असोज २०७९ | 17/09/2022

पुरुषको कब्जामा

Share:
  
- सेवा भट्टराई
पुरुष बाहुल्य सङ्गीत क्षेत्रमा महिलाले गाएका र महिलाको चित्रण गरिएका गीतहरूमा पुरुष दृष्टिकोण हावी भएर अवास्तविक भावना र छवि अभिव्यक्त भइरहेको छ।

‘नाचौं छमछम’ गीतको म्युजिक भिडिओमा अभिनय गर्दै प्रिज्मा र प्रिन्सी खतिवडा।
तस्वीरः क्रिएटिभ ह्याट्सको यूट्युब च्यानल

उन्नाइसौं शताब्दीमा अंग्रेजी भाषामा महिलाहरूले लेखेका उपन्यासबारे चर्चा गर्दै भर्जिनिया उल्फले पुरुषको लेखनले अपवाद बाहेक महिलालाई पुरुषको सम्बन्धमा मात्रै देखाउने, र महिलाको लेखनले भने महिलालाई बहुआयामिक व्यक्तित्वका रूपमा देखाउने बताएकी थिइन्। उल्फले त्यस वेलाको अंग्रेजी साहित्यबारे बोले पनि उनका टिप्पणी संसारका अरू साहित्यमा पनि लागू हुन्छन्। नेपाली भाषाका लोकसाहित्यमा पनि।

हुन त लोकसाहित्यका सर्जक अक्सर भेटिँदैनन्, तर कतिपय विधा पुरुषका वा महिलाका भनेर छुट्टिन्छन्। पुरुषले सिर्जना गरेका लोकसाहित्यमा महिलालाई श्रीमती, प्रेमिका वा प्राप्त गर्नुपर्ने लक्ष्यका रूपमा चित्रण गरिन्छ र त्यस्तो साहित्य अक्सर महिलाको रूप/आवरणमा केन्द्रित हुन्छ। पुरुषलिखित गीतमा महिलाको जीवन, भावना र निर्णयहरू पुरुषको वरिपरि घुमेको देखिन्छ। तर, महिलाका गीतमा त्यस्तो पाइँदैन, बरु महिलाको जटिल र विविधतापूर्ण जीवन देखिन्छ।

धेरै तीज गीतमा महिलाहरूले पति र पतिको परिवारसँगको गुनासो गर्दै आमा–बुबाको सम्झना गर्छन् भने महिलाका धेरै गीतमा सन्तान, गर्भावस्था, प्रसव पीडा, सन्तान वियोग र सन्तानको हेरचाह गर्ने विषयहरू देखिन्छन्। उल्फले भनेका ‘सदाकालीन घरेलु विषय’भित्रै यीमध्ये केही विषय परे पनि पुरुष साहित्यमा देखिने प्रेमिकाभन्दा यी महिलाको दायरा फराकिलो छ। महिलाका गीतले एउटा यस्तो संसारको ढोका उघारिदिन्छन्, जुन महिला प्रेमिकाका रूपमा मात्र देखिएका पुरुष साहित्यमा देखिँदैन।

महिला र पुरुषले गाउने लोकगीत प्रेमप्रसङ्गमा मात्र सीमित हुँदा पनि महिला र पुरुषका गीतमा यथेष्ट फरक देख्न सकिन्छ। महिलाको दृष्टिकोण गीतमा आउन नपाउँदा महिलाका भावना कसरी ओझेलमा पर्छन् भन्ने देखिन्छ।

पुरुष नजरबाट चित्रण

कास्की, घान्द्रुकका विष्णु गुरुङले कृष्ण र गोपिनीको विषयमा एउटा गीत सुनाएका थिएः

गुल्यानीको तनैमा कृष्णज्यूले हातै राख्दा
आँखा कर्काए, कुहिनोले हाने, नक्कलै पारे
कमलैको फूल जस्तो हामरे तनमा
हा हा बिना कामैले छुनु काँ पाउला गोपीनाथ कृष्णले
जोबनले भरिपुरन भएको तन हाम्रो
हातै राख्ने कृष्णजी हो हे म त लाज लाए।

