साउन २०७९ | 17/07/2022

अतिरञ्जित

Share:
  
- नयनराज पाण्डे

अतिरञ्जित नयनराज पाण्डे

गोबर

हालै काठमाडौं शहरमा ‘मकै पर्व’ भएको तपाईंले थाहा पाउनुभएकै होला । सामाजिक सञ्जालले कतिपय कुरा थाहा नपाउन खोज्दाखोज्दै पनि तपाईं–हाम्रो दिमागमा गोबर झैं कोचकाच पारिदिने कुरा साँचो हो । बिस्तारै त्यो गोबर हाम्रो दिमागभित्रै गुइँठा बन्छ र हामी हाम्रै आत्माको चिहानघारी छेउमा त्यही गुइँठा बाल्छौं या मकै पोल्नेहरूलाई गुइँठा बेच्छौं । म पनि धेरै कालदेखि आफ्नै दिमागभित्रको गोबरबाट निर्मित त्यस्तै गुइँठा बालिरहेछु र मकै पोल्नेहरूलाई बेचिरहेछुु । अस्ति मैले बेचेका गुइँठा बालेर मकै पोल्दै गरेका एक जना अधबैंसे श्रमकुमार दाजुको फुटपाथे पसलमा नगर प्रहरीहरू होहल्ला गर्दै आए र उनको मकै, चुलो, चिम्टा, दाउरा लगायत सामग्री जफत गरे । त्यसपछि मैले उनको पक्षमा नारा लगाएँ– ‘गरीबलाई गरिखान देऊ !’

लगत्तै अरूले पनि मेरो स्वरमा स्वर मिलाउँदै भने– ‘गरीबलाई गरिखान देऊ !’

मेरो नारा हिट भयो । त्यो नारालाई एउटा पत्रिकाले हेडलाइन बनाएर समाचार छाप्यो ।

साँझ् श्रमकुमार दाजु निराश भएर डेरा फर्किंदा उनकी बुहारी रुवाबासी गरिरहेकी थिइन् । उनी आत्तिँदै भित्र पसे । बुहारीले कहालिँदै भनिरहेकी थिइन्, “कुन चाहिं असत्तीले फूटपाथमै गुइँठा बालेर मकै पोलेर बसिरहेको थियो । बटुवाहरू हिंड्ने ठाउँ नपाएर सडकमै हिंडिरहेका थिए । त्यसैले सडकमा अस्तव्यस्त भीडभाड रहेछ । मेरो हस्बेन्डलाई बाइकले आएर ठोकिदियो । उहाँ अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा होइसिन्छ । लाख जति त पक्का खर्च हुने भो । बा, लौ अब रु. एक लाखको तु बन्दोबस्त गरौं ।”

बुहारीको कुरा सुनेर उनको दिमागले काम गरेन । उनी थचक्कै बसे ।

गोबर भरिएको मेरो दिमागले भने हल्का काम गर्‍यो । मैले फेरि अर्को नारा लगाएँ, “सडक हिंड्नेहरूका लागि हो । सुरक्षित बनाऊ ।”

आउनुस् मित्रहरु ! शहरलाई सुन्दर बनाउने हाम्रा सपना हाललाई थाती राखौं र हामी सबै मिलेर आफ्नै दिमागको गोबरको गुइँठा बनाऔं ।

गुइँठामा पोलेको मकै मीठो हुन्छ ।

विज्ञ

श्री ३ पार्टी अध्यक्ष कमरेड,
लालसलाम !

हजुरलाई थाहै छ, म यो देशको होनहार लेखक हुँ । दाम राखेर ढोग्ने चलन आलोचित भएर हटे पनि पछिल्लो भेटमा हजुरको चरणकमलमा साष्टाङ्ग दण्डवत् गरेपश्चात् लालसलाम गरेकै हुँ । मैले उहिल्यै कानूनमा स्नातक गरेर अधिवक्ताको लाइसेन्स पनि लिएको छु । मेरा ‘देश दुख्छ’ कविता सङ्ग्रह, ‘गरीबको चमेली रोइदिने कोही छैन’ उपन्यास र ‘सबैलाई समान मौका मिलोस्’ निबन्ध सङ्ग्रह प्रकाशित छन् । विगतमा म ‘आलु विकास बोर्ड’ मा हजुरहरूकै अनुकम्पाबाट अध्यक्ष भएको थिएँ । त्यसपछि ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’ मा पनि हजुरकै अनुकम्पाले प्राज्ञ भएर आफ्ना र हाम्रो पार्टी निकटस्थ लेखकहरूका कृति भकाभक छाप्ने मौका पाएको थिएँ । बार एशोसिएशनको उपाध्यक्षमा उठ्न खोज्दा हजुरकै निर्देशन बमोजिम नाम फिर्ता लिएर पार्टीका अर्का वफादारका लागि मार्गप्रशस्त गरिदिएको थिएँ । त्यसपछि हजुरले सरकारले गठन गरेको ‘आशा आयोग’ मा सिफारिश गरिदिनुभएको थियो, जसले मुलुकमा जनताको मनमा आशाको सञ्चार गर्ने खालका हजुरका भाषणहरूको भिडिओ बनाएको थियो । लगत्तै मैले ‘भैंसी प्रजनन केन्द्र’ मा पनि अध्यक्ष हुने मौका पाएँ । हाल ‘तुम्लिङटार विमानस्थलमा बोइङ ७४७ कसरी सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ’ भन्ने किताबको पाण्डुलिपि तयार गरेको छु । यस पटक ‘भाषा आयोग’ मा काम गर्ने मौका मिलेमा पार्टीका विधान, अरू मस्यौदा र पर्चाहरूको भाषा मिलाउने कार्यमा अझ् धेरै प्रतिबद्ध हुने प्रण गर्दै सोका लागि प्रधानमन्त्रीलाई दबाब दिन हार्दिक अनुरोध गर्दछु ।

उही हजुरको चिर समर्थक, आज्ञाकारी–
क. चिरञ्जीवीराज शर्मा

पुनश्चः मलाई परार साल राष्ट्रपति महोदयाबाट ‘डेंगी रोग नियन्त्रणका उपाय’ बारे मौलिक सिद्धान्त प्रतिपादन गरे बापत ‘नेपालेश्वर स्वर्ण पदक’ समेत प्राप्त भएको थियो । साथै, म महासचिव रहेको ‘अखिल नेपाल ऊँटको दुग्ध उत्पादक सङ्घ’ ले हजुरको जन्मोत्सव मनाउने घोषणा गरेकाले उक्त दिन हाम्रो कार्यक्रममा पाउकष्ट गरिदिनुहुन पनि अनुरोध गर्दछु । जो हुकुम ।

कपीराइट

आँसुराज पाण्डे बडो गजब कविता लेख्छन् । उनको कविता पढेपछि आँसु पक्का आउँछ । टियर प्लस या रिफ्रेस टियर्स जस्ता कृत्रिम आँसु हाल्नुपर्ने नेत्ररोगीहरूलाई एक ठाममा भेला गराएर आँसुराजको एकल कविता वाचन श्रवण गराउने हो भने आँखा बिझउने समस्याको स्थायी समाधान हुन्छ भन्ने मेरो विश्वास छ । त्यसैले हरेक नेत्रालयमा नियमित रूपमा उनको कविता वाचन कार्यक्रम राखियोस् भन्ने जोडदार माग पनि छ ।

म आँसुराज पाण्डेको ठूलो फ्यान हुँ । उनी कविता पनि रुँदै लेख्छन् । उनको यो रोदनको पक्ष पनि मलाई सुन्दर लाग्छ । अस्ति चाबहिलको ‘मटका दारु अड्डा’ मा म पेय पदार्थ उपभोगमा लिप्त भइरहेको वेला अर्को कोठाबाट आवाज आयो, “मेरो आँसु पो आँसु । रामकुमारी झँक्रीको आँसु के आँसु ? उनी कठोर हुनुपर्छ । काम गर्न पाइनँ भनेर रुन पाउन्नन् उनी । कर्मचारीहरूले गरेको भावपूर्ण बिदाइ कार्यक्रममा भावुक हुन पाउने छूट छैन उनलाई । उनी नेता हुन्, उनलाई आँसु झर्ने अधिकार छैन । आँसुको कपीराइट त आँसुराज पाण्डेसित मात्र छ ।”

त्यहाँ सुनिएको आवाजसित मलाई खासै कुनै गुनासो थिएन । बस्, एउटा जिज्ञासा थियो– कतै त्यो आवाज तपाईंको त थिएन ?

मेरो प्रश्नको उत्तर हालसम्म प्राप्त भएको छैन । किनभने, मलाई थाहा छ, तपाईंहरू हिजो आँसुराज पाण्डेको कवितामा आँसु झरेर बसिरहनुभएको थियो । आज हिंडिरहनुभएको छ रामकुमारी झँक्रीको आँसुको मजाक उडाएर । र भोलि लेख्नुहुनेछ– ‘हाम्रा नेताहरू संवेदनाहीन भए ।’

comments powered by Disqus

रमझम