असोज २०७९ | 17/09/2022

दलित सरोकार कसले लेख्ने, किन लेख्ने ?

Share:
  
- रणेन्द्र बराली
दलितका विषयमा साहित्य लेखिरहेका दलित र गैरदलित दुवै समुदायमा प्रष्ट वैचारिकीको समस्या देखिन्छ।

नेपाली साहित्यकारहरूले आफ्ना सिर्जनामा दलित समुदायको अवस्था चित्रण गर्न थालेको झण्डै शताब्दी पुग्यो। ठूलो पर्दाका चलचित्र, धारावाहिक, उपन्यास, कथा, नाटक, गीत, कवितासम्मका विधाले दलित समुदायका कथा–व्यथा समेटेका छन्। राजनीतिक दलका घोषणापत्र र विधानमा समेत जातीय मुक्ति र समानताका विषय अनिवार्य हुन्छन्।

यसरी दलितका सवालमा लेखिने हरेक सन्दर्भले जातीय विभेद विरुद्ध र सामाजिक न्यायको पक्षमा वकालत गरेका हुन्छन्। यस्ता सिर्जनाले नेपाली समाजमा चाहिं कस्तो प्रभाव पारेका छन् त? दलित समुदायकै कोणबाट नियाल्दा यसमा फरक दृष्टि आउन सक्छ।

दलित साहित्यमा गैरदलित साहित्यकार

ब्राह्मण–क्षेत्री सहितका जातीय समुदायले नै शिक्षा र राजनीतिमा आजपर्यन्त वर्चस्व कायम गरिरहेका छन्। विसं २००९ मा धनमानसिं परियारलाई नेपाली कांगे्रसको महामन्त्री बनाउने बीपी कोइराला ब्राह्मण हुन्।

कुनै वेला कम्युनिष्ट पार्टीका अग्रणी नेता कहलिएका रूपलाल विश्वकर्मालाई २०१८ सालमा पार्टी राजनीतिमा प्रवाहित गराउने लक्ष्मीभक्त उपाध्याय लगायत पनि उपल्लो भनिएकै जातका हुन्। नेपाली साहित्यमा सबैभन्दा पहिला जातीय विभेदको सवाल उठाउने महाकवि लक्ष्मीप्रसाद देवकोटा ब्राह्मणै हुन्। उनले २०१० सालदेखि नै साहित्यमा दलित समुदायको मर्म, पीडा र वेदना प्रस्फुटन गर्न थालेका थिए।

ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला
एउटै मासु एउटै रगत, एउटा अर्को केलाई
सियोको टुप्पोले मुटु बिझ्यो दमै दाई
आज देशलाई देखेर।

२०११ सालमा मुक्तिनाथ तिमिल्सिनाले को अछूत उपन्यास लेखे। यसलाई जातीय कुप्रथा चिर्ने पहिलो, रसिलो र चोटिलो आख्यान मानिन्छ। उपन्यासमा अछूत मानिएका नश्लका मानिस खाँट्टी ब्राह्मण भएका र घरानियाँ क्षेत्री–ब्राह्मणका नश्ल चाहिं अछूत भएर कष्टकर जीवन बिताएको विषय बुनिएको छ।

दलितका सवालमा लेखिने हरेक सन्दर्भले
जातीय विभेद विरुद्ध र सामाजिक
न्यायको पक्षमा वकालत गरेका हुन्छन्।
यस्ता सिर्जनाले नेपाली समाजमा चाहिं
कस्तो प्रभाव पारेका छन् त?

यसै क्रममा केवलपुरे किसानको चिठी (२०१२), बालकृष्ण समको चिसो चुल्हो (२०१५), मोदनाथ प्रश्रितको मानव महाकाव्य (२०२२), खगेन्द्र संग्रौलाको खरानीमुनिको आगो कथा (२०२७), हरिहर खनालको अजम्बरी गाउँ कथा (२०२७) लगायत साहित्यिक कृतिले नेपाली समाजमा विद्यमान जातीय विभाजनलाई चोटिलो प्रहार गरेका छन्।

यी रचनाले दलित–चेतनाको सशक्तीकरणमा अहं भूमिका खेलेका छन्। यसका साथै सिद्धिचरण श्रेष्ठ, निनु चापागाईं, शरद पौडेल, तारालाल श्रेष्ठ, नवराज लम्साल जस्ता थुप्रै साहित्यकारले दलितका चेतना, सौन्दर्यशास्त्र र अधिकारका प्रसङ्गलाई विषयवस्तु बनाई निकै गहिरिएर कलम चलाएको पाइन्छ।

