२ मंसिर २०७० | 17 November 2013

शीर्षस्थलाई सकस

Share:
  
मुलुकैभरि निर्वाचन लागे पनि प्रमुख दलका मुख्य नेता उम्मेदवार रहेका क्षेत्रहरू अहिले सर्वाधिक चर्चामा छन्। प्रमुख तीन दलका तीन शीर्ष नेताहरू उठेका ती क्षेत्र हुन्, झापा–७, इलाम–१, सिरहा–५, सर्लाही–१, रौतहट–१, चितवन–४, गोरखा–१, तनहुँ–२, रूपन्देही–४, बाँके–३, कैलाली–६, डडेल्धुरा, काठमाडौं–१० र २। प्रस्तुत छ, हिमाल को काठमाडौंस्थित न्यूजरूम र विभिन्न शहरहरूमा रहेका संवाददाताहरूले स्थलगत भ्रमण गरेर ती क्षेत्रको अवस्थाबारे तयार पारेको विश्लेषण।

दुवैमा चुनौती

राजेन्द्र अधिकारी
गत निर्वाचनमा १० हजार मत अन्तरले जितेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यो पटक काठमाडौं १० सहज देखिंदैन। कीर्तिपुर नगरपालिकासहित १२ गाविस रहेको यो क्षेत्रमा गत निर्वाचनका प्रतिबद्धता पूरा नगरेकोमा मतदाता दाहालसँग आक्रोशित देखिन्छन् भने स्थानीय उम्मेदवारहरूप्रति उनीहरूको आकर्षण बढ्दो देखिन्छ। यो क्षेत्रमा कांग्रेसले गत निर्वाचनमा दाहालका निकटतम प्रतिद्वन्द्वी राजन केसी र एमालेले स्थानीय उम्मेदवार सुरेन्द्र मानन्धरलाई उठाएको छ।

२७ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा यो पटक एमाओवादीको प्रभाव निकै कम देखिन्छ। कतिसम्म भने कीर्तिपुरमा एमाओवादीलाई मत माग्ने स्थानीय निकै कम देखिन्छन्। कीर्तिपुरलाई नमूना ऐतिहासिक शहर बनाउने, विश्वविद्यालयले अधिग्रहण गरेको जग्गा फिर्ता दिलाउने, बाटो, खानेपानी, ढलको राम्रो व्यवस्था मिलाउने लगायत प्रतिबद्धता दाहालले पूरा नगरेकाले उनीसँग कीर्तिपुरवासी आक्रोशित बनेको स्थानीय बताउँछन्। प्रचारको क्रममा चार पटक कीर्तिपुर पुगेका दाहालले स्थानीयको मत तान्न समानुपातिकका उम्मेदवार पाँगाका दिलीप महर्जनको तस्वीर समेत आफ्नो प्रचार सामग्रीमा राखेका छन्। तर, पाँगामै वैद्य माओवादीको पत्रिका च्यातिदिएपछि स्थानीय आक्रोशित भएर दाहाललाई कार्यक्रम गर्न नदिई फर्काइदिए।

गत निर्वाचनमा एमाओवादी विजयी भएको र एमाओवादीमा विलय भएको जनमोर्चाले तेस्रो स्थान ल्याएको भए पनि सिरहा ५ मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि निर्वाचन सजिलो हुने देखिंदैन। गत निर्वाचनमा माओवादीका महेन्द्र पासवानले १२,११०, जनमोर्चाका विश्वनाथ साहले ५,६६६ र एमालेका धर्मनाथ साहले ७,२०८ मत ल्याएका थिए। पासवान वैद्य माओवादीमा पुगेर एमाओवादीमै फर्किए पनि अहिले असन्तुष्ट देखिन्छन् भने एमाले सिरहाको अध्यक्ष रहेका श्रेष्ठ स्थानीय रूपमा भिजेका व्यक्ति हुन्।

उल्लेखनीय संख्यामा एमाओवादी कार्यकर्ता वैद्य माओवादीमा लाग्नु र मातृका यादवको नेकपा (माओवादी) ले जगत यादवलाई उम्मेदवार बनाउनु दाहालका लागि थप प्रतिकूलता हुन्। एमाओवादीका पूर्वसभासद् जगतलाई वैद्य माओवादीले पनि सघाउने सम्भावना देखिन्छ। तीन पटक मात्र यो क्षेत्रमा आएका दाहालको तुलनामा श्रेष्ठको निर्वाचन अभियान निकै व्यवस्थित देखिन्छ। तर, राष्ट्रिय व्यक्तित्व हुनु, मधेशी दलबाट प्रभावशाली उम्मेदवार नहुनु र प्रतिस्पर्धी पनि पहाडी समुदायकै हुनु दाहालका लागि अनुकूलता बन्न सक्ने देखिन्छ।

गृह जिल्लामा गाह्रो, चितवनमा सजिलो

गृहजिल्ला बाँकेबाट गत संविधानसभा समेत चारमध्ये दुई निर्वाचनमा जित र दुईमा हार व्यहोरेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका निम्ति यो निर्वाचन सहज हुने देखिंदैन। गत निर्वाचनमा मधेशी जनअधिकार फोरमका सर्वदेवप्रसाद ओझा १३,९०० मत ल्याएर विजयी हुँदा कोइराला ५,९६९ मत ल्याएर तेस्रो बनेका थिए।

तर, मधेश आन्दोलनको राप कायम नरहनु कोइरालाका लागि अनुकूलता बन्न सक्ने कार्यकर्ताहरूको विश्वास छ। त्यसमाथि मधेशवादी दलहरूमा गएका कांग्रेसका केही कार्यकर्ता फर्केकाले कांग्रेसको शक्ति गत निर्वाचनभन्दा केही बढेको देखिन्छ। नेपालगञ्जका 'हाइप्रोफाइल' व्यवसायी र उद्यमीहरूले यो पटक साथ दिनु र यो क्षेत्रमा निर्णायक मानिने मुस्लिम समुदायबाट अरू दलले उम्मेदवार नदिनु उनका लागि थप अनुकूल बन्ने देखिन्छ।

तर, नेपालगञ्ज नगरपालिका वरिपरिका मधेशी समुदायको बाहुल्य रहेको पाँच वटा गाविसमा उनको पकड राम्रो छैन भने मधेशी समुदाय र उम्मेदवारलाई एकोहोर्‍याउन सक्ने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट पशुपति दयाल मिश्र उम्मेदवार बनेका छन्। पूर्व जिविस सभापति रहेका मिश्र जिल्लाका पुराना र चतुर नेता मानिन्छन्। नेपालगञ्जका पूर्वनगरप्रमुख एवम् राप्रपा नेपालका उम्मेदवार धवलशमशेर राणाको 'विकास र हिन्दुत्व' को नारा पनि कोइरालाका निम्ति चुनौती बन्ने देखिन्छ। नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्य एमाओवादी उम्मेदवार बन्नु उनका लागि अर्काे चुनौती हो।

तर, उम्मेदवार हुन पहिलो पटक चितवन–४ मा आएका कांग्रेस सभापति सुशील कोइरालाका लागि शुरूमा अनुमान गरिएभन्दा निर्वाचन केही सहज देखिन थालेको छ। जबकि, यो क्षेत्रमा नेपाली कांग्रेसकै पूर्व जिल्ला सभापति विकास कोइराला स्वतन्त्र उम्मेदवार छन् भने गत निर्वाचनमा यहाँबाट विजयी बनेका एमाओवादीका चित्रबहादुर श्रेष्ठ पनि उम्मेदवार बनेका छन्। एमालेकी उम्मेदवार दिलकुमारी (पार्वती) रावलको स्थिति पहिलेभन्दा सुधि्रएको देखिए पनि विकास र श्रेष्ठको स्थिति कमजोर बनेकोले सुशीललाई निर्वाचन सहज हुने अनुमान गरिएको छ।

