१७ कात्तिक २०७० | 3 November 2013

मरुभूमिका सुखदुःख

Share:
  

यात्राले मानिसलाई ऊर्जा र ज्ञान दिन्छ। जीवन र जगत चिनाउँदै मान्छेलाई खुशी पनि बनाउँछ। त्यही कारण मानिसहरू काम थाती राखेर अनि पैसा खर्चेर भए पनि देश–विदेश घुमफिर गर्न निस्कन्छन्। महालेखा परीक्षकको कार्यालयमा निर्देशक रहेका दामोदर पुडासैनी 'किशोर'ले भने कामकै सिलसिलामा कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेविया, इजिप्ट, जोर्डन, पाकिस्तान र भारतका विभिन्न स्थानमा रहँदा देखे–भोगेका र मनमा उब्जिएका भावनालाई समेटेर नमेटिएका चित्रहरू सार्वजनिक गरेका छन्।

नमेटिएका चित्रहरू

लेखकः दामोदर पुडासैनी 'किशोर'

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः २२१, मूल्यः रु.२९५

'किशोर'का यो नियात्रामा उल्लिखित देशहरूका ऐतिहासिक र धार्मिक–सांस्कृतिक स्थानहरूका विशेषताका साथै त्यहाँका मानिसका संस्कार–व्यवहार तथा प्रवृत्तिहरूको वर्णन पढ्न पाइन्छ। विविध धार्मिक, सामुदायिक र भाषिक कठिनाइ छिचोलेर संग्रह गरिएका सामग्रीहरू आफैंमा रोचक छन्। लेखकले भेटेका हरेक विषयवस्तुलाई जीवनसँग जोडेर वर्णन मात्रै गरेका छैनन्, यात्राका अनुभव र ज्ञानको सुगन्ध पनि पुस्तकमा छरेका छन्। पुस्तकमा सभ्यताको प्रतीक इजिप्ट र नाइल नदीका मनोरम ठाउँहरूको वर्णन मात्र छैन, खाडी मुलुकमा बुर्का भित्र कैद महिला र श्रमिकहरूको पीडाको प्रसंगहरू पनि छन्।

खाडी मुलुकहरू आर्थिक सम्पन्नतातर्फ लम्किरहँदा त्यहाँ काम गर्न पुग्ने श्रमिकका दुःख–कष्ट र अनेक झञ्झ्ाटले त्यो समृद्धिलाई गिज्याइरहे झै लाग्छ। ती देशहरूमा समृद्धिको उपस्थितिले मानवतालाई धपाइरहेको यथार्थता उजागर गरेको छ, यो नियात्राले। पुस्तकमा रोजगारीका लागि खाडी पुगेका नेपालीहरूले त्यहाँका मानिसहरूको प्रवृत्ति र ऐन–नियमको माखेसाङ्लोमा परेर पीडित हुनु परेका घटनाको सविस्तार वर्णन छन्। लेखकले पाठकलाई महत्वपूर्ण ठाउँ वा विषयमा केन्द्रित गर्नुको साटो आफ्नै भावनामा बगाउन खोज्ने कमजोरी भने पुस्तकमा देखाएका छन्।

गोविन्द लुइँटेल

comments powered by Disqus

रमझम