२ मंसिर २०७० | 17 November 2013

सहमतिको साझा मञ्च

Share:
  

रेडियोले स्थानीय नेताहरूबीच रहेको द्वन्द्व समाधान गर्नुको सट्टा अझ चर्काएर झगडा निम्त्याउँछ भन्ने कतिपय मानिसको बुझाइ छ। तर पछिल्लो समय उनीहरूमा रेडियोले स्थानीय तहका विवाद मिलाउन सघाउ पुर्‍याउने महसूस हुन थालेको छ। सर्च फर कमन ग्राउण्डसँगको सहकार्यमा देशका विभिन्न भागमा स्थानीय रेडियोबाट उत्पादित र प्रसारित रेडियो संवाद 'फराकिलो धर्ती' ले श्रोताहरूमा पनि यस्तो सन्देश दिएको छ।

रेडियो संवाद स्थानीयस्तरका समस्या समाधानको साझा चौतारी बनेको कार्यक्रम उत्पादक र प्रस्तोताहरूको अनुभव छ। वैचारिक मतभिन्नता भएपछि पानी बाराबारको अवस्थामा रहेका राजनीतिक दलका स्थानीय नेताहरूलाई समेत फराकिलो धर्तीले एकै ठाउँमा उभ्याएर सहमतिको बाटो खोज्न मद्दत गरेको छ।

सुशासनमा जोड

स्थानीय रेडियोले सुशासन प्रवर्द्धनमा जोड दिने गरेका छन्। सरकारी कार्यालयबाट सेवाग्राहीलाई सुशासनको प्रत्याभूति गराएको मात्र होइन, बन्द विद्यालय खुलाउन पनि रेडियो संवाद सहयोगी भएको अनुभव सुनाउँछन् वीरगंजको रेडियो नारायणीका कार्यक्रम प्रस्तोता केसी लामिछाने। पत्रकार लामिछानेका अनुसार ग्रामीण भेगमा विद्यमान द्वन्द्वबारे द्वन्द्वरत पक्षका बीच संवाद मार्फत सहमति गराउन रेडियो संवाद सहयोगी भएको छ। संवादका सहभागीहरू सहमतिको साझा बिन्दु के हुन सक्छ भन्ने पत्ता लगाएर तिनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन्। स्कूल पढ्ने बालबालिकाका लागि सरकारले दिएको मट्टीतेल र छात्रवृत्ति 'फ्रिज' हुने गरेकोमा संवाद शुरू भएपछि सदुपयोग भएको पत्रकार केसीको अनुभव छ। उनी भन्छन्, “हरेक कार्यक्रमले सकारात्मक परिणाम दिएको छ।” उनका अनुसार सडकमा एकोहोरो कुरा गर्नेहरू पनि रेडियोमा तिनै विषयमा आफ्ना अडानमा केही लचकता अपनाउने गरेका छन्। संवादमा सहभागी स्थानीय दलका नेताहरूले संविधानसभा निर्वाचन शान्तिपूर्ण ढंगबाट गराउन सघाउने प्रतिबद्धता पनि जनाएका छन्।

नेपालगञ्जस्थित रेडियो कृष्णसारका लागि फराकिलो धर्तीका उत्पादक माधव अधिकारीको बुझाइमा संवादले स्थानीयस्तरमा छोटो समयमै सकारात्मक सन्देश दिएको छ। “पानी बाराबारको अवस्थामा रहेका दलका नेताहरू एउटै थलोमा आउन समेत मान्दैनथे” अधिकारीले भने “तर अहिले उनीहरू एकै ठाउँमा बसेर आफ्ना असहमतिबारे संवाद गर्न थालेका छन्।” नागरिकताका विषयमा गरिएको रेडियो संवादपछि जिल्ला प्रशासन कार्यालयले स्थानीयस्तरमा नागरिकता वितरणको समय थप गरेको अधिकारीले बताए।

रेडियो संवादमा सहभागी राजनीतिक दलका नेताहरूले द्वन्द्वपीडितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। इलामको इलाम एफएमले स्थानीय तहमा विवादित विषयमा सहमति खोज्न सहयोग पुर्‍याएको अनुभव छ अर्का कार्यक्रम उत्पादक खगेन्द्र सापकोटाको। उनका अनुसार संवादका सहभागीले विवादरहित ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका छन्। अनेक बहानामा गरिने बन्द, हडतालले जनजीवन प्रभावित भएपछि इलामलाई बन्दमुक्त जिल्ला घोषणा गर्नेबारे भएको रेडियो संवादमा जिल्लास्थित दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरूले रेडियो संवाद मार्फत बन्द नगर्ने प्रतिबद्धता जनाएको सापकोटाले सुनाए।

सिरहाको रेडियो समग्रका कार्यक्रम प्रस्तोता वैद्यनाथ यादवका अनुसार नागरिकता वितरणका विषयमा कार्यक्रम पछि विष्णुपुर गाविस–५ का दलित समुदायले नागरिकता पाएका छन्। रेडियो समग्रले जिल्ला प्रशासन कार्यालयमै नागरिकता नपाएकाहरूलाई राखेर संवाद चलाएपछि उनीहरूले नागरिकता पाएका हुन्। ईंटाभट्टामा हुने श्रम शोषणबारे संवाद शुरू गरेपछि महिलाले पनि समान पारिश्रमिक पाउन थालेको उनी बताउँछन्।

धनुषाको रेडियो मधेशका कार्यक्रम प्रस्तोता घनश्याम कुमार मिश्र रेडियो संवादले मिथिला र मधेशको मुद्दा छलफलमा ल्याएको बताउँछन्। चितवनको रेडियो सिनर्जीका कार्यक्रम प्रस्तोता सुरज पौडेल रेडियोले स्थानीय समस्या समाधानमा सहयोगीको भूमिका निर्वाह गरेको बताउँछन्।

धनुषाका सरकारी कार्यालयमा सूचना अधिकारी र नागरिक बडापत्रको व्यवस्था थिएन। तर रेडियो मधेशले फराकिलो धर्तीको केही अंकमा त्यसबारे सम्बन्धित व्यक्तिहरूलाई एकै ठाउँमा राखेर संवाद शुरू गरेपछि अहिले ५० भन्दा बढी कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरिएको छ। रेडियो कार्यक्रम सधैंजसो एकपक्षीय हुने गरेको अनुभव सुनाउँदै रेडियो नयाँयुग, लमही, दाङका दशरथ घिमिरे भन्छन्, “तर रेडियो संवादले भिन्न विचारका मानिसबीच छलफल गराउँदा परिणाम सकारात्मक देखिएको छ।” त्यसैकारण अधिकांश नेताहरू यो रेडियो संवादमा आउन चाहन्छन्। यसप्रतिको चासोका कारण हिजोआज सर्वदलीय बैठकमा पनि स्थानीय मुद्दामा छलफल हुन थालेको छ।

साप्ताहिक खबरपत्रिका हिमाल मा प्रकाशित फराकिलो धर्ती का लागि सर्च फर कमन ग्राउण्डको सहयोग रहेको छ।

comments powered by Disqus

रमझम