दुवैमा प्रतिस्पर्धा

गत निर्वाचनमा विजयी भए पनि नेकपा एमालेका अध्यक्ष झ्लनाथ खनाललाई इलाम–१ मा यो पटक सहज छैन। उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति हिमालय कर्माचार्यलाई उठाएको छ। संघीय समाजवादीमा एमाले जिल्लाका नेताहरू लाग्नुले खनालको चुनौती बढाएको बताइन्छ। विपक्षीहरूले धेरै पटक मन्त्री र प्रधानमन्त्री हुँदा पनि क्षेत्रको विकासमा खनालले वास्ता नगरेको बताइरहेका छन्। संविधानसभामा मध्यमार्गी भन्दै सधैं कांग्रेस र एमाओवादीको बीचमा रहनु र प्रधानमन्त्री हुँदा पनि कुनै दिशा दिन नसक्नु उनलाई लाग्ने आरोप हुन्।

तर, पार्टी अध्यक्ष बनेपछि निर्माण भएको राष्ट्रिय व्यक्तित्व, धेरैलाई नबिझाउने शालीन र भद्र स्वभाव र एमाओवादीको अवस्था बलियो नहुनु खनालका लागि अनुकूल बन्न सक्छ। त्यसमाथि कांग्रेसको अवस्था पनि पहिलेभन्दा सुधि्रएको नदेखिनु र उम्मेदवारीबारे एमालेमा विवाद नहुनु खनालका लागि अनुकूल हुने देखिन्छ।

सर्लाही–१ मा पनि एमाले अध्यक्ष खनालका लागि त्यति असहज हुने देखिंदैन। तर, नेपाली कांग्रेस छाडेर एमाओवादीबाट उम्मेदवार बनेका शम्भुलाल श्रेष्ठबाट दह्रो प्रतिस्पर्धा बेहोर्नुपर्नेछ। नेपाली कांग्रेसकी उम्मेदवार सुशीला कार्की कमजोर हुनु, वैद्य माओवादी नवप्रवेशी एमाओवादी उम्मेदवारप्रति सकारात्मक नहुनु र कांग्रेस कार्यकर्ताहरू श्रेष्ठ हराउन जुनसुकै हदमा जान तयार देखिनु खनालका लागि सकारात्मक पक्ष हुन्।

रूपन्देहीमा कमजोर, गोरखामा प्रतिस्पर्धा

किशोरजंग थापा
गत निर्वाचनमा एमाले सचिव विष्णु पौडेलले जितेको रूपन्देही ४ मा उम्मेदवार बनेका एमाओवादी नेता बाबुराम भट्टराईका लागि निर्वाचन जित्नु कतैबाट सहज देखिंदैन। लुम्बिनीको बृहत्तर विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने उनको नाराले पनि मतदातालाई आकर्षण गरेको देखिंदैन। लुम्बिनीको विकासमा स्थानीय र राष्ट्रिय स्तरबाट आफूहरू पनि क्रियाशील रहेको बताउँदै अरू दलका नेताहरूले बाबुरामको नारालाई 'हवाई सपना' भनेका छन्।

रूपन्देहीमा वैद्य माओवादीको बलियो प्रभाव हुनु बाबुरामका लागि प्रतिकूलता बन्ने देखिन्छ। पार्टी एक हुँदाका जिल्ला सेक्रेटरी बसन्त श्रेष्ठसहित रूपन्देहीका सातमध्ये पाँच क्षेत्रका इञ्चार्ज वैद्यतर्फ लागेका छन्। कतिसम्म भने यो क्षेत्रको एमाओवादीको कार्यालय नै अहिले वैद्य माओवादीको हातमा छ।

