२ मंसिर २०७० | 17 November 2013

सिकाइमा यातना

Share:
  
- मीना शर्मा
अक्षर उल्टो देख्ने, लेख्न र अंक छुट्याउन नसक्ने धेरै बालबालिकाले सिकाइमा समस्यासँगै यातना सहनु परिरहेको छ।

देवकी बिष्ट
डिस्गार्फियाका कारण लेखाइमा समस्या भोग्दै आएका नथ्यानिअल आचार्य बुबा होमराज र आमा स्यालीका साथ।
अमेरिकामा जन्मेका नथ्यानिअल आचार्य (१७) अहिले युलेन्स स्कूल ललितपुरमा कक्षा ११ मा पढ्छन्। साहित्यमा विशेष रूचि भएका उनी एक पटक सुनेको वा पढेको कुरा बिर्संदैनन्। नथ्यानिअल पढ्न र मौखिक जवाफ दिन पनि निकै तेज छन्, तर उनका अक्षर शिशु कक्षाका विद्यार्थीको जस्तो छ। उमेर अनुसार सबै कुरा ठीक भए पनि उनमा सिकाइ सम्बन्धी अपाङ्गता (डिस्गार्फिया) भएको कुरा तीन कक्षामा पढ्दाखेरि थाहा भयो, त्यो पनि अमेरिकामा भएकाले।

नथ्यानिअलको अक्षर लेख्न नसक्ने समस्यालाई लिएर लर्निङ सेन्टरदेखि अस्पतालसम्म पुगेका उनका बुबा होमराज र आमा स्याली आचार्यले छोराको समस्या थाहा पाएपछि लेख्नलाई सहज हुने कम्प्युटरको व्यवस्था गरे। डिस्गार्फिया देखिएपछि 'होम स्कूलिङ' शुरू गरेका आचार्य दम्पतीले नथ्यानिअललाई १० कक्षा पास गराएर सन् २०१० मा अमेरिकाबाट नेपाल ल्याएर अर्को दुई वर्ष 'होम स्कूलिङ' गरेर ११ कक्षामा भर्ना गराएका हुन्।

अमेरिकामा पनि नेपालमा जस्तो हातले मात्र लेखेर परीक्षा दिने व्यवस्था भएको भए नथ्यानिअल पढाइको संसारबाट विदा लिन बाध्य हुनेथिए। नेपालमा भने डिस्गार्फिया भएका बालबालिकाले अभिभावक र शिक्षक दुवैबाट सिकाइ सम्बन्धी अपाङ्गताको समस्यासँगै यातना सहिरहेका छन्। यस्ता बालबालिका अन्ततः हिंसाको शिकार हुँदै पढाइ छाड्न बाध्य हुन्छन्। “आँखा नदेख्ने वा कान नसुन्ने बच्चालाई बरु यो अपाङ्ग हो भनेर अलि ध्यान दिइन्छ”, नथ्यानिअलका बुबा होमराज भन्छन्, “डिस्गार्फिया, डिस्लेक्सिया र डिस्क्याल्कुलिया भएकाहरू भने दोहोरो मारमा पर्छन्।”

डिस्लेक्सिया र डिस्क्याल्कुलिया पनि

डिस्लेक्सियाको समस्या भएका बच्चाहरू अक्षरमा अल्मलिएर पढ्न सक्दैनन्। सँगैका साथीहरूले गरेका काम आफूले गर्न नसक्दा समस्यामा परिरहेका बच्चाहरूलाई अभिभावक र शिक्षकले पनि पढ्न सकेन भनेर यातना दिन्छन्। स्वतन्त्र पत्रकार रहेकी स्याली आचार्य अहिले नेपाली बालबालिकामा रहेका यस्तो समस्या पहिचानमा काम गरिरहेकी छन्। “यस विषयमा छलफल गर्दा शिक्षा मन्त्रालय, शिक्षा विभाग र विभिन्न विद्यालयबाट पाएको आश्वासनबाट हामी उत्साहित छौं”, स्याली भन्छिन्।

