देश विकासका लागि व्यक्ति (नेतृत्व) महत्त्वपूर्ण कि बलियो संरचना भन्नेमा अर्थ–राजनीतिक शोधमा लामो समयदेखि विमर्श हुँदै आएको छ। अर्थशास्त्रीद्वय डारन असेमग्लु र जेम्स रबिन्सनले ह्वाई नेशन्स फेल (सन् २०१२) पुस्तक प्रकाशन गरेपछि बलियो र लोककल्याणकारी संरचना नै विकासको आधार भन्ने मान्यता स्थापित हुन थाल्यो। तर, अभ्यासमा भने विश्वभर नै व्यक्तिको भूमिकालाई अहं मान्दै पहिचान, विकास आदिको कुरा गर्दा इतिहासका गम्भीर मोडहरूमा अब्बल नेतृत्व गरेका केही खास व्यक्तिको नाम लिइन्छ।
अमेरिकामा संयुक्त राज्यका संस्थापकहरू अब्राहम लिंकन, फ्रांक्लिन रुजवेल्ट, जोन एफ. केनेडी लगायतका पूर्व राष्ट्रपतिहरूप्रति उच्च श्रद्धा राखिन्छ। दोस्रो विश्वयुद्धमा ख्याति कमाएका विन्स्टन चर्चिलको नाम बेलायतमा अझै लोकप्रिय छ। चीनको चामत्कारिक विकासको पछाडि तङस्याओ फिङको नाम गाँसिएर आउँछ भने सिंगापुर निर्माणको विशेष श्रेय ली क्वान युलाई दिइन्छ। भारतमा स्वतन्त्रताको लामो लडाइँ लडेका गान्धी आदर्श पात्र छन्। नेपालमा पनि बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह लगायतलाई सम्झिइन्छ।
नेपाली समाज आज विगतका पात्रलाई जति सम्झिरहेको छ, त्यति नै वर्तमानमा समृद्धि ल्याउन सक्ने एक चामत्कारिक व्यक्तिको खोजीमा रहेको आभास हुन्छ। देश विकासमा दिशाहीनता, अमूर्त शब्दजाल र ‘डेलिभरी’ विनाको आश्वासन भोगिरहेको समाज यी सबबाट पार लगाएर अघि बढाउने एक नेतृत्वको खोजीमा भौंतारिरहेको देखिन्छ।
उपेक्षित विकास
सरकार विकासको चिन्ताभन्दा धेरै पर देखिन्छ। अहिले सरकारको लक्ष्य यत्ति हो– मंसीरमा चुनाव गर्ने, सीटको भागबण्डा मिलाउने, चुनावपछि को सरकारमा जाने भन्नेमा मोटामोटी सहमति गर्ने। दुई महीनाको अन्तरालमा चुनाव हुन लागेकाले राजनीतिक बहस चुनावकेन्द्रित हुनु अचम्म र अस्वाभाविक हैन, तर देशको अर्थतन्त्र सुधार्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, जलवायु परिवर्तन र दिगो विकासको गन्तव्य अनुरूप संरचनात्मक सुधार गर्ने आदि महत्त्वपूर्ण विषय आंशिक वा पूर्ण रूपमा ओझेलमा परेका छन्।
अमूर्त शब्दजाल
नीतिनिर्माण जति सरल भयो, त्यति व्यावहारिक र प्रभावकारी बन्न सक्छ। सहजै बुझ्न बुझाउन सकिने नीति कार्यान्वयन गराउन पनि सजिलो हुन्छ। तर, नेपालमा अझै पनि ‘जार्गन’ र अमूर्त शब्दजालमा नीतिनिर्माता रुमलिरहेका देखिन्छन्। न आम जनताले नीतिको अर्थ र आवश्यकता बुझ्न सक्छन् न नीति सार्थक भएको मापन गर्न सकिन्छ। दीर्घकालमा कुन नीति कति सान्दर्भिक थियो, र के कति सफल भयो भन्ने मापन नहुँदा भविष्यमा अन्धाधुन्ध नीति बनाउने र त्यसको औचित्य पुष्टि गर्नै नपर्ने परिपाटी बस्दै जान्छ।
मूर्त बहसले राजनीतिलाई पनि नेता (वा व्यक्ति) भन्दा नीतिकेन्द्रित बनाउँदै जान्छ। उदाहरणका लागि, बेलायतमा सेप्टेम्बर पहिलो साता टोरी पार्टीको नेतृत्व (जो स्वतः देशको प्रधान्मन्त्री बन्छ) चयन प्रक्रिया चल्दा सारा बहस र छलफल दुई उम्मेदवार लिज ट्रस र ऋषि सुनकले अगाडि सारेका नीतिको वरिपरि भयो। नेपालमा पनि जनतामा आफ्नो नीति परीक्षास्वरूप प्रस्तुत गर्न सक्ने तथा अर्थ–राजनीतिक समस्यामा ठोस धारणा र समाधानको उपाय दिन सक्ने व्यक्तिको खोजी भइरहेको छ।
दोहोरिराख्ने नीरस नेतृत्व
नेपालमा २०४६/४७ सालयताको बहुदलीय प्रजातन्त्रको अभ्यासमा मूल पात्रहरू खासै फेरिएकै छैनन्। दशकौंदेखि पार्टीको केन्द्रमा हातमा गन्न मिल्ने तिनै व्यक्तिहरू, सत्तामा तिनै, भाषण र आश्वासन उस्तै। दोस्रो पुस्ता भनिएका नेताहरूमा पनि विचार उही, उठबस उस्तै, अघिल्लो पुस्ताको भक्तिगान र नवीन सोचको खडेरी। यस्तो अवस्थामा राजनीतिक नेतृत्वप्रतिको आकर्षण धूमिल हुँदै गएको छ।
निराश र अधीर हुँदै गएको नेपाली समाजमा पहिलो पुस्ताको नेतृत्वले विश्वसनीयता गुमाइसकेको छ। अब, दोस्रो–तेस्रो पुस्ता र विभिन्न प्राविधिक पृष्ठभूमिबाट राजनीतिमा छिर्ने व्यक्तिहरूबाट त्यस्तो नेतृत्व स्थापित हुने अवसर छ।