असोज २०७९ | 17/09/2022

मायाको याम

Share:
  
- संगीत मगर
“सबैलाई त्यस्तै लाग्छ, साथमा सुन्दर वर्तमान हुँदाहुँदै कुरूप लाग्छ। कि भविष्यको चिन्ता गरेर कि विगतको भारी बोकेर सुन्दर वर्तमान बर्बाद बनाउँछ।”

उसै त जाडो याम, त्यसमाथि तराईको शीतलहर र तुवाँलो। मौसम देखेरै मन धुम्म हुन्छ। झन् यो छोटो दिनमा चाँडै आउने साँझले निकै चिसो बोकेर ल्याएको महसूस हुन्छ।

समयसँगै सम्बन्धहरू पनि फेरिँदै जाँदा रहेछन्। जिन्दगीको दौडमा सबैको गति तीव्र हुँदो रहेछ, मेरो जस्तै। दाङ छोडेपछि साथीहरूको सङ्गत पनि छुट्यो। हुन त सोसल नेटवर्क साइटहरूमा जोडिएकै छौं, तर आमनेसामने भएर आँखामा आँखा मिलाएर कुरा गरे जस्तो, हात समाएर हिंडे जस्तो हुँदैन। बोलचाल त हुन्छ, तर टाढाबाट गरिएको भिडिओ च्याटमा आँखाले भन्न खोजेका धेरै कुरा बुझ्न सकिएको हुँदैन।

धेरैपछि आफ्नो गृहजिल्ला आउँदा चोकमा बसेर हल्ला गर्ने साथीहरू छैनन्। सँगै पिउने, सँगै चुरोट तान्ने, निस्फिक्री गल्ली गल्ली डुल्ने साथीहरू छैनन्।

कोठामा कति बस्नु भनेर साँझपख निस्किएँ। मिलन चोक, दामोदर चोक हुँदै न्यूरोड पुग्ने वेला एउटा क्याफेमा आँखा गयो। भित्र छिरें। क्याफे लगभग भरिएको थियो। १० वर्षपछि देख्दा पनि पसले दाइ–भाउजूलाई चिनिहालें, पहिलेको चिया पसल अहिले क्याफे भएछ। बोलाउन खोजें, तर दुवै जना व्यस्त भएकाले स्टाफसँगै एउटा चुरोट मागें र बस्ने ठाउँ खोज्न कुनातिर नजर डुलाएँ। एक आकृतिमा गएर आँखा अल्झिए।

झ्यालनेर बसेकी थिइन् एक युवती। टेबलमा शायद ब्ल्याक कफी, हातमा किताब। पढालु युवती देखेर ध्यान तानिइहाल्यो। खुला छोडेको सिल्की कपाल, अफ सोल्जर टिसर्ट, ब्लु जिन्स र अनुहारमा न्यूड मेकअप।

त्यो अनुहार परिचित थियो, जसलाई १० वर्षसम्म स्मृतिको एउटा कुनामा राखेको थिएँ। वर्षौंपछि अचानक देख्दा असमञ्जसमा परें, बोलूँ कि नबोलूँ?

तर, उनीसँग बोल्ने चाहनाको भेलले सङ्कोचको बाँध भत्कायो। उनीसामु गएर भनें, “एक्सक्युज मी, के म यो कुर्सीमा बस्न सक्छु?”

किताबबाट नजर नहटाई बोलिन्, “अफकोर्स।”

उनी डा. सन्दुक रुइतको आत्मकथा पढ्दै रहिछन्। उनको छोटो उत्तर र मप्रतिको उपेक्षा बिझायो। भनें, “पढाइमा कति डुबेको हो स्मृति?”

बल्ल किताबबाट नजर उठाइन्। एकैछिन ट्वाल्ल परिन् र बोलिन्, “अरे सुशान्त! तिमी? के छ? कहिले फर्केको दाङ?”

“तिम्रो सामुन्नेमै छु, जे छु। तीन–चार दिन भो फर्केको। अनि तिम्रो के छ?”

“ठीक छु।”

“तिमी त निकै बदलिइछ्यौ। लवाइ बदलिएछ, पढ्ने बानी चाहिं उही रहेछ।”

“रूखले बोक्रा फेर्दैमा रूख कहाँ बदलिएको हुन्छ र!”

