साउन २०७९ | 17/07/2022

के छन् कमजोरी? सुधार्ने कसरी?

Share:
  
- हिमालखबर
सार्वजनिक शिक्षा प्रणालीलाई जहिल्यै लाग्दै आएको आरोप हो– परम्परागत पाठ्यक्रम, घोकन्ते शैली र परीक्षामा सहभागिताको सिद्धान्तभन्दा बाहिर निस्केर उद्यमशील, व्यावहारिक, सामयिक र जीवनोपयोगी शिक्षा दिन नसक्नु । यसका अवरोध र समाधानका उपाय के हुन् त ? विभिन्न विद्यालय/कलेजका अगुवाहरू यस्तो सुझाउँछन्ः


सैद्धान्तिक होइन, प्रयोगात्मक
केशवप्रसाद जोशी,प्राचार्य
अरुणिमा कलेज, बौद्ध, काठमाडौं

शिक्षाको मूल उद्देश्य विद्यार्थीको जीवनमा व्यावहारिक परिवर्तन ल्याउनु भए पनि हामीकहाँ सैद्धान्तिक पक्षलाई जोड दिइएको छ । त्यसैले अब प्रयोगात्मक पक्षलाई बढी ध्यान दिनुपर्छ । पाठ्यक्रमले पनि यो विषयलाई समेटे शिक्षा वास्तवमै समयसापेक्ष, सान्दर्भिक र व्यावहारिक हुनेछ । विद्यार्थीले सिकेका ज्ञान तल्लो तहबाटै प्रयोगमा ल्याउन सके भविष्य सहज बन्नेछ । प्रयोगात्मक पक्षमा जोड दिइए समग्र विद्यालय शिक्षा उत्कृष्ट बन्नेछ ।


ज्ञानसँगै सीप
दिनेश खनाल, प्राचार्य
नेपाल मेगा कलेज, बबरमहल, काठमाडौं

शिक्षा समयसापेक्ष हुनुपर्छ । अबको विश्वमा ज्ञानले मात्र पुग्दैन, सीप पनि चाहिन्छ । सीपले नै विद्यार्थीलाई व्यावहारिक बाटोमा लैजान्छ । त्यसैले हाम्रा पाठ्यक्रममा सीप तथा कौशल विकास गर्ने विषयहरू थपिनुपर्छ । अहिले शिक्षामा क्रमिक सुधार त भइरहेको छ, तर त्यो समाजको माग पूरा गर्न सक्षम देखिँदैन । हामीले देश–विदेशसम्मै हाम्रा विद्यार्थीहरू तुरुन्तै भिज्न सक्ने सीप छनाटे गर्नुपर्छ। विदेशमा पनि विद्यार्थीहरूलाई यस्तै प्रणालीबाट सिकाइन्छ ।


अध्ययनसँगै परामर्श
सम्झना बस्नेत, प्राचार्य,
आईएसटी सेकेन्डरी स्कूल

जीवनोपयोगी सीपले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ । यसका लागि उनीहरूलाई विद्यालय तहबाटै परामर्श दिइनुपर्छ । कक्षाकोठामा शिक्षकले पढाउने र परीक्षा लिएर उत्तीर्ण गराउने प्रणालीमै सीमित भएर हुँदैन । पाठय्क्रम पनि विश्वमा के चलेको छ, त्यसै अनुसार लागू गरिनुपर्छ । शिक्षक–विद्यार्थीबीच कक्षाकोठा बाहिर पनि संवादको वातावरण बनाइनुपर्छ । विद्यार्थीलाई कसरी परामर्श दिने, जीवनमा कसरी अघि बढ्ने भनेर सिकाउन शिक्षकलाई पनि तालीम दिइनुपर्छ ।


प्रयोगात्मक शिक्षा
विष्णुहरि पाण्डे
प्रमुख कार्यकारी अधिकृत
एभरेस्ट कलेज, थापाथली, काठमाडौं

कक्षा ११–१२ को पाठ्यक्रम नियाल्दा विषयवस्तु राम्रा र आधुनिक भए पनि अध्यापन शैली पुरानै छ । विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने, व्यावहारिक बनाउनेतिर ध्यान छैन । यसैको कमीले विद्यार्थीलाई भविष्यमा आउने समस्यासँग जुध्न, अगुवाइ गर्न गाह्रो पर्छ । त्यसैले नियमनकारी निकायले शिक्षा प्रभावकारी भए/नभएको नियमन गर्न जरुरी छ । विद्यार्थीलाई व्यावसायिक ज्ञानतर्फ उन्मखु गर्ने विषय अत्यन्तै कम छन् । विज्ञान, व्यवस्थापन तथा मानविकी जस्ता विषय मात्र पर्याप्त छैनन् । कक्षा ११–१२ उच्च शिक्षाको जग भएकाले यस्ता विषय बढीभन्दा बढी समेटिनुपर्छ ।


पाठ्यक्रम कार्यान्वयन
स्वागत श्रेष्ठ, अध्यक्ष
काठमाडौं भ्याली स्कूल एन्ड कलेज, छाउनी, काठमाडौं

केही वर्षयता एकीकृत पाठ्यक्रम आएको छ जुन प्रगतिशील देखिन्छ । हाल कति विषय परीक्षणकालमै छन् भने कति पारित भइसके । पाठ्यक्रमहरू शिक्षकलाई राम्ररी तालीम दिएर लागू गरिनुपर्छ । अहिलेको पाठ्यक्रम समयसापेक्ष र व्यावहारिक भएकाले यसका कार्यविधि सबै विद्यालयमा लागू गर्न उपयुक्त हुन्छ । तर, हाम्रा शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालयका संरचना त्यस अनुसार तयार भएका छैनन् । यस्तो अवस्था हटाउन सरकारले शिक्षामा लगानी बढाउनुपर्छ । पालिकाहरूले पनि मातहतका विद्यालयलाई सहयागे गर्नुपर्छ ।


प्राथमिक तहबाटै जीवनोपयोगी सीप
सुरेन्द्र सुवेदी, प्राचार्य
काठमाडौं मोडल सेकेन्डरी स्कूल
बालकुमारी, ललितपुर

शिक्षा व्यावहारिक भए नै जीवनमा काम आउँछ । यसका लागि प्राथमिक तहदेखि नै जीवनोपयोगी विषय पढाउनुपर्छ । भविष्यमा आफूलाई के काम ठीक हुन्छ भन्नेबारे विद्यार्थीलाई वेलैमा सिकाउने र त्यसैमा केन्द्रित गर्दै लैजाने शिक्षा नै व्यावहारिक हो । विद्यालय तहमा ज्ञान र सीप सँगसँगै अघि बढाउनुपर्छ । जीवनमा अप्ठ्यारो पर्दा कसरी सामना गर्ने र व्यक्तिहरूसगँ कसरी सहकार्य र समझ्दारी कायम गर्ने भन्नबारे सिकाउनुपर्छ । यस्ता सीप कक्षाकोठामै विभिन्न पाठ्यक्रम, योजनाहरू बनाएर सिकाउन सकिन्छ ।

comments powered by Disqus

रमझम