बुटवल नगरपालिका, पर्रोहा र मोतिपुर गाविस रहेको यो क्षेत्रमा ६५ हजार २०४ मतदाता छन्। गत निर्वाचनमा यहाँबाट एमाले सचिव पौडेलले १५ हजार ८८०, उनका निकट प्रतिद्वन्द्वी माओवादीका भक्तिप्रसाद पाण्डेले १३ हजार ४२१ र कांग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार १८१ मत ल्याएका थिए। प्रधान यो पटक पनि उम्मेदवार छन्।

गत निर्वाचनमा ४० हजार मतान्तरले जितेका एमाओवादी नेता बाबुराम भट्टराईले यो पटक गृह जिल्लामा सहज विजय नपाउने क्षेत्र नम्बर २ त्यागेर सदरमुकाम भएको १ नम्बरमा आउनुले नै देखाउँछ। प्रधानमन्त्री हुँदा विकास निर्माणका काम २ नम्बरमा मात्र गर्नु र १ नम्बरमा नेपाली कांग्रेसका स्थानीय उम्मेदवार किरणबाबु श्रेष्ठ बलियो हुनु प्रतिकूलता मानिएको छ। एमाओवादी कार्यकर्ताहरूले अहिले पनि प्रतिपक्षी कार्यकर्ताहरूमाथि आक्रमण गरिरहेको भए पनि गत निर्वाचन जस्तो माओवादी कार्यकर्ताको धाक नहुनु कांग्रेस र एमालेका लागि अनुकूलता र बाबुरामका लागि प्रतिकूलता बन्न सक्छ। कांग्रेसका श्रेष्ठ र एमालेका रामशरण बस्नेतले गतिविधि गाउँसम्म पुर्‍याएको बताउँदै नेपाल बार एसोसिएसन गोरखाका अध्यक्ष स्थानेश्वर दुवाडी भन्छन्, “यो पटक कसले जित्छ भन्ने प्रष्ट भइसकेको छैन।”

उम्मेदवार बनेपछि रूपन्देही–४ मा बढी केन्द्रित भएका कारण निकै कम गोरखा पुग्नु र एमाओवादी जिल्ला समितिमा उनीभन्दा दाहाल पक्षधरको बहुमत हुनु बाबुरामका लागि प्रतिकूल बन्न सक्छ। त्यसमाथि, गत निर्वाचनमा त्यही क्षेत्रबाट विजयी पार्वती थापा श्रेष्ठ वैद्य माओवादीमा लागेकी छिन्। यिनै कारण हुन सक्छ, अहिलेसम्म यो क्षेत्रमा कांग्रेस र एमालेको प्रचार बढी देखिन्छ। तर, राजनीतिक उचाइ र तुलनात्मक रूपमा एमाओवादीको संगठन बलियो भएकाले बाबुराम अहिलेसम्म यो क्षेत्रमा अरू उम्मेदवारभन्दा केही अघि देखिन्छन्। गत निर्वाचनमा यो क्षेत्रमा एमाओवादीले ३० हजारभन्दा बढी मतान्तरले जितेको थियो।

पहाडभन्दा तराईमा अप्ठ्यारो

२०४८ यताका सबै निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई गृह जिल्ला डडेल्धुरामा पाँचौंपल्ट जित दर्ता गर्न त्यति कठिन नदेखिए पनि पहिलो पटक उम्मेदवारी दिएको कैलाली–६ मा भने समस्या पर्ने देखिन्छ। डडेलधुरामा गत निर्वाचनमा कडा टक्कर दिएका खगराज भट्ट र एमालेका डा. तारादत्त जोशी उनको प्रतिस्पर्धामा छन् भने कैलालीमा एमाओवादीकी लीला भण्डारी र एमालेका महेश्वर पाठकले उनलाई टक्कर दिइरहेका छन्।

