२ मंसिर २०७० | 17 November 2013

सफल रेडक्रस

Share:
  

शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले भूटानी शरणार्थीलाई दिने कपडा सिलाउने काम शुरूका दिनमा रेडक्रसको दमक उपशाखाले पाएको थियो। यो क्रममा सन् १९९३ देखि आयोगले शरणार्थीलाई वार्षिक दुईजोर कपडा दिउन्जेल पाँच वर्षसम्म उपशाखाले पश्चिम झापाका तीन सय महिलालाई रोजगारी समेत दिएको थियो। कपडा सिलाइबापत उपशाखामा वार्षिक रु.१० लाख कमाइ हुन्थ्यो। कार्यालय सहितको संरचनाको जग त्यहीवेला बसेको सम्झ्न्छन् उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी।

उपशाखाले सर्पदंश उपचार सेवा र रक्त सञ्चार सेवा सञ्चालन गरिरहेको छ। दमक नगरपालिका–१२ मा निःशुल्क उपलब्ध गराएको साढे ६ कट्ठा जमीनमा रेडक्रसले सवा दुई करोडको लागतमा सभा हल बनाएको छ। जहाँ हजारभन्दा बढी मानिस अटाउँछन्। यो संरचनासहित उपशाखासँग करीब रु.८ करोडको सम्पत्ति जुटिसकेको छ।

रेडक्रसको दमक उपशाखामा विषालु र सामान्य सर्प चिनाउन ४२ भिन्न जातका सर्प राखिएको लाइब्रेरी।

गोपाल गडतौला

युएनएचसीआरले गत वर्ष दिएको एउटा एम्बुलेन्सले सेवा विस्तारमा सघाउ पुगेको बताउने अध्यक्ष बुढाथोकीका अनुसार यो सहित उपशाखासँग हाल दुई वटा एम्बुलेन्स छन्। निर्माणाधीन चारतले भवनमा १५ शैच्चयाको अस्पताल रहने बताउँदै उनले आगामी वर्षभित्र नयाँ भवनमा अस्पताल सार्ने योजना सुनाए। तर यसका लागि करीब रु.२० लाख जुटाउने अभियानमा छन् उनी। उपशाखाबाट गत वर्ष सर्पदंशका एकहजार ८७ जनाको उपचार गरिएको थियो भने चालु वर्षको पछिल्लो साढे तीन महीनामा ६०५ जनाले उपचार पाइसकेको छ। सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म ल्याउन झापा र मोरङका ग्रामीण भेगमा ७५० तालीमप्राप्त मोटरसाइकल स्वयंसेवक परिचालित छन्। उपशाखामा अहिले एक जना एमबीबीएस र ६ जना स्वास्थ्यकर्मी सहित २२ कर्मचारी छन्।

उपशाखाले सर्प सम्बन्धी अध्ययन सहज बनाउन तीन वर्षदेखि सर्प लाइब्रेरी शुरू गरेको छ। जहाँ विषालु र सामान्य सर्प चिनाउन ४२ भिन्न जातका सर्प राखिएको छ। दाताको सहयोगका अतिरिक्त उपशाखामा सर्पदंशका विरामीबाट लिने शुल्क, हल भाडा र रक्तसञ्चार सेवाबाट गरी वार्षिक करीब रु.५० लाखभन्दा बढी आम्दानी हुने गरेको छ।

गोपाल गडतौला, झापा


बालुवामा कागती

मनिका झा
धनुषाको लक्ष्मीनिवास गाविस–१ सोनापुरका किसान कागती खेतीबाट उत्साहित भएका छन्। विपन्न वर्गको बाहुल्य रहेको लक्ष्मीपुरका किसानले थोरै जमीनमा लगाइएको कागती बेचेर वर्षभरिको छाक टार्ने गरेका छन्।

बलौटे माटोमा दुई तीन प्रकारको नगदे तरकारी बाली मात्र लगाउन सकिए पनि यसमा बढी खर्च हुन्छ। तर कागती चाँडै फस्टाउने र उत्पादन पनि राम्रो दिने भएकोले आफूहरू यसतर्फ आकर्षित भएको किसान राजकिशोर महतो बताउँछन्। आफ्नो १५ कठ्ठा खेतमा नगदेबाली लगाउँदा लागत अनुसार उत्पादन नभएपछि कागती खेती शुरू गरेको महतोले बताए।

एकपल्ट लगाइसकेपछि बढी रेखदेख गर्नु नपर्ने र ठूलो भएपछि उत्पादन पनि राम्रो हुने भएकोले आफूहरू कागती खेतीतर्फ आकर्षित भएको अर्का किसान रामविलास महतोले बताए। सोनापुरमा उत्पादित कागती जिल्लाको महेन्द्रनगर, सखुवा, ढल्केवर, बडहरी बजारसहित जनकपुरमा समेत बिक्री हुने गरेको छ। प्रतिगोटा रु.५ देखि रु.१० सम्ममा बिक्री हुने कागतीबाट वर्षको रु.१ लाखसम्म आम्दानी हुने किसानहरूको भनाइ छ।

मनिका झा, जनकपुर


मोटाइले समस्या

मुकेश पोखरेल
दुब्लो शरीरमा टन्न मासु भरिए कस्तो होला भनेर कतिपय मानिस मोटाउने अनेक उपायको खोजीमा लागेका हुन्छन् भने कतिपय शरीरको भारी तौल कसरी घटाउन सकिन्छ भन्ने चिन्तामा। यस्तै चिन्तामा डुबेका छन्, भैरहवाका विष्णु सुनार।

सिद्धार्थनगर नगरपालिका–१२ शान्तिपथका ३७ वर्षीय विष्णुको तौल ११८ किलो पुगेको छ। करीब ५ फिट उचाइका विष्णुको शरीर मोटाउने क्रम हरेक वर्ष बढ्दो छ। छातीदेखि तिघ्रासम्मको मासु बढेर ६० इन्चको भएको छ। २८ वर्षदेखि उनको शरीरको मध्यभाग बढ्दै गएको हो।

छोरो अस्वाभाविक रूपमा मोटाएपछि ६० वर्ष नाघेकी आमा सुन्तली चिन्तित छिन्। प्रहरी सेवाबाट अवकाश पाएका बाबु लोकबहादुरको निधन भएपछि घरमा एक्ली आमाले उनको हेरचाह गरेकी छन्। पतिको पेन्सनका भरमा परिवार धान्दै आएकी सुन्तली छोराको उपचारका लागि भौंतारिएको धेरै भइसकेको छ। स्थानीय अस्पतालमा उपचार संभव नभएपछि केही समयअघि छोरो लिएर उनी काठमाडौं शिक्षण अस्पताल गएकी थिइन्। उपचार हुने आशमा काठमाडौं पुगेका आमाछोरा त्यतिवेला निराश भए जतिवेला डाक्टरले यस्तो रोगको उपचार नेपालमा हुन नसक्ने बताए। डाक्टरहरूका अनुसार हार्मोन सम्बन्धी समस्याका कारण उनमा यस्तो समस्या आएको हो।

डाक्टरले भने “यसको उपचार भारतमा मात्र संभव हुन्छ, उतै लैजानु।” बिहान–बेलुका हातमुख जोर्न धौ–धौ पर्ने सुनार परिवारका लागि भारतमा गएर उपचार गर्नु त्यति सहज छैन। डाक्टरले भारतमा गएर उपचार गर्दा करीब रु.५ लाख लाग्ने बताएका छन्। आमा सुन्तली भन्छिन्, “यो भारी तौलको उपचार गराउने हाम्रो आर्थिक हैसियत छैन, कुनै सहयोगी आउलान् कि भन्ने आशमा छौं।”

पुरु रिसाल, भैरहवा


नासिंदै कालीमार्सी

नेत्र शाही
जिल्ला कृषि अनुसन्धान केन्द्रले परीक्षण गरेको ब्लाष्टले सखाप पारेको कालीमार्सी धान।
पाँच वर्षअघि सिंजाको बड्कीगाउँका कल्से शाहीले पाँच रोपनीमा लगाएको धानको बोट रोगले रित्तो भएपछि धानखेतमा आगो लगाए। नेपालको सबैभन्दा उचाइमा फल्ने कालीमार्सी धानका लागि प्रख्यात जुम्लामा त्यसभन्दा अघिदेखि नै धानबालीमा ब्लाष्ट रोग शुरू भएको थियो। यहाँको प्रमुख बाली मानिने कालीमार्सी धानमा ब्लाष्ट रोग बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्ने प्रयास नभएपछि यो धान लोप हुनसक्ने खतरा देखापरेको छ।