नथ्यानिअल आचार्य।
डिस्लेक्सिया भएका कपिलवस्तुका विराट पौडेल (२१) स्नातक दोस्रो वर्षमा छन्। पढ्दा पढ्दै बीचमा अक्षर हराउने समस्याबाट सताइएका उनी सानोमा स्कूलमा म्याडमले कविता वा अरू कुरा पढ्न लगाउँदा कहिलेकाहीं बीचको शब्द आफैं थपेर सुनाएको बताउँछन्। यसो गर्दा पौडेलले विद्यालय जीवनमा धेरै समस्या भोगे। “परीक्षामा अरूले एक पटक पढेर बुझने प्रश्नपत्र बुझन मलाई चार पटकसम्म पढ्नुपर्थ्यो”, विराट भन्छन्, “अक्षर बाङ्गोटिङ्गो देखिने हुँदा दिनहुँ समस्या भोग्नुपर्थ्यो।”

यस्तोमा सिकाइ सम्बन्धी कुनै समस्या छ भन्नु भन्दा पनि सबैले पढ्न जानेन वा अल्छी छ भनेर बुझदा मानसिक दबाब सहनुपरेको उनको अनुभव छ। डिस्लेक्सिया भएका बालबालिकाले सबै अक्षर नदेख्ने मात्र हैन, अंक छुट्याउन पनि सक्दैनन्। तर, हामीकहाँ राम्ररी पढ्न सक्नेले किन लेख्न सक्दैन वा मौखिक जवाफ राम्रो दिनेले किन शुद्ध लेख्न र पढ्न सक्दैन भनेर अध्ययन भएको छैन। यसरी डिस्लेक्सिया, डिस्गार्फिया र डिस्क्याल्कुलिया (अंक नचिन्ने) भएका विद्यार्थीहरू समस्या नै थाहा नपाई विद्यालय छोडिरहेका छन्। डिस्क्याल्कुलिया भएका बालबालिकाले नेपाली ३ लाई ६ जस्तो र अंग्रेजी ६ लाई ९ जस्तो वा दुवैलाई उस्तै देख्छन्।

वासिङटन डीसीको शिक्षा विभागमा नीतिगत सल्लाहकारको रूपमा ६ वर्ष काम गरेका होमराज आचार्य यस्ता विद्यार्थीहरूले विद्यालय छोड्नुअघि अकल्पनीय मानसिक–शारीरिक समस्या झेल्नुपर्ने बताउँछन्। उनी कक्षा पाँचसम्म पुग्दा विद्यालयबाट बाहिरिने २८ प्रतिशत र १० मा पुग्दा बाहिरिने ५० प्रतिशत विद्यार्थी रहेको नेपालको तथ्यांकमा डिस्लेक्सिया, डिस्गार्फिया र डिस्क्याल्कुलिया भएका बालबालिकाको संख्या उल्लेख्य हुने अनुमान गर्छन्। “२० वर्षअघि अमेरिकामा गरिएको अनुसन्धानले त्यहाँ पनि यस्तै देखाएको थियो”, होमराज भन्छन्, “विश्वमा ८―१० प्रतिशत बालबालिकामा सिकाइ सम्बन्धी अपाङ्गता भएको अनुमान छ।”

उनका अनुसार, यी समस्या परीक्षण गर्न अमेरिकामा दुई हजार डलर लाग्छ। यो क्षेत्रमा संस्थागत रूपमै काम गर्न नेपाल फर्केका होमराज र स्याली आफूले सक्ने प्रविधिबाट काम थाल्ने सुरमा छन् ।

डिस्लेक्सिया अक्षर पढ्न नसक्ने समस्या

डिस्गार्फिया अक्षर लेख्न नसक्ने समस्या

डिस्क्याल्कुलिया अंक छुट्याउन नसक्ने समस्या

विश्वमा ८―१० प्रतिशत बालबालिकामा सिकाइ सम्बन्धी अपाङ्गता भएको अनुमान।

comments powered by Disqus

रमझम