९ मंसिर २०७० | 17 November 2013

संकटको भुमरीमा

Share:
  
मधेश आन्दोलनको तापले २०६४ को संविधानसभामा सहजै निर्वाचित भएका मधेशवादी दलका शीर्ष नेताहरूलाई यसपटकको निर्वाचन फलामको चिउरा भएको छ।

पार्टी विभाजनको क्षति बेहोर्दै दोस्रो संविधानसभा निर्वाचनमा होमिएका अधिकांश मधेशी दलका शीर्ष नेताका लागि यो पटक एमाओवादी, नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू बलशाली प्रतिद्वन्द्वी बनेका छन्। मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक पनि मोरङ–५ र सुनसरी–५ मा उम्मेदवार छन्। मोरङमा उनलाई कांग्रेसका जिल्ला सभापति अमृतकुमार अर्यालले चुनौती दिइरहेका छन्। एमाओवादीका बालेश्वर कामत र एमालेका रामलाल साह उम्मेदवार रहेको यो क्षेत्रमा फोरमबाट टुक्रिएको मजफो लोकतान्त्रिक र मजफो गणतान्त्रिकले पाउने भोटमा यादवको विजय निर्भर छ।

सुनसरी–५ मा अध्यक्ष यादव, कांग्रेसका जमिल अख्तर मियाँ र एमालेका जगदीशप्रसाद कुशियैतबीच त्रिपक्षीय भिडन्त छ। तर, यादवको ठूलो खड्गो भने मियाँ र कुशियैत भन्दा एमाओवादीका नन्दन दत्त भएका छन्। अघिल्लो संविधानसभामा यादवकै पार्टीका सभासद् रहेका दत्तले चुनाव नजिते पनि यादवको भोट काट्ने देखिन्छ। सुनसरी–३ र मोरङ–७ का उम्मेदवार मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई यो पटक कांग्रेस र एमालेले कडा चुनौती दिइरहेका छन्। सुनसरीमा कांग्रेसकी गोमाकुमारी पराजुली (अन्सारी) र एमालेकी भगवती चौधरी गच्छदारको प्रतिस्पर्धी छन्। यस क्षेत्रमा गैर–सरकारी संस्था फरवार्ड मार्फत राम्रो काम गरेकी चौधरीलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ।

हृदयेश त्रिपाठी, राजकिशोर यादव, महेन्द्र राय यादव

अघिल्लो पटक मोरङमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई ५,१५५ मतले हराएका गच्छदार यसपटक एकातिर पार्टी विभाजनको मारमा छन् भने अर्कोतिर मधेश आन्दोलनको राप पनि सेलाइसकेको छ। मोरङमा एमाओवादीका गोपाल क्षेत्री र एमालेका यशोधा अधिकारी पनि गच्छदारका प्रतिस्पर्धी छन्। तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरलाई भने मजफो विभाजनको थोरबहुत लाभ हुने देखिएको छ। उनी २०६४ मा मजफो नेपालका शिवपूजन राय यादवसँग झिनो मतले हारेका थिए। कांग्रेसका अमरेशकुमार सिंह सर्लाही–६ मा ठाकुरका मुख्य प्रतिस्पर्धी छन्।

नवलपरासी–६ मा कांग्रेसका देवकरणप्रसाद कलवार तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीको चुनौती बनेका छन्। गत निर्वाचनमा त्रिपाठीले कलवारलाई १७३ मतले जितेका थिए। तमलोपाबाट फुटेको तराई मधेश सद्भावना पार्टी (तमसपा) का रामऔतार कोइरी कुशवाहले काट्ने भोट पनि त्रिपाठीका लागि खतरा हुनेछ। यो क्षेत्रमा एमाओवादीका रामधनीप्रसाद केवट र एमालेका रिङ्गला यादव उम्मेदवार छन्। तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल भने रूपन्देही–६ मा बलियो देखिएका छन्। गत चुनावमा मजफोका ओमप्रकाश यादवसँग १२६३ मतले हारेका शुक्ललाई फोरम विभाजनले बलियो बनाएको हो। शुक्लका प्रतिद्वन्द्वीमा मजफो नेपालका बसिउद्दिन खाँ, मजफो लोकतान्त्रिकका वशिष्ठमणि त्रिपाठी र कांग्रेसका अष्टभुजा पाठक छन्।

सर्लाही–४ मा भने तमलोपा फुटाएर तमसपा गठन गरेका महेन्द्र राय यादव र सद्भावना पार्टी (सपा) का अध्यक्ष राजेन्द्र महतोमध्ये एक जना हार्ने छन्। उता सपा फुटाएर संघीय सद्भावना पार्टी (संसपा) बनाएका अनिल झा रौतहट–१ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भिड्न पुगेका छन्। यसअघि रौतहट–१ मा विजयी स्वतन्त्र उम्मेदवार बबन सिंह यस पटक मजफो नेपालबाट उठेका छन्।

जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि मजफो गणतान्त्रिकको अध्यक्ष बनेका राजकिशोर यादव सिरहा–६ बाट उठेका छन्। अघिल्लो पटक यही क्षेत्रबाट विजयी यादवलाई पार्टी विभाजनको प्रत्यक्ष असर पर्ने देखिन्छ। एमाओवादीका अमरनाथ यादव, कांग्रेसका गणेशकुमार मण्डल र एमालेकी सीताकुमारी देवी साह यादवका कडा प्रतिस्पर्धी बनेका छन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम