२ मंसिर २०७० | 17 November 2013

फरक बाटोको बटुवा

Share:
  
समाजले कोरेको भन्दा फरक बाटोबाट समाजलाई डोर्‍याउने थोरै मानिसमध्येका थिए, जगदीश घिमिरे।

जगदीश घिमिरे

(२८ चैत २००२ – १४ कात्तिक २०७०)

तामाकोशी सेवा समितिले २०६० मा पुनर्निर्माण गरेको रामेछापको तामाकोशी प्राविको उद्घाटन कार्यक्रममा बोल्दै जगदीश घिमिरे।
मन्थली नजिकको तामाकोशी किनारका माझी बस्तीमा बच्चा जन्मेपछि कोशीमा चोपलेर पानीसँग मित्रता गाँस्न सिकाइन्थ्यो। “जगदीश र म त्यो कोशीमा भैंसीको पुच्छर समातेर हेलिन्थ्यौं, सानो भए पनि सुरो थियो ऊ,” भाइलाई सम्झँदै साहित्यकार नगेन्द्रराज शर्मा भन्छन्। त्यो क्षेत्रलाई सम्झँदै जगदीश घिमिरेले आफ्नो कृति 'अन्तर्मनको यात्रा' मा लेखेका छन्, “मेरो खरानी मेरा पुर्खाको थलो मन्थलीको तामाकोशी र सुकाजोरको दोभानमा बगाइदेऊ...।”

त्यही रामेछापको विपन्न बस्तीहरुमा सुखका सपना साकार पार्न शहरी सुविधा र साहित्यिक सफलता त्यागेर फर्केका जगदीश सधैं आफैंले कोरेको गोरेटोमा हिंडे। उनी बेलायतमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको जागीर र काठमाडौंको साहित्यिक संसारमा उठिसकेको नाममा नबाँधिई रामेछाप फर्किए। जिल्लालाई देशकै नमूना बनाउने उनका सपनाहरु क्यान्सरले रोकेपछि मृत्युसँग आत्तिंदै नथलिएर एउटा लेखकको रुपमा 'अन्तर्मनको यात्रा' र 'सकस' जस्ता 'मास्टरपीस'हरुको सिर्जनामा लागे। “क्यान्सरले नसमातेको भए संभवतः ऊ रामेछापको विकासमै लागिरहने थियो”, दाजु नगेन्द्रराज भन्छन्।

क्यान्सरग्रस्त जगदीशको मक्किसकेको ढाडलाई रडहरुको पट्टीले बाँधिएको थियो। चोभार घरबाट ओम अस्पताल आएपछि फर्किने साहस नहुँदा गौरीघाटस्थित नगेन्द्रराजको घरमा बिसाउँथे। आफ्नो पीडा अरुलाई देखाउन नचाहने बानीले बाहिरबाट उनलाई स्वस्थ नै देखाएको थियो। दाजु नगेन्द्रराजका अनुसार, अत्यन्तै अध्ययनशील भएकोले 'मल्टिपल माइलोमा'ले गाँजेपछि उनले त्यसरोग सम्बन्धी सामान्य चिकित्सकभन्दा बढी पढेका थिए।

क्यान्सर भएपछि उनले लेखेको 'अन्तर्मनको यात्रा' फरक बाटोको हिंडाइकै परिणाम थियो, जसले मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार पायो। त्यसमा जगदीशले आफूबारे जति लेखेका छन् सबै इमान्दारीपूर्ण लेखेका छन्। उनले अखबारी लेखनमा पनि मुलुकको भ्रष्ट राजनीति र बिग्रँदो सामाजिक सद्भावमाथि खुलेरै लेखे, जसबाट आलोचकहरु पनि थुप्रै कमाए। स्वाभिमानी घिमिरे बाहिरबाट रुखो देखिन्थे, भित्र कमलो भए पनि। त्यो आँतभेउ पाएका उनलाई बेहिसाब माया गर्नेहरु पनि कम थिएनन्, जुन आर्यघाटमा उर्लेको भीडले पनि देखायो।

जगदीशले तामाकोशी सेवा समिति (तासेस) खोलेर रामेछापमा विकासको शुरुआत गरेका थिए। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको अनुभव र सम्पर्कबाट उनले गाउँगाउँमा सहकारी मार्फत विकास थालेर साहुसँग ऋण काढ्ने चलन हटाए, महिलाहरुलाई आत्मनिर्भर बनाउँदै थिए। एउटा बाकसमा औषधि राखेर उनले मन्थलीमा शुरु गरेको अस्पताल अहिले २५ बेडको सुविधासम्पन्न अस्पताल बनेको छ, जसले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिन्छ। अहिले देशका विभिन्न जिल्लाहरु 'खुल्ला दिसामुक्त' भएको घोषणा गरिएको समाचार आइरहन्छन्, जुन दुई दशकअघि तासेसले रामेछापका गाउँहरुमा थालेको थियो।

