सभ्य समाजको कलंक

Share:
  
- रामजी दाहाल
आधुनिक र सभ्य भनिने नेपाली समाजमा छोरा चाहिन्छ भनेर गर्भमै छोरीको हत्या गर्ने प्रवृत्ति निकै बढेको छ।
p38
  तस्बिर: टीकाराम नेती

झापा चकचकी–२ की ज्योति हरिजनलाई २० असार २०६८ मा श्रीमान् साजनले जलाएर मार्न खोजे। (हे. तस्बीर) आगोबाट घाँटी, पेट, छाती र हातखुट्टा जलेकी २१ वर्षीया ज्योतिले कुरुप भएर बाँच्नु परेको छ। २३ वैशाख २०६८ मा छोरी जन्माएकी ज्योतिले त्यही बेलादेखि दिनहुँजसो शारीरिक तथा मानसिक यातना खेप्नु परेको थियो। सुत्केरीका बेला समेत बाँधेर यातना दिइएको थियो।

“किन छोरी जन्माइस् भन्दै आगो लगाएर मार्न खोजेछन्”, ज्योतिका बाबु मोहन हरिजनले भने, “छरछिमेकले थाहा नपाएका भए छोरी मर्ने रहिछ।” ससुराली नजिकै भाडामा बसेका साजन श्रीमतीलाई कोठाभित्र आगो लगाएर बाहिर निस्केपछि ज्योतिको हारगुहार सुनेर आएका छिमेकीले उनलाई बेहोश अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए। हाल माइतीमा बसेकी ज्योतिको उपचारमा रु.४ लाख खर्च भइसकेको छ। थप उपचारका लागि आर्थिक अभाव झेलिरहेका बाबु मोहन हिंसापीडित महिलाको उपचार गर्न सरकारले सहयोग गर्नुपर्ने बताउँछन्।

दुई छोरी जन्मिएपछि शिक्षक श्रीमान् रोहित षोडारीको चरम शारीरिक तथा मानसिक यातना पाएकी झ्ापाकै तोपगाछी–६ की इन्दु पौडेलको पाँच महीनाको गर्भ खेर गएको छ। यतिले नपुगेर श्रीमान् रोहित १३ असारमा कान्छी श्रीमती लिएर हिंडेका छन्।

छोरा नपाएकोमा श्रीमान्को यातना सहन नसकेर काठमाडौंको एक सम्भ्रान्त परिवारकी महिला प्रेरणा (नाम परिवर्तन गरिएको) सम्बन्धविच्छेद गर्न बाध्य भइन्। लगातार दुइटी छोरी जन्मेपछि तेस्रो छोरै पाउनुपर्ने श्रीमान् र परिवारको दबाबमा उनले हरेक ५–६ महीनामा गर्भ बोक्नु र अल्ट्रासाउण्डबाट डाक्टरले छोरी भएको बताएपछि गर्भमै उसको हत्या गराउनुपर्दथ्यो। यसरी ३८ वर्षकी प्रेरणा विवाहको १२ वर्षमा १४ पटक गर्भधारण गर्न पुगेकी थिइन्।

यस्तो यातना पाएर पनि वैवाहिक जीवन नटुटोस् भनेर प्रेरणाले पटक–पटक सम्झौता गरिन्। तर परिवारका मान्छेहरू वैवाहिक सम्बन्ध नै तोड्न अघि सरेपछि अहिले उनी सम्बन्धविच्छेद गरेर राजधानीको राम्रो कमाइ भइरहेको जागिर छाडेर विदेशिएकी छन्। प्रेरणा र उनका श्रीमान् दुवैले अष्ट्रेलियाबाट स्नातकोत्तर गरेर आएपछि विवाह गरेका थिए।