नेपाली दलित साहित्य लेखनमा दलित समुदायका स्रष्टा पनि करीब समकालीन हिसाबले नै बाहाँ फैलाउन अग्रसर भेटिन्छन्। टीआर विश्वकर्माको बाँच्ने ठूलो कविता संग्रह (२०१७), जवाहर रोकाको वारेन्ट कथा संग्रह (२०२७), पदम सुन्दाशको चोरिएको रात कथा संग्रह (२०२५), डम्मर पहाडीको नझुकेको स्वाभिमान नाटक (२०४४), चक्रमान विश्वकर्माको दलितहरूका मुक्तिको बाटो (२०४७), आहुतिको नयाँघर उपन्यास (२०५०), रणेन्द्र बरालीको आफ्नै व्यथा नाटक (२०५६), सरोज दिलुको रातै छ रगत हाम्रो पनि नाटक (२०५६), पञ्चकुमारी परियारको आँखा र सपनाहरू कविता संग्रह (२०६५) आदि। यस्ता थुप्रै स्रष्टाले दलित मुक्तिको सन्दर्भ जोडेर साहित्य सिर्जना गरेका छन्।

गैरदलित समुदायबाटै आएका गीतकार मञ्जुलको प्रस्तुत गीतांश दलित समस्यालाई सही रूपमा बोध गर्न सफल छ।

मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिनँ
जाति र पाति छुट्ट्याउने रीतलाई म मान्दै मान्दिनँ,
ठूलो र सानो यो भेदभाव ठालूले बनाए
गरीबको श्रम लुटेर खाने चलन चलाए...।

लेखक र दृष्टिकोण

दलित समुदायका साहित्यकारले साहित्यिक माध्यमबाट उठाउने मुद्दा मुख्य तीन वटा छन्। पहिलो, पुरातन संस्कार चिर्ने, दोस्रो, चेतना जगाउने र तेस्रो, राजनीतिक रूपमा अधिकारसम्पन्न बन्न अग्रसर गराउने। यो पंक्तिकारद्वारा लिखित हाम्रो संस्कार र संस्कृति पुस्तकमा पुरातन संस्कार चिर्ने थुप्रै आधार पेश गरिएका छन्।

दलित समुदायका साहित्यकारले
साहित्यिक माध्यमबाट उठाउने मुद्दा
मुख्य तीन वटा छन्। पहिलो, पुरातन
संस्कार चिर्ने, दोस्रो, चेतना जगाउने र तेस्रो,
राजनीतिक रूपमा अधिकारसम्पन्न
बन्न अग्रसर गराउने।

सचेतना जगाउनमा रूपलाल विश्वकर्माको बोल्छ नेपाल (२०३२) र युग फेरिन्छ (२०४४) गीत संग्रह, आहुतिको वर्ण व्यवस्था र वर्ग संघर्ष (२०६७), छविलाल विश्वकर्माद्वारा सङ्कलित/सम्पादित मानव मर्यादाका गीतहरू*, जवाहर रोकाका डा.अम्बेडकर भर्सेज हिन्दुवाद जस्ता थुप्रै कृतिको ठूलो भूमिका छ।

राजनीतिक अधिकारका सवालमा दलित लेखकहरूबाट लेखिएका रचनाहरूको पनि आफ्नो ठाउँमा ठूलो महत्त्व छ। यिनमा यमबहादुर किसानका नेपालमा सकारात्मक उपाय र सामाजिक समावेशीकरण र दलितमैत्री निर्वाचन प्रणाली, तिलक परियारको मार्क्सवाद र दलित जस्ता कृति अग्रणी छन्।

दार्शनिक अध्ययनको खाँचो

अहिलेसम्म दलित साहित्यको दार्शनिक पक्षबाट यथेष्ट अध्ययन हुन सकेको छैन। लिखित साहित्य र त्यसको परम्परागत अध्ययनले पछिल्लो कालखण्डमा बिस्तारै गति लिएको मात्र हो। साहित्यको स्वरूप, मान्यता, ढाँचा, संरचना लगायत विषयलाई आधार बनाएर दलित सौन्दर्यको पहिचान गर्ने प्रयाससम्म भएको छ। यस सन्दर्भमा पनि विद्वान्का मत बाझिएका छन्। दलितहरूको अधिकार प्राप्ति र सौन्दर्य पहिचानको काम गैरदलित समुदायबाट हुन सक्छ/सक्दैन भन्ने विषयमा अध्येताहरूको चासो देखिन्छ।

भारतीय विद्वान्हरूले दलितहरूले नै आफ्नो पीडाको अभिव्यक्ति गर्दै मुक्तिको अपेक्षासाथ लेखेको र गैरदलितले दलित मुक्तिका पक्षमा लेखेको साहित्य गरी मुख्य दुई मत अघि सारेका छन्। साहित्यकार कँवल भारतीले युद्धरत आदमी (सन् २००५) पुस्तकमा दलित साहित्यलाई दलितहरू आफैंले आफ्नो पीडा पोखेको साहित्यका रूपमा चिनाउँदै गैरदलितको लेखाइ दलित साहित्य हुन नसक्ने मत जाहेर गरेका छन्। तर, यो मतलाई निरपेक्ष ढङ्गले स्विकार्न सकिँदैन।

