२ मंसिर २०७० | 17 November 2013

रिङ र राजमार्गमा कांग्रेस–एमाले

Share:
  
- किरण नेपाल
जातीय–क्षेत्रीय नाराबाट अघिल्लो संविधानसभा निर्वाचनमा विजयमाला पहिरिएका एमाओवादी र मधेशवादी दलहरूका एजेण्डाले यो निर्वाचनमा काम नगर्नुमा उनीहरूले विगतका प्रतिबद्धता पूरा नगर्नु र निर्वाचन क्षेत्रको विकासमा फर्केर नहेर्नु कारण देखिन्छ।

तस्वीरः इन्द्र श्रेष्ठ
चितवन–२ का नेपाली कांग्रेस उम्मेदवार शेषनाथ अधिकारी मतदाता बीच।
माओवादीको हिंसात्मक विद्रोहकालको उत्तरार्द्धतिर सुनिने 'रिङ क्षेत्र' र 'ढाडमा टेकेर टाउकोमा हान्ने' शब्दावलीहरू सम्झ्नुहुन्छ?

मूलतः काठमाडौं उपत्यकाका सीमावर्ती जिल्लाहरू– सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ र नुवाकोटलाई भनिएको 'रिङ क्षेत्र' मा उपस्थिति बढाएर ढाड बनाउने र काठमाडौंलाई टाउको बनाएर हान्ने रणनीति थियो, माओवादीको। जस अनुसार उसले ती क्षेत्रमा प्रभाव बढाउँदै काठमाडौंमा गुरिल्ला आक्रमण गर्‍यो पनि। दशक लामो गृहयुद्धलाई काठमाडौंले नजिकबाट अनुभूत त्यही वेला गरेको हो। तर माओवादीको प्रहारबाट काठमाडौं विचलित भएन। फलतः मध्यपश्चिम पहाडको कन्दराबाट शुरू भएको हिंसाको त्यो श्रृंखला एक दशकपछि लोकतान्त्रिक दलहरूको अगुवाईमा काठमाडौंको रिङरोडमा उर्लिएको शान्तिपूर्ण जनआन्दोलनमा आएर टुंगियो।

त्यसयता शान्तिको लेप लगाएर काठमाडौं पसेका माओवादी गुरिल्लाहरूले संविधानसभाको निर्वाचनमा विजयका खादाहरू पहिरिए। परिवर्तनका आशामा रहेका शहरिया र हिंसा बेहोरेका त्रस्त ग्रामीण जनताले 'सबैलाई हेर्‍यौं पटक–पटक माओवादीलाई हेरौं यसपटक' भन्ने नारालाई पत्याउनु त्यसको कारण थियो। २०६४ को निर्वाचनमा उपत्यकाका तीन र वरिपरिका ८ जिल्लाका ३२ मध्ये २२ क्षेत्रमा विजय हात पार्दै संविधानसभामा माओवादी पहिलो शक्ति बन्यो। दुई सातापछि हुनलागेको दोस्रो संविधानसभाको निर्वाचनमा भने पुरानो परिदृश्य पूरै बदलिएको छ। जुन कात्तिकको दोस्रो साता रिङ क्षेत्र र आसपासका सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवन र धादिङ जिल्ला घुम्दा सहजै बोध हुन्थ्यो।

