९ मंसिर २०७० | 17 November 2013

सुधारको विश्वास

Share:
  
- सुवास देवकोटा
गत निर्वाचनमा प्रमुख नेताहरूले पराजय बेहोरेको एमालेको स्थिति यो पटक सुदृढ हुनेमा नेतृत्व विश्वस्त छ।

इलाम–१ र सर्लाही–१ का उम्मेदवार नेकपा एमालेका अध्यक्ष झ्लनाथ खनाल इलामबाट गत निर्वाचनमा पनि विजयी भएका थिए भने सर्लाहीमा गत निर्वाचनमा एमालेकै प्रकाश पाखि्रन विजयी भएका थिए। इलाममा एमालेबाट जिल्लास्तरीय केही कार्यकर्ता संघीय समाजवादीमा गएकाले उनका लागि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हिमालय कर्माचार्य चुनौती बन्न सक्छन्। सर्लाहीमा भने नेपाली कांग्रेस कमजोर भएको, एमाओवादी उम्मेदवार श्रेष्ठ मनोनयन भन्दा दुई दिनअघि कांग्रेस छाडेर एमाओवादी प्रवेश गरेकाले दुवै पार्टीमा व्याप्त असन्तुष्टि उनका लागि सहज हुन सक्छ।

रौतहट–१ र काठमाडौं–२ मा उम्मेदवार भएका वरिष्ठ नेता माधवकुमार नेपालको चुनौती गत निर्वाचनमा बेहोरेको पराजय बिर्साउनुहुनेछ। पुर्ख्यौली घर भए पनि रौतहटमा मधेशवादी दलका उम्मेदवार उनका लागि चुनौती बनेका छन् भने काठमाडौंमा निर्वाचन हारे पनि क्षेत्रका कार्यकर्ता र मतदातासँग नियमित सम्पर्कमा रहेको, एमाओवादीबाट विजयी झ्क्कुप्रसाद सुवेदीले क्षेत्रको विकास निर्माण केही नगरेको र एमाओवादीले लीलामणि पोखरेललाई नयाँ उम्मेदवार बनाएकाले उनी बलियो छन्।

झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल

झ्ापा–७ का उम्मेदवार नेता केपी ओलीलाई पनि गत निर्वाचनमा माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँगको पराजय बिर्साउने चुनौती छ। लिङ्देन संघीय समाजवादीमा गएको, नेपाली कांग्रेसले तुलनात्मक कमजोर सुरेश याङ्यालाई उम्मेदवार बनाएको र एमाओवादीले पनि क्षेत्र बाहिरका गोपाल किराँतीलाई उठाएकोले यो पटक विजयी हुन उनलाई केही सजिलो छ।

बर्दिया–१ र प्युठान–१ का उम्मेदवार एमालेका उपाध्यक्ष वामदेव गौतम गत निर्वाचनमा बर्दियाबाट माओवादी उम्मेदवार सरला रेग्मीसँग पराजित भएका थिए। रेग्मी वैद्य माओवादीमा लागेको, एमाओवादीले नयाँ भुवनकुमार थारूलाई उम्मेदवार बनाएकाले यो पटक बर्दिया उनका लागि सहज छभने पुर्ख्यौली थलो प्युठानमा उनले राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का र एमाओवादीका नवराज सुवेदीको चुनौती बेहोर्नुपर्ने देखिन्छ।

विष्णु पौडेल, वामदेव गौतम, केपी शर्मा ओली

काठमाडौं–५ का उम्मेदवार एमालेका महासचिव ईश्वर पोखरेल गत निर्वाचनमा नेपाली कांग्रेसका नरहरि आचार्यसँग उल्लेखनीय मतान्तरले पराजित भएका थिए। आचार्य बौद्धिक व्यक्तित्व भए पनि क्षेत्रको विकास निर्माणमा त्यति सक्रिय नभएको र आफू क्षेत्रका कार्यकर्ता र समर्थकसँग निरन्तर सम्पर्कमा रहँदै विकास निर्माणमा योगदान पुर्‍याएकाले यो पटक बलियो बनेको पोखरेलको भनाइ छ।

रूपन्देही–४ का उम्मेदवार एमालेका सचिव विष्णु पौडेलसँग यो पटक एमाओवादी नेता बाबुराम भट्टराई भिडेका छन्। एमालेको बलियो संगठन रहेको र गत निर्वाचनमा पनि पौडेल विजयी भएको यो क्षेत्र भट्टराईका लागि अनुकूल देखिंदैन।
दाङ–३ का उम्मेदवार एमालेका सचिव शंकर पोखरेललाई गत निर्वाचनमा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो भए पनि अहिले बलियो मानिंदैछ। माधवकुमार नेपाल सरकारमा संचारमन्त्री बनेका, पार्टीको सचिव बनेपछि राष्ट्रिय व्यक्तित्व बनाएका पोखरेललाई कमजोर एमाओवादी उम्मेदवार र नेपाली कांग्रेसको आन्तरिक विवादले फाइदा पुर्‍याउन सक्छ।

प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ

इलाम–२ का उम्मेदवार एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ गत निर्वाचनमा पनि त्यही क्षेत्रबाट विजयी बनेका थिए। गत संविधानसभाका अध्यक्ष रहेर राष्ट्रिय व्यक्तित्व बनाएका नेम्वाङ यो पटक पनि बलियो उम्मेदवार हुन्।
गुल्मी–२ का उम्मेदवार एमाले पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवाली २०५६ र २०६४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। अघिल्ला निर्वाचनमा जस्तो नेपाली कांग्रेसका उम्मेदवारलाई पार्टीबाटै अन्तर्घात हुने सम्भावना कम देखिएकाले ज्ञवालीका लागि तीन पटकका प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारी चुनौती बन्न सक्छन्।

लमजुङ–२ मा एमालेका उम्मेदवार पोलिटब्यूरो सदस्य पृथ्वी सुब्बा गुरुङ यो पटक पनि बलियो प्रतिस्पर्धी मानिन्छन्। २०६४ मा यही क्षेत्रबाट विजयी भएका गुरुङले पर्यटन मन्त्री र संविधानसभामा जनजाति 'ककस'को अध्यक्ष बनेर व्यक्तित्व अरू बलियो बनाएको मानिन्छ।

चितवन–१ मा एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार भएका हुन्। गत निर्वाचनमा पनि एमाले विजयी भएको यो क्षेत्रको विकास निर्माणमा अर्थमन्त्री हुँदा उल्लेखनीय योगदान पुर्‍याएको र भण्डारा―मलेखु सडक निर्माण थालेकाले उनी बलियो मानिन्छन्।

धनुषा–५ का उम्मेदवार एमाले पोलिटब्यूरो सदस्य रघुवीर महासेठ राष्ट्रपति डा. रामवरण यादवले क्षेत्र छाडेपछिको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। उनको प्रतिस्पर्धा अहिले पनि गत निर्वाचनकै प्रतिस्पर्धी राष्ट्रपति यादवका पुत्र नेकाका चन्द्रमोहनसँग छ।

comments powered by Disqus

रमझम