२ मंसिर २०७० | 17 November 2013

गलत प्रवृत्ति रोकौं

Share:
  

हिमाल (१० कात्तिक) मा प्रकाशित 'डमीको दबदबा' समाचार पढेपछि राजनीतिक दलका नेताहरूले चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन कुन हदसम्मको काम गर्दा रहेछन् भन्ने प्रष्ट हुन्छ। यस किसिमको गलत प्रवृत्ति बढ्दै जाँदा भोलिका दिनमा इमान्दार व्यक्तिले राजनीतिबाट हात धुनुपर्ने अवस्था आउन सक्छ। इमान्दार नेताहरूलाई राजनीतिबाट पलायन हुनबाट रोक्न पनि डमी उम्मेदवार उठाउनेलाई कारबाही गर्नुपर्दछ। अन्यथा राजनीति गलत मानिसको हातमा जान सक्छ।

विनोद पोखरेल, इमेलबाट

पठनीय समाचार

हिमाल (१० कात्तिक) मा प्रकाशित 'निर्धालाई सकस' समाचार पठनीय लाग्यो। एकथरी उम्मेदवारले मनग्ये पैसा खर्च गरिरहँदा अर्काथरी उम्मेदवारले गाउँ डुल्नको लागि सामान्य खर्चको समेत जोहो गर्न नसक्नु नेपाली राजनीतिको वास्तविकता हो। पैसाले मात्र राजनीतिमा सफलता पाउन सकिन्छ भन्ने कुरालाई गलत सावित गर्नको लागि पनि गरीब र इमान्दार नेताले चुनाव जित्नु आवश्यक छ। अन्यथा निर्धालाई पछाडि पार्दै पैसा र पहुँचवालाको मात्र राजनीतिमा राइँदाइँ हुनेछ।

मिलन बम, इमेलबाट

खानाको सदुपयोग

हिमाल (१० कात्तिक) मा प्रकाशित 'खानाको अर्थशास्त्र' समाचार यथार्थपरक लाग्यो। आवश्यक भन्दा धेरै पकाउनु अनि सबैले देख्ने गरी खाना फाल्नुलाई ठूलो भएको महसूस गर्ने हामी नेपालीको सोचले यस्ता समस्या निम्त्याएको पाइन्छ। खाना नफाल्ने हो भने कसैलाई पनि भोकै मर्नु पर्दैन भन्ने कुरा समयमै सोच्नु जरूरी छ। खानाको सदुपयोग गर्ने हो भने भोको मान्छेलाई बचाउन मात्र होइन फजुल खर्च घटाउन पनि सकिन्छ।

सुलोचना चौधरी, इमेलबाट

स्वाभिमानी बनौं

हिमाल (१० कात्तिक) मा प्रकाशित 'जागीरको विकल्प जाँगर' समाचारले उत्साहित बनाएको छ। आफ्ना अगाडिका प्रशस्त सम्भावनाको बेवास्ता गर्दै जागीरको खोजीमा हिंड्नेलाई यो समाचारले गरे के हुन्न र भन्ने सन्देश दिएको छ। सानोतिनो लगानी गरेर जाँगर चलाउने हो भने घर―परिवार चलाउन विदेशिनुपर्दैन भन्ने गतिलो उदाहरण हो यो सन्दर्भ। त्यसैले परिश्रम गरौं, स्वाभिमानी बनौं।

मोनिका मगर, इमेलबाट

चालकका समस्या

हिमाल (१० कात्तिक) मा प्रकाशित 'समस्यामा ड्राइभर' समाचार सामग्री पढेपछि ३३ वर्ष सवारी चालक भएर काम गरेको अनुभवका आधारमा केही थप्न मन लाग्यो। कूटनीतिक नियोग, सरकारी र प्राइभेट सवारी चालकको कुरा गर्दा राज्यको स्पष्ट नीति नहुँदा चालक, हेल्पर, मेकानिक सबैका समस्या उस्तै छन्। श्रमको मूल्यांकन नहुँदा पेशाप्रति नै आत्मग्लानि गर्नुपर्ने अवस्था छ। आर्थिक स्थिति कमजोर हुनु, समय र परिस्थितिले उच्च शिक्षा हासिल गर्न नसक्नु र मालिकदेखि समाजसम्मबाट हेपिनुपर्ने अवस्थाले ड्राइभरले तल्लोस्तरको पेशाकर्मीको परिचय बनाउनु परेको यथार्थ हाम्रा सामु छ।

कतिपय कूटनीतिक नियोग तथा गैरसरकारी संस्थाका हाकीमले ड्राइभरलाई हेप्ने र कार्यालय समयभन्दा बढी काम गराउने गरेका छन्। यस्तै सरकारी कार्यालयका सवारी चालकले पनि सेमिनार, गोष्ठी तथा अन्य व्यक्तिगत कामका सिलसिलामा तारे होटल पुगेका हाकीमलाई घन्टौंसम्म कुरेर बस्नुपर्ने बाध्यता छ। निजी सवारी चालकले पनि समयको पर्वाह नगरी काम गर्नुपर्ने अवस्था छ।

अर्कातर्फ सवारी दुर्घटना हुँदा चालकले विना कारण दुःख भोग्नु परिरहेको छ। बटुवाको गल्तीले भएका दुर्घटनामा पनि चालकले कुटाइ खानुपर्ने, गाडी जलाइने जस्ता समस्या छन्। स्पष्ट कानूनको अभावमा यस्ता समस्याको समाधान हुन सकिरहेको छैन। त्यसैले चालकका समस्या समाधानतर्फ सरोकारवाला निकायको ध्यान जाओस्।

पुरुषोत्तम अधिकारी, कुशादेवी–७, काभ्रे

(आईएनजीओमा कार्यरत)

comments powered by Disqus

रमझम