२ मंसिर २०७० | 17 November 2013

'अब राजनीति गर्छु'

Share:
  
२० कात्तिकमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबाट पार्टीको सदस्यता लिएर नेपाली कांग्रेस प्रवेश गरेका कलाकार नीर शाह भन्छन्, “अब धेरै समय राजनीतिमै बिताउँछु।”

मीनरत्न बज्राचार्य
नेपाली कांग्रेसमा किन प्रवेश गर्नुभएको हो?

म मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, उदारवाद र मानव मुक्तिमा विश्वास राख्ने व्यक्ति हुँ। जीवनका यी मूल्य र मान्यताहरु पूरा गर्न नेपाली कांग्रेसबाट सम्भव देखेकाले प्रवेश गरेको हुँ।

केही समयअघि एमाओवादीमा पनि प्रवेश गर्नुभएको होइन र?

होइन। एमाओवादीबाट चलचित्र विकास बोर्डका अध्यक्ष भएका गणेश भण्डारीले ल्याएका नीति चलचित्र क्षेत्रको विकासका लागि उपयुक्त थिए। फुट्नुअघि माओवादीले लिएको राष्ट्रियता सम्बन्धी मुद्दा पनि चित्तबुझ्दा थिए। त्यसैले ती नीति र मुद्दालाई समर्थन गरेको हुँ। तर, ती नीति विस्तारै हराए। युवराज लामा लगायतका साथीहरु एमाओवादी प्रवेश गर्दा शुभकामना दिन भने गएको थिएँ। तर, म माओवादी बनेको अनर्गल प्रचार गरियो।

अब राजनीति नै गर्नुहुन्छ त?

निश्चय नै। मैले लेखेको 'गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क' भन्ने गीत मेरो जीवनसँग सधैं मेल खान्छ। त्यसैले राजनीतिमा अब म गहिराइ छुने गरी लाग्छु।

कलाकार र पेशाकर्मीले राजनीतिमा प्रवेश गर्नु ठीक हो?

पेशामा भएको व्यक्तिले राजनीति गर्नै हुन्न भन्ने होइन। तर, कलाकर्म र राजनीतिलाई एकै ठाउँमा मिसाउनुहुँदैन।

कलाकारितालाई पनि समय दिनुहुन्छ?

अब मेरो धेरै समय राजनीतिमा नै बित्छ। तर पनि म मूलतः कलाकार भएकाले कलाकर्म छोड्दिनँ। राजनीतिबाट निस्केको समय कलाकर्ममा बिताउँछु।

comments powered by Disqus

रमझम