बैशाख २०७९ | 14/04/2022

अतिरञ्जित

Share:
  
- नयनराज पाण्डे

कान्ला

भ्यूटावरको भर्खरै उद्घाटन भएको थियो । प्रधानमन्त्री अझै गाउँमै थिए र कार्यकर्तामाझ् घेरिएर बसेका थिए । त्यति नै वेला भव्य भ्यूटावरतिर जिल्ल परेर हेरिरहेका बाबु–छोराबीचको संवाद मेरा कानले सुने ।

छोराः बा, यो अग्लो जिनिस के हो ?

बाः यसैलाई भ्यूटाउर भन्छन् रे ।

छोराः हाम्रा गाममा त अग्ला अग्ला डाँडा नै छन् । यो टाउर किन बनाका रचन् ?

बाः खै बा, परार साल प्रधानमन्त्रीले भ्यूटाउर चढेको सपना देखेछन् र बनाउने लहड चलेछ । त्यै निहुँमा पार्टीका ठेक्दारहरूले काम’नि पाउने भए, दाम’नि पाउने भए । अनि हाम्रा गाममा आए, गरीब सुकुम्बासीहरूलाई धपाए र यत्रो बडेमानको टाउर बनाए ।

छोराः बनी त हालो, अब चढम् न त बा ।

बाः पचास रुप्पे लाग्दोरच । मसित सय रुप्पे मात्र छ । तँ टाउर चढ्, बाँकी पैसाले म दारु चढाउँछु । छोराः हैन, तपाईं चढ्नुस् बा । म दारु चढाउँछु बरु ।

बाः म त डाँडामाथिको घाम भैसकें । तैंले टाउर चढेर केही राम्रा कुरा देखिस् भने काम लाग्ला । तैं चढ् । (छोरा टावर चढ्यो र तल बातिर हेर्‍यो ।)

छोराः बा, मैले त यहाँबाट सबैलाई भुसुना जत्रै पो देखें ।

बाः टाउरबाट देखिने जनता भुसुना नै हुन् छोरा । अरू भन् के के देखिस् ?

छोराः बा, टाढा भ्यूटाउर बनाउने ठेक्दारले हाम्रा नेतालाई घूस दिराको नि देखें मैले त । अनि यहाँबाट धपाइएका सुकुम्बासी अलिक पर रोइरको नि देखें । अनि अलिक पर डोजरले बाटो खनिराको ठाममा पहिरो गएर पाँच जना पुरिएको देखें । हाम्रै घरभित्र जगतेलाई लुसुक्क पस्न लाको देखें । कान्छी बैनीमाथि सधैं कुदृष्टि राख्थो, आज त हातपातै गर्न पो गको हो कि जस्तो लाइच्च । अनि नि बा, भर्खर यो टाउर उद्घाटन गरेर ग’का प्रधानमन्त्री र तिनका आसेपासे लहरै उभिएर गैह्री खेतको कान्लामा सुसु पो गर्न लागेका छन् ।

बाः त्यति माथि चढेपछि त विकास देखिनुपर्ने हो । देखिनस् कतै ? राम्ररी हेर् त ।

छोराः देखें बा देखें । विकासलाई नि देखें । तर, त्यो त मातेर नेताहरूले सुसु गरेको कान्लाको डिलमा पो सुतेको छ ।

बाः छ्या ! यो भ्यूटाउर खासै राम्रो जिनिस त होइन रच । धेरै बेर नबस् त्यहाँ । ओर्ली अब । कान्लामा नेता र तिनका आसेपासेको सुसु गर्ने क्रम जारी थियो । मानौं त्यो कान्ला हैन, जनताका अनेक सपनाको भग्नावशेष हो ।

बाउछोरासित पचास रुपियाँ बाँकी थियो । दुवैले दारु चढाए र त्यही फोहोर कान्लामा लम्पसार परेर लडे । विकास पनि त्यहीं लडेको थियो ।

उल्लू

चुनाव आयो । गठबन्धनको चर्चा शुरू भयो । मेरो बालसखाले सोध्यो, “यार, यो गठबन्धन र ठेक्कापट्टामा के समानता छ ?”

