असोज २०७९ | 17/09/2022

पुल

Share:
  
- सुबिन भट्टराई
अहिले पनि मलाई लागिरहन्छ, कुनै दिन दिलु दाइ पनि नदीको किनारमा टुप्लुक्क देखा पर्नेछन् र भन्नेछन्, “म त धेरै पर बोर्डरतिर पुगेर पो बाँचें। लाइफ त यत्तिकै कहाँ सिदिन्छ र हौ? कति पो इन्जई गर्नु छ।”

समयको आँखीझ्यालबाट चिहाइरहन मन लाग्छ, पन्ध्र वर्षअघिको जिन्दगी। समग्र गाउँ अनि नदी किनारमा बितेका समयले मगजमा छालले बगरलाई हिर्काए झैं हिर्काउँछ।

भेललाई चुनौती दिनु, बालुवामा लडीबुडी गर्नु, नदीमा ढुङ्गा हुर्‍याउने प्रतिस्पर्धा गर्नु, बगरमा बत्तिँदै दौडिनु, माझी दाइहरूसँग जिस्किनु, वारि आउँदै गरेको डुङ्गामा कोही आफन्त छ कि भनेर खोज्नु, छालसँग जिस्किनु... अनि... सबै स्मृतिको चाल्नोबाट छानिएर आउँछन् केवल दिलु दाइ। 

... ...  ...

त्यो साल हामीले स्कूल फेर्‍यौं। अमरपुरको सरकारी स्कूलमा थियो नै के र? जाडोमा भुइँको चिसो सुकुल, ओसिला भित्ता, तराईको गर्मीको कुरै नगरौं, त्यसमा पनि टिनको छाना तातेर हप्प, बर्खामा पानी पस्ने कक्षाकोठा (जसले गर्दा बर्खाभरि छुट्टी हुन्थ्यो), अनि महीनामा पन्ध्र दिन स्कूलमा हाजिर मात्र गरेर तलब पकाउने मास्टरहरू।

“त्योभन्दा त बरु घरमै मास्टर बोलाएर पढाउन लगाउँछु,” भन्नुहुन्थ्यो बुबा।

तर, त्यसो गर्नुपरेन। बेलापुरमा बोर्डिङ स्कूल खुलिदियो।

नदीको किनारमै थियो हाम्रो घर। बेलापुर नदीपारिको गाउँ। बीचमा नदी बाघ घुरे झैं डरलाग्दो गरी तेर्सिएको छ। तर्न पुल छैन (पुल बन्ने प्रक्रिया भर्खर मात्र शुरू भएको थियो)। पौडी खेलेर जाने आँट र छूट दुवै छैन। घुमेर पुग्ने बाटो छैन।

केही नहुँदानहुँदै पनि थिए नदी किनारमा तेर्सिएका डुङ्गाहरू र ती चलाउने माझी दाइहरू। बुबाले अठोट गरिसक्नुभएको थियो, हामी तीनै दिदीबहिनीलाई नदीपारिको बोर्डिङ स्कूल पठाउने। बुबाको निर्णयमा अमरपुरका केही गाउँलेहरू पनि मिसिए। जम्मा नौ जना हुने भयौं। बुबाले हामीलाई लैजाने-ल्याउने जिम्मा दिलु दाइलाई दिनुभयो, महीनावारी ठेक्कामा।

त्यस दिन हामी सबै जना उत्साहित थियौं। दिनमा दुई पटक डुङ्गा तरेर वारपार गर्न पाउनु पिकनिकभन्दा कम थिएन। अर्को, हाम्रो मगजमा बोर्डिङ स्कूलको कौतूहल पसेको थियो। खेलकूदका अनेकन् सुविधा, गर्मीमा नतात्ने टिन, शीतल कोठा, कोठामा पङ्खा, डेस्क-बेन्च, मायालु शिक्षक-शिक्षिका... आदि।

...  ...  ...

एक दिन हामी स्कूलबाट फर्किंदा किनारमा बिँडी फुकेर पर्खिरहेका थिए दिलु दाइ। हामीलाई देख्ने बित्तिकै ङिच्च हाँसे।

दिलु दाइ करीब चालीसका थिए। शरीरमा बोसो फिटिक्कै नभएका, एकदम सिलौटो जस्तो ज्यान। लाम्चो चिउँडो, हड्डी प्रष्टसित देखिने गाला। कछाड र गन्जीमा मात्र हुन्थे। उनको नजिक पुग्दा बिँडी र पसिना मिसिएको गन्ध आउँथ्यो।

ओठमाथि जम्मा तेह्र वटा कैला रौं थिए र हामीले थाहा पाउन्जेल त्यति नै र त्यत्रै रहे।

एक दिन कुमार र मनीषाको बाजी पर्‍यो। कुमार भन्थ्यो, दिलु दाइका ओठमाथि एघार रौं छन्। मनीषा भन्थी, बाह्र। त्यो दिन दुवैले दिलु दाइलाई ओठ ट्याप्प पार्न लगाउँदै रौं गने, तेह्र वटा रहेछ। बाजी दुवैले हारे।

त्यस दिन हामी डुङ्गामा बसिसकेपछि दिलु दाइले बहना उचाल्दै सोधे, “सबै जना रेडी हो?”

“रेडी हो,” हामीले एकै स्वरमा भन्यौं। उनले बहना नदीको देब्रेतिर डुबाए। “बोडिङको एसपेरिन्स कस्तो हुँदै छ?” दिलु दाइले हाँस्दै सोधे, “टिचरहरू कस्ता छन् नि? होम्बक दिन्छन्? इङ्लिस त फरर रे नि हो?”

कसैले नसोधे पनि उनी आफ्नो बारेमा केही न केही बताइराख्थे। भन्थे, “म त कर्मले मात्र माझी हो, जातले त क्षेत्री हुँ। माझी गाउँमा बसेर माझीको सङ्गतमा हुर्किएँ।”

एक दिन हामीले भन्यौं, “दिलु दाइ, आज मास्तिरसम्म लगेर तारिदिनुस्।”

दिलु दाइ ङिच्च हाँसे र बहना खियाउन लागे।

पारि पुगिसकेपछि भने, “डेन्जर हो नि यताबाट तार्नु ता, कति पो एस्सीडेन भइसक्यो। तर, दिलुको हातमा म्याजिक छ।”

महीना मर्ने बित्तिकै दिलु दाइ हाम्रो घर आउँथे। बुबा उनको हातमा नगद राखिदिनुहुन्थ्यो। नगदसँगै धान, गहुँ, मकै जे घरमा उपलब्ध हुन्थ्यो दिनुहुन्थ्यो। दिलु दाइ अनुहारमा गदगद देखाउँथे।

आमा हकार्नुहुन्थ्यो बुबालाई, “किन दिनुपर्‍यो तेत्रो?”

...  ...  ...

वैशाख भर्खर लागेको थियो। धेरै दिनदेखि परेको झरीले नदी उर्लिएको थियो।

“यतिले केही छैन, तीन दिन अझै पानी पर्‍यो भने ता रिक्स हुन्छ,” हामी डुङ्गा चढ्दै गर्दा दिलु दाइले भने।

जति जति नदी तर्दै गयौं, लाग्यो नदी झन झन ठूलो हुँदै गएको छ। मेरा आँखा उत्तरतिरबाट बगेर आइरहेको नदीको प्रवाहमा अड्किन पुगेका थिए।

दिलु दाइ सोधिरहेका थिए, “पेटलाई चैं के भन्छ अंग्रेजीमा?”

कोही जवाफ दिइरहेको थियो, ‘स्टमक।’

“अनि गर्धनलाई?”

“नेक।”

नदी यति फैलिएको थियो कि, मलाई लाग्यो वारि र पारि भन्ने कुरा केही छैन, सबैतिर पानी मात्र छ। मेरो टाउको यसरी घुम्न थाल्यो, मानौं टाउको होइन जाँतो हो, कसैले चुल्ठोमा समातेर घुमाइरहेछ। नदीको गहिराइबाट पानीको फोहोरा हात जस्तो बनेर मलाई तानेको जस्तो लाग्यो। आफूलाई रोक्न जति नै बल गरूँ, नदी मेरो कठालो समातेर आफूतिर तानिरहेको थियो।

आँखैअघि सबैथोक घुमिरह्यो। म नदीमा झ्वाम्म खसें।

मैले आफूलाई पारि किनारमा ब्युँझिसकेपछि मात्र भेटें। पानीले छ्याप्प भिज्नेमा दिलु दाइ र म मात्र थियौं।

कोही भनिरहेको थियो, “नदीको भूतले तान्यो।”

“केको भूत हुन्थ्यो? भूतसूत भन्ने कुरा ता यो वल्डमै छैन हौ,” दिलु दाइले बिँडीको सर्को हावामा फ्याँक्दै भने, “चक्कर आयो होला नानीलाई।”

महीना मरेपछि बुबाले दिलु दाइलाई नगद बाहेक दुई बोरा धान पनि दिनुभयो। यस पटक भने आमाले केही भन्नुभएन।

...  ...  ...

हामीलाई बोर्डिङ लैजान-ल्याउन थालेपछि दिलु दाइ हाम्रो घरसँग धेरै नजिक भए। हाम्रो घर आउँदा कुनै न कुनै जातको माछा लिएर मात्र आउँथे। कहिले कालिज मारेर ल्याउँथे। कहिले हाम्रा लागि नेमोचुरुस मिठाई ल्याइदिन्थे।

बर्खाको छुट्टी भयो। एक दिन दिलु दाइ हातमा दुई-तीन किलोको एउटा माछा बोकेर आए।

“किन दुःख गर्छौ दिलु भाइ?” बुबाले भन्नुभयो।

“यो दुःखको नाम सुख हो हजुर,” दिलु दाइ ङिच्च हाँसे र हामीतिर हेर्दै भने, “होइन त नानीहरू?”

“के काम गर्छौ त दिलु अब, बर्खा लाग्यो,” बुबाले त्यस दिन भन्नुभएको थियो।

दिलु दाइले टाउको कन्याउँदै भने, “केही त गरिएला हजुर। बर्खा आयो भन्दैमा भेलमा हराइजाने त नहोला कि।”

मध्य बर्खामा दिलु दाइ गाउँ गए, खोटाङ। फर्कंदा सेतै लुगा लगाएर आए। भन्थे, “मेरो आमा एस्पायर हुनुभो।”

दिलु दाइले वर्षभरि शिरदेखि पाउसम्म सेतै लगाए।

एक दिन बोर्डिङ जाँदै गर्दा कुमारले गिज्याइदियो, “तपाईं यो डुङ्गा र बहना पनि किन सेतो रङले रङ्ग्याएर चलाउनुहुन्न?” हामी कोही केही बोल्नै सकेनौं। दिलु दाइले मरीमरी हाँस्दै भने, “यो बाबुले गजब जोस्क गर्नुभो।”

एक दिन मैले हठ गरें, डुङ्गा खियाउन सिकाइदिनु भनेर। दिलु दाइले उदास हुँदै भने, “अब ता पुल बन्न लागिसक्यो नानी, के गर्नुहुन्छ र यो जाबो नाउ चलाउन सिकेर?”

दिलु दाइले मलाई बहना चलाउन सिकाए। एक-दुई गल्ती गरिसकेपछि डुङ्गा खियाउन सिकें।

...  ...  ...

पुल तयार भयो। मन्त्रीले पुलको उद्घाटन गरे। अतिथिहरूले एक एक गरी भाषण ठोके, जनताले ताली।  गाउँलेहरू खुशी थिए। हामी पनि खुशी भयौं। हामी अमरपुरले बेलापुरका साथीहरूसँग खुशी साट्यौं।

तर, खिन्न थिए, दिलु दाइ। पुलको शिलान्यास भएदेखि नै दिलु दाइको अनुहारमा चिन्ता छाएको थियो।

“म के गरेर खाऊँ हजुर? को चढ्छ अब मेरो डुङ्गा?” निःसहाय, निरुपाय दिलु दाइ दुःख बिसाइरहेका थिए।

बुबाले भन्नुभयो, “म केही सोच्छु दिलु।”

तर, बुबाले केही सोच्न नपाई दिलु दाइ एक दिन अमरपुर छाडेर बेपत्ता भए।

...  ...  ...