मध्य नेपालको पहाडी जिल्लाहरूमा विभिन्न ठाउँमा मारुनी नाचका साथ गाइने एउटा गीत हो यो। झट्ट हेर्दा यो गीतमा गोपिनीहरूले कृष्णको प्रणय प्रस्तावको प्रतिक्रिया दिए जस्तो देखिन्छ। कृष्णले छुँदा कसरी गोपिनीहरू रिसाउँदै कुहिनाले हान्छन्, तर त्यस्तो नोकझोक नाटक मात्र भएको सूत्रधारले भनिरहेका छन्। त्यसपछि गोपिनीहरू द्विविधापूर्ण प्रतिक्रिया दिन्छन्, र विना ‘काम’ कृष्णले छुन नपाउने बताउँछन् (काम शब्द द्विअर्थी रूपमा यौन चाहना र प्रयोजनका रूपमा प्रयोग भएको देखिन्छ)। अर्थात्, उनीहरू कृष्णलाई नछुन भन्छन्, तर खासमा नजिक आऊन् भन्ने चाहना राखेको भाव प्रकट गरिएको छ। गीतले आम महिलाका भावना अभिव्यक्त गर्न खोजे जस्तो देखिन्छः उनीहरूलाई आफ्नो प्रेमी नजिक आएको मन पर्छ, तर उसलाई तर्काए जस्तो नाटक गर्छन्।

पुरुषले सिर्जना गरेका लोकसाहित्यमा
महिलालाई श्रीमती, प्रेमिका वा प्राप्त
गर्नुपर्ने लक्ष्यका रूपमा चित्रण गरिन्छ र
त्यस्तो साहित्य अक्सर महिलाको रूप/
आवरणमा केन्द्रित हुन्छ।
महिलाले व्यक्त गरे जस्तो गरी गीतले महिलाको भावनालाई ‘रोमान्टिसाइज’ गरेको छ। जबकि, यो गीतमा ‘मेल गेज’ अर्थात् पुरुषको नजर (पुरुष सर्जक) बाट महिलाको छवि प्रस्तुत गरिएको छ। मारुनीमा पुरुषले मात्र बाजा बजाउने, गीत गाउने र नाच्ने गर्छन्। हाल केही समूहले महिलाहरूलाई समावेश गर्न थाले पनि विगतमा महिलाको भेषमा पुरुष नै नाच्थे। महिलालाई यो प्रस्तुति हेर्न बाहेक यसमा अरू कुरामा संलग्न हुन निषेध थियो।

चलचित्र, गीत र सञ्चार माध्यममा अक्सर देखिने महिलाको छवि यस रूपमा प्रस्तुत गरिन्छ; आफ्नो यौनिकता प्रदर्शन गरेर पुरुषलाई आमन्त्रण गर्छिन्, तर उसको प्रेमप्रस्ताव अस्वीकार गर्छिन्। उनले पुरुषको ध्यान तान्न मात्र त्यो नाटक गरेको भनेर देखाइन्छ। महिलाको यस्तो शैली (भर्जिनिया उल्फका शब्दमा वेश्या) मूलधारको साहित्यमा धेरै पाइन्छन् र धेरै रोमान्टिसाइज गरिन्छन्।

पुरुष साहित्यले अक्सर यस्ता यौन भूमिकामा केन्द्रित महिलाको व्यक्तित्व सिर्जना गरिरहेको हुन्छ, र अक्सर पुरुष पात्रले वा सूत्रधारले त्यस्तो वर्णन गर्छ। माथिको गीतमा त महिलाहरू आफैंले त्यस्तो व्यक्तित्व अभिव्यक्त गरिरहेको चित्रण गरिएको छ। यो सहित पुरुषले गाएका लोकगीतहरूमा महिलालाई पुरुषसँग सम्बन्धित भूमिकामा सीमित गर्ने र ‘मेल गेज’ बाट बढीजसो यौनवस्तुकै रूपमा चित्रण गरिँदै आएको छ।

