१७ कात्तिक २०७० | 3 November 2013

अमेरिकामा स्ट्याण्ड–अप कमेडी

Share:
  
- शैली बस्नेत
'कल्चर नभएको देश' भनिने संयुक्त राज्य अमेरिकाको थोरै मौलिक कलामध्ये एक हो– स्ट्याण्ड–अप कमेडी।

हेलो, आइएम शैली बस्नेत फ्रम नेपाल।

हाउ मेनी अफ यू नो नथिङ्ग अबाउट नेपाल?

वी आर अ ब्यूटिफुल कन्ट्री राइट इन विट्वीन इन्डिया एन्ड चाइना, एन्टाएर वर्ल्ड इज लुकिङ्ग एट इन्डिया एन्ड चाइना, हाउ डम्ब क्यान यू बी नट टु नोटिस नेपाल!

२८ अगष्ट २०१३ मा कोलोराडोस्थित जोनि'ज सिगार बारको ओपन माइकमा प्रस्तुति दिंदै शैली (बीचमा)।
अमेरिकाको स्ट्याण्ड–अप कमेडी कार्यक्रमहरूमा अमेरिकीहरूलाई नै यसरी व्यङ्ग्य गरेर हँसाउँदा मेरो सपनाले मूर्त रूप लिइरहेको थियो। मञ्चमा उभिएर बोलेरै मान्छे हँसाउनुपर्ने यो पक्का अमेरिकी कल्चरको आफ्नै ठूलो संसार छ। यसमा धेरै कलाकार छन्, ठूलो प्रतिस्पर्धा छ, र संघर्षरतहरूका लागि थोरै पैसा छ। जमेकाहरूले भने मञ्च, टेलिभिजन र चलचित्रमा ठूलै नाम–दाम कमाएका छन्।

स्ट्याण्ड–अप कल्चरको महासागरमा यो विधा नै नितान्त नौलो भएको मुलुकबाट आएकी मैले मञ्च पाउनु पक्कै सजिलो हुँदैन भन्ने मेरो सोच थियो। सँगसँगै, एक पटक अमेरिकी मञ्चमा उभिइछाड्ने निश्चय पनि थियो। नभन्दै, 'तँ आँट, म पुर्‍याउँछु' भन्ने सृष्टिकर्ताको भनाइ चरितार्थ भयो। चार महीने पहिलो अमेरिका बसाइमा मैले कोलोराडोका तीन वटा क्लबमा आठ र न्यूयोर्कमा एउटा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरें।

अनुभवबाट अडिसनको तयारी

अमेरिकाका रेस्टुरेन्ट र कमेडी क्लबहरूमा प्रायः आयोजना हुने ओपन माइक स्ट्याण्ड–अप कलाकारका लागि पहिलो खुट्किलो हो। यस्ता ठाउँमा इच्छुकले पाँच मिनेट प्रस्तुतिको मौका पाउने हुनाले कोलोराडोतिर दाउ हेरिरहेकी थिएँ। यही क्रममा प्रसिद्ध कमेडी क्लब कमेडी वर्क्स मा पुगें, जहाँ त्यही साँझ चर्चित कलाकार हिप्पीम्यान को प्रस्तुति रहेछ। जो पछि फर्कंदा संयोगले बसमा भेटिए। मैले दायाँ–बायाँ केही नसोची नेपालमा गरेको स्ट्याण्ड–अप अनुभवको बेलीविस्तार लगाएँ। उनले बोल्डर कमेडी शो मा मेरो नाम सिफारिश गरिदिए, एकसाता भित्रै मैले स्टेज पाएँ।

अर्को सुखद् आश्चर्य, त्यो प्रस्तुति लगत्तै मलाई अरू दुई वटा शोका लागि बूक गरियो। त्यसपछिको पाँच मंगलबार जोनी'ज सिगार बार ओपन माइक मा उभिएँ। स्थापित कलाकारहरू पनि नयाँ सामग्री परीक्षण गर्न ओपन माइकमा उभिंदा रहेछन्। खचाखच भरिएको सानो बारमा २० जनासम्म कलाकारले डेढ–दुई घण्टा कमेडी गरेको देख्दा मलाई लाग्यो, नेपालमा पनि यस्तै गर्न पाए!