माओवादीको हिंसात्मक विद्रोहको शंखनाद गरिएको एउटा जिल्ला हो– सिन्धुली। युद्धकालमा सिन्धुलीलाई सेल्टर र अन्य मध्यपहाडी जिल्लामा जान–आउन माओवादीले ट्रान्जिट बनाएकाले त्यहाँ तुलनात्मक रूपमा कम हिंसात्मक गतिविधि भए। त्यसको प्रतिफल उसले संविधानसभा निर्वाचनमा पायो पनि, तीनमध्ये दुई सीटमा विजयी भएर। तर अहिले परिस्थिति फेरिएको महसूस काभ्रेको भकुण्डेबेंसी छिचोलेर सिन्धुलीको सिरान नेपालथोक पुग्ने वित्तिकै हुन थाल्यो। सूर्य र रूख अंकित झ्न्डाहरूको बीचमा कतै–कतै मात्र हँसिया हथौडाको छाप देखिन्थे। १२ कात्तिकमा झाँगाझोलीको रातामाटा बजार पुग्दा भने एमाओवादी पंक्ति त्यहाँ भाषण गर्न आउँदै गरेका अध्यक्ष पुष्पकमल दाहालको पर्खाइमा रहेको देखियो। सिन्धुलीको शीतलपाटी गाविसको खाल्टे जहाँ गत निर्वाचनमा अरू पार्टीलाई प्रवेश निषेध जस्तै थियो– नेकपा एमालेको भव्य सभाको तयारी भइरहेको थियो।

उम्मेदवार कमलजंग राई भन्दैथिए, “बन्दै गएको माहोलले निकै उत्साहित बनेको छु।” उनको मुख्य प्रतिस्पर्धी एमाओवादीका हेभिवेट हरिबोल गजुरेल छन्। खिम्ती–ढल्केबर ट्रान्समिसन प्रसारण लाइन निर्माणताका बोलेका वचन र कमला तटबन्ध निर्माणका लागि आएको लाखौं बजेट आफ्नो खेत जोगाउने गरी खर्चनु अहिले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख स्वकीय सचिव एमाओवादी उम्मेदवार गंगानारायण श्रेष्ठका लागि काउसो बनेको छ। परिणाम; कुनै समय माओवादीको बलियो प्रभाव रहेको सिन्धुलीमाडीको ढुंग्रेबास बजारमा समेत उनले प्रवेश पाएका छैनन्। सिन्धुली–२ मा तुलनात्मक रूपमा कमजोर ठानिएकी एमाले उम्मेदवार उमा कोइराला समेत उनीमाथि भारी परेकी छिन्भने कांग्रेसका मोहन बराल विजयमाला पहिरिन तयार देखिन्छन्।

स्थानीय मुद्दा प्रभावी

गत निर्वाचनमा उरालिएका जातीय संघीयताको नारा र झारिएका असाध्य समृद्धिका झिल्ली माओवादी सफलताका कारण थिए। यो पटक भने सिन्धुली–२ का एमाओवादी उम्मेदवार गंगानारायणमा देखिएको हतासा र महोत्तरी–१ का एमाओवादीकै उम्मेदवार गिरिराजमणि पोखरेलमा देखिएको आत्मविश्वासमा मतदाताहरूमा उर्लिएको स्थानीय विकासको आकांक्षा सुहाउँदो उम्मेदवारको छनोटले काम गरेको देखिन्छ। पार्टी एकीकरण नहुँदैको माओवादीको समेत सहयोगमा विजयी तत्कालीन जनमोर्चा नेपालका उम्मेदवार पोखरेलमा अहिले देखिएको आत्मविश्वासको कारण हो– उनले भित्र्याएका विकास निर्माण। रातु खोला तटबन्ध, बर्दिबासमा एकीकृत सेवा केन्द्र, १५ शैच्चयाको अस्पताल र भित्री बाटोहरूको निर्माण तथा स्थानीय विद्यालयहरूको विकासमा भूमिका निर्वाह गरेकै कारण प्यूठानका पोखरेल राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का शरतसिं भण्डारी र नेपाली कांग्रेसका चिरञ्जीवी हमाल जस्ता रैथाने हस्तीहरूमाथि भारी परेका छन्।

राष्ट्रिय पञ्चायत सदस्य, बहुदलमा कांग्रेस र गणतन्त्रकालको पहिलो चुनावमा मधेशी जनअधिकार फोरमबाट जिल्लाको प्रतिनिधित्व गर्दै आएका हाल रामसपाका उम्मेदवार भण्डारीलाई अहिले तिनै मतदाताको विकासको आकांक्षाले छायाँमा पारेको छ। यो बुझेका भण्डारी निर्वाचन क्षेत्र–६ मा केन्द्रित छन्, जहाँ उनले झ्न्डै तीन दशकको प्रतिनिधित्वकालमा थुप्रैलाई गुन लगाएका छन्। स्थानीय विकासको मुद्दा हावी हुँदा क्षेत्र नम्बर–१ मा भण्डारी मात्र होइन, महोत्तरीमा २०६४ को निर्वाचनमा विजयी अन्य धेरै अनुहार फेरिने सम्भावना छ।

