२ मंसिर २०७० | 17 November 2013

नेपालमा समर्पित

Share:
  

जर्मनीमा उच्च कमाइ हुने सर्जनको जागीरका साथ व्यवस्थित पारिवारिक जीवन विताइरहेका वेला एड्रेअस सेटजेलेे एक दिन नेपालमा अस्पताल खोल्ने योजनाको विज्ञापन देखे। १५ वर्षअघि जर्मन पत्रिकामा छापिएको त्यो विज्ञापन एउटा कल्याणकारी संस्थाको थियो। त्यो काम गर्ने भाग्यमानी आफैंलाई ठानेका उनी घर बेचबाच गरेर सन् १९९९ मा श्रीमती र दुई छोरी सहित नेपाल आए।

खासमा उनी दुई वर्षका लागि आएका थिए, तर साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा नेपाली डाक्टर र नर्सिङ स्टाफलाई प्लास्टिक सर्जरी तालीम दिंदादिंदै १० वर्ष बितेर गयो। त्यो वेला नेपाल सशस्त्र द्वन्द्वको चपेटामा परेकोले सरकार र माओवादी दुवैतिरबाट हमलाहरू हुनु सामान्य थियो। एक दिन माओवादीले साँखु प्रहरी चौकीमा आक्रमण गर्दा डा. सेटजेले सुष्मा कोइराला अस्पतालमा दर्जनौं घाइतेलाई आकस्मिक सेवा दिनुपरेको थियो। ११ वर्षअघि तिहारको वेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सर्लाहीको नवलपुरमा गुडिरहेको बसमा माओवादीले आगो लगाउँदा अन्जु रेग्मी र उनका दुई छोराछोरी नराम्ररी जले। भारतको रक्सौल अस्पतालमा दुई साताको असह्य पीडापछि अन्जुको निधन भयो। हिमाल को अंग्रेजी सहप्रकाशन नेपाली टाइम्स मा त्योे घटनाबारे विस्तृत समाचार छापिएपछि डा. सेटजे अन्जुका छोराछोरी रविन र रविनाको सर्जरी गर्न अग्रसर भए भने ब्राइट होराइजन स्कूलले छात्रवृत्ति दिएर पढाउने प्रस्ताव गर्‍यो। कुनै दिन जलेर विरुप भएका जस्तो नलाग्ने र पूर्ण आत्मविश्वासका साथ कक्षा ८ र ९ मा पढिरहेका उनीहरूले यो तिहार पथलैयास्थित घरमा मनाए।

१६ मंसीर २०५९ मा सर्लाहीको नवलपुरमा गुडिरहेको बसमा माओवादीले आगो लगाउँदा जल्न पुगेका दुई बालक रविन र रविना रेग्मी।उनीहरुको उपचार डा. एड्रेअस सेटजे ले गरेका थिए। सोही घटनामा आमा अञ्जुलाई गुमाएका उनीहरुले यसपटकको तिहार पथलैयास्थित आफ्नै घरमा मनाए।

५३ वर्षीय डा. सेटजे पनि आफ्नै प्रकारका खुशीहरू मनाइरहेका छन्। नियमित वार्षिक भ्रमणकै क्रममा गत महीना नेपाल आएका उनले उपचार गरेका नेपालीहरूको त के कुरा, तालीम दिएका डाक्टर र नर्सको संख्या पनि ठूलो छ, जो अहिले नेपालभर काम गरिरहेका छन्। अचेल नेपालमा फिल्ड शिविरहरू चलाउँदा डा. सेटजे साँखुमा हुर्केका छोरीहरूबाट दोभाषेको सेवा लिन्छन्, श्रीमती कर्सटिन त नर्स भइहालिन्। “नेपालमा मैले पाएको वैयक्तिक खुशी र उपलब्धि शब्दमा बताउन सकिने खालको छैन”, डा. सेटजे भन्छन्।

अंग पुनर्निर्माण शल्यक्रिया अर्थात् रिकन्स्ट्रक्टिभ (प्लास्टिक) सर्जरीमा सीपभन्दा बिरामीलाई निको पार्ने प्रतिबद्धता महत्वपूर्ण हुने बताउने डा. सेटजे अहिले नेपालका लागि मनमायामेड च्यारिटी मार्फत सक्रिय छन्, जुन जर्मन दाताको सहयोगमा चलेको छ। उनी अब सर्जरीको पछिल्लो प्रविधि सहित पश्चिम नेपालमा स्वास्थ्य शिविर चलाउने योजनामा छन्, किनभने त्यो क्षेत्रमा आगोले पोलेका र दुर्घटनामा परेर विरुप भएकाहरू धेरै छन्।

कुन्द दीक्षित

comments powered by Disqus

रमझम