२ मंसिर २०७० | 17 November 2013

जहाँ महिला हिंसा हुँदैन

Share:
  
जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायमा अरू समुदायमा जस्तो महिला हिंसा हुँदैन।

यामकुमारी कँडेल
गत दशैंको ठीकअघि १४ कात्तिकमा मदुस (काठको बाकस) बेच्न गाउँ पसेका चार जना राउटे महिला व्यापार नभएपछि अस्थायी वासस्थान राउटे डाँडातर्फ फर्किरहेका थिए। सुर्खेतको जर्बुटा गाविसमा पर्ने जोगिटार खोलाछेउमा थकाइमारिरहेका उनीहरूलाई हेर्न भीड लाग्न थालेपछि अत्तालिएका उनीहरू मदुस बोकेर हतार–हतार उकालो लागे। केही माथि पुगेपछि भारी बिसाएका उनीहरूसँग कुरा गर्न खोज्दा यो संवाददाता महिला भएकाले उनीहरू तयार भए। राउटे महिलाले अर्को समुदायको पुरुषसँग कुरा नगर्ने चलन रहेछ।

समूहको नेतृत्व गरिरहेकी २५ वर्षीया महिला एउटा आँखाले राम्ररी देख्न सक्दिरहिनछिन्। कालो र नीलो पोते लगाएकी उनले आफ्नो नाम नै नभएको बताइन्। दुई छोरी र एक छोराकी आमाले 'आफ्नै राउटे समुदायका छोरा मान्छेसँग बोल्ने नियम भए पनि धेरै बोल्न चाहिं नमिल्ने' बताइन्। “जो भए पनि छोरी मान्छेहरूसँग जति बोले पनि भइहाल्छ, छोरा मान्छेहरूसँग धेरै बोल्न परेको पनि छैन”, उनले भनिन्।

अरूलाई मानिस र आफूलाई राउटे भन्ने ती महिलाले मदुस बिक्री गर्न गाउँ डुल्दा केटाहरूले केटी जिस्क्याएको र पुरुषहरूले महिलालाई कुटेको देख्दा आफूहरू छक्क पर्ने बताइन्। “त्यस्तो लडाइँ गर्ने भया त किन बिहा गर्ने?” आफ्नो समुदायमा पुरुषले महिलामाथि कहिल्यै हिंसा नगर्ने बताउँदै उनले भनिन्, “पुरुषहरू श्रीमतीसँग रिसाएर केही दिन नबोले पनि हातपात गर्दैनन्।” गरे भने उनीहरू कठोर सामाजिक कारबाहीमा पर्दा रहेछन्।

अरू समाजमा पुरुषले महिलालाई दुर्व्यवहार गरे कानूनले सजाय दिन्छ, राउटे समाजमा भने महिलामाथि हिंसा गर्नेलाई समुदायले दण्डित गर्दो रहेछ– कुटपीटदेखि बस्तीबाट निकाल्नेसम्मको। यसरी चर्को सजाय दिने परम्परा भएकोले राउटे समाजमा महिलामाथि हिंसा हुँदो रहेनछ। पढ्ने–पढाउने चलन नहुनु राउटे समुदायको सबभन्दा नराम्रो पक्ष हो। समूहकी विवाहित महिलाले आफूहरूको पुर्खाले नै नपढेकाले कोही पनि स्कूल नजाने बताइन्।

राउटे समुदायका अविवाहित महिलाले सेतो र रातो पोते लगाउने चलन छ। समूहमा रहेकी १९ वर्षीया जेठी राउटेले त्यस्तो पोते नलगाउँदा बुबाआमा रिसाउने बताइन्। 'आइमाईको नाम नहुने' बताउने जेठीले आफू पहिलो सन्तान भएकोले नाम पनि जेठी भएको बताइन्। उनकी १३ र १० वर्षीया बहिनी सँगै थिए। आफ्नो समुदायमा छोरालाई धेरै र छोरीलाई कम माया गर्ने भन्ने नहुने जेठीले बताइन्। आफ्नो एउटा मात्र भाइ भएको बताउँदै उनले भनिन्, “हामी मिलेर काम गर्छौं बाँडेर खान्छौं।”

राउटे समुदायमा छोरीहरू प्रायः गाउँतिर चामल–तरकारी लिन जान्छन् भने छोराहरू शिकार गर्न वन जान्छन्। समुदायमा जसले जे ल्याउँछ, त्यो सबैले बाँडेर खान्छन्। मदुस बनाउँदा पनि सबै मिलेर जुट्छन्। त्यसबाट आएको पैसा वा अन्नमा सबैको बराबरी भाग लाग्छ। राउटे समुदायको अर्को राम्रो पक्ष भनेको छोरीको विवाहमा जोरजबर्जस्ती नहुनु। १३–१४ वर्षमै छोरीको बिहे गरिदिने चलन भए पनि उसले केटा मन पराएको हुनुपर्छ। जेठीले आफूलाई मनपर्ने केटो नमिलेकोले १९ वर्षमा पनि बिहे नभएको बताइन्। “हाम्रो त मन पर्‍यो भन्या पछि बिहे गर्छौं, मन नपरेको भन्या पछि गर्दैनौं।”

एक महीनाअघि सुर्खेत झ्रेका राउटेहरू दैलेख जाने तयारमा छन्। जनगणना २०६८ अनुसार, राउटेको संख्या सुदूरपश्चिममा ३२१ र मध्यपश्चिममा ७२ मात्र छ। नेपालको लोपोन्मुख आदिवासी राउटेहरूको आफ्नै सांस्कृतिक परम्परा र मूल्यमान्यताका कारण सरकारी पुनर्स्थापना प्रयासहरू असफल भएका छन्। उनीहरूको बसोबास, शिक्षा र स्वास्थ्यका क्षेत्रमा हालसम्म भएका सरकारी प्रयास अपर्याप्त नै भन्नुपर्ने स्थिति छ।

यामकुमारी कँडेल

comments powered by Disqus

रमझम