९ मंसिर २०७० | 17 November 2013

विरासत जोगाउने कसरत

Share:
  
गत निर्वाचनमा प्राप्त विजयको विरासत जोगाउन एमाओवादी शीर्षस्थलाई हम्मे परेको छ।

काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दुवै क्षेत्रमा जित्न कठिन हुने देखिएको छ। गत निर्वाचनमा एमाओवादीकै महेन्द्र पासवानले जितेको सिरहामा यो पटक दाहाललाई एमालेका लीलानाथ श्रेष्ठले कडा चुनौती दिएका छन् भने मातृका यादवको पार्टीका जगत यादवले उनलाई थप अप्ठ्यारो पारेका छन्। गत निर्वाचनमा ठूलो मतान्तरले विजयी बनेको काठमाडौंमा पनि उनलाई कांग्रेसका राजन केसी र एमालेका सुरेन्द्र मानन्धरको चुनौती पन्छाउन यो पटक सहज हुने देखिंदैन।

गोरखा–१ र रूपन्देही–४ बाट उठेका एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई दुवै क्षेत्र चुनौतीपूर्ण छ। रूपन्देहीमा गत निर्वाचन जितेका एमाले सचिव विष्णु पौडेल उनका लागि कठिन चुनौती छन् भने गोरखामा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठको चुनौती पनि उनका लागि कमजोर छैन।

पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ।

मकवानपुर–२ मा उठेका एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि निर्वाचन जित्न कठिन हुने देखिन्छ। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठेका पुर्ख्यौली घर गोरखा भएका उनलाई मकवानपुरका स्थानीय उम्मेदवारहरू एमालेका सुवास ठकुरी र कांग्रेसका जयराम लामिछानेले कडा टक्कर दिइरहेका छन्।

स्थानीयताको मुद्दाले मोरङ–९ बाट उम्मेदवार बनेका एमाओवादी नेता वर्षमान पुनलाई पनि पिरोल्ने देखिन्छ। ललितपुर–१ छाड्दै त्यहाँ पुगेका उनलाई एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिकबहादुर लिम्बूले कडा चुनौती दिइरहेका छन्।

नुवाकोट–२ बाट उम्मेदवार बनेका एमाओवादीका अर्का नेता पोष्टबहादुर बोगटीका लागि पनि गत निर्वाचन जस्तो यो पटक सजिलो छैन। गत वर्ष निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका बहादुरसिं लामा र एमालेका नारायण खतिवडा यो पटक उनका लागि चुनौती छन्।

अर्घाखाँची–१ बाट उठेका एमाओवादी नेता टोपबहादुर रायमाझी पनि जित हुनेमा ढुक्क देखिंदैनन्। गत निर्वाचनमा उनको निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका डा. रामबहादुर विसी यो पटक बलियो उम्मेदवार मानिएका छन् भने एमालेका नरेन्द्रकुमार क्षेत्री उनका लागि अर्को चुनौती छन्।

पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका एमाओवादीका अर्का नेता देवेन्द्र पौडेलका लागि पनि काठमाडौं–९ सहज हुने देखिंदैन। गत निर्वाचन जितेका कांग्रेसका ध्यानगोविन्द रञ्जित यो पटक पनि उम्मेदवार छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ पौडेलका लागि अर्काे कठिन चुनौती हुनेछन्। गत निर्वाचनमा माओवादीबाट उठेका माइला लामा वैद्य माओवादीमा लाग्नु पौडेलका लागि थप प्रतिकूलता बनेको छ।

पोष्टबहादुर बोगटी, वर्षमान पुन (अनन्त)

एमाओवादीका अन्य नेताहरू गोपाल किराँती एमाले नेता केपी शर्मा ओलीसँग, नन्दकिशोर पुन कांग्रेसका गगन थापा र एमालेका निर्मल कुइँकेलसँग, लीलामणि पोखरेल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग र चित्रबहादुर श्रेष्ठ कांग्रेस सभापति सुशील कोइरालासँग कमजोर देखिएका छन्।

सन्त गाहामगर

comments powered by Disqus

रमझम