समानुपातिकबाट सभासद् बनेका डडेलधुराका हरिलाल थापा वैद्य माओवादीमा गएपछि एमाओवादीका भट्ट कमजोर बनेको र एमालेका डा. जोशीको उम्मेदवारीले उनलाई थप कमजोर बनाएको देखिन्छ। द्वन्द्वकालमा माओवादीमा लागेका एमालेका नेता–कार्यकर्ता फर्किनु र कैलाली–कञ्चनपुरलाई 'थरुहट प्रदेश' बनाउने पार्टीका अडानका कारण 'अखण्ड सुदूरपश्चिम' पक्षधर चिढिनु भट्ट कमजोर हुने थप कारण हुन्। त्यसमाथि डडेल्धुराको चुरे क्षेत्रमा भएको तीव्र वन विनाशमा अख्तियारको मुद्दा खेपिरहेका ३०१ सामुदायिक वनका पदाधिकारी र उपभोक्ता पनि एमाओवादीबाट टाढिएर कांग्रेसको नजिक गएका छन्।

कैलाली ६ भने गत निर्वाचनमा विजयी बनेकी भण्डारी वैद्य माओवादीका कारण कमजोर बनेको र द्वन्द्वकालमा माओवादीमा गएका एमालेका कार्यकर्ता फर्के पनि देउवाको चुनौती घटेको छैन। देउवाका लागि बलियो हुँदै गएका एमालेका पाठक चुनौती बन्न सक्ने देखिदैछ। कैलालीलाई थरुहट प्रदेशमा राख्ने अडानले अखण्ड पक्षधर एमाओवादीमा टाढा हुँदा पाठकले जस्तै देउवाले पनि केही फाइदा भने पाउन सक्ने देखिन्छ।

काठमाडौंमा सहज, रौतहटमा प्रतिस्पर्धा

इन्द्र श्रेष्ठ
गत निर्वाचनमा एमाओवादीका झ्क्कु सुवेदीसँग पराजित भएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका लागि काठमाडौं–२ यो पटक केही सहज देखिन्छ। निर्वाचन जितेका सुवेदीबाट मतदाता असन्तुष्ट हुनु, एमाओवादीले लीलामणि पोखरेललाई उम्मेदवार बनाउनु र नेपाली कांग्रेसले क्षेत्रमा कम चिनिएकी विद्यार्थी नेतृ प्रतिमा गौतमलाई उठाउनु नेपाललाई अनुकूल बन्नुका कारण हुन्। काठमाडौं महानगरपालिकाको ३५ र ९ वडा र ९ गाविस रहेको यो क्षेत्रमा गत निर्वाचनमा पनि नेपाली कांग्रेस तेस्रो भएको थियो।

गत निर्वाचनमा पराजित भएर पनि यो क्षेत्रमा निरन्तर आउनु, पराजित भएर पनि प्रधानमन्त्री भएकाले मुलुकका लागि अनिवार्य व्यक्तित्व भएको छाप पर्नु र कार्यकर्ता र समर्थकले सहज सम्पर्क पाउनु यो निर्वाचनमा उनका लागि अनुकूलता हुन्। यो क्षेत्रका अधिकांश गाविस र वडा नं ३५ मा एमालेको बलियो संगठन हुनु उनका लागि थप अनुकूल बन्ने देखिन्छ। तर, क्षेत्रमा नचिनिएका सुवेदीको तुलनामा राम्रो व्यक्तित्व भएका पोखरेल एमाओवादीबाट उम्मेदवार हुनुले थौरै भए पनि प्रतिकूलता ल्याउन सक्छ।

२०५६ को आम निर्वाचनमा सहज रूपमा विजयी बनेका नेपालका लागि रौतहट–१ यो पटक त्यति सहज नहुन सक्छ। तर पनि निर्वाचनको माहोल तातिंदै जाँदा उनको व्यक्तित्वको स्वीकार्यता बढ्दो देखिन्छ। नेपालसँगको प्रतिस्पर्धामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अजय गुप्ता र संघीय सद्भावना पार्टीका अनिल झा देखिन्छन्। जातीय मत पाउने आशामा रहेका उनीहरूसँग नेपालले व्यक्तित्व, विगतमा गरेको काम र एजेण्डा मार्फत प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

