असोज २०७९ | 17/09/2022

मैलो छैन मधेश

Share:
  
- नयनराज पाण्डे
हाम्रो लेखनी मधेशी समाजको फराकिलो आयामको पिँधसम्म पुग्न नसक्दा नेपाली साहित्यले मधेशलाई सधैं मैलो, फोहोरी, दीनहीन, चेतनाहीन, दरिद्र र लाचार देखिरह्यो।

बाढीले विनाश गरेको खेतमा महोत्तरीकी एक किसान।
तस्वीरः हिमाल आर्काइभ

हावा कुरा होइन यो। तर, कुराको शुरूआत हावाबाटै गर्छु।

मधेशमा हावाका अनेक नाम छन्– वायु, बयार, पवन, बतास, अन्धड, आँधी या बगुला। त्यसपछि बबन्डर, तूफान। गतिले निर्धारण गर्छ, त्यो हावा चक्रवात हो कि ‘घुमरी’? हावा तातो भए लू, झनै तातो भए ‘लुक्क’। जेठतिरको आँधी ‘भुतरा’। साउन, भदौतिर चल्ने आँधी ‘बहरा’ या ‘झपटी’। त्यस्तै खालको हावा फागुन–चैततिर चले ‘फगुनाहट’। अनि मन्द मन्द चल्न थाले ‘चैती’। हावा पूर्वबाट चले ‘पुरवाई’, पश्चिमबाट चले ‘पछुवा’, दक्षिणबाट चले ‘दखिना’ र उत्तरबाट चले ‘उतरैया’। जब हावा फूलको बास्ना लिएर बहन्छ, ‘फुलबसिया’ हुन्छ। यति मात्र होइन; गति, समय, स्वभाव, महीना, ऋतुका आधारमा मधेशमा हावाका अरू दर्जनौं नाम प्रचलित छन्।

यो मधेशको भाषिक सौन्दर्यको सानो नमूना हो। कुनै बिहान मधेशी गाउँ पुगेर त्यहाँको तिराहाको चिया दुकानमा एकछिन बस्नुस् र चिया पिउँदै बसिरहेकाहरूले ‘बतियाइरहेको’ सुन्नुस्। तपाईंलाई उनीहरूको ‘हास्य चेत’ ले चकित बनाउनेछ। त्यति वेलाको ‘बातचित’ कहिले ‘बकलोल’ लाग्छ र कहिले ‘बतंगड’ बनेर छ्यालब्याल हुन्छ। कहिले त्यही बातचितमा ‘बतकही’ को रोचकता थपिन्छ र कहिले ‘कहबी’ र ‘कहावत’ को गहनता। सौहार्द मिसिए त्यही बातचित ‘बतरस’ बन्छ। बतरसमा सामेल भएर आनन्द लिनुभए तपाईं ‘बतरसिया’ बन्नुभयो।

कहिलेकाहीं चिया दुकानमा आइपुग्छन् ‘बतछुट’हरू, जो सोचविचारै नगरी बोल्छन्। तिनैले गर्दा कहाँको बातचित कहाँ पुगेर ‘बतबढाव’ बन्छ र कहिले आपसमा ‘कहाकही’ या ‘कहासुनी’ हुन्छ, थाहै हुन्न। त्यही चिया दुकान बाहिरको बेन्च, स्टूल या तखतमा बसेर साथीभाइ आपसमा ‘चकल्लस’, ‘कहाकही’, ‘ठिठोली’ या ‘छेडछाड’ गरिरहेका पनि हुन सक्छन्। अलिक ठूलो स्वरमा गरेको ‘दिल्लगी’ लाई तपाईं ‘झगडाबखेडा’ या ‘रार’ भनेर नतर्सिनुहोला। साथीभाइ या आफन्तबीच आत्मीय घोचपेच, व्यङ्ग्य या हँसीमजाक गर्ने र त्यसलाई सोही रूपमा बुझ्ने गजबको बोध–संस्कृति मधेशमा छ। त्यो संस्कृति बुझ्नुभएन भने तपाईंले मधेशको दैनन्दिनीको एउटा समृद्ध पाटोलाई पनि फिटिक्कै बुझ्नुहुने छैन।

काठमाडौंमा तपाईंको आफ्नै घर जोडिएको
छिमेकीसित वर्षौं चिनजान नभएको हुन
सक्छ। तर, मधेशको गाउँ वा देहातमा
पुग्नुस्, घरबाट निस्किएको कुनै व्यक्तिले
बाटोमा भेटिने आफूभन्दा उमेरदारहरूलाई
कि चाचाचाची भनेर अभिवादन गरिरहेको
हुन्छ।
मधेशका गाउँ या देहातलाई बुझ्न चाहनुभयो र किसानसित उनको गाईगोठनिर बिछ्याइएको ‘खटिया’ या ‘चारपाई’ मा बसेर वार्तालाप थाल्नुभयो भने तपाईं विज्ञता र ज्ञानको अर्को फराकिलो आयामसित परिचित हुनुहुनेछ। असहज व्यवहार देखाइरहेको गाई/भैंसी देखाउँदै उनले सजिलै भन्न सक्छन्– त्यसलाई यति वेला ‘छुतही’, ‘लगँडा बुखार’ या ‘सर्रा’ जस्तो संक्रामक रोग लागेको छ कि जीउ चिलाउने ‘खरसैला’ ले सताएको छ; पेट फुल्ने ‘अफरा’ ले आक्रान्त पारेको छ कि घाँटी सुन्निने ‘गलघोंटू’ ले पिरोलेको छ; खुरमा भएको घाउ ‘खुरहा’ या ‘खुरपका’ ले सताइरहेछ या मुखमा भएको ‘मुहँपका’; आँखा दुखिरहेको छ या ‘रतौंधी’ ले सताएको छ; थुनमा चोट लागेर ‘थनैला’ ले दुःख दिएको छ कि ‘फिडकिया’ भएर अस्वाभाविक किसिमले सिङले भित्ता हिर्काउन थालेको छ।

काठमाडौंमा तपाईंको आफ्नै घर जोडिएको छिमेकीसित वर्षौं चिनजान नभएको हुन सक्छ। शहर यस्तै हो। आत्मीयता यहाँ व्यावसायिक कुरा भइसकेको छ। तर, मधेशको गाउँ वा देहातमा पुग्नुस्, घरबाट निस्किएको कुनै व्यक्तिले बाटोमा भेटिने आफूभन्दा उमेरदारहरूलाई कि चाचाचाची भनेर अभिवादन गरिरहेको हुन्छ या काकाकाकी भनेर ‘पायँलागी’ गरिरहेको हुन्छ। सबैलाई सबैको घरको पीरव्यथा थाहा छ। सबै सबैको घरको खुशी र आनन्दबारे जानकार छन्। तपाईं कुनै एउटा घरको पाहुना हुनुभयो भने पूरा गाउँको पाहुना हुनुभयो। साँझ–बिहान तपाईंको कुशलक्षेम सोध्न पालैपालो सारा गाउँ आँगनमा आइपुग्नेछ। शहरमा जस्तो तपाईं छतमा बसेर दूर–संवाद गर्नु पर्दैन, एउटै खटिया या चारपाईमा बसेर आत्मीयता साटासाट गर्न पाउनुहुनेछ।

मधेशी परिवारको पाहुना हुँदा तपाईंले बुझ्नुहुनेछ, आतिथ्य र आत्मीयताको अर्थ। अनि थाहा पाउनेछ, खाजा अर्थात् ‘जलखई’ या ‘पनपियाई’ का रूपमा तपाईंको जिब्रोले वर्षौं नबिर्सने मौलिक स्वाद। घमन्जा, लिट्टी, चोखा, दलपिट्टी, चना कचौरी या प्याजीको स्वादले तपाईंलाई चकित बनाउनेछ। तपाईंलाई गुलिया मन पर्छ भन्ने थाहा पायो भने मधेशले आतिथ्यमा प्रस्तुत गर्नेछ– हलुवा पराठा, मलाई र राबडी। देहातमा त्यस्तो परिकार नहोला, तर गुलियो बतासा, गुजिया, रातो जलेबी पक्कै हुनेछ।

खानपिन र स्वादको विविधता र वैशिष्ट्यले मधेशको साधारण भान्सालाई पनि विशिष्ट बनाउँछ। मधेशको कुनै बजार या कस्बामा केही दिन बिताउनुस्, बिहानै बजार या चोकतिर घुम्न निस्कनुस्। स्वादको पारखी हुनुहुन्छ भने केकस्ता खाजा र खाना भेटिन्छन्, खोजी गर्नुस्, चाख्नुस्। मधेशले कहिल्यै तपाईंलाई तृप्त गरे बापत अस्वाभाविक मूल्य असूल गर्दैन।

चाडबाडमा घरमा गरिने सरसफाइ, भित्तामा बनाइने चित्रकला या भित्ते चित्र अनि साँझबिहान बज्ने बाजागाजा, गुन्जने गीतले त्यहाँको सांस्कृतिक विराट्तालाई सहज रूपमा प्रकट गरिरहेको देखिन्छ। अझ कुनै अग्घोर पूर्वाग्रह, धार्मिक उन्माद या रिसराग नराखी गाउँ गाउँमा प्रातः भ्रमणमा निस्कनुभए अगलबगल रहेका मन्दिर र मस्जिदबाट पालैपालो आइरहने भजन र अजानको आवाजले पनि तपाईंलाई मोहित बनाउनेछ।

मधेशसित तपाईंलाई मुग्ध गराउने अनेक कुरा छन्। बाँकी त तपाईंको हेराइ र बुझाइ न हो। अझ कुन धरातलमा उभिएर हेर्नुहुन्छ, त्यसले पनि तपाईंको मधेशप्रतिको बुझाइ प्रभावित पर्छ। घुमेर आएपछि तपाईं घरपरिवारमा या साथीभाइमाझ मधेशको कस्तो छवि प्रस्तुत गर्नुहुन्छ र कस्तो कथा सुनाउनुहुन्छ भन्ने कुराले नै मधेशप्रतिको तपाईंको दृष्टिकोण, आग्रह र पूर्वाग्रह झल्काउँछ। तपाईं त्यहाँको लूको चर्चा गर्नुहुन्छ कि फुलबसिया हावाको पनि उल्लेख गर्नुहुन्छ? त्यहाँको फोहोर बढी देख्नुहुन्छ कि घमन्जाको स्वादको चर्चा बढी रुचिकर मान्नुहुन्छ? मधेशको सामाजिक सद्भावलाई तपाईं बढी ग्रहण गर्नुहुन्छ कि त्यहाँका नेताहरूको दलबदलु चरित्रको चर्चा गर्दा आनन्दको अनुभूति गर्नुहुन्छ?