तासेसको काम बापत पाएको २५ हजार डलर राशीको 'रिफ्लेक्सन अफ होप' पुरस्कार थाप्न २०६१ सालमा अमेरिका जाँदा जगदीशले आफूलाई 'मल्टिपल माइलोमा' ले गाँजिसकेको थाहा पाएका थिए। त्यसपछि बैंकक्मा उपचार गराएका उनले आफ्नो मिति तोकिएको हतारमा उहिल्यै बिसाएको कलम समातेका थिए। इमान्दार नेतृत्वको खडेरी परेको वेला मुलुकबाट एक जना कर्मयोगी साहित्यकार सदाका लागि विदा भएका छन्। घिमिरेका श्रीमती, एक छोरा र एक छोरी छन्।

सञ्जीव शर्मा


जगदीश दुई

मीनरत्न बज्राचार्य
२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्‍यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।

तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्‍याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

त्यसपछि भने, जगदीश घिमिरेका कथाहरूका एकदोटा संग्रह निक्ले पनि उनले अरू उपन्यास लेखेनन्। अनि त अन्वेषक घटराज भट्टराईले २०५६ सालमा आफ्नो 'नेपाली लेखक कोश' मा यस्तो लेख्न पुगेः “... यौन मनोविज्ञानलाई बुझोर विभिन्न पात्रका माध्यमबाट अभिव्यक्ति दिने घिमिरे युवा अवस्थामा जति सक्रिय थिए आफ्नो प्रौढकालमा त्यति सक्रिय नदेखिए पनि उनमा साहित्यानुराग छ। आफ्नो समयमा घिमिरेका जति रचना प्रकाशित छन् तिनमा आफ्नै मूल्य र वैशिष्ठ्य छ।”

हो, घटराजले भने जस्तै त्यसपछि जगदीशजी मौन देखिए। त्यसको कारण थियो। उनको जागीरे जीवन परिवार नियोजन आयोगबाट शुरू भयो। राजपरिवारका व्यक्तिको हातमा रहेको त्यस आयोगमा रहेर उनले 'जे पायो त्यही' छपाउन सक्दैनथे। अतः कलम रोकिएर उनी साहित्यिक क्षेत्रबाट बाहिरिए जस्तो देखिनगो। त्यसपछि त झन् विदेशी जागीर खाएर उनी सपरिवार बेलाइततिर पो हानिए! अनि फेरि नेपाल फर्केर आफ्नो गृहजिल्ला रामेछाप पसे, त्यहाँ सामाजिक सेवाकार्यमा चुर्लुम्म डुबे, तर साहित्यिक चेत मरेको थिएन। त्यो चेत जुर्मुराएर उठ्यो जब अकस्मात् उनलाई 'मल्टिपल माइलोमा' भनिने रक्त–अर्वुद रोगले 'डेथ सेन्टेन्स' दियो। डाक्टरहरुले उनलाई मृत्यु पर्खनेकेही महीना या थोरै वर्ष मात्र दिएपछि आशै नराखी औषधोपचार आरम्भ भयो। त्यस्तो वेला जगदीशको अन्तरात्माले आर्तनाद गर्‍यो अनि निस्क्यो 'अन्तर्मनको यात्रा'। नेपाली संसारै रोयो उनीसँग, लाखौं मनले उनलाई आशीर्वाद दिए। यति सशक्त रहेछ त्यो जन–आशिष् यमराज समेत हच्किए उनलाई लिएर जान। केही गर्न थोरै समय पाएका जगदीशजीको 'कलम' फेरि सक्रिय भयो। यहाँनिर कलमलाई उल्टो कमाले छेक्नुको कारण छ। 'अन्तर्मनको यात्रा'देखि नै जगदीशजी कलम समाउन नसक्ने भएर ल्यापटपको शरण परेका थिए। त्यसै गरी निस्क्यो उनको मास्टरपीस उपन्यास 'सकस' पनि।

हामीहरूले अर्थात् मदन पुरस्कार गुठीले 'अन्तर्मनको यात्रा' का लागि जगदीशजीलाई पुरस्कृत गरेको हो तापनि म व्यक्तिगत रूपमा उनको 'सकस' लाई उम्दा मान्दछु। त्यसको स्पष्टीकरण दिन सक्दिनँ किनभने शास्त्रीय सिद्धान्तविद् होइन म। “यति–यति कारणले यो उपन्यास ऊभन्दा उत्कृष्ट छ, इतिसिद्धम्” भन्ने सामर्थ्य ममा छैन। त्यसैले यत्तिमै टुङ्ग्याऊँ― जगदीश– दुई।

कमल दीक्षित

comments powered by Disqus

रमझम