गाउँमा बनेको पुलले हामी धेरैलाई जोडेको थियो। बाँकी दिलु दाइ थिए, जो गाउँसितको सम्बन्ध तोडेर हिंडेका थिए। जब जब हामी नदी किनार पुग्थ्यौं, दिलु दाइलाई खूब याद गर्थ्यौं। उनले सकीनसकी बोल्न खोजेको अंग्रेजी सम्झेर हाँस्थ्यौं।

करीब दुई वर्षपछि दिलु दाइ फर्किए। समयले उनको व्यक्तित्वबाट धेरै थोक लुटेर लगेछ। गढेका आँखा, गाला सुकेर निस्तेज भएको, अनुहारमा एक इन्च पोतोको लेउ उम्रेको।

दिलु दाइ भनेर ठम्याउन सकेपछि मैले चकित हुँदै सोधेकी थिएँ, “दिलु दाइ, कहाँ हराउनुभएको?”

“म त इन्डिया गएको थिएँ नानी। बिहारको एउटा जुत्ता कम्पनीमा नोकरी गरें,” मैले थप केही नसोधी उनी जवाफ दिँदै गए, “सब अच्छा थियो नानी। बोसले तनखा पनि राम्रै दिन्छु भन्यो। एक सालसम्म दुरुस्त थियो। दुसरा साल लागेपछि कमिनाहरूले मेरो तीन महीनाको तनखा हजम गरिदियो। कम्पनी घाटामा गयो भनेर अर्कोलाई बिक्री गरेर हिंडेको थियो मालिक। नयाँ मालिकसित तनखा माग्दा नोकरीबाट हटाइदियो। थुकेर आएँ, तिमीहरूको मुलुकमा बस्दिनँ, जे गर्छु आफ्नै देशमा गर्छु भनेर।”

दिलु दाइलाई बुबाले मिलमा काम लगाइदिनुभयो।

“अब अमरपुर छाडेर म कतै जान्नँ,” दिलु दाइले भने।

...  ...  ...

बर्खा हरेक साल सिङ्गै गाउँलाई जगल्ट्याउन आइपुग्थ्यो।

हप्ता दिनदेखि निरन्तर झरी परिरहेको एक मध्यरात बुबाले हामी सबैलाई घचघच्याउनुभयो। माहिली आँखा मिच्दै अनुहार बिगारेर उठी, कान्छी रुँदै उठी। कोठाभित्रै पानी छिरिसकेको थियो। कार्पेट पानीभित्र लुकिसकेको थियो। टेबल र कुर्सीका खुट्टाका केही भाग नदेखिने भइसकेका थिए। आमा अत्तालिँदै कोठाभित्र छिरेको पानी मगले उबाउँदै बाहिर फालिरहनुभएको थियो।

पानीमा खुट्टा चोबल्दै म झ्यालसम्म पुगें। आँगनमा खपिनसक्नु बाढी उर्लिएको थियो। दक्षिणतिर भएको गोठमा पनि बाढी पसिसकेको थियो। गाई, बाख्राहरू दाम्लै चुडाउँला झैं गरी कराउँदै उफ्रिरहेका थिए।

नदीमा बाढीको सतह अलिक बढेमा हामी शरण लिन जान सक्ने ठाउँ कि त कालीको मन्दिरमा हुन्थ्यो कि त वडा कार्यालय। दुवै अलि अग्लो ठाउँमा थिए। तर, बुबाले त्यत्रो पानी छिचोलेर हामीलाई लैजाने आँट गर्न सक्नुभएन।

के गर्ने के नगर्ने भइरहेका वेला परबाट दिलु दाइको आधा कद हामीतिरै आइरहेको देखियो। दिलु दाइले बुबालाई भने, “नानीहरूलाई पालैसित बोकेर म लग्छु, हजुरहरू टेन्सिन नलिनुस्।”