मेटिएको महिला-कोण

मूलधारको सङ्गीत उद्योगमा पुरुष हावी छन्। यसैले व्यावसायिक लोकगीत हुन् या आधुनिक गीत वा पप, रक र हिपहप, ती सबैमा महिला छविमा पुरुषकै दृष्टिकोण हावी देखिन्छ। पुरुष सर्जक, लेखक, सङ्गीतकारको संख्या अत्यधिक छ भने महिलाहरू मूलतः गायकको भूमिकामा सीमित छन्।

सङ्गीतका अध्येता साइमन फ्रिथ अन रेकर्ड पुस्तकमा लेख्छन्, ‘पप सङ्गीत धेरैजसो पहिचानका आधारमा पनि व्याख्या गरिन्छ। पप गीतका प्रमुख शब्द हुन्ः ‘म’ र ‘तिमी’, जहाँ पुरुषले ‘म’ भनेर गाउँछन् र महिलालाई ‘तिमी’ सम्बोधन गर्छन्।’ फ्रिथले गरेको टिप्पणी नेपालका प्रायः सङ्गीत विधामा लागू हुन्छ, किनकि सङ्गीत उद्यम र यसका उत्पादनहरू पुरुषको अधीनमा छन्। महिलाले ‘म’ भनेर गाउने गीत खोज्न निकै मिहिनेत गर्नुपर्छ। महिलाले जुन गीत गाउँछन्, ती पनि अक्सर पुरुषकै सिर्जना हुन्छन्। त्यसको नतीजा, ‘मेल गेज’ बाट देखिने महिलाको छवि नै गीतहरूले फैलाउँछन्, र महिलाले आफ्नो बारेमा के सोच्छिन्, पुरुषलाई कसरी हेर्छिन्, ‘फिमेल गेज’ कस्तो हुन्छ लगायतका प्रश्नहरू छोपिँदै जान्छन्।

लोकसाहित्यमा महिलाले सिर्जना गरेका गीत प्रशस्त पाइन्छन्, जहाँ यस्ता प्रश्नको उत्तर पाइने सम्भावना हुन्छ। तर, महिलाका लोकगीत पुरुषका लोकगीतको तुलनामा मूलधारमा आइपुग्दैनन्। यसको एउटा कारण सङ्गीत उद्यम पुरुषको कब्जामा हुनु पनि हो। जस्तै, केही वर्षअघिसम्म पनि तीज गीतलाई ‘महिलाको रोइलो’ भनेर सङ्गीत उद्यम, विश्लेषक र सञ्चार माध्यमले बेवास्ता गर्थे। जसै तीज गीतको व्यापारिक सम्भावनाहरू बढ्न थाल्यो, यो क्षेत्रमा पनि पुरुषको हालीमुहाली बढ्यो। तीज गीतकै लय लिएर गीत बनाएका दुर्गेश थापाको माग आज हरिदेवी कोइरालाको भन्दा धेरै छ।

चलचित्र, गीत र सञ्चार माध्यममा अक्सर
देखिने महिलाको छवि यस रूपमा प्रस्तुत
गरिन्छ; आफ्नो यौनिकता प्रदर्शन गरेर
पुरुषलाई आमन्त्रण गर्छिन्, तर उसको
प्रेमप्रस्ताव अस्वीकार गर्छिन्।

शृङ्गारिक अभिव्यक्तिलाई निषेध!

महिलाका लोकगीत, विशेष गरी प्रेम र यौन सम्बन्धी गीतहरू मूलधारमा नआउनुको अर्को कारण नेपाली समाजको नैतिक दृष्टिकोण र स्त्रीद्वेषी मानसिकता पनि हो। हुन त नेपाली महिलाहरूले शृङ्गार रसमा वा यौन सम्बन्धी सुस्पष्ट अभिव्यक्ति नगर्ने होइनन्, नेपालमा रत्यौली गीतको स्थापित परम्परा नै छ। तर, ती गीत अरू लोकगीत जस्तो बजारमा धेरै सुनिएका छैनन्।

यौन सम्बन्धी वा द्विअर्थी शब्द भएका गीत गाउने ज्योति मगर जस्ता गायिकाले सुन्नुपर्ने गालीगलौज र आलोचनाबाट नै स्पष्ट हुन्छ, नेपालमा महिलाले सार्वजनिक रूपमा यौन सम्बन्धी अभिव्यक्ति गर्नै पाउँदैनन्। अर्थात्, पुरुषका सिर्जनामा महिला यौनवस्तुका रूपमा देखिनु ठीक छ, तर महिलाले व्यक्तिका रूपमा आफ्नो यौनिकताको स्वामित्व लिनु स्वीकार्य छैन। यो प्रवृत्ति नेपाली सङ्गीतका हरेक विधामा व्याप्त छ। शृङ्गार रसले भरिपूर्ण अभिव्यक्ति महिलाका साहित्यमा कमै पाइन्छन्, त्यसैले महिला र पुरुषका साहित्यमा शृङ्गार रस र तिनमा महिला र पुरुषको चित्रको तुलना गर्न निकै गाह्रो छ।

पुरुषले आफ्नो साहित्यमा महिलाको अवास्तविक चित्रण गरे जस्तै महिलाले पनि पुरुषका अवास्तविक आदर्श व्यक्तित्व बनाउँछन्। आदर्श पुरुष, प्रेमी र श्रीमान्‌का लागि महिलाहरूले पनि अभिव्यक्ति सिर्जना गर्छन्। तर, पुरुष र महिलाले गरेका विपरीत लिङ्गीको चित्रणमा अन्तर पाइन्छ। उदाहरणका लागि, पूर्वी नेपालका ब्राह्मण महिलाले गाउने एउटा सँगिनी गीत हेरौं। राजा हरिबल्ल २०/२५ वर्षको छँदा ५ वर्षकी बालिका (उनका वरबल्दी/दाइमाता आदि विविध नाम पाइन्छन्)सँग उनको विवाह हुन्छ। हरि बल्ल त्यो अनमेल विवाहको विरोध यसरी गर्छन्ः

शिरैमा राख्दा सिरानी बन्छिन्
पावैंमा राख्दा त्यहीं बिलाउँछिन्
के पापै गरेछु मैले
न हात समाउनु न काखमा राख्नु
आमा उसलाई माइती पठाइदेऊ।

आफ्नी रानी कति सानी छिन् भन्ने देखाएपछि हरिबल्लले यो अनमेल विवाहलाई ‘पाप’ भन्छन्। बालविवाह नै उत्तम मानिने समाजमा यो गीतको सिर्जनामा पुरुषको कुनै भूमिका छैन भन्ने बुझेपछि गीतको अर्कै अर्थ लाग्न आउँछ। सँगिनी गीत महिलाले मात्र सिर्जना गर्ने, गाउने र मञ्चन गर्ने गर्छन्। यहाँ महिलाहरूले अनमेल विवाहको अस्वीकार गर्ने र बालिकामाथि दुर्व्यवहार नगर्ने एउटा आदर्श पुरुषको चित्रण गरेका छन्। ती वाक्य पुरुषले नै बोलेको देखिएको हुनाले यो चरित्र निर्माण अझ प्रभावकारी बनेको छ।

निष्कर्षमा, लोकगीत भावना अभिव्यक्त गर्ने ठाउँ हो, तर सबै लोकगीत एकै हुँदैनन्। भर्जिनिया उल्फले भने जस्तै, एक्लै बस्दा महिला ‘मेल गेज’ बाट मुक्त हुन्छिन्, र त्यति वेला उनी आफ्नै भावना अभिव्यक्त गर्छिन्। तर, मूलधारको साहित्य ‘मेल गेज’ बाटै निर्माण भएकाले महिलाका कुरा सुन्न पाउने सम्भावना कमै हुन्छ। यसले गर्दा महिलाका अत्यधिक यौनिक छविको निर्माण र प्रवर्द्धनले वास्तविक महिलाका व्यक्तित्व र भावनालाई ओझेलमा पारिरहेको हुन्छ।

comments powered by Disqus

रमझम