इन्द्र श्रेष्ठ
रौतहट–१ का एमाले उम्मेदवार माधवकुमार नेपाल जेठहरियाका मतदातासँग।
अघिल्लो पटक मधेशी जनअधिकार फोरमबाट विजयी बनेका बारा–३ का राष्ट्रिय मधेश समाजवादी दलका उम्मेदवार प्रमोद गुप्ताले पनि बङ्गरी खोलाको पक्की पुल, मोतिसर, फेटा गाविसका सडक र कलैयाको जामे मस्जिद निर्माणमा गरेको योगदानलाई नै मुख्य चुनावी अजेण्डा बनाएका छन्। बारा–२ बाट सद्भावना (महतो) का उम्मेदवार शिवचन्द्र कुशवाहाले पनि गढीमाई मन्दिर क्षेत्रको विकास, कलैया–बरियारपुर सडक, थलही र पसाहा नदीमा पक्की पुल निर्माणलाई निर्वाचनको मूल मुद्दा बनाएको बताए। गत निर्वाचनमा एमाओवादीबाट विजयी बनेका कुशवाहा उम्मेदवारी दर्ताको अघिल्लो दिन सद्भावना पसेका थिए।

पार्टी विभाजन र स्थानीय विकासलाई फर्केर नहेरेको आरोपबाट एमाओवादीले ठूलो क्षति बेहोर्नुपर्ने अर्को सम्भावित जिल्ला मकवानपुर पनि हुने देखिन्छ। गत निर्वाचनमा जिल्लाका चार वटै क्षेत्रमा विजयी भएको एमाओवादीले नारायणकाजी श्रेष्ठको 'राष्ट्रिय व्यक्तित्व' ले चमत्कार गर्‍यो भने क्षेत्र–२ वाहेक तीन वटै क्षेत्र गुमाउने आकलन सदरमुकाम हेटौंडामा छ। एक, तीन र चारमा एमालेको बोलवाला हुने संभावना देखिन्छ। जसमध्ये एकमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग देखिन्छ भने तीन र चारमा एमाओवादीसँगै छ।

गत निर्वाचनमा चितवनका ५ मध्ये ४ क्षेत्रमा विजयी एमाओवादीको अवस्था अहिले क्षेत्र नं–३ मा मात्र केही सुदृढ देखिन्छ। अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहालको उम्मेदवारी रहेको त्यो क्षेत्रमा एमाओवादीले जिल्लाको सम्पूर्ण शक्ति खन्याएको देखिन्छ। यद्यपि त्यहाँ पनि जिल्लाका पुराना वामपन्थी नेता तथा कांग्रेस उम्मेदवार भीमबहादुर श्रेष्ठले कडा चुनौती दिएका छन्।

विगतमा विजय हासिल गरेको क्षेत्र–१ सँगै ५ मा पनि एमालेका उम्मेदवारद्वय सुरेन्द्र पाण्डे र दानबहादुर तामाङ अग्रपंक्तिमा छन्। पाण्डेको अग्रतामा स्थानीय विकास निर्माणले नै काम गरेको देखिन्छ। अर्थमन्त्री हुँदादेखि त्यो क्षेत्रको विकासमा योगदान गरेका पाण्डेलाई भण्डारा–मलेखु सडकखण्ड निर्माणमा अग्रसरताले सहयोग पुर्‍याएको देखियो। चितवन–५ मा अग्रपंक्तिमा रहे पनि एमाले उम्मेदवार तामाङका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे त्यस क्षेत्रको विकास निर्माणमा देखाएको सक्रियताका कारण चुनौती बनेका छन्।

