१७ कात्तिक २०७० | 3 November 2013

हङकङमा कीर्तिमान

Share:
  
पूर्व ब्रिटिश–गोर्खा तुलसी गुरुङ हङकङ खेलकुद परिषद्को प्रमुख प्रशिक्षक बनेका छन्।

कास्कीका तुलसी गुरुङ ब्रिटिश–गोर्खामा छँदा फिजिकल फिटनेस प्रशिक्षक थिए। तेक्वान्दोको सातौं डन ५२ वर्षीय गुरुङ १६ वर्षअघि १९९७ मा सेनाबाट रिटायर्ड भएपछि हङकङमै बसेर 'बडी गार्ड' प्रशिक्षकको रुपमा सक्रिय भए। हङकङ तेक्वान्दोका खेलाडी तथा खेलकुद परिषद्को फिजिकल प्रशिक्षक रहिसकेका उनी अहिले हङकङ खेलकुद परिषद्को प्रमुख प्रशिक्षक बनेका छन्।

जगत गुरुङ

आफू राष्ट्रिय प्रशिक्षक भएपछि हङकङका खेलाडीहरूले थप प्रगति गरेको उनी बताउँछन्। उनका भनाइमा, पहिले हङकङका खेलाडीहरूको सीपलाई बढी र मानसिक–शारीरिक फिटनेसलाई कम महत्व दिइन्थ्यो। आफूले गोर्खा पल्टनमा हुँदा अनुभवको आधारमा खेलाडीहरूको सीपसँगै शारीरिक–मानसिक फिटनेसमा ध्यान दिएपछि उनीहरूको प्रदर्शनमा सुधार भएको गुरुङ बताउँछन्।

१६ वर्षको उमेरमा सन् १९७८ मा ब्रिटिश–गोर्खामा भर्ना भएका गुरुङले नेपाली खेलकुदमा पनि गौरवपूर्ण अनुभव सँगालेका छन्। उनी विदामा घर फर्केका वेला नेपालको प्रथम राष्ट्रिय खेलकुदमा पौडीतर्फको स्वर्ण पदक जितेका थिए भने दोश्रो राष्ट्रिय खेलकुदमा तेक्वान्दोतर्फ राष्ट्रिय च्याम्पियन बनेका थिए। नेपाली पासपोर्ट वाहक रहेका उनी आफ्नो देशको लागि पनि केही न केही गरी नै रहेका छन्। “खास गरेर नेपाली भाषा संस्कृतिका लागि आम्दानीको १० प्रतिशत खर्च गरिरहेको छु”, ३५ वर्षदेखि विदेशमा रहेका गुरुङ भन्छन्।

उनकै आर्थिक सहयोगमा कास्कीमा एउटा विद्यालय संचालित छ भने हङकङमा हङकङ नेपाली तेक्वान्दो एसोसिएसन (एचकेएनटीए), पोखरेली झ्याल र सहारा क्लब लगायतका संस्था मार्फत समाजसेवा गरिरहेका छन्। अब नेपाल तेक्वान्दो एसोसिएसनको सहकार्यमा नेपाली खेलाडीहरूलाई हङकङमा तालीमको प्रबन्ध मिलाउन खोजिरहेको गुरुङले बताए।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम