असोज २०७९ | 17/09/2022

स्वतन्त्रताको सङ्गीत

Share:
  
- गिरीश सुवेदी
कडा नियमहरूमा नबाँधिने र सरल शैलीमा बग्ने लोक–पप विधाले नेपाली सङ्गीतमा स्वतन्त्र स्थानको खोजी गरेको छ।

काठमाडौं, ठमेलस्थित एलओडी नाइटक्लबमा साउन १५ गते आयोजित कार्यक्रममा प्रस्तुति दिँदै युवामाझ् लोकप्रिय गायक सज्जनराज वैद्य।
तस्वीरः एलओडीको फेसबूक पेज।

सामान्यतया विश्वभर नै, ‘पपुलर’ छोटकरीमा पप सङ्गीतले विभिन्न विधाबाट सापटी लिएर धेरै कुराको सम्मिश्रण गरी आम मानिसलाई मन पर्ने किसिमको नयाँ सामग्री बनाउँछ। सङ्गीतका अरू विधाभन्दा यो छोटो र छरितो हुन्छ, र यसको शब्द तथा सङ्गीत बुझ्न र दोहोर्‍याउन सजिलो हुन्छ। यस्तो सङ्गीत ‘कलाका रूपमा भन्दा पनि उद्यमका रूपमा बनाइने’ र ‘यसले कुनै विशेष ठाउँ वा सङ्गीतको प्रभावलाई नजनाउने’ सङ्गीतका अध्येता साइमन फ्रिथले आफ्नो पुस्तक वर्ल्ड म्यूजिक, पोलिटिक्स एन्ड सोसल चेन्जमा लेखेका छन्।

विगत केही दशकमा नेपालमा पप सङ्गीतमा लोकसङ्गीतलाई ‘फ्युजन’ गर्ने प्रवृत्ति देखिएको छ। यस्तो फ्युजनले हरेक विधाका साँघुरा नियम पार गरेर आफ्नो स्वतन्त्र ठाउँ बनाउने सुविधा सर्जकलाई दिएको छ। पप सङ्गीतको उद्देश्य नै बजार प्रवर्द्धन गरेर धेरैभन्दा धेरै मानिस समक्ष पुग्ने भएकाले यो विधा कुनै परम्परामा बाँधिँदैन। त्यसैले लोक–पपले नेपालको उत्तर–आधुनिक संस्कृति विकास गरिरहेको छ कि लोकसङ्गीतलाई नै विकृत बनाइरहेको छ भन्ने प्रश्न पनि वेलावेला उठ्ने गरेको छ।

नेपालमा लोक–पपको पृष्ठभूमि

नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि पप सङ्गीत देखिन थालेको सङ्गीत– अ बूक अफ नेपाली म्यूजिक पुस्तकका लेखक किरण प्रधान बताउँछन्। धेरै सङ्गीतकारहरू गीत रेकर्ड गराउन आफ्नै खर्चमा भारत जान थाले, जसकारण धेरै नेपाली गीतमा भारतीय शास्त्रीय सङ्गीतका तत्त्वहरू पाइन्थे। बिस्तारै गितार, ड्रम, कीबोर्ड, इलेक्ट्रिक अर्गन र भायलिन जस्ता पश्चिमा बाजाहरू देखा पर्न थाले। “यस्ता पश्चिमा तत्त्वहरूको प्रयोग गरिएका अधिकांश गीतमा आज पनि शब्दको अर्थ र मौलिकतालाई कम महत्त्व दिइएको पाइन्छ,” प्रधान भन्छन्।

पप सङ्गीतमा देखिएका यस्तै कमीहरू पूरा गर्न सर्जकहरूले पप गीतमा लोकसङ्गीतका तत्त्व पनि समायोजन गर्न थालेको हुन सक्छ। यस्ता गीतमा सन् १९३० को दशकमा पहिलो पटक उस्ताद साइँलाले झ्याउरे सङ्गीतका तत्त्वहरू हालेको सङ्गीत अनुसन्धानकर्ता प्रकाश सायमी बताउँछन्। त्यसपछिका दशकमा धर्मराज थापा र अम्बर गुरुङका पप गीतमा लोकतत्त्वहरू पाइन्छन्। सन् ७० को दशकमा डेनी डेन्जोङ्पाको लोकभाकामा आधारित गीत ‘रातको रानी फुले झैं’ धेरै लोकप्रिय भएको थियो।

नेपथ्य ब्यान्डका अमृत गुरुङ।

सन् ८० को दशकमा नेपाली चलचित्र उद्योगमा सङ्गीतका नयाँ स्वरूपहरू देखिन थाले। लोकभाकाका गीतहरू पश्चिमा वा भारतीय शास्त्रीय सङ्गीतमा आधारित गीतहरूभन्दा बढी सफल देखिए। सन् १९८५ मा सार्वजनिक भएको कुसुमे रुमालका गीतहरू र चिनो फिल्मको ‘मोहनी लाग्ला है’ यसका उदाहरण हुन्।

सन् १९९० को दशकमा नेपथ्य, मङ्गोलियन हार्ट, नमस्ते र कन्दरा जस्ता ब्यान्डले लोक–पप विधालाई लोकप्रिय बनाए। चलचित्र क्षेत्रमा पनि शम्भुजीत बास्कोटा लगायतका सङ्गीतकारले यो शैलीलाई निरन्तरता दिएका थिए। सन् २००० पछि खेमराज गुरुङ र रामचन्द्र काफ्लेका गीतमा लोकतत्त्व अझ प्रखर भएर आयो। क्यासेटमा गीत सुन्ने जमानामा विशेष गरी लामो दूरीका बस चालकहरू र राजमार्गका होटल तथा रेस्टुराँहरूले यस्ता गीत ग्रामीण र शहरी दुवै क्षेत्रमा फैलाउन सघाए।

आज राजनराज शिवाकोटी, कालीप्रसाद बास्कोटा, अल्मोडा राना उप्रेती लगायत सङ्गीतकारले आफ्ना गीतहरूमा लोकतत्त्व समेटिरहेका छन्। लोचन रिजाल र नाइट ब्यान्ड जस्ता सङ्गीतकार तथा समूहले लोकसङ्गीत सिर्जना गरिरहेका छन्। विपुल छेत्री, तृष्णा गुरुङ लगायतले लोक र पपको सफल संयोजन गरिरहेका छन्, र यस्ता कलाकारको सूची लामो छ।


गायिका तृष्णा गुरुङ

फैलिँदो दायरा

नेपाली संस्कृतिमा लोकगीतको जरा गहिरो गरी गाडिएको हुँदाहुँदै यसले समय र स्थानका दायरा पार गर्न सकेको छैन। एकथरी ग्रामीण श्रोता बाहेकलाई यसले आकर्षित गर्न सकेको देखिँदैन। सर्जकका लागि पनि लोकगीतमा शब्द, अन्त्यानुप्रास, लय जस्ता पक्षका विभिन्न नियम हुन्छन्, जुन सबैले सिक्न सक्छन् वा चाहन्छन् भन्ने छैन। यस्तो अवस्थामा सजिलै सिर्जना गर्न, बुझ्न र दोहोर्‍याउन सकिने पप गीतको माध्यमबाट लोकगीतले आफ्नो क्षेत्र विस्तार गरिरहेको देखिन्छ।

साइमन फ्रिथका अनुसार, पप गीत के हो भनेर हामीले नबुझे पनि त्यसको आनन्द लिन सक्छौं। पपको लय र ताललाई सजिलै ग्रहण गर्छौं। सजिलै उपभोग गरिने पप र नेपाली समाजको जरा रहेको लोकतत्त्वको सम्मिश्रण गरिएका गीतहरू लोकगीतका परम्परागत श्रोता बाहेकका मानिससम्म पनि पुग्न सकेको देखिन्छ। यसका श्रोता नेपालभित्र मात्र नभएर नेपाली डायस्पोरा समुदायमा विश्वभर नै छरिएका छन्।

केही चर्चित गीतमा लोक र पप तत्त्व
श्रोतामाझ लामो समयसम्म लोकप्रिय केही गीत यहाँ उदाहरणका लागि लिइएका छन्।

क. हङकङ पोखरा
सन् १९९८ मा पोखराको पप ब्यान्ड कन्दराले सार्वजनिक गरेको सरुभक्तद्वारा लिखित यो गीत झ्याउरे तालमा छ। विदेशिएका नेपाली र विशेष गरी हङकङको प्रहरीमा जाने पोखरेलीहरूको भावनालाई विषय बनाएको यो गीतका शब्दले लोकतत्त्व झल्काउँछन्ः

हिउँ त होइन फाप्रेको डङ्गुर
माया भयो अमिलो अङ्गुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र!

यहाँ पहिलो दुई पंक्तिले लोकबोलीमा प्रयोग गरिने तुक्काहरू प्रयोग गरेर ग्रामीण जीवनशैली झल्काएको छ भने पहिलो पंक्तिमा अन्त्यानुप्रास मिलाउन मात्र शब्दहरू राख्नु आफैंमा लोकगीतको शैली हो। तर, यसमा गितार र ड्रम बजाइएको छ। यो शैली जटिल पनि छैन र कडा नियमहरूमा बाँधिएको पनि छैन। नेपाली सङ्गीतमा एउटा स्वतन्त्र स्थानको खोजीमा लोक–पपको प्रयोगको यो एउटा सशक्त उदाहरण हो।

ख. छेक्यो छेक्यो
झ्याउरे तालको यो गीतसँगै पोखराको ब्यान्ड नेपथ्यको उदय भएको थियो। पहिलो पंक्तिमा लोकगीतको शैलीमा अन्त्यानुप्रास मिलाइएको छ।

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिले जहाँ गए पनि मायाको धुइरोले

दोस्रो अल्बम ‘हिमाल चुचुरे’ को यो गीत अत्यधिक सफल भएपछि ब्यान्डले लोक–रकलाई आफ्नो मुख्य विधा बनायो। त्यसपछि ब्यान्डका प्रमुख गायक अमृत गुरुङले आधिकारिक शब्द र लय खोज्ने क्रममा लोकगीतमा थप अनुसन्धान गरे। नेपालको हिमाली क्षेत्रमा अनुसन्धान गरेर यो ब्यान्डले ‘भेडाको ऊन जस्तो’ गीत सार्वजनिक गर्‍यो, ‘रेशम’ जस्ता गीतमा लोक र पपको फ्युजन गर्दै गयो।

‘छेक्यो छेक्यो’ एउटा नयाँ सङ्गीत संस्कृतिको शुरूआत थियो। यसपछि थुप्रै अरू सङ्गीतकारले यस्ता गीत बनाएका थिए।

ग. झ्याम्म झ्याम्म
डि–मोर्चा ब्यान्डको यो गीत नेपाली लोकलयमा आधारित पप गीतको एउटा उदाहरण हो। सुदूरपश्चिममा प्रचलित देउडा गायन शैलीमा आधारित यो गीतमा मिडी सिन्थेसाइजर, इलेक्ट्रिक गितार, ड्रम र बेस जस्ता पश्चिमी आधुनिक बाजाहरूको प्रयोग गरिएको छ। सुदूरपश्चिमको शैली पहिलो पटक यसरी पपमा लोकप्रिय बनेको थियो।

घ. जालमा
रेशम फिलिलि चलचित्र सार्वजनिक हुनुभन्दा अगाडि चलचित्रको ‘जालमा’ भन्ने गीतले श्रोतामाझ प्रभाव पारिसकेको थियो। मानस राजको शब्द र कालीप्रसाद बाँस्कोटाको सङ्गीत तथा बाँस्कोटा र सोमिया बराइलीको स्वर थियो। यसपछि पछिल्लो समय यस्तै शैलीका ‘कुटुमा कुटु’, ‘सुर्के थैली’, ‘पूर्व–पश्चिम रेल’ जस्ता गीतहरू लोकप्रिय भएका छन्।

गायक विपुल क्षेत्री

सदाबहार आकर्षण

विभिन्न विधा र विवादका बीचमा लोक–पपले कसरी कलाकारलाई स्वतन्त्र स्थान दिइरहेको छ भन्ने प्रश्नमा एथ्नोम्यूजिकोलोजिस्ट लोचन रिजालको भनाइ सान्दर्भिक छ। केही समयअघि एउटा अन्तर्वार्तामा उनले यस पंक्तिकारसँग भनेका थिए, “नेपाली लोकसङ्गीत जीवन्त छ र हाम्रो जीवनसँग सम्बन्धित छ। यसले ओझेलमा परेका जीवनहरूको कथा बोल्छ, र ती कथाहरू प्रेरणादायी हुन्छन्। समग्र संस्कृतिबाट यो जन्मिन्छ र यो सजिलै सङ्गीतका अरू विधामा समावेश गर्न सकिन्छ।”

नेपाली लोकगीतले धेरै हदसम्म कथावाचन पनि समेटेका हुन्छन्, र त्यसरी नै नेपालको ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छन्। लोकगीतले मानिसलाई मनोरञ्जन दिनुका साथै जीवनका दुःखकष्टबारे पनि बताउँछन्। यी सबै कारणले नेपाली सङ्गीतमा लोकतत्त्वको सम्मिश्रण र त्यसप्रतिको सदाबहार आकर्षण कायम छ, र आधुनिक सङ्गीतका विधाहरूमा बारम्बार नयाँ रूपमा देखा पर्छ।

नेपाली सङ्गीतको अध्ययन गरेका पल् डी. ग्रीन र डेभिड आर. हेन्डर्सन आफ्नो पुस्तक पपुलर म्यूजिक एन्ड सोसाइटी (सन् २०००) मा भन्छन्, “लोक–पप विधा नेपालीहरूले आफ्नो ग्रामीण पहाडी संस्कृति सम्झिने एउटा प्रमुख माध्यम बनेको छ। ... युवामुखी र प्रविधिसम्पन्न नेपाली पप सङ्गीतमा लोक–पपले नेपालका ग्रामीण संस्कृतिका बारेमा नयाँ चासो र ग्रामीण गीतका तत्त्वहरू भित्र्याउँछ।”

लोक–पप एकातर्फ सजिलो र छरितो पप विधा अपनाएर चाँडै फैलिन सफल भएको छ, अर्कातर्फ, नेपाली ग्रामीण जनजीवन, संस्कृतिसँग गाँसिँदै विशेष गरी शहरी श्रोतालाई जोडिराखेको छ। लोकतत्त्व राखेर पप गीत बनाउने नेपाली सङ्गीतकारले ती दुवै विधाका नियमहरू परिवर्तन गर्दै नयाँ सम्भावनाहरू भित्र्याएका छन्। ती सम्भावनालाई मैले स्वतन्त्र स्थान भनेको छु।

(सङ्गीतकार तथा सङ्गीत अध्येता सुवेदीको यो लेख लेखक स्वयंको स्नातकोत्तर शोधपत्रको सारांश हो।)

comments powered by Disqus

रमझम