व्यक्त सबै व्यथा बेहोर्नुपर्‍यो। विवादमा मुछिएको एमसीसी परियोजनाको म निर्धक्क समर्थक हुँ नै । यसै कारण कोही क्षमतावान् तर फटाहा व्यक्ति (या संस्था) ले फर्जी कागजात बनाउने क्रममा मैले पनि दुःख पाएँ । एमसीसीको नेपाल कार्यालयले अमेरिकास्थित मुख्यालयलाई लेखेको भनी ‘लेटरहेड’ सहित सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गरियो । औपचारिक अंग्रेजी भाषामा लेखिएको पत्रमा एमसीसीबारे सकारात्मक मिडिया वातावरण बनाउन अमेरिकी डलर एक मिलियन छुट्याइएको भन्दै कस्ता कस्ता मान्छेका लागि उक्त रकम खर्चिने भनी पाँच जनाको सूची राखियो, जसमा मेरो पनि नाम छ ।

पत्यारिलो जस्तै गरी तयार पारिएको लाग्ने तर फर्जी त्यो पत्र पत्रकारको हातमा परे उसले आफ्नो तरकिब लगाएर आधिकारिकता पहिचान गर्न सक्ने भएकाले समाचार बन्ने जोखिम कम हुन्छ । त्यस्तो संयन्त्रै नरहेको सामाजिक सञ्जालमा त उत्तेजनाको ‘क्लिक बेट’ सामग्री पेश गर्ने हतारोमा रहेका अनलाइन पोर्टल मार्फत ‘भाइरल’ भइहाल्न के बेर !

यस्तो अन्योलमा पङ्क्तिकारको एउटै उपाय भनेको नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराउनु रह्यो । तर, आठ महीना भइसक्दा उक्त कार्यालयबाट एकै पटक सोधनी आएको छैन, दोषीको पहिचान र पक्राउ त परैको कुरा । यसरी, फट्याइँ गर्नेको धेय पूरा भएको छ ।

एमसीसीको नेपाल कार्यालयले उक्त कागजात फर्जी रहेको तथ्य सार्वजनिक गरिसक्यो, तर अंग्रेजीमा भनिने गरेजस्तो ‘द ड्यामेज इज अल्रेडी डन ।’ सर्वसाधारणको मस्तिष्कमा परिसक्यो कि उक्त फर्जी पत्रमा नाम परेका व्यक्तिहरू आफ्नो देशको हित विपरीत डलरको लोभमा जे पनि गर्दा रहेछन् । केही दिनअघि नेपाली मिडियाका राम्रै विश्लेषकले समेत उक्त पत्रलाई सही ठान्दै आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै थिए ।

मेरा लागि ‘एमसीसी काण्ड’ गम्भीर नै थियो होला, तर यसभन्दा धेरै खतरनाक प्रवृत्ति हावी छन् समाजमा । तिनले सामाजिक सञ्जालद्वारा हिंसा, आतङ्क र घृणालाई मलजल गरिरहेछन् र कुनै वेला पूरै समाज भस्म पार्न सक्छन् ।

धेरै मुलुकमा संस्थागत प्रायोजनमा फर्जी सामग्री तयार पारिन्छन् अनि उत्तेजनामा बग्ने दसौं लाख सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कृत्रिम ‘बट’ द्वारा घातक सूचना फैलाउने काम हुन्छ । एउटा देशले अर्को देशमाथि प्रहार गर्न समेत यस्तो डिजिटल प्रविधिको प्रयोग हुन्छ, र भएको छ । नेपाल आजसम्म यस्तो प्रायोजित फर्जी खबर र सूचना उत्पादन गर्ने उद्योगबाट बचेको छ । र, जति फट्याइँ भएको छ, व्यक्तिगत तवरमा भएको छ । तर, फर्जी खबर र सूचना संस्थागत तरीकाले उत्पादन हुन बेर छैन, र यसो हुन नदिन लाग्नुपर्छ । नेपाल पनि रूस, अमेरिका, बेलायत र भारत जसरी यस्ता खाले फर्जी सूचना–खबरको चिप्लो बाटोमा नलागोस् ।

comments powered by Disqus

रमझम