“हो हो, अब दार्शनिकहरूसँग कसले सक्छ र? बरु भन अरू के कस्तो छ जिन्दगीमा?”

“अचानक आएर जिन्दगीको कहानी सोध्छौ तिमी?” मोबाइल हेर्दै भनिन्, “ओहो! मेरो त जाने वेला पो भयो। सरी ल।”

उनी जान लागिन्।

“ओके। तिम्रो फेसबूक आईडी देऊ न। वेलामौकामा कुरा गरौंला।”

उनले भनिन्, “फेसबूक आईडी त दिन्छु, तर म च्याटमा बस्दिनँ।” “उसो भए मोबाइल नम्बर देऊ न त।”

तर, दिइनन्। बरु उल्टै मेरो नम्बर मागिन्, आफैं कल गर्छु भनेर। मैले भिजिटिङ कार्ड दिएँ।

कार्ड हेरेर उनी पहिले जस्तै मुस्कुराइन्, “बधाई छ, तिमीले देखेको सपना पूरा भएछ।”

यति भन्दै उनी क्याफेबाट बाहिरिइन्।

मलाई त स्मृतिसँग कति धेरै कुरा गर्नु थियो। मसँग सम्पर्कविहीन हुँदाको १० वर्षको हिसाब मागे हुन्थ्यो भन्ने लागेको थियो, झगडा गरे हुन्थ्यो भन्ने लागेको थियो। तर, एक–दुई संवादमै यतिका पछिको भेट अन्त्य भयो।

उनी गएपछि अघिसम्मको चुरोटको तलतल पनि हरायो। चुरोट खल्तीमा राखें र त्यहाँबाट निस्किएँ। तुलसीपुर चोकसम्म पुग्दा अँध्यारो भइसकेको थियो। चिसो पनि अझ बढे जस्तो लाग्यो।

घर फर्किएँ। छतमा गएँ। र, चुरोट तान्न थालें। अग्लो ठाउँको तीनतले यो घरबाट शहरमा बलिरहेका बत्ती आकाशका तारामण्डल जस्तै देखिए।

000
यो शहरसँग मेरा धेरै सम्झना गाँसिएका छन्। जहाँको सडकमा मेरो बाल्यकालका पाइलाहरू टेकिएका छन्, जहाँको हावामा किशोरवयको चञ्चलता मिसिएको छ। माया गर्ने धेरै जना भेटेको थिएँ। स्मृतिसँग यहीं भेट भएको थियो।

स्मृति र म प्लस टु सँगै पढेका हौं। उनी औसत विद्यार्थी थिइन्। पढ्न भने खूबै रुचाउँथिन्, तर कोर्स बाहिरका किताब।

जिस्किरहने, हाँसिरहने, बोलिरहने भएर होला, उनलाई सबैले मन पराउँथे। उनी बोलक्कड तर म कम बोल्ने स्वभावको। बोलाइरहेपछि म पनि उनीसँग बोल्न थालें। बसाइ एकैतिर भएकाले आउने–जाने पनि सँगै हुन थाल्यो।

स्मृति मसँग पढाइका कुरा सिकाइ माग्थिन्। म उनलाई भ्याएसम्म सिकाउँथें। बदलामा उनी साँझमा बजार डुलाउँथिन्। हामी हरेक गल्ली गल्ली गएका छौं। पानीमा रुझ्दै चोकको चिया पसल पसेका छौं।

जसै पढाइ सकियो भेट्ने बहाना सकिए।

मलाई उच्च शिक्षा यहाँ लिनु थिएन। सानो ठाउँमा खुम्चिनु थिएन। सिक्नु थियो। फैलिनु थियो। यसैले काठमाडौं जाने विचार गरें।

एक साँझ स्मृतिलाई बोलाएँ, उही सधैंको चिया पसलमा। काठमाडौं जान लागेको सुनाएँ। उनी स्तब्ध भइन्, “यहीं पनि त पढ्न मिल्छ। सँगै पढौं न।” तर, मैले निर्णय गरिसकेको सुनाएँ।