गत निर्वाचनमा धादिङका तीनै सीटमा विजयी एमाओवादीलाई त्यसपश्चात त्यो क्षेत्रमा नफर्किनुले ठूलै सकसमा पारेको देखिन्छ। गत निर्वाचनमा धादिङ–१ मा भारी मत पाएका एमाओवादी उम्मेदवार पुष्पविक्रम मल्ललाई त अहिले सजिलो छैन भने कल्पना धमला र शालिकराम जम्मकट्टेलको अवस्था त अरू चुनौतीपूर्ण देखिएको छ। धमलालाई धादिङ–१ मा कांग्रेसका रामनाथ अधिकारी र एमालेका गुरु बुर्लाकोटीले कडा चुनौती दिएका छन् भने क्षेत्र नं. ३ मा जम्मकट्टेलमाथि एमालेका राजेन्द्र पाण्डे भारी परेका छन्। निर्माणाधीन मनमोहन स्मृति विश्वविद्यालय र सीतापाइला–भीमढुंगा–धार्के सडकमा पाण्डेको योगदान जम्मकट्टेलका लागि ठूलै चुनावी सकस बनेको देखिन्छ।

महोत्तरीदेखि बारासम्मको मधेशका जिल्लाहरूमा माओवादीको उपस्थिति गत निर्वाचनमै पनि त्यति दह्रो थिएन। महोत्तरी, सर्लाही, रौतहट र बाराका २४ मध्ये उसले ५ सीट मात्र जितेको थियो। अहिले महोत्तरी–१ र रौतहट–३ मा उसको अग्रता देखिए पनि गिरिराजमणिका लागि कांग्रेसका चिरञ्जीवी हमाल र प्रभु साहलाई एमालेका हृदयनारायण साह चुनौती बनेका छन्। अरू पार्टीको सहयोग हमाललाई जाने डरमा रहेका पोखरेलले 'एमालेले आफ्नो मत कायम राख्यो भने आफूलाई समस्या नपर्ने' बताए।

गत निर्वाचनमा सर्लाहीमा एक सीट पनि नजितेको एमाओवादी कांग्रेसबाट भर्खरै भित्रिएका शम्भुलाल श्रेष्ठ मार्फत क्षेत्र नं. १ मा एमाले अध्यक्ष झ्लनाथ खनाललाई पछार्ने दाउमा छ। उसले सम्पूर्ण बल लगाएको पनि छ। गत निर्वाचनमा पनि विजयी राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार बनाएकाले यो क्षेत्र नगुम्नेमा ढुक्क रहेको बताउने एमालेका स्थानीय कार्यकर्ता नवराज मिश्रको विश्वास विपरीत एमाओवादीका तर्फबाट स्थानीय शान्ति समितिमा कार्यालय सचिव रहेका केदार काफ्लेले भने, “दुई पटक गाविस अध्यक्ष भइसकेका श्रेष्ठ मार्फत प्राप्त हुने कांग्रेस समेतको मतबाट हाम्रो विजय निश्चित छ।”

काफ्लेले सर्लाही–४ बाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विरुद्ध खडा भएका तमसपाका अध्यक्ष महेन्द्रराय यादवको दलसँग अध्यक्ष खनाल विरुद्ध पार्टीको तालमेल हुनसक्ने संभावना पनि औंल्याए। तर मिश्र चाहिं त्यहाँका प्रभावशाली लालबहादुर माझीलाई पन्छाएर कांग्रेसबाट आएका नवप्रवेशी श्रेष्ठलाई उम्मेदवार बनाएकाले एमाओवादी पहिले भन्दा कमजोर भएको बताउँछन्।

गत निर्वाचनमा रौतहट–६ राष्ट्रिय चर्चामा आयो– एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल एमाओवादीका देवेन्द्र पटेलबाट पराजित भएकाले। यो पटक भने एमाले नेता नेपालले २०५६ को संसदीय निर्वाचन जितेको गृहनगर गौर सहितको क्षेत्र–१ बाट उम्मेदवारी दिएपछि रौतहट–६ को प्रतिस्पर्धाको मुहार फेरिएको छ।

