असोज २०७९ | 17/09/2022

हामीलाई थाहा हुनुपर्छ

Share:
  
- हरिशरण परियार

यति वेला हामीलाई
सबै सबै थाहा हुनुपर्छ

थाहा हुनुपर्छ
हामीले हिंड्ने फरक, कठिन बाटो
र, फरक गन्तव्य

थाहा हुनुपर्छ
हामीसँग सुन्नलाई धेरै धेरै छन्
र, भन्नलाई धेरै

जानेहरू चित्कार गुन्जाएर गए
छोडेर गए कहिल्यै ननिभ्ने फिलिङ्गो
र, कोरेर नयाँ गोरेटो

यति खेर यी सबै सबै
थाहा हुनुपर्छ।

कसले कोर्‍यो अक्षर अक्षरमा घृणा
कसले रच्यो झेली इतिहास
कसले उमार्‍यो गजुरमा विभेद
कसले चोर्‍यो हाम्रै अगेनोबाट आगो
र, झोस्यो हाम्रै थाप्लोमा?

आफ्नै मुक्तिको गोरेटो
अँधेरीबीचको झुल्को
अन्तस्करणको आवाज
सबै सबै थाहा हुनुपर्छ।

थाहा हुनुपर्छ कसरी सजिलै फोर्छ
फालीले बन्जर
र, घनले पत्थर
कसरी सजिलै बनाउँछ
नदीले आफ्नो बाटो

थाहा हुनुपर्छ
हामीसँग प्रतिरक्षार्थ
हातखुट्टा छन्
र, सबैभन्दा बलियो विचार छ

जब थाहा हुन्छ सबै सबै
बढिन्छ एक कदम अगाडि
र, छोटिन्छ कष्टकर बाटो।

comments powered by Disqus

रमझम