जसरी पनि छोरा पाउनुपर्ने श्रीमान्को दबाब खप्न नसकेर काठमाडौंकै एक अर्की महिला विमला (नाम परिवर्तन गरिएको) पनि सम्बन्धविच्छेदको अवस्थामा पुगेकी छन्। परिवारजनका अनुसार श्रीमान्को चिना हेराउँदा ज्योतिषीले चार छोरीपछि छोरा हुने भविष्यवाणी गरेकाले पहिलो सन्तान छोरी भएपछि उनले लगातार तीन पटक गर्भपतन गराउनुपर्ने थियो। उनको मासिक धर्ममा केही ढिलाइ हुनासाथ गर्भ बसेको आशंकामा श्रीमान् उनलाई थाहै नदिई औषधि खुवाएर गर्भपतन गराउँथे। अत्यधिक रक्तश्रावबाट पीडित भएपछि उनले जथाभावी औषधि सेवनले यस्तो भएको थाहा पाएकी थिइन्।

चौथो गर्भ बसेपछि विमलाले श्रीमान्सँग खुशियाली बाँड्ने निधो गरिन्। ज्योतिषीको सल्लाहअनुसार श्रीमानलाई यो गर्भ पनि पतन गराउनुथियो, तर उनले मानिनन्। त्यसपछि पाएको यातनाले तीन हप्ता घर बाहिर निस्कन नसक्ने गरी थलिएकी उनी अहिले सम्बन्धविच्छेदका लागि कानूनी परामर्श गरिरहेकी छन्।

अन्धविश्वासको आड
ज्योति, इन्दु, प्रेरणा र विमलाले भोगेका यातनाका घटनाले छोराको चाहनाले नेपाली समाजलाई कतिसम्म गाँजेको रहेछ भन्ने देखाउँछन्। महिलामाथि यस्तो दुर्व्यवहार छोरा नभए स्वर्गको बाटो छेकिन्छ, वंश परम्परा धानिंदैन भन्ने अन्धविश्वासका आडमा हुने गरेको छ। प्रेरणा र विमलाले त कानूनी उपचारको बाटो समाएर आफूलाई सम्हालेका छन्, तर ज्योति, इन्दु जस्ता धेरैलाई ज्यानै लिनेसम्मको प्रयास भएको, अंगभंग पारिएको, सौता हालिएको, घरबाट निकालिएको, स्वास्थ्य बर्बाद पारिएको छ।

महिला कानून र विकास मञ्चको कानूनी इकाइमा कार्यरत अधिवक्ता सुष्मा गौतमका अनुसार छोरा नपाउने महिलामाथि हुने दुर्व्यवहारका घटना बढिरहेका छन्। संस्थामा हरेक महीना परिवारजनबाट दुर्व्यवहारका मुद्दा लिएर आउने करीब ८० महिलामध्ये कम्तीमा २० जनाको मुद्दा छोरा नपाएको कुरासँगै सम्बन्धित हुन्छ। यस्तै पीडा बोकेर माइती नेपालमा पनि महिलाहरू आउने गरेको सो संस्थाका विश्वराम खड्काले बताए।

नेपाली समाजमा विद्यमान यो संस्कारको अध्ययनपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई 'छोराको चाहना राख्ने संस्कृति भएको' मुलुकको सूचीमा राखेको छ। कृपा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले सन् २००९ मा गरेको एक अध्ययनमा अधिकांश महिलाले पहिलो सन्तान जे भए पनि हुने बताएका थिए भने पहिलो बच्चा छोरी भएका ८१ प्रतिशत महिलाले दोस्रो बच्चा छोरा होस् भन्ने चाहना गरेका थिए। छोराको चाहना राख्ने तीमध्ये आधाजसो भ्रूण परीक्षण गराई छोरी भएमा गर्भपतन गराउन सुटुक्क क्लिनिकतिर धाउँछन् र काम, पढाइ वा विदेश जाने बहाना बनाएर यो काम गराउँछन् भन्ने सम्बद्ध क्षेत्रको अनुमान छ। सरकारी तथ्याङ्क अनुसार सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको एक दशकमा करीब ७ लाख र पछिल्लो पाँच वर्षमा ४ लाख ३९ हजार ७४ जना महिलाले गर्भपतन गराएका छन्। झ्ण्डै यति नै संख्यामा निजी अस्पताल, क्लिनिक र परम्परागत विधिबाट अवैध गर्भपतन गराउनेहरू भएको यस क्षेत्रमा कार्यरतहरूको भनाइ छ।