किरण नेपाल
सिन्धुली–३, शीतलपाटीको खाल्टेमा एमालेका उम्मेदवार कमलजंग राई दनुवारको चुनावी सभा।
अहिले त्यहाँ मुख्य प्रतिस्पर्धा चन्द्रनिगाहपुरका एमाले उम्मेदवार रामकुमार भट्टराई र कांग्रेसका देवप्रसाद तिमिल्सिनाबीच छ। पुरानै क्षेत्रमा फर्किएका नेता नेपालको व्यक्तित्वको स्वीकार्यता पनि बढ्दो देखिन्छ। नेपालसँगको प्रतिस्पर्धामा रहेको दाबी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अजय गुप्ता, संघीय सद्भावना पार्टीका अनिल झा लगायतको छ। तर, १३ कात्तिकमा क्षेत्रकै उत्तरी गाविस जेठहरियामा उत्साहित मुद्रामा भेटिएका नेता नेपाल भन्दैथिए, “अघिल्लो निर्वाचनमा क्षेत्र किन छाडेको भन्ने गुनासो ज्यादा सुनिरहेको छु।”

पञ्चायतकालदेखि नै 'मसल' प्रभावित भनेर चिनिने रौतहटको निर्वाचनमा पछिल्लो समय 'मनी' ले पनि काम गर्न थालेको अनुभूति नेता नेपालमा देखिन्थ्यो। जेठहरियामा भेला भएका घरमुलीहरूसँगको छलफलमा उनले स्थानीय बज्जीका भाषामा भने पनि, “पैसा पनि दिन सक्छन्, नलिनुहोला। पैसा दिनेहरू गाउँमा फर्केर आउँदैनन् अनि तपाईंहरूलाई चाहिएको विकास कसले ल्याउँछ?”

२०४६ पछि जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका नेपालले अहिलेको चुनावका लागि पनि एमाले नेतृत्वको सरकारले २०५१ बाट शुरू गरेको गाविसको बजेट, वृद्ध, विधवा लगायतका सामाजिक सुरक्षा भत्ताको विस्तारको चर्चा गरिरहेका छन्। आफूले विगतमा गरेका विकास निर्माणको सम्झ्ना मतदाताहरूबाटै भएपछि सजिलो मानेका नेपाललाई स्थानीय महिलाहरू भन्दैथिए, “समिति नबनाई पैसा दिनुभयो भने मान्छेहरूले खाइदिन्छन्।”

जिल्लाका एमाले नेता रेवन्त झाको भनाइमा रौतहटको कुल ६ निर्वाचन क्षेत्रमध्ये एक, चार, पाँच र ६ मा एमाले अग्रपंक्तिमा छ। रौतहट–२ मा कांग्रेसका बाहुबली उम्मेदवार आफताब आलमको दबदबा कायम छ।

निष्प्रभावी मधेशी दल

पहाड होस् या मधेश; ताम्सालिङ होस् या लिम्बुवान– अघिल्लो निर्वाचनलाई प्रभावित गरेको जातीय, क्षेत्रीय, भाषिक नाराहरू ओझेलमा देखिन्छन्। ६ वर्षमा पहाडमा जातीय राज्य र तराईमा एक मधेश एक प्रदेशका नाराहरू निष्प्रभावी भएका छन्। बारा–३ बाट उम्मेदवार भएका राष्ट्रिय मधेश समाजवादी दलका प्रमोद गुप्ताले यो निर्वाचनमा मधेशवादी मुद्दा कमजोर भएको स्वीकारे। “मधेशवादी दलको विभाजन र केही नेताको सत्ता लिप्साले मधेशवादी मुद्दालाई कमजोर पारेको छ”, गुप्ता भन्छन्, “मधेशी जनतामा पहिलेको जस्तो उत्साह छैन, मतदाताले मुद्दामा भन्दा विकास निर्माण खोजेका छन्।”