पञ्चायतकालदेखि नै 'मसल' प्रभावी भनेर चिनिने रौतहटको यो निर्वाचनमा 'मनी' पनि प्रभावी हुने खतरा छ। जसमा, अनेक हिसाबले कमाएका र त्यसरी नै खर्च गर्न तयार हुने उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न उनलाई कठिन हुन सक्छ।

पहिलो गाँस ढुंगा बन्ने खतरा

किशोरजंग थापा
गत निर्वाचनमा माओवादीले झ्न्डै १७ हजार मत ल्याएर विजयी भएको मकवानपुर–२ मा जनमोर्चा नेपाल ३ हजार मत सहित तेस्रो स्थानमा थियो। अहिले दुई पार्टीको एकीकरण भएकाले विगतको तथ्याङ्क हेर्दा पहिलो पटक निर्वाचनमा उम्मेदवार बनेका एमाओवादी नेता नारायणकाजी श्रेष्ठको विजय त्यहाँ सहज देखिन्छ। त्यो वेला माओवादी र जनमोर्चाको मत जोड्दा एमालेका तत्कालीन उम्मेदवार वीरबहादुर लामाले पाएको १० हजार २०० मत भन्दा झ्न्डै दोब्बर हुन्छ।

तत्कालीन एमाले उम्मेदवार लामा संघीय समाजवादीमा लागे पनि अहिलेको अवस्था त्यो वेला जस्तो देखिंदैन। त्यो वेला चौथो स्थानमा रहेको नेपाली कांग्रेसले संगठन सुदृढ बनाउँदै स्थानीय जयराम लामिछानेलाई उम्मेदवार बनाएको छ भने एमालेले पनि स्थानीय विकासप्रेमी सुवास ठकुरीलाई उठाएको छ। ठकुरीले काठमाडौं–सिस्नेरी―हेटौंडा सडक निर्माणमा पहल गरेको जश पाएका छन् भने कांग्रेसका लामिछाने निजी क्षेत्रबाट बन्न लागेको काठमाडौं–हेटौंडा सुरुङमार्गको निर्माता नेपाल पूर्वाधार विकास कम्पनीका निर्देशक हुन्।

स्थानीय विकास निर्माणका मुद्दा प्रभावी रहेको यो निर्वाचनमा एमाओवादीका उम्मेदवार श्रेष्ठ क्षेत्रका लागि विल्कुलै नयाँ छन्। त्यही कारण उनले विकास निर्माणको मुद्दालाई राम्रोसँग उठाउन सकेका छैनन्।

गत निर्वाचनमा विजयी माओवादी उम्मेदवार प्रेमबहादुर पुलामीले स्थानीय विकास निर्माणमा केही नगरेकोमा रुष्ट मतदाताको आक्रोशले पनि श्रेष्ठलाई अप्ठ्यारो पारेको देखिन्छ। तर पनि यो क्षेत्रको ४ हजार भन्दा बढी मतदाता रहेको दामन पहिल्यैदेखि जनमोर्चा नेपालको प्रभाव क्षेत्र रहेकोले उनी त्यति कमजोर छैनन्। तर, त्यो बाहेक अरू गाविसमा उनको अवस्था बलियो देखिंदैन। माओवादी विभाजनले एमाओवादीको संगठन कमजोर बनाएको छँदैछ। यो क्षेत्रमा ४४ हजार ६५३ जना मतदाता छन् भने १ स्वतन्त्र र १६ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

साख जोगाउने चुनौती

प्रदीप काफ्ले
२०४६ पछि तनहूँ–२ मा लगातार चार पटक निर्वाचन जितेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई यो पटक इतिहास दोहोर्‍याउन सजिलो हुने देखिंदैन। विपक्षी पार्टीका उम्मेदवारहरूको चुनौतीसँगै यो पटक तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ पनि त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी युवाबीच लोकप्रिय रहेको र गुरुङ समुदायको केही मत तान्न सक्ने बताइन्छ। पार्टीले कारबाही गरेको भए पनि उनले अझै आफू कांग्रेस नै भएको प्रचार गरिरहेका छन् र उनले कांग्रेसका केही कार्यकर्ताको समर्थन पाएको पनि देखिन्छ। त्यसमाथि, क्षेत्रमा सबैभन्दा बढी मत रहेको दमौलीका व्यवसायी कृष्णकुमार श्रेष्ठ एमालेका उम्मेदवार छन्। पौडेललाई सबैभन्दा बढी चुनौती उनीबाटै हुने देखिन्छ।