निजी क्लिनिक संचालकहरू भ्रूण परीक्षणबाट छोरी भएको थाहा पाएर वर्षेनि ५० हजारभन्दा बढी बालिका गर्भमै मारिने गरेका बताउँछन्। लिंग पहिचान नभई गरिने भ्रूणहत्यामा पनि ५० प्रतिशत छोरी नै हुन्छन्। कृपाका वरिष्ठ तालिम अधिकृत प्रभाकर श्रेष्ठ यसलाई छोराको चाहनामा भ्रूणहत्या बढ्ने खतराको साइरन ठान्छन्।

ज्यानमारा व्यापार
१७ जेठमा दुई छोरीकी आमा भइसकेकी सिन्धुपाल्चोक जेठलकी एक महिलाले श्रीमान्सँगै दोलखाको च्छो रोल्पा अस्पताल गएर अल्ट्रासाउण्ड गराई छोरी भएको बताइएपछि गर्भपतन गराइन्। तर पछि, उनको १६ हप्ताको भ्रूण छोरी नभएर छोराको रहेछ भन्ने थाहा भयो।

च्छो रोल्पा अस्पतालले गर्भपतन सेवा संचालनको अनुमति पाएको छैन। त्यसमाथि विशेष परिस्थितिमा बाहेक १२ हप्ताभन्दा माथिको गर्भपतन गराउन नपाउने कानूनी व्यवस्था छ। अस्पताल स्रोतका अनुसार प्रशासनले घटना बाहिर नल्याउने शर्तमा पीडित पक्षको हातमा रु.१ लाख ५० हजार थमाउँदै अन्यथा नराम्रो हुने चेतावनी दियो। घटना प्रकाशमा आए पनि अनुमतिविना गर्भपतन गर्दै आएको सो अस्पतालमाथि सरकारले हालसम्म कुनै कार्बाही गरेको छैन। अस्पतालका कार्यकारी निर्देशक किरण दाहाल एमाओवादी दोलखाका सचिवालय सदस्य हुन्।

कतिपय चिकित्सकले परीक्षणका लागि आउने गर्भवतीको मनोविज्ञान बुझेर गर्भपतन गराउन प्रेरित गर्ने गरेका छन्। त्यस्ता डाक्टरले पैसाको लोभमा भ्रूणको लिंग नछुट्टिंदै छोरी भएको भनेर गर्भपतन गराउनेे गरेका बानेश्वरकी एक भुक्तभोगीले बताइन्। वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. मीरा हाडा यस्ता घटनालाई आचारसंहिता विपरीत र दुर्भाग्यपूर्ण भन्दै दोषीमाथि कार्बाही हुनुपर्ने बताउँछिन्।

गर्भपतन सेवालाई नेपालमा बढ्दो मातृमृत्युदर कम गर्न कानूनी मान्यता दिइएको हो। यस अर्थमा गर्भपतनलाई महिलाको अधिकारका रूपमा हेर्ने गरिएको छ। तर, कतिपय परिवार, पुरुष र महिला स्वयंले पनि कानूनद्वारा संरक्षित आफ्नो अधिकारको दुरुपयोग गरी गर्भपतनलाई अपराधको हतियार बनाएका छन्। अधिकारकर्मी सपना प्रधान भ्रूणको लिंग परीक्षण गर्नु आफैंमा गैरकानूनी भएको बताउँछिन्। प्रधान भन्छिन्, “यस्तो अपराधमा संलग्नहरूलाई सजायको व्यवस्था हुनुपर्दछ।”

गर्भपतनलाई कानूनी मान्यता भए पनि भ्रूणको लिंग पहिचान वर्जित छ। कानूनले भ्रूणको लिंग छुट्याउन चाहने गर्भवती महिला, अल्ट्रासाउण्ड गर्ने व्यक्ति र डाक्टर तिनै पक्षलाई दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि भ्रूणको लिंग पहिचान गरी छोरी भए हत्या गर्ने प्रवृत्ति बढेको छ। एक दशकदेखि गर्भपतन सेवा प्रदान गर्दै आएका राजधानीका एक डाक्टरको बुझ्ाइमा नियमनकारी निकाय प्रभावकारी नहुँदा यस्तो विकृति बढेको हो। तर सरकारी अधिकारीहरू यो कुरा स्वीकार्न तयार छैनन्।