विश्वको सबैभन्दा अग्लो ठाउँमा धान फल्ने जुम्लाको छुमचौर (जिउलो) मा ब्लास्ट रोगका कारण कालीमार्सी धानले उब्जनी दिन छाडेपछि तीन वर्षअघिदेखि धान रोप्ने ठाउँमा मकै खेती गर्न थालिएको छ। १२औं शताब्दीदेखि जुम्लामा खेती गरिंदै आएको विश्वास गरिने कालीमार्सी धानको उत्पादन हुने तातोपानीको लाक्षु जिउलो, सिंजा उपत्यका लगायतका स्थानमा ब्लाष्ट रोगले सखाप पार्दै लगेपछि धानखेती गर्न छाडिएको छ।

कालीमार्सी धान संरक्षणका लागि सरकारी प्रयासले समेत केही परिणाम हात लागेको छैन। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले यो धान संरक्षणको प्रयास गरे पनि प्रभावकारी जीनको अनुसन्धान र विकास गर्न सकेको छैन। यसको विकल्पमा विकास गरिएको नयाँ जात जिङलिङ–७८, चन्दननाथ–१ र यूनलिङ वरिजिन नामका धान किसानले प्रयोगमा ल्याउन चाहेनन्। कालीमार्सी जस्तो स्वाद लगायतका कुरामा कमी देखिएपछि यसको प्रयोग नगरेको बड्की–१ कै किसान वीरबहादुर शाही बताउँछन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरे कालीमार्सीको नयाँ जात विकास गर्न छिट्टै अनुसन्धान नथाल्ने हो भने यो लोप हुने खतरा बढेको बताउँछन्। जुम्लाका धान फल्ने केही खेतमा चन्दननाथ–१ र ३ को प्रयोग भएको, कालीमार्सी धानको बीउ कृषकलाई नूनपानीमा राखेर प्रयोग गर्न लगाइएको, जैविक विषादी प्रयोग गरिरहेको कृषि विकास कार्यालयका कृषि प्रसार तथा सूचना अधिकृत धनबहादुर कठायतले बताए।

जिल्ला कृषि विकास कार्यालयले प्राङ्गारिक जिल्ला घोषणा गरेर रासायनिक औषधि प्रयोगमा बन्देज लगाएकाले कालीमार्सीमा फैलिएको रोग समाधान गर्न नसकिएको जिल्ला कृषि अनुसन्धान केन्द्रका धानबाली प्राविधिक अधिकृत पारसमणि महत बताउँछन्। महतका अनुसार, रोग नियन्त्रणमा रासायनिक औषधिले जति काम गर्छ, जैविक विषादीले त्यति काम गर्दैन। २०६३ मा १४औं जिल्ला परिषद्ले जुम्ला जिल्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेको थियो। पहिले रासायनिक औषधिले राम्रो काम गरेको विज्ञहरू बताउँछन्।

ब्लाष्ट रोग मात्र होइन, अहिले कालीमार्सी धानमा फुट्रट नामको जरा कुहिने रोगले पनि सताउन थालेको छ। यो अवस्थाले समस्या थप बढाउन सक्छ। तर, कृषि वनस्पति महाशाखाका वरिष्ठ बाली प्रजनन वैज्ञानिक हरिकृष्ण उप्रेती कालीमार्सी धानलाई मात्र बचाइराख्न नसकिने बताउँछन्। लामो समयदेखि उच्च तथा मध्यपहाडी क्षेत्रमा उन्नत धानबालीको अनुसन्धान गर्दै आएका उप्रेती कालीमार्सी धानमा नयाँ प्रजातिका धान मिसाउनुपर्ने वा अन्य धानबाली लगाएमा जुम्लाको माटोमा रोग नलाग्ने बताउँछन्। त्यसो गर्दा कालीमार्सी लगाउन छाड्नुपर्नेछ।

यो वर्ष कालीमार्सी धानमा ब्लाष्ट रोगको अनुसन्धानका लागि नार्कले गरेको परीक्षण पनि सफल भएको छैन। केन्द्रले आफ्नै जग्गामा गरेको अनुसन्धानमा कालीमार्सी धान पूरै नष्ट भएको छ। त्यसले गर्दा पनि कालीमार्सी जोगाउन कठिन देखिन्छ। जुम्लामा गरिएको धेरै धानखेती ब्लाष्ट रोगले सखाप पारेपछि किसानहरूले वैकल्पिक बाली लगाउने क्रम बढेको छ।

नेत्र शाही, जुम्ला

comments powered by Disqus

रमझम