गुरुङलाई भर्खरै जेलबाट छुटेका कांग्रेस नेता खुमबहादुर खड्काको समर्थन रहेको बताइन्छ। कांग्रेसका त्यो क्षेत्रका सचिव विश्व न्यौपाने लगायत गुरुङको पक्षमा लाग्नुको कारण त्यही मानिन्छ। पौडेलका प्रतिस्पर्धी कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले पनि गुरुङलाई सहयोग गरेमा पौडेलका लागि खतरा बढ्न सक्छ। पार्टी जिल्ला सभापति धु्रव वाग्ले शेरबहादुर देउवा निकट हुनु र उनीबाट राम्रो सहयोग नपाउनु पौडेलका लागि अर्को प्रतिकूलता देखिन्छ। वाग्ले त्यही क्षेत्रका लागि टिकटका आकांक्षी थिए।

भ्रष्टाचारको दाग नलागेको र ठूलो राजनीतिक उचाइ उनका लागि अनुकूलता हुन सक्छ। त्यही कारण यो निर्वाचनमा पनि उनी अघि नै देखिन्छन्। त्यसमाथि गत निर्वाचनमा उनले झ्न्डै ८ हजार मतान्तरले माओवादी उम्मेदवार डम्बरबहादुर विकलाई पराजित गरेका थिए। उनी अहिले वैद्य माओवादीमा छन्।

साख फर्काउने प्रयास

सन्त गाहा मगर
२०४८ देखि सबै निर्वाचनमा जित्दै आए पनि गत निर्वाचनमा एमाओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका एमाले नेता केपी ओली यो पटक विजयी माला पहिरिन आतुर छन्। दमक नगरपालिका र तीन गाविस रहेको यो क्षेत्रमा एमाले बलियो रहेको, लिङदेन संघीय समाजवादीमा प्रवेश गरेको, एमाओवादीले बाहिरका गोपाल किराँतीलाई उम्मेदवार बनाएको र नेपाली कांग्रेसले पनि तुलनात्मक कम प्रभावशाली सुरेश याङयालाई उम्मेदवार बनाएकाले ओलीका लागि यो निर्वाचन सहज हुने देखिन्छ।

तर, यो क्षेत्रमा उल्लेखनीय संख्यामा रहेका सुकुम्बासी र मजदूरले गत निर्वाचनमा माओवादीलाई मत दिएकाले उनीहरूको मत यो पटक पनि माओवादीमै गयो भने उनका लागि समस्या हुन सक्छ। उनीहरू अहिले केही एमालेमा आए पनि केही एमाओवादीमै रहेको देखिन्छ। त्यसैगरी, आदिवासी जनजातिको उल्लेख्य संख्या रहेको यो क्षेत्रमा अन्य प्रमुख दलले त्यही समुदायका उम्मेदवार उठाएकाले ओलीलाई समस्या पर्न सक्छ भने गत निर्वाचनमा उनी हार्ने प्रमुख कारण रहेको एमालेको गुटबन्दी बल्झियो भने यो निर्वाचन पनि उनका लागि सहज नहुन सक्छ।

तर, राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण बनेको व्यक्तित्व, माओवादी हिंसाका प्रखर विरोधी भएका कारण गैरमाओवादीबाट पाउने सहानुभूति र समर्थन तथा गत निर्वाचनभन्दा यो पटक देखिएको उनको खटाइले उनी सहज रूपमा विजयी बन्ने सम्भावना बढाएको छ।

comments powered by Disqus

रमझम