मधेशवादी नेताहरूमा मधेशी मुद्दा छाडेर जाति विशेषलाई भजाउने प्रवृत्ति बढ्दा उनीहरू सबै मतदाताको उम्मेदवार हुन नसकेर मुद्दालाई पनि कमजोर बनाएको गुप्ताको ठम्याइ छ। बारा–२ का सद्भावनाका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादव समुदायका प्रतिस्पर्धी उम्मेदवारहरू समस्या बनेको बताए। यादव बहुल यो क्षेत्रमा गैर–यादव समुदायको मत लिएर विजयी हुने उनको विश्वास थियो।

किरण नेपाल
मकवानपुर–३ का एमाले उम्मेदवार अनन्त पौडेल घरदैलो कार्यक्रममा।
गत निर्वाचनमा ६ मध्ये दुई स्थान माओवादी र एक–एक स्थान कांग्रेस, सद्भावना, मधेशी जनअधिकार फोरम र तमलोपाले हात पारेको बारामा पनि यो पटक मधेशी दलमा आएको फुट र स्थानीय एमाओवादी नेताहरूको बहिर्गमनले अधिकांश क्षेत्रमा चुनावी नतीजा फरक आउने संभावना बढेको छ। बारा–१ मा सद्भावनाका उम्मेदवार सरोज यादव अग्रपंक्तिमा देखिन्छन् र प्रतिस्पर्धामा कांग्रेसका रामअयोध्या यादव छन्। गत निर्वाचनमा विजय भएका कारण र हालै एमाओवादीबाट शिवचन्द्र कुशवाहाको प्रवेशले पनि यहाँको माहोल सद्भावनाको पक्षमा देखिएको छ।

बारा–२ मा भने सद्भावना उम्मेदवार नवप्रवेशी कुशवाहालाई सहज छैन। यो क्षेत्रमा अग्रतामा रहेका एमाओवादीका रामबाबु यादवको प्रतिस्पर्धामा कांग्रेसका राधेचन्द्र यादव छन्।

एमालेका विनोद साह अग्रपंक्तिमा रहेको क्षेत्र–३ मा कांग्रेसका फर्मुल्ला मन्सुर र रामसपाका प्रमोद गुप्ता पनि बलियो देखिएका छन्। बारा–४ मा उम्मेदवारी दर्ताकै भोलिपल्ट हत्या गरिएका एमालेका महमुद आलमकी पत्नी नजमा वेगमको अग्रता छ। हत्या आरोपमा पक्राउ परेका एमालेकै अर्का नेता रामचन्द्र प्यासी समर्थकहरूको असन्तुष्टि देखिए पनि प्रतिस्पर्धी तमलोपाका जितेन्द्र सोनल निकै पछि छन्। जिल्लामा निकै बलियो ठानिने कांग्रेसका उमाकान्त चौधरी पछिल्लो निर्वाचनमा क्षेत्र नं. ५ मा एमाले उम्मेदवार बलवीर चौधरी भन्दा पछाडि छन्। यसको मुख्य कारण उम्मेदवारीका लागि मुख्य प्रतिस्पर्धी ठानिएका जिल्ला सचिव रामप्रसाद चौधरीसँगको बलवीरको नाता र क्षेत्रीय सभापति तुलसी चौधरीको असन्तुष्टि मुख्य कारण मानिएको छ।

बारा–६ मा पनि एमाले उम्मेदवार पुरुषोत्तम पौडेल अग्रतामा छन्। मुख्य प्रतिस्पर्धी कांग्रेसका शम्भु बुढाथोकी र एमाओवादीका क्षेत्रबहादुर श्रेष्ठ छन्। कांग्रेस उम्मेदवारको पृष्ठभूमि राजनीतिक नहुनु र एमाओवादी उम्मेदवार पर्साबाट आएका कारण पौडेलको अग्रता देखिएको हो।

साथमा गोकुल घोरसाइने

comments powered by Disqus

रमझम