पुतलीसडक क्षेत्रको एउटा क्लिनिकमा कार्यरत एक डाक्टरका अनुसार अल्ट्रासाउण्ड गर्न आउने महिलामध्ये गर्भमा पहिलो बच्चा भएका झ्ण्डै ६० प्रतिशत र दोस्रो बच्चा भएका अधिकांशले छोरा–छोरी के छ भनेर सोध्छन्। पहिले नियमित परीक्षणमा आउने महिलाहरूमध्ये लिंग छुट्टिएपछि छोरी भएकाहरू कमै मात्रामा फेरि परीक्षणमा आउने उनको अनुभव छ। उनको विचारमा, फलोअपमा नआउने अधिकांश महिला गर्भपतनका लागि अन्यत्र जान्छन्। तर, आफूकहाँ आउनेमध्ये 'फलोअप' मा नआउने निकै कम हुने गरेका डा. हाडाको अनुभव छ।

अधिकांश निजी अस्पताल–क्लिनिकले भ्रूणको लिंग छुट्याउन नपाउने कानूनी प्रावधानको पालना गरेका छैनन्। तर, सरकारी अस्पतालमा यो प्रावधानको पालना हुन्छ। प्रसूतिगृहका अधिकारीहरू अधिकांश गर्भवती पहिले निजी क्लिनिकमा अल्ट्रासाउण्ड गरेपछि मात्र सरकारी अस्पताल आउने गरेको बताउँछन्। उनीहरूका अनुसार भू्रण परीक्षणमा छोरा भएको पक्का भएर प्रसूतिगृह आउनेहरू 'जे भए पनि जन्माउने' भन्छन् भने पहिल्यै दुई छोरी भइसकेका र गर्भको बच्चा पनि छोरी नै भएकाहरू 'अनिच्छित' भन्ने बहाना गरेर गर्भपतन गराउँछन्। सरकारी अस्पतालमा तुलनात्मक रूपमा सस्तो शुल्कमा दक्ष जनशक्तिको सेवा पाउँदापाउँदै पनि गर्भवती महिलाहरू महँगा निजी क्लिनिकमा जानुले पनि त्यस्ता ठाउँमा कानूनद्वारा वर्जित काम हुनसक्ने आशंका बढेको छ।

छोराको लागि भित्रभित्रै फैलिरहेको छोरीको भू्रणहत्याले ६२ प्रतिशत साक्षर महिला भएका शहरलाई बढी गाँजेको छ। नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार गाउँको तुलनामा शहरमा भ्रूणहत्या गर्नेको संख्या दुई गुणा बढी छ। सम्भ्रान्त परिवारहरू यो कुरा लुकाउन खोज्छन् र डाक्टरबाहेक अरूलाई थाहा नहोस् भनेर जति खर्च गर्न पनि तयार हुन्छन्।

डाक्टरहरूका अनुसार दोहोर्‍याएर गर्भपतन गराउन आउनेको संख्या पनि बढ्दो छ। धेरै पटक गर्भपतन गराउँदा शारीरिकसँगै कतिपयमा मानसिक समस्या पनि थपिएको छ। दुई वर्षअघि लगातार पाँच पटक गर्भपतन गराएर स्त्रीरोग विशेषज्ञ डा. हाडाकहाँ पुगेकी राजधानीको एक सम्पन्न परिवारकी महिला अहिले मानसिक रोग विशेषज्ञको निगरानीमा औषधि सेवन गरेर बसेकी छन्।

चुनौती यथावत्
अनुमति नभएका संस्था वा व्यक्तिबाट गर्भपतन गराउँदा अरू गम्भीर स्वास्थ्य समस्याहरू पनि झेल्नुपर्दछ। तीन वर्षअघि दुई छोरी भइसकेकी धादिङकी एक महिलाको १८ हप्ताको बच्चाको गर्भपतन गराउन प्रसूतिगृहले नमानेपछि उनी अस्पतालको सम्पर्कमा आइनन्। पछि अदक्ष स्वास्थ्यकर्मीकहाँ गर्भपतन गराउन पुगेकी उनी पाठेघरमा घाउ र अत्यधिक रक्तस्राव भएर प्रसूतिगृहकै इमर्जेन्सीमा भर्ना हुन आइपुगिन्। प्रसूतिगृहकी चिकित्सक डा. उषा श्रेष्ठका अनुसार जथाभावी औषधि र उपचारका कारण समस्या लिएर आउनेको चाप अस्पतालमा बढेको छ।

शहर बजारमा बग्रेल्ती खुलेका अस्पताल र क्लिनिकको यथोचित अनुगमन नहुनुका परिणाम हुन् यस्ता समस्या। स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, “राजनीतिक नेतृत्वलाई मतलब छैन, कर्मचारी किन टाउको दुखाउने भनेर बसेका छन्।” नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार गर्भपतनले कानूनी मान्यता पाएको एक दशक बिते पनि गाउँघरमा अझै चेतना पुगेको छैन। करीब ३८ प्रतिशत महिलालाई मात्र सुरक्षित गर्भपतन सेवाबारे जानकारी छ। ग्रामीण भेगमा बस्ने ८० प्रतिशतमध्ये २० प्रतिशतले मात्र यसबारे जानकारी पाएका छन्। सुरक्षित गर्भपतनको अनुमति पाएका ८० प्रतिशत स्वास्थ्य संस्था शहर केन्द्रित छन्।

सुरक्षित गर्भपतनबारे जानकारी नभएर असुरक्षित गर्भपतन गराउँदा महिलाहरूले अकालमा ज्यान गुमाउनु पनि परेको छ। नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार अझ्ै पनि १० प्रतिशत महिला घरेलु विधिद्वारा गर्भपतन गराउँछन्, जसमा सिसा पिंधेर खाने, काँचो सिमि्रक र कुभिण्डो खाने, पेटमाथि जाँतो राख्ने, सिस्नोको झोल पिउने, बारीका ठूला कान्लाबाट हामफाल्ने, ढुंगा चपाउने, जोखिमयुक्त काम गर्ने जस्ता कुरा पर्दछन्। यसरी असुरक्षित गर्भपतन गराउँदा आउने समस्याका कारण २०–२५ प्रतिशत महिला थप उपचारका लागि अस्पताल धाउने गरेको प्रसूतिगृहकी डा. श्रेष्ठ बताउँछिन्।

अत्यधिक मातृमृत्युलाई ध्यानमा राखेर सरकारले १ चैत २०५८ मा मुलुकी ऐनको एघारौं संशोधन विधेयकद्वारा सुरक्षित गर्भपतन सम्बन्धी कानूनी व्यवस्था गरेको हो। त्यसको दुई वर्षपछि चैत २०६० मा प्रसूतिगृह थापाथलीबाट औपचारिक रूपमा गर्भपतन सेवा शुरू भयो। कानूनले अघिल्लो बच्चा सानो भएका, अविवाहित वा अवैध सम्पर्कबाट गर्भवती भएकाहरूलाई गर्भपतनको बाटो खुल्ला गरेको छ।

साथमा टीकाराम नेती, झापा 



मानसिक दरिद्रताको परिणाम

p39

छिमेककी एक महिलालाई देख्नासाथ मेरो मनमा घृणा पैदा हुन्छ। उनी छोरा नपाएकोमा परिवारको दबाब झेल्दै आएकी एक छोरीकी आमालाई विस्थापित गरेर दोस्री श्रीमतीका रूपमा त्यो घरमा भित्रिएकी हुन्– छोरा जन्माइदिएर वंश थामिदिन!