केही नबोली उनी जुरुक्क उठिन् र सरासर हिंडिन्। उनको पछि पछि लागें। उनको एकोहोरो हिंडाइमा बेचैनी थियो। केही बेरपछि रोकिइन्। मतिर हेरिन्। आँखा टिलपिल थिए। दबेको स्वरमा भनिन्, “मलाई तिमी मन पर्छ, साथीभन्दा धेरै।”

झसङ्ग भएँ। मलाई पनि त उनी मन पर्थ्यो। कुरा गर्न मन पर्थ्यो, सँगै हिंड्न मन पर्थ्यो। तर, यो सबै बताएर उनका र मेरा आउने दिनहरू अप्ठ्यारोमा पार्न चाहँदैनथें। त्यसैले भनें, “हेर स्मृति, मलाई पनि तिमी मन पर्छ, तर साथीका रूपमा मात्रै। हामी टाढा रहे पनि बोलिरहौंला। तर, साथीभन्दा बढी नसोच, यो त हाम्रो पढ्ने र करिअर बनाउने वेला हो।”

“के आजसम्म तिमी र म सङ्गत गर्दा तिम्रो पढाइमा डिस्टर्ब भएको थियो र? अहिलेसम्म बाधा भएन, अब कसरी बाधा हुन्छ? मान्छे त म उही हुँ नि!”

मलाई कुनै पनि हालतमा बहकिनु थिएन। सबै ध्यान पढाइ र भविष्यमा लगाउनु थियो।

‘बाई’ पनि नभनी हामी छुट्टियौं।

त्यसको पर्सिपल्टै काठमाडौं हिंडें। खासमा अलि दिनपछि जाने योजना थियो, तर त्यहीं बस्दा फेरि स्मृतिसँग भेट हुनेछ र उनका आँखाले बाटो छेक्नेछन् भन्ने भयले म भागिरहेको थिएँ।

१० वर्ष थोरै समय होइन, तर व्यस्ततामा दिनहरू बितेको पत्तै भएन। शुरूका दिनमा पढाइ, त्यसपछि इन्टर्नशिप, अनि आफ्नै स्टार्ट–अप। दशकपछि बल्ल लाग्यो, अब करिअर बन्यो। त्यसपछि याद आए, घोराही र स्मृति। हुन त संघर्षका दिनहरूमा पनि उनी याद नआएकी होइनन्, हरेक सुन्दर चिज, सुन्दर घटनामा म उनलाई सम्झिन्थें। तर, जति सफलताको उचाइ छुँदै थिएँ, आफ्नाहरूसँग भने दूरी बढ्दै थियो।

सफलताको स्वाद चाखिसकेपछि त्यो खुशीभन्दा आफ्नाहरूसँगको सामीप्य प्यारो लाग्दो रहेछ। मलाई स्मृतिसँगका दिनहरू फेरि बाँच्न मन लागेर आयो। त्यसपछि दाङ फर्किएँ।

000
चुरोट सकिएर हात पोलेपछि वर्तमानमा आएँ। घरमा कसैसँग बोल्न मन लागेन। सरासर कोठामा पसें र ढ्याप्प ढोका लगाएँ।

स्मृतिसँग कुरा गरिहाल्न मन व्यग्र भयो। तर, दिउँसो भेट्दा न फेसबूक आईडी दिइन्, न फोन नम्बर। फेसबूक खोलेर उनको नाम खोजें। उही नामका धेरै आईडी भए पनि उनलाई ठम्याइहालें, फ्रेन्ड रिक्वेस्ट पठाएँ। व्यग्र भएर फेसबूकको भित्ता हेरिरहें, कुन वेला स्वीकार होला?

हेर्दाहेर्दै दुई घण्टा बित्यो, खाना खान बोलावट आयो। तर, खानै मन लागेन। बाहिरै खाएर आएको भनेर टारें।

मनमा बेचैनी झनै बढ्यो। आफैंप्रति अचम्म लाग्यो, उनीप्रति यस्तो व्याकुल रै’छु, तर आफूबाट उनलाई कसरी यतिका दिनसम्म लुकाएर राख्न सकेछु !

