९ मंसिर २०७० | 17 November 2013

अग्नि-परीक्षामा

Share:
  
- रामजी दाहाल
नेपाली कांग्रेसका शीर्ष नेता साख जोगाउने अग्निपरीक्षामा छन्।

अघिल्लो संविधानसभा निर्वाचनमा गृहजिल्ला बाँके–३ मा मधेशी जनअधिकार फोरम (मजफो) का सर्वदेव ओझ्ाबाट पराजित कांग्रेस सभापति सुशील कोइराला यो पटक चितवन–४ बाट पनि उठेका छन्। कांग्रेसले बाँकेबाट समानुपातिकमा पनि चार जना मुस्लिमलाई राखेर मत बटुल्ने प्रयास गरेको छ। एमालेका विजया धिताल, एमाओवादीका दामोदर आचार्य र तराई–मधेश लोकतान्त्रिक पार्टीका पशुपति दयाल मिश्र प्रतिस्पर्धी रहेको बाँके–३ भन्दा कोइरालालाई चितवन–४ सहज हुने अनुमान छ, जहाँ एमाओवादीका चित्रबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन्।

सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल

अघिल्लो संविधानसभामा गृहजिल्ला डडेल्धुरा र कन्चनपुरबाट विजयी वरिष्ठ नेता शेरबहादुर देउवा यस पटक डडेल्धुरा र कैलाली–६ बाट उठेका छन्। डडेल्धुरामा एमाओवादीका पुरानै प्रतिस्पर्धी खगराज भट्टले चुनौती दिइरहे पनि गत निर्वाचनमा एमाओवादीमा एकलौटी गएको दलितको मत फर्कने र चुरे विनाशको मुद्दा खेपिरहेका एमाओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेकोले देउवाको स्थिति मजबूत छ। डडेल्धुरामा एमालेका ताराप्रसाद जोशीलाई देउवाको प्रतिस्पर्धी मानिएको छ। कैलाली–६ मा माओवादीकी लीला भण्डारी प्रतिस्पर्धी देखिए पनि तीन पटक प्रधानमन्त्री भइसकेको राष्ट्रिय छविले देउवालाई अगाडि पार्ने अनुमान छ।

अघिल्लो पटक तनहूँ–२ बाट जितेका कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई करीब ८००० कम मत ल्याएका एमाओवादीका डम्बरबहादुर विक वैद्य माओवादीमा जाँदा झ्नै सजिलो भएको छ। पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ र एमाओवादीका ओमराज आलेभन्दा निकै अगाडि छन्। तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङको बागी उम्मेदवारीले भने पौडेललाई पिर्न सक्छ। यसअघि विजयी भएको काठमाडौं–१ बाटै उठेका कांग्रेस महामन्त्री प्रकाशमान सिंहलाई एमालेकी विद्या न्यौपाने र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुको उम्मेदवारीले खासै असर नपार्ने अनुमान छ।

अर्जुननरसिं केसी, विमलेन्द्र निधि, शेखर कोइराला

झ्ापा–३ मा माओवादीका पूर्णप्रसाद राजवंशीसँग करीब २००० मतले हारेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला यस पटक त्यही क्षेत्रमा एमाओवादीका धर्मशिला चापागाईसँग चुनावी स्पर्धामा छन्। फुटेको एमाओवादीको डरत्रास नरहेको र एमालेका बसन्त बानियाँ तुलनात्मक रूपमा कमजोर रहेकोले सिटौलाले साख फर्काउने देखिन्छ। कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्काको सुर्खेत–१ को उम्मेदवारीलाई पनि बलियो मानिएको छ। एमाओवादीको अवस्था कमजोर रहेको यो क्षेत्रमा एमालेकी कमला शर्मा खड्काको प्रतिस्पर्धी छिन्।

गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह

मधेशमा कांग्रेसको भरोसा मानिने नेता विमलेन्द्र निधि धनुषा–३ बाट उठेका छन्, जहाँ उनले यसअघि पनि एमालेका हरिदेव मण्डललाई ६००० मतको अन्तरले पराजित गरेका थिए। मण्डल अहिले एमाओवादीका उम्मेदवार बनेका छन् भने एमालेले जुलीकुमारी महतोलाई खडा गरेको छ। कांग्रेसका अर्का नेता अर्जुननरसिं केसी पनि नुवाकोट–१ मा आफ्नो साख फर्काउने जोडदार कसरतमा छन्। एमाले कमजोर रहेको उक्त क्षेत्रमा राप्रपाका प्रकाशचन्द्र लोहनी र एमाओवादीका विमला सुवेदी केसीको प्रतिस्पर्धामा छन्। नुवाकोट–३ मा कांग्रेसका रामशरण महत एमाले र एमाओवादीभन्दा अगाडि छन् भने नवलपरासी–१ मा सशांक कोइराला यस पटक पनि विजयको नजिक छन्। यो क्षेत्रमा २०४८ पछिका सबै निर्वाचन कांग्रेसले जित्दै आएको छ।

पूर्णबहादुर खडका, शशांक कोइराला

कांग्रेसका शेखर कोइराला यस पटक पनि मोरङ–७ बाट उठेका छन्, जहाँ उनलाई मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारको चुनौती छ। एमाले र एमाओवादी कमजोर रहेको उक्त क्षेत्रमा गच्छदारले आर्थिक प्रलोभन बढाइरहँदा कोइराला मतदातासँग भिज्न नसकेको बताइन्छ। मोरङ–१ र ६ मा कांग्रेसका आमोदप्रसाद उपाध्याय र महेश आचार्यको स्थिति राम्रो छ। आचार्यको प्रतिस्पर्धामा मजफो लोकतान्त्रिकका भक्ति माझी र मजफो, नेपालका मृत्युञ्जय झा देखिन्छन्।

यता काठमाडौं–४ मा कांग्रेसका गगन थापाका लागि एमालेका निर्मल कुइँकेल पहिलो र एमाओवादीका नन्दकिशोर पुन दोस्रो चुनौती हुने देखिएको छ। काठमाडौं–५ मा कांग्रेसका नरहरि आचार्यले पहिलेकै प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलबाट कडा चुनौती बेहोरिरहेका छन्। अघिल्लो चुनावमा आचार्यले पोखरेललाई करीब ४००० मतले हराएका थिए। एमाओवादीका महेन्द्र श्रेष्ठ यो क्षेत्रमा कमजोर छन्। एक हजार मत अन्तरले माओवादीले जितेको झापा–१ मा यस पटक कांग्रेसले विश्वप्रकाश शर्मा र एमालेले रविन कोइरालालाई उठाएको छ। यो क्षेत्रमा कांग्रेसका शर्मालाई एमालेका कोइरालाले चुनौती दिनेछन्।

comments powered by Disqus

रमझम