लामो अन्तरालपछि कलेजकी एक सहपाठीसँग भेट भयो। उनका दुई छोरी रहेछन्। श्रीमान् नेपाल सरकारको माथिल्लो पदमा कार्यरत, ससुरा अवकाशप्राप्त शिक्षक, काठमाडौंको एक सम्भ्रान्त परिवारकी बुहारी, त्यसमाथि आफैं पनि पढेलेखेकी― परिवारमा कुनै समस्या नहोला भन्ठानेकी थिएँ। तर कुरा गर्दै जाँदा थाहा भयो, छोरा पाउन सासू–ससुराबाट आएको दबाब र त्यसमा श्रीमान्को मौन स्वीकृतिले उनी निकै आहत भएकी रहिछन्।

सन् २००४ मा बांकेमा २३५ जना महिला र किशोरीबीच गरिएको एक अध्ययनमा ८५.२ प्रतिशतले छोरी मात्र जन्माएकोले श्रीमान् र परिवारबाट सधैंजसो गालीगलौज, मानसिक यातना र धम्की सहनु परेको अनुभव सुनाएका थिए। चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले २०१० मा २०० महिलामा गरेको अर्को अध्ययनले छोरी पाएको कारण परिवारबाट परेको दबाबले ५०.५ प्रतिशत महिला खिन्न भएका, ४७ प्रतिशतले परिवारबाट नकारात्मक टिप्पणी सुन्नु परेको र ७ प्रतिशत श्रीमान्बाट छुट्टिएर बस्न बाध्य भएका देखाएको थियो।

क्याप नेपालले हालै प्रसूतिगृह थापाथलीमा गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउन आउने महिलाका लागि शुरू गरेको मनोपरामर्शको क्रममा भेटिएका अधिकांशले विवाहपछि छोरी अर्कैको घर जाने र मर्दापर्दा छोरै चाहिने बताएका थिए। झ्ट्ट सुन्दा कुरा जायजै लागे पनि छोरो चाहिन्छ भनेर एउटी महिलाले कतिसम्म बच्चा जन्माइरहने, लिङ्ग परीक्षण गराएर छोरीको भ्रूणहत्या गराइरहने? मर्ने बेला सुख र मरेपछि स्वर्गको आशमा बाचुन्जेल शारीरिक र मानसिक स्वाथ्यमा पर्ने असरबारे कमै महिलाले मात्र सोचेका हुन्छन्।

बच्चा जन्माउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा अनुभव गरेका कुनै पनि महिलामा बारम्बार बच्चा जन्माइरहने रहर हुँदैन। कुनै महिलाको मुखबाट रहरले धेरै बच्चा जन्माएको सुनिएमा त्यहाँ कुनै बाध्यता लुकेको हुन्छ भनेर बुझनुपर्छ। गर्भको बच्चा मारेर छोरा जन्माउने कल्पना गर्नु कहाँसम्मको बाध्यता हो?

छोरा भए बुढेसकालसम्म सुख पाइन्छ भन्ने नेपाली मानसिकतामा परिवर्तन नल्याएसम्म यस किसिमका समस्या जस्ताको तस्तै रहन्छन्। त्यसैले यस्ता समस्या हल गर्न सामाजिक सुरक्षा संरचनामा सुधार गरी वृद्धवृद्धाको हेरचाह सम्बन्धी विशेष व्यवस्था गर्नुपर्दछ। यसबाट बुढेसकालमा छोरा नै सहारा नभई नहुने मानसिकतामा कमि ल्याउन सकिन्छ।


हीरा दाहाल, अध्यक्ष, चेतना अभिवृद्धि केन्द्र



विज्ञान र धर्ममा छोराछोरी

छोरी जन्मनुमा महिलालाई दोष दिने मानिसहरू समाजमा धेरै छन्, तर विज्ञानले यो कुरा मान्दैन। विज्ञान भन्छः गर्भको बच्चाको लिंग मानव शरीरको क्रोमोजमले निर्धारण गर्दछ। मानव शरीरमा दुईथरी सेक्स क्रोमोजम हुन्छन्― स्त्रीलिंगी X र पुरुषलिंगी Y। तीमध्ये पुरुषको शरीरमा छोरी र छोरा हुने क्रमशः X र Y हुन्छन् भने महिलाको शरीरमा छोरी हुने X र X मात्रै।