म अलमलिएँ । कहाँको राजनीतिक गठबन्धन, कहाँको ठेक्कापट्टा ! दुवैमा केको समानता ? मैले त्यसै अनुसारको जवाफ दिएँ ।

तर, बालसखाले यस्तो ‘म्याथम्याटिक्स’ बतायो, गठबन्धन र ठेकेदारी वास्तवमै एउटै जिनिस हो भनेर मान्न करै लाग्यो ।

उसले भन्यो, “गठबन्धन र ठेकेदारी दुवै मूल्य–मान्यता विपरीत छन् । गठबन्धन प्रजातान्त्रिक मूल्य र ठेकेदारी देशहित, जनभावना विपरीत छ । प्रजातन्त्रमा त जनताले आफूखुशी दललाई भोट हाल्न पाउनुपर्ने हो । तर, यहाँ मिलेमतो गरेर जनतालाई विकल्पहीन बनाइन्छ । यहाँको ठेकेदारीमा पनि हुने त्यही हो । ठेकेदारले नेतादेखि कार्यकर्ता र कर्मचारीसम्मको मिलेमतोमा ठेक्का हाल्छ । कमसल सडक, पुल बनाउँछ र जनतालाई ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य पार्छ ।”

साथीको कुरा सुनेर म ट्वाँ परें । एउटा म जस्तै उल्लू रूखको हाँगामा बसेर ट्वाँ परिरहेको थियो । साथीले पालैपालो उल्लू र मतिर हेर्‍यो र भन्यो, “गठबन्धनको यस्तो राजनीतिले मुलुक बन्दैन । यस्तो तालको ठेकेदारीले पनि सडक र पुल बन्दैन । दुवैले हामी जनतालाई उल्लु बनाउने मात्र हो ।’

माथि रूखको हाँगोमा बसेको उल्लूले राति आफ्नी जहानसित गुनासो पोख्यो, “हामी पनि यै जगत्का प्राणी नै हुम् । वातावरणीय सन्तुलनमा हाम्रो पनि यथोचित भूमिका छ । फेरि हामीलाई नै तुच्छ ठानेर किन उल्लू जस्तो भनेर उदाहरण दिने गरेको होला ? मूर्ख जस्तो भन्नु नि बरु ।”

जहान उल्लूले खसमलाई जवाफ दिई, “चित्त नदुखाऊ बड्डाजी, जगत्मा यस्तै मनुवा छन् र त गठबन्धन र ठेकेदारीको दुकान चलिरहेछ ।”

पकौडा

पार्टी प्रवेश गरिसकेपछि नायिकाले भाषणमा भनिन्, “मलाई सूर्य चिह्न प्यारो छ । किनभने, मेरो न्वारानको नाम सूर्जेकुमारी हो ।”

त्यही साँझ् फूटपाथमा सुतिरहेका दुई भोका र गरीब बात मार्दै थिए । पहिलो भन्दै थियो, “मलाई पनि सूर्य प्यारो छ । किनभने, जाडोबाट मलाई सरकारले हैन, यही सूर्यको रापले बचाउँछ ।”

अर्कोले पनि निदाउनुअघि भन्यो, “मलाई’नि सूर्य नै प्यारो । किनभने, सूर्य मलाई पकौडा जस्तै लाग्छ । भोक लाग्दा पकौडा क्या मीठो हुन्छ ।”

प्यारा सूर्यवादीहरू ! यी संवाद सुनेर खासै खुशी नहुनुस् । किनभने, यी दुवैको नाम मतदाता सूचीमा छैन । यी तपाईंका मतदाता होइनन् । यिनीहरूलाई बेवास्ता गरिदिनुस् ।

comments powered by Disqus

रमझम