दलितप्रति हीनभाव राखिरहने, दिग्गज
दलित अधिकारवादी भन्नेले पनि दलित
समुदायसँग छलफल गर्दा छुवाछूतलाई
‘तपाईंहरूको समस्या’ भन्ने प्रवृत्ति देखिन्छ।
के जातीय विभेद देश, सरकार अनि
राजनीतिक दलकै समस्या होइन र?

लेखाइमा भिन्नता

गैरदलित साहित्यकारका रचना हेर्दा ऐन–मौकामा खास विषयको उठान गर्नु, भाषाशैली र लेखनकला स्तरीय हुनु अनि विभिन्न क्षेत्रमा दलितका सरोकारलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन प्रयास गर्नु महत्त्वपूर्ण कार्य हुन्। तथापि, विषयवस्तुको अन्तर्यमा केही कुरा अस्वाभाविक प्रतीत हुन्छन्। जस्तो– दलितप्रति हीनभाव राखिरहने, दिग्गज दलित अधिकारवादी भन्नेले पनि दलित समुदायसँग छलफल गर्दा छुवाछूतलाई ‘तपाईंहरूको समस्या’ भन्ने प्रवृत्ति देखिन्छ। के जातीय विभेद देश, सरकार अनि राजनीतिक दलकै समस्या होइन र?

दलित समुदायका लेखकहरूमा देखिने मूल समस्या चाहिं वैचारिकी हो। अध्यात्मवादको जगमा विकसित सामन्ती संरचनामा आधारित जातिवाद हटाउन त्यसैमा डुबेर मुक्तिको कुरा गर्नु पानीमा डुबेर ओभानो हुन खोजे जस्तै हो। वर्गीय स्वार्थ र सिद्धान्तप्रति स्पष्ट नहुनु, ब्राह्मणवाद र ब्राह्मण जातिलाई सोलोडोलो एकै ठाउँ राखेर धारणा बनाउनु, ब्राह्मणभित्रै पनि थुप्रै मानिस पुरातन संस्कार विरोधी हुने अनि दलितभित्रै पनि थुप्रै ब्राह्मणवादी चरित्रका मान्छे हुन सक्नेतर्फ स्पष्ट नहुँदा लेखनले गलत दिशा समात्ने जोखिम रहन्छ।

साहित्यकार जुनसुकै समुदायको भए पनि दलित सम्बन्धी लेखनमा खट्कने भनेकै स्पष्ट दृष्टिकोणको अभाव हो। मूलतः भौतिकवादी विज्ञानका आधारमा बनेको वैचारिक सिर्जनाबाट मात्र जातिवाद लगायत रूढिग्रस्त संस्कारलाई परास्त गरी समतामूलक समाज निर्माणको वकालत हुन सक्छ। वस्तुवादी दर्शनले मात्र दलित साहित्यको सौन्दर्य उजागर गर्न सक्छ।

दलित मुक्तिको पक्षमै पैरवी गरिरहँदा पनि वैचारिक अस्पष्टताले मुक्ति आन्दोलनलाई नै धरापमा पार्ने तथा सिङ्गो दलित समुदायमा अहंभाव जगाइदिने जोखिम पनि रहन्छ। जस्तो– दुई दर्जनभन्दा बढी कृतिका लेखक मधुसूदन पाण्डेयले नेपालका दलितहरू पुस्तकमा ‘दलितहरू काला हुन्छन्, जँड्याहा हुन्छन्, अनपढ हुन्छन्, यिनीहरूको सचेतना जगाउने र मुक्ति आन्दोलन चलाइदिने काम गैरदलितले गरिदिनुपर्छ’ लेखेका छन्।

दलित अधिकार कसैले दया, दान र भीखमा दिने वस्तु होइन। जातीय समानता र मानवीय मर्यादा सम्पूर्ण उत्पीडित समुदायको नैसर्गिक अधिकार हो। अहिलेसम्म प्राप्त अधिकार उही समुदायको संघर्षको उपज हो भन्ने बुझ्न जरुरी छ। राज्यले उत्पीडनमा पारिएका समुदायलाई क्षतिपूर्ति सहित अधिकारसम्पन्न बनाउनुपर्ने पक्षमा वकालत गर्दै त्यसै अनुसार साहित्य सिर्जना गर्नु समयसापेक्ष हुन आउँछ।

(बराली नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष हुन्।)

comments powered by Disqus

रमझम