स्त्रीरोग विशेषज्ञ डा. इन्दिरा सत्यालका अनुसार पुरुषबाट महिलामा X क्रोमोजमको बीज गएमा छोरी र Y क्रोमोजम गएमा छोरा हुन्छ। उनी भन्छिन्, “महिलामा छोरी हुने क्रोमोजम मात्रै हुने र छोरा हुने क्रोमोजम पुरुषमा मात्रै हुने हुँदा छोरा–छोरी के जन्मिन्छ भन्ने कुरा लोग्ने मानिसमै निर्भर हुन्छ, स्वास्नी मानिसमा होइन।”

मृत्यु संस्कार, श्राद्ध आदि धार्मिक कार्य र अनुष्ठान छोराले मात्र गर्नुपर्छ भन्ने रुढीवादी मान्यताको पछि लागेर छोरालाई महत्व दिनेहरूलाई धर्मशास्त्रले पनि राम्रो जवाफ दिएको छ। संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार धर्मशास्त्रले छोरा र छोरीलाई बराबर महत्व दिन्छ, नारी–पुरुषलाई एकै रथका दुई पाङ्ग्रा तथा श्रीमतीलाई अर्धाङ्गिनी भन्ने चलन छ। प्राचीन धर्मशास्त्र र पुराणमा छोराछोरी दुवैले पितृको श्राद्ध जस्ता कर्मकाण्ड गर्न हुने उल्लेख छ। श्रीमतीको अनुपस्थितिमा गरिने कर्मकाण्डमा कुशको श्रीमती बनाउने चलनले पनि नेपाली समाजमा नारीको महत्व दर्शाउँछ। “धर्म, संस्कृतिले छोरा र छोरीबीच विभेद गरेको छैन, यो नेपाली समाजले सृजना गरेको मात्र हो”, डा. टण्डन भन्छन्, “तर मानिसहरूले धर्मशास्त्रको पनि जथाभावी अपव्याख्या गरिदिएकाले समस्या भएको छ।”

यो वास्तविकता नबुझेर उपभोक्तावादी संस्कृतिले छोपेको नेपाली समाज छोरी अर्कैको घर जान्छिन् भने छोराले कमाउँछ र पालनपोषण गर्छ भन्ने गलत सोचाइबाट निर्देशित छ। आमा र श्रीमती चाहिं चाहिने तर छोरीको जन्मनै नदिई भ्रूणहत्या गर्ने प्रवृत्तिले सृष्टिको चक्र नै खल्बल्याउने हुँदा यस्तो अपराधलाई नियन्त्रण गर्नुपर्ने संस्कृतिविद् डा. टण्डनको मत छ।


असन्तुलनको खतरा

छिमेकी भारतमा गएको दुई दशकमा १ करोड २० लाख छोरीको भ्रूणहत्या भयो। त्यहाँ विवाहमा धेरै दाइजो दिनुपर्ने भएकाले छोरीको भ्रूणहत्या हुन्छ। यसका कारण भारतका कतिपय प्रान्तमा विवाह गर्न केटी पाइन छोडेको छ।

छोराको मोहले भइरहेको छोरीको भ्रूणहत्याले नेपालमा पनि त्यस्तै अवस्था सिर्जना नगर्ला भन्न सकिन्न। जनसंख्याविद् प्रवीण शाक्य यसबाट प्राकृतिक असन्तुलन पैदा हुने खतरा देख्छन्। कृपाका वरिष्ठ तालिम अधिकृत प्रभाकर यो क्रम रोकिएन भने सामाजिक असन्तुलन आउने बताउँछन्। त्रिवि केन्द्रीय जनसंख्या विभाग प्रमुख प्रा.डा. प्रेमसिंह बिष्ट यसले जनसंख्याको संरचना नै विथोल्ने स्पष्ट गर्दै छोराछोरी बराबरी भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने खाँचो देख्छन्।

comments powered by Disqus

रमझम