एक मनमा डर पस्यो, उनको बिहे पो भइसक्यो कि? दिउँसो पनि राम्ररी बोलिनन्।

अब भने मलाई छटपटी हुन थाल्यो। फेरि फेसबूक खोलें। अझै रिक्वेस्ट स्वीकार भएको थिएन। अधैर्य मनलाई उनको इनबक्समा एउटा मेसेज लेखेर टेको दिन खोजें, “फोन गर न। अर्जेन्ट छ।”

एउटा नयाँ नम्बरबाट फोन आयो। अचानक आशाका फूल ढकमक्क भए, स्मृति पो हो कि? झट्टै उठाएँ, “हेलो।”

“हाई, खाना खायौ? म स्मृति।”

‘छैन’ भन्न मन थियो, तर भनें, “खाएँ।”

अनि झर्किएँ, “फेसबूकमा रिक्वेस्ट किन एसेप्ट नगरेको?”

उनले शालीनताका साथ भनिन्, “म फेसबूक खासै चलाउँदिनँ। फेरि तिमीलाई साथी बनाएर पनि के गर्नु छ र? बोल्ने त होइनौ।”

“अब बोल्छु।”

“किन?”

“किनभने, बल्ल थाहा पाएँ, १० वर्षअघि मैले गरेको गल्ती।”

“बितेका कुरा गरेर अब के फाइदा?”

“होइन, मलाई त्यो विगत बाँच्न मन छ।”

“सबैलाई त्यस्तै लाग्छ, साथमा सुन्दर वर्तमान हुँदाहुँदै कुरूप लाग्छ। कि भविष्यको चिन्ता गरेर कि विगतको भारी बोकेर सुन्दर वर्तमान बर्बाद बनाउँछ।”

“अब गल्ती सुधार्छु।”

“हेर, हरेक चिजको आयु हुन्छ, एउटा याम हुन्छ। त्यसपछि त्यो खोज्नु र प्राप्त गर्ने चाहना राख्नु मूर्खता हो।”

“उसो भए मप्रतिको तिम्रो प्रेमको आयु सकियो? प्रेमको पनि आयु हुन्छ?”

“सकिएको होइन, तर प्रेमको स्वरूप बदलिसक्यो। त्यस वेला तिम्रो प्रेमका लागि म जे पनि गर्न तयार थिएँ, तर त्यो गलत रहेछ। जसलाई आफ्नो प्रेमको मूल्य थाहा हुँदैन, उसका लागि त्याग गर्नुको कुनै अर्थ रहँदैन। यसैले मैले मेरो प्रेमको स्वरूप बदलें। अब तिमीलाई प्रेम त गर्छु, तर तिमी मेरो हुनुपर्छ भनेर मान्न धेरै पहिले नै छाडिसकें। मेरो कल्पनामा हामी छुट्टिएको वास्तविक समयलाई कहिल्यै आउन दिन्नँ। किनभने, त्यो स्थितिमा मलाई पीडा हुन्छ, र म प्रेममा पीडित हुन चाहन्नँ।”

“उसो भए तिमीले मलाई पर्खिएनौ?”

“अहँ, तिनलाई पो पर्खेर बसिन्छ, जो तिम्रो प्रेमलाई पूजा समान ठान्छन्। फर्केर आउने बाटो नै बिर्सेर हिंड्नेको पर्खाइमा बसेर किन दुःखी हुनु!”

“फर्की आउँछ भन्ने आश थिएन?”

“तिमीले आशा गर्ने ठाउँ नै कहाँ राख्यौ र, सुशान्त? तिमीले अरू नै कुरा भनेर सम्बन्ध थाती राखेको भए पर्खिने थिएँ होला, तर जसले सफलता, पैसा, नाम र इज्जतका लागि आफ्नो प्रेम र आफूले प्रेम गरेकाहरूलाई छोड्न सक्छ, उसलाई प्रेम गरिरहन र पर्खिन मेरो अहंले दिएन।”

थप केही बोल्नै सकिनँ। बाँकी शब्दहरू घाँटीमै अड्किए। आँखा धमिला भए। फोन काटिदिएँ।

आज म ठीक त्यही ठाउँमा उभिएको छु, जहाँ उनले प्रेम प्रस्ताव राखेकी थिइन्, र मैले अस्वीकार गरेको थिएँ। यति वेला म ठीक उनको ठाउँमा उभिएको छु, मेरो ठाउँमा उनी। अब मैले उनले बाँचेका प्रेम अस्वीकारपछिका ती सबै पल बाँच्नु छ।

comments powered by Disqus

रमझम