१७ कात्तिक २०७० | 3 November 2013

मुटु जोगाऊँ

Share:
  
- डा. शिवजी सिलवाल
खानपान र उमङ्गको दोस्रो ठूलो पर्व तिहारमा मुटुलाई सुरक्षित राख्ने कुरा पनि सम्झौं।

मिष्टान्न परिकारले चाडबाडको उमङ्ग बढाउँछ नै। त्यही कारण; दशैं, तिहार, इद लगायतका ठूला पर्वहरूमा धेरै परिकार पाक्छन्। यो परम्परा र उत्साहले स्वास्थ्यको कुरालाई गौण बनाइदिन सक्छ। त्यसमाथि, परम्पराको कुरा गर्दागर्दै पनि हिजोआज बजारमा पहिलाको जस्तो शुद्ध उपभोग्य वस्तु पाइँदैन। चाडको रमझ्ाममा मधुमेह (डाइबिटिज) र मुटुका रोगीले मात्र होइन, स्वस्थ व्यक्तिहरुले समेत यस्ता कुरामा ध्यान दिनै पर्छ।

सबैलाई थाहा भएकै कुरा हो, रिफाइन तेल, वनस्पति घ्यू, चिनी, तारेका र टीनबन्द खानेकुरा मानव स्वास्थ्यको प्रतिकूल हुन्छ। रेड मीट (ट्रान्स्फ्याट र मस्कुलरफ्याट हुने खसी र राँगाको मासु) र घिउ पनि धेरै खान हुँदैन, तर चाडबाडमा यी चिज–वस्तुको उपभोग बढ्छ। यस्ता खानेकुराले कोलस्टेरोल र रक्तचाप बढाउँदै विभिन्न प्रकारका मुटु रोगहरू निम्त्याउँछन्। त्यसकारण, यो दिपावलीमा आफ्ना प्रियजनहरूलाई धेरै चिल्लो र कृत्रिम रङले आकर्षक पारिएका खानेकुराको साटो सागसब्जी, फलफूल र अरू ड्राई फूड खुवाएर स्वस्थ रहन मद्दत गरौं।

आहार र व्यायाम

चुरोट र खैनी पनि तत्काल मुटु रोगको सम्भावना बढाउने तत्व हुन्। यिनमा हुने निकोटिनले धमनीहरूलाई साँघुरो बनाएको परिणामस्वरुप मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जान्छ। यी बाहेक अधिक खानपिन र शारीरिक निष्त्रि्कयता पनि मुटुको दुश्मन नै हो। धेरै खानपिन र शारीरिक निष्त्रि्कयताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण 'ओभरवेट' समस्यामा परेको अनुमान छ।

सामान्यतः एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आईबीएम) १८.५–२४.५ बीचमा हुनुपर्छ। योभन्दा बढी आईबीएम (उँचाइ र मोटाइमा आधारित शारीरिक नाप) वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ४० इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई 'ओभरवेट' मानिन्छ। 'ओभरवेट' महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन्। खानाबाट शारीरिक सक्रियता अनुसार चाहिनेभन्दा बढी क्यालोरी लिइरहँदा 'ओभरवेट' हुन्छ।

शारीरिक श्रम गर्नु नपर्ने शहरियाहरूले व्यायामबाट मुटु रोगको जोखिम घटाउन सक्छन्। व्यायामले कोलस्टेरोललाई 'लेभल'मा राख्नुको साथै रक्तचाप, ब्लड सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्छ। यस्तै, उन्मुक्त हाँसोले ब्लड प्रेसर, मुटुको चाल र स्ट्रेसलाई फाइदा गर्छ। सजिलो कुरा के छ भने, व्यायाम जहाँ पनि गर्न सकिन्छ। कही उपयुक्त ठाउँ पाइएन भने घरकै सिंढीमा तल–माथि गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ।

हृदयघातमा होशियारी

मुटु सम्बन्धी कुनै पनि रोग एउटा गम्भीर स्वास्थ्य अवस्था भएकोले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्छ। त्यसकारण, आफूलाई रक्तचाप, हाई कोलस्टेरोल, मधुमेह वा अरू किसिमका समस्या भएको जस्तो लाग्नासाथ चिकित्सकलाई भेटिहाल्नुपर्छ।

मुटु रोगको अन्तिम लक्षण हृदयघात हो। हृदयघातको लक्षण आधा घन्टासम्म रहन सक्छ। त्यो अवधिमा रोगीलाई छातीमा असजिलो र पीडा हुन्छ। असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि घट्दैन। त्यस्तो वेला छातीबीचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाक्वाकी र बाडुली पनि लाग्न सक्छ। यो अवधिमा ३०० एमजीको एस्पिरिन सिफारिश गरिन्छ, जसले हृदयघातको कारक रहेको रगत जम्ने प्रक्रियालाई रोक्छ। मधुमेह भएकाहरूलाई चाहिं हृदयघात हुँदा उल्लिखित लक्षणहरू नदेखिन सक्छ।

आफूमा त्यस्ता लक्षणहरू देखिएको अवस्थामा कत्ति पनि ढिलो नगरी सबभन्दा नजिकको अस्पतालतिर लाग्नुपर्छ, जहाँ मुटु रोगको उपचार गर्ने न्यूनतम सुविधा होस्। मुटुमा सम्भावित क्षति रोक्न पनि तत्काल उपचार चाहिन्छ।

(सिलवाल नर्भिक अस्पतालका कार्डियोलोजिष्ट हुन्।)

comments powered by Disqus

रमझम