“लौ दिलु, तिमी आउँदा भगवानै आए जस्तो लाग्यो, उद्धार गर हाम्रो,” बुबाको स्वर थरथर काँपेको थियो।

गाउँभरि रुवाबासी थियो।

दिलु दाइले गोठमा गएर गाई, बाछा र बाख्रा फुकाइदिए। अनि कान्छी बहिनीलाई काँधमा बोके र आमाको हातमा समाएर लगे।

पानीको दर्काइमा कुनै कमी आएको थिएन। झन झन बढ्दै थियो। पर पर मानिसहरू कहालिएको आवाज सुनिँदै थियो।

कुकुरहरूको भुकाइ पनि चर्को थियो। हेर्दाहेर्दै बाढीले आँगनमा एउटा बाख्राको पाठो समेत बगाएर ल्यायो। त्यो जीवित थियो। डरले काँपिरहेको, छिटोछिटो सास फेरिरहेको। आँगनमा हाम फालेर त्यसलाई च्याप्प समाएँ।

बुबा र म दिलु दाइलाई पर्खिरहेका थियौं। दिलु दाइसँग पहिला को जाने भन्नेमा बुबा र मबीच एकछिन विवाद भयो। बुबालाई मुटुको रोग थियो। मैले हठ गरें, पहिला बुबा जानुपर्छ। बुबाले मलाई नपठाई आफू नजाने ढिपी गर्नुभयो।

दिलु दाइले एक हातमा पाठो बोके र अर्को हातले बुबालाई समातेर त्यो भेल कटाए।

दिलु दाइलाई आफूतिर आउँदै गरेको देखेपछि म आँगनमा निस्किएँ। उहाँको हात करीब पाँच फिट पर हुँदो हो। समाउन आफ्नो हात अघि बढाउँदै थिएँ। मेरो हात समाउन लाग्दा आएको पानीको बडेमानको छालले हामी दुवैलाई दक्षिणतिर हुर्‍यायो। कहालिँदै चिच्याएँ, “दिलु दाइ...!”

दिलु दाइलाई पानीले हुर्‍याएर मभन्दा पन्ध्र फिट पर पुर्‍याइसकेको थियो।

“नानीऽऽ” दिलु दाइ पनि जोडले चिच्याए, “नआत्तिनुस् नानी।”

पानीको छालले मलाई हुत्याइदियो। म रुन लागें। उता बुबा, आमा र बहिनीहरू सम्झें। यता बग्दै गएका दिलु दाइ देखेर कहालिएँ।

अन्डीको एउटा रूख र कसैको गोठको बलियो खाँबोको चेपमा लगेर मलाई अड्काइदियो। चेपमा अडिने बित्तिकै दक्षिणतिर हेरें। दिलु दाइलाई पानीको छालले बगाउँदै लगिरहेको थियो। सधैं नदीलाई साथी सम्झेर वारि र पारि गरिरहने दिलु दाइलाई आजको भेलले ठूलै झेल गरेको थियो।

पर म दिलु दाइको हात र टाउको मात्र देखिरहेकी थिएँ। हेर्दाहेर्दै दिलु दाइ बाढीमा बिलाए।

‘मैले नदीलाई र नदीले मलाई जति त कसले कसलाई चिन्छ र!’ भन्ने दिलु दाइलाई यस पटक शायद नदीले चिनेन। या धेरै चिनेर, माया गरेर आफैँसँग लग्यो!

...  ...  ...

गाउँमा बनेको पक्की पुल पाँच वर्ष नपुगी भत्कियो। बर्खा लागेपछि घाँस आफैं उम्रे झैं केही माझी दाइ नदी किनारमा देखा परे।

अहिले पनि मलाई लागिरहन्छ, कुनै दिन दिलु दाइ पनि नदीको किनारमा टुप्लुक्क देखा पर्नेछन् र भन्नेछन्, “म त धेरै पर बोर्डरतिर पुगेर पो बाँचें। लाइफ त यत्तिकै कहाँ सिदिन्छ र हौ? कति पो इन्जई गर्नु छ।”

comments powered by Disqus

रमझम