नमीठो सुनिए पनि यति त निर्धक्क भन्न
सक्छु, मधेशका सन्दर्भमा नेपाली भाषाको
साहित्यले त्यस्तो पर्खाललाई भत्काउने
खासै बलियो प्रयत्न गरेको छैन। बरु
त्यसमा केही इँट झनै थपथाप गरेको छ।
यो सानो लेखमा मधेशबारे तपाईंको बुझाइ र तपाईंले सुनाउने कथाको लम्बेतान विश्लेषण गर्न म असमर्थ छु। तर, यति ढुक्कले भन्न सक्छु, मधेशबारे तपाईंले आफ्नो घरपरिवार या साथीसँगातीलाई जेजस्तो कहानी, बतकही या आख्यान सुनाउँदै आउनुभएको छ, त्यसले मधेश, पहाड या हिमालबीच एउटा बलियो पर्खाल त खडा गरेकै छ।

नमीठो सुनिए पनि यति त निर्धक्क भन्न सक्छु, मधेशका सन्दर्भमा नेपाली भाषाको साहित्यले त्यस्तो पर्खाललाई भत्काउने खासै बलियो प्रयत्न गरेको छैन। बरु त्यसमा केही इँट झनै थपथाप गरेको छ। दया या सहानुभूतिले यस्तो पर्खालको उचाइ घट्दैन। मधेशी समाजको फराकिलो आयामको पिँधमा पुग्ने कुरा त छाडिदिऊँ, त्यसको बीचतिर पनि हैन, सतह सतहमा अल्झिएको छ हाम्रो लेखनी। अलिकति अखबारी सूचना, अलिकति मधेश घुम्दाको रुमानी अनुभूति, अलिकति रिक्शा, टाँगा या ई–रिक्शा चढ्दा चालक या यात्रुसित गरिएका सतही कुराकानी, अलिकति आफ्नै समकालीन साथीहरूले सुनाएका मधेश–वृत्तान्तले हामीले मधेशबारे सोलोडोलो धारणा निर्माण गरेका छौं र मधेशको त्यही धूमिल अनुहारलाई अझै धूमिल बनाएर बडो आधिकारिकताका साथ पाठकीय बजारमा प्रस्तुत गरिरहेका छौं।

त्यसैले त हाम्रो साहित्यमा विगतदेखि आजसम्म पनि मधेशी पात्र मैलो, फोहोरी, दीनहीन, चेतनाविहीन, दरिद्र र लाचार नै बढी देखिन्छ। अलिक प्रगतिशील हुने चेत छ भने हामी मधेशको त्यस्तो छवि निर्माणमा मधेशी नेता या मधेशको राजनीति नै जिम्मेवार रहेको भाष्य स्थापित गरिदिन्छौं र के के न लेख्यौं भनेर आफ्नो पिठ्युँमा आफैं धाप दिन्छौं। मधेशको यथार्थ लेख्ने नाममा हामी मधेशको समय र त्यसले निर्माण गरेको चेतलाई खासै वास्ता गरिरहेका छैनौं।

हामी जुन चश्मा लगाएर बसेका छौं, त्यसले मधेशको दृश्यलाई स्पष्ट हेर्न नदिएको हुन सक्छ। त्यस्तो स्थितिमा चश्मा बदल्नुपर्ने हुन सक्छ। अथवा, आफू उभिएको ठाउँ अलिकति बदलेर दृश्यको अझै नजिक पुग्नुपर्ने हुन सक्छ। तर, त्यसरी नजिक पुग्दा केवल सहानुभूतिको भाव राख्यौं भने फेरि पनि हामी र हाम्रो साहित्यले मधेशलाई ठीक ठीक नबुझिरहेको या नबुझाइरहेकै ठहरिनेछ। जब हामी समानुभूति या समभावले हेर्ने बानी बसाल्छौं, बल्ल मधेश हाम्रो बोलचाल र लेखनीमा पूर्ण गरिमाका साथ उपस्थित हुनेछ। नत्र त मधेशबारे हामीले लेख्ने आख्यान या गर्ने विमर्श केवल समय बिताउन ‘बकलोल’हरूले गर्ने अर्थहीन ‘बकताई’ मात्र हुनेछ, जसमा ‘यथार्थ’ को नाममा मधेशको मुहार फेरि पनि मैलो नै देखिनेछ। तर, मधेश ‘मैलो’ छैन।

(पाण्डे साहित्यकार हुन्।)

comments powered by Disqus

रमझम