ओपन माइकपछिको खुट्किलो सोकेश इभेन्ट रहेछ। यसमा आयोजकहरूले छानेका ५–६ जना कलाकारले मौका पाउँदा रहेछन्। ओपन माइकका कलाकार साथीहरूबाट थाहा पाएँ, बोल्डर कमेडी शो मा पुग्न उनीहरूले महीनौंदेखि कोशिश गरिरहेका रहेछन्। मैले त्यो पनि गरिसकें र फेरि बोलाएका छन् भन्दा उनीहरू छक्क पर्थे। त्यसरी मैले कति ठूलो मौका पाएकी रहेछु भन्ने थाहा पाएँ। मैले सबै कार्यक्रममा दर्शकलाई मजाले हँसाएँ अनि फेरि निम्तो पाएँ। ओपन माइकमा मेरो प्रस्तुति देखेर दुइटा सोकेश इभेन्टमा बोलाइयो।

२० कलाकारमध्येबाट म छानिएको देखेर ओपन माइकका आयोजक पनि निकै खुशी भएका थिए। हिप्पीम्यानले मेरा बलिया पक्षहरू बताउँदै अगाडि बढ्न अब के–के गर्नुपर्छ भनेर सुझाव दिन्थे। दर्शकको प्रतिक्रिया र सिनियर कलाकारहरूको सुझावसँगै नेपाली हुनु पनि मेरो बलियो पक्ष रह्यो। त्यसबाहेक धेरैले नामै नसुनेको देशको एउटी सानो जीउडालकी केटीको दृष्टिकोणबाट चित्रण हुने अमेरिकाको छवि श्रोताका लागि रोचक हुँदोरहेछ। प्रेम, विवाह, यौन जस्ता अत्यन्त निजी विषयमा केन्द्रित हुने अमेरिकी कमेडीमा पहिलो विश्व र तेस्रो विश्वको भिन्नताका साथै अमेरिकी कल्चरमाथिको मेरो व्यङ्ग्य दर्शकका लागि रोचक हुन पुग्यो। अमेरिकी बुहारी हुनुले पनि मलाई अचम्मको फाइदा पुर्‍यायो। हुन पनि, म लोग्नेस्वास्नीको झगडामा दुई विश्वको द्वन्द्व देखाउँछु– त्यसमा ओबामा वा माइली साइरसदेखि ट्वाइलेट जोकसम्म जोडिन्छ। एउटा उदाहरण :

फरक कल्चरको मान्छेसँग बिहे गर्दा धेरै कुरामा भिन्नता हुँदोरहेछ। जस्तो, मेरो बूढो काँटा चम्चाले खान्छ, म हातले। मेरो कल्चरमा खानेकुरा छुनु, त्यसको बनावट हातले महसूस गर्नु महत्वपूर्ण मानिन्छ– खाँदा पनि र निकाल्दा पनि। भन्नाले तपाईंहरू पुछ्नुहुन्छ, हामी धुन्छौं। मलाई अचम्म लाग्छ– पृथ्वीभरि पानी हुँदाहुँदै यो कागजले पुछ्ने चलन कुन मूर्खले ल्यायो? याद राख्नुस्, यो कोठामा अहिले सबैभन्दा सफा म छु।

छोटो न्यूयोर्क भ्रमणमा पनि एउटा क्लब गएँ, जहाँ महिला कलाकार कोलोराडोमा भन्दा बढी थिए। अमेरिकामा 'महिला' भनेर लेखिने थोरै बाँकी पेशामध्ये स्ट्याण्ड–अप कमेडी एउटा रहेछ। न्यूयोर्ककी प्रस्तोताले मलाई प्रत्येक वर्ष त्यहाँ हुने स्ट्याण्ड–अप फर डाइभर्सिटी प्रतियोगितामा भाग लिन सुझाव दिंदै फेरि आउँदा सम्पर्क गर्नु भनेकी छन्। अमेरिका जस्तो प्रतिस्पर्धी देशमा मैले यस्तो प्रोत्साहनको आशा गरेकी थिइनँ। अर्को पटक ठूल्ठूला क्लबहरूमा कमेडी फेस्टिबलका लागि अडिसन दिने र रोड टि्रप गर्ने जोश लिएर नेपाल फर्केकी छु।

शैली बस्नेत

comments powered by Disqus

रमझम