२ मंसिर २०७० | 17 November 2013

भानुभक्त पोखरेल

Share:
  

(८ असोज १९९३–१९ कात्तिक २०७०)
पाँचथरको सेलेजुङमा जन्मेका भानुभक्त पोखरेल आफ्ना विद्यार्थीमाझ्ा सधैं प्रिय र प्रभावशाली शिक्षक रहे। चार दशक विराटनगरको महेन्द्र–मोरङ र स्नातकोत्तर क्याम्पसमा पढाएका उनको नेपाली कक्षा सधैं विद्यार्थीले भरिभराउ हुन्थ्यो। उनको प्रवेशपछि कक्षा त जहाँ उनी 'पिनड्रप साइलेन्स' मा पढाउँथे। प्रा. पोखरेल परीक्षा हलमा पसेपछि चिट चोर्ने विद्यार्थीको खासखुस स्वतः बन्द हुन्थ्यो भनी उनका विद्यार्थी र सहकर्मीहरू सम्झन्छन्।

२०१४ सालमा बनारसको 'छात्रावाणी' पत्रिकामा पहिलो कविता छपाएर साहित्यमा आएका प्रा. पोखरेलले 'मृत्युञ्जय' महाकाव्यका लागि २०४७ सालको मदन पुरस्कार जितेका थिए। प्राध्यापनसँगै नेपाली भाषा–साहित्यको क्षेत्रमा सक्रिय रहेका उनका १६ कृति प्रकाशित छन्, जसमा समालोचनादेखि रचनाकौशल र बालकवितासम्म छन्। पोखरेलले खास गरेर प्राध्यापन र समालोचनालाई समानान्तर रूपमा अँगालेको ठानिन्छ। त्यसो त काव्यमा पनि उनले ठूलो उचाइ लिएको मानिन्छ।

संस्कृतमा साहित्याचार्य र नेपालीमा एम.ए. उनी मनमा लागेको कुरा कसैको मुख नहेरी फ्याट्ट बोल्ने अनि स्वच्छन्द कविताप्रतिको खरो विचारका कारण पनि वेलावेला चर्चित हुन्थे। २०४१ सालताका उनले छन्द कवितालाई 'फल' र स्वच्छन्द कवितालाई 'मल' भनिदिंदा गद्य र पद्य पक्षधरका बीच ठूलो ठोसाठोस चलेको थियो। तर, पछिल्लो समयमा उनले गद्य कविताको पनि मिठास मन पराउन थालेका थिए। मधुमेह रोगको उपचार गर्दागर्दै राजधानीको ओम अस्पतालमा दिवंगत भएका नेपाली भाषाका गुरु पोखरेलका तीन छोरा र एक छोरी छन्।

comments powered by Disqus

रमझम