२ मंसिर २०७० | 17 November 2013

'सिद्धान्त हेरेर भोट'

Share:
  

घरदैलोमा पुगेर उम्मेदवारले आफ्ना पक्षमा भोट मागे पनि मतदाताले भने उम्मेदवार, राजनीतिक दल र दलले अघि सारेको मुद्दालाई मतदान गर्ने प्रमुख आधार बनाएको बताएका छन्। हिमाल ले मुलुकका प्रमुख १२ शहरमा गरेको साप्ताहिक सर्वेक्षणमा सहभागी ५०.३ प्रतिशत उत्तरदाताले उम्मेदवारले गर्ने घरदैलो अभियान भन्दा पनि तिनले उठाएका मुद्दालाई नै भोट हाल्ने मुख्य आधार बनाउने जवाफ दिएका छन्। मुद्दा हेरेर भोट दिन्छु भन्नेमा सबैभन्दा धेरै स्नातकोत्तर वा त्योभन्दा बढी पढेका ७० प्रतिशत छन् भने स्नातकसम्म पढेका ६१.७ प्रतिशत छन्।

कुल ३७६ उत्तरदातामध्ये ३४.३ जनाले भने घरदैलोमा आउनेलाई मात्र भोट दिने बताएका छन्। उनीहरूमध्ये ५९.७ प्रतिशतले घरदैलोमा आएपछि उम्मेदवारले आफ्नो कुरा सुन्ने तथा ३७.२ प्रतिशतले उम्मेदवारलाई चिन्ने मौका पाउने भएकाले घरदैलो गर्नेलाई मात्र भोट हाल्ने बताएका हुन्। उम्मेदवार आफ्नो घरसम्मै आउन् भनेर चाहने सबैभन्दा धेरै अशिक्षित ४५ प्रतिशत छन्। घरदैलोमा आएपछि हाम्रा कुरा सुन्छन् भन्नेमा भौगोलिक दृष्टिले सबैभन्दा धेरै जनकपुरका ८५.७ प्रतिशत छन् भने सबैभन्दा थोरै वीरगञ्जका २५ प्रतिशत छन्।

भौगोलिक दृष्टिले सबैभन्दा धेरै विराटनगरका ७६ प्रतिशत मतदाताले उम्मेदवार, पार्टी र मुद्दा हेरेर भोट हाल्ने जवाफ दिएका छन् भने धरान र धनगढीका ६०/६० प्रतिशतले उम्मेदवार घरदैलोमा नआए पनि उसका मुद्दा चित्तबुझदो भए मत दिने बताएका छन्।

अधिकांश उत्तरदाताले सिद्धान्तका आधारमा मत दिने बताए पनि उम्मेदवारले गरिरहेको घरदैलो अभियानलाई असल काम भनेका छन्। ६६.५ प्रतिशतले राम्रो काम तथा १३.५ प्रतिशतले घरदैलो अनावश्यक भएको बताए। १८.९ प्रतिशत उत्तरदाताले भने थाहा नभएको तथा ०.८ प्रतिशतले भन्न नचाहेको जवाफ दिएका छन्।

मतदातालाई प्रत्यक्ष नभेटी चुनाव नजितिने बुझाइका साथ यसपटक उम्मेदवारहरूले घरदैलो अभियानलाई प्राथमिकता दिएको सर्वसाधारणको विश्लेषण छ। पहिलेका चुनावमा भन्दा यस पटक तपाईंको क्षेत्रमा चुनाव लडेका उम्मेदवारहरू घरदैलोमा केन्द्रित भएका छन्। तपाईंलाई किन यसो गरेका होलान् जस्तो लाग्छ भनेर सोधिएको प्रश्नमा ३९.१ प्रतिशत उत्तरदाताले सबै जनतासँग नपुगेमा चुनाव नजितिने आशंका तथा २४.७ प्रतिशतले सिद्धान्तका आधारमा मात्र गरिरहेको राजनीतिले जित्न संभव नरहेको बुझाइ उम्मेदवारमा रहेको जवाफ दिएका छन्। १४.९ प्रतिशतले थाहा छैन र ०.५ प्रतिशतले भन्न नचाहेको बताए। सबै जनतासँग नपुगेमा चुनाव नजितिने आशंका उम्मेदवारमा भएकोले भन्नेमा सबैभन्दा धेरै नारायणगढका ६८ प्रतिशत छन् भने सबैभन्दा थोरै